संघीय क्रान्ति र अबको चुनौतीहरू

दिलकुमार लावती
 वर्तमान परिप्रेक्ष्यमा नेपालको राजनैतिक इतिहासलाई नयाँ कार्यदिशातर्फ उन्मुख गराउनु पर्दछ । त्यो भनेकै संघीय राजनैतिक लाईन हो । अब पनि नेपालमा पुरानै शैलीको राजनीति, विचार अनि दर्शनलाई कार्यदिशाको रुपमा अंगाल्ने हो भने यहाँ बहुजाति, बहुभाषी, बहुधर्म, बहुसंस्कृति भन्ने शब्दलाई नेपाली शब्दकोषबाट हटाए हुन्छ । किन कि जे जस्तो गरिएतापनि वा भनिएता पनि आखिर नेपाल त एकात्मक संरचना भित्र नै चल्दो रहेछ नि त । भर्खरै सकिएको एमालेको राष्ट्रिय अधिवेशन भनौं, कांग्रेस, एमाओवादी भनौं या त राप्रपा नेपाल यी चारै शक्तिहरूको वैचारिक राजनैतिक लाईन लगभग एउटै कित्तामा जालो जस्तो छ । किनभने एमाले र एमाओवादी कम्यूनिष्ट पार्टी भएतापनि यिनीहरूले लिने राजनैतिक सिद्धान्तमा कुनै परिवर्तनकामी विचार देखिदैन । आजभन्दा सयौं वर्ष अगाडि चीन, सोभियत रुसमा जन्मिएका नेताहरूको सिद्धान्त नेपाल जस्तो अति गरीब राष्ट्रमा सम्भव छैन, यहाँका जनताहरू त्यो उचाईमा पुगेका छैनन् ।
नेपालमा माटो सुहाउँदो राजनीति दर्शनको विकास गर्नु प¥यो, जाति, भाषा, कला, संस्कृति अनि यहाँको भू–बनोट सुहाउँदो राजनैतिक सिद्धान्तको आविस्कार गर्नु प¥यो, मदन भण्डारीको जनताको बहुदलिया जनवाद र वीपीको समाजवादले अब नेपाली जनताहरूलाई छुँदैन किनभने हिजो पो नेपालीहरू आर्थिक, सामाजिक, भाषिक अनि शैक्षिक रुपमा कमजोर थिए, यहाँका आदिवासी जनजातिहरू, दलित, पिछडिएका जातिहरू क, ख, ग सम्म पढ्न पाएका थिएनन्, शिक्षा दिक्षा पाएका थिएनन्, अनि उनीहरूले हिजोको नेपालको इतिहास सम्बन्धमा कुनै ज्ञान हासिल गर्न पाएका थिएनन् त्यस्तो अवस्थामा कसरी उनीहरू यो राज्यसँग वा यहाँका शासक प्रशासकहरूसँग प्रतिस्पर्धा गर्न सक्छन् । तर अब उनीहरूमा चेतनाको विकास भएको छ, चिन्तन मननको विकास भएको छ, राजनैतिक चिन्तन गर्न सक्ने क्षमताका भईरहेका छन् । दिन दो गुना रात चौगुना उनीहरूमा चेतना अभिवृद्धि भईरुहेको अवस्थामा अबको एउटै मात्र राजनैतिक विकल्पको आन्दोलन खोजिरहेका छन् ।
नेपालका आदिवासी जनजातिहरू विभिन्न प्रलोभन एवम् आकांक्षामा फसेर चुर्लुम्मै डुबेका थिए तर त्यो चतनाको स्तरभन्दा उनीहरू माथि उठ्न खोजिरहेका छन् । आफ्नो हराएको इतिहास खोज्ने कोसिस गरिरहेका छन् । विलाएको भू–भागहरूको उत्खनन् गर्न खोज्दैछन्, हराएका दस्तावेजहरूको खोजी गरिरहेका छन् । यहाँ वंश हराएको छ, जातिहरू नास भएका छन्, भाषाहरू हराएका छन्, लिपीहरू हराएका छन् यस्तो गम्भीर संकटबाट उनीहरू माथि उठ्न खोजिरहेको बेला एमाले, कांग्रेस, राप्रपा, एमाओवादी बनाएर उनीहरूको सबै कुरा समाप्त पार्न खोजिरहेका छन् । हो त्यस्तो स्तरबाट अब सबै जातिहरू उठ्नु पर्दछ ।
नयाँ सिराबाट उठेर नेपाल देशको रक्षा गर्नुपर्दछ । दोस्रो जनआन्दोलनसँगै नेपालको आर्थिक विकास, राजनैतिक विकास सबै गुमिरहेको छ । विश्वमा नेपालको छवि बिग्रिरहेको अवस्था छ । यस्तो अवस्थालाई चिर्ने एउटै मात्र विकल्प भनेको नेपाल देशको पुनः संरचना गर्नु हो । जहाँ सबै जाति, भाषाको समान हक अधिकारलाई सुरक्षित गर्नुपर्दछ । कसैलाई काखा त कसैलाई पाखा गरिनु हुँदैन । सबै राजनैतिक दलले सबै जातिलाई समेट्ने सक्ने प्रावधान ल्याउनु पर्दछ । एउटा जातिको मात्र हालिमुहाली राजनैतिक दल, सरकारी निकाय, अर्ध सरकारी निकाय अथवा गैर सरकारी संस्थाहरू सबैमा समावेशिताको कुराहरू अपनाउन सकिए मात्र नेपाललाई सुन्दर नेपाल बनाउन सकिन्छ । नेपालको समस्या भौगोलिकताको होइन, विचार र जातीय समस्या हो । यहाँ सगरमाथा, महाकाली र कोशी व्यवस्थापनको होइन जातीय व्यवस्थापनको समस्या छ । किन कि यहाँको जातिहरू मर्नु भएन नि, यहाँको जाति मर्नु भनेको त नेपाल मर्नु हो, सगरमाथा त नाम हो, त्यसलाई भोलि नाम फेर्न पनि सकिन्छ नि, कोशीको पनि त नाम फेर्न सकिन्छ तर जातिको नाम र थर फेर्न सकिन्न ? त्यो कल्पना पनि गर्न सकिँदैन । साँच्चै भन्ने हो भने आज नेपालमा भईरहेको यस्तो गम्भीर षड्यन्त्रहरू सबै एक जाति, एक भाषा नीतिले नै हो ।
अबको नेपालीहरूको सोचाई भनेको साझा वा संघीय हुनुप¥यो, सह–अस्तित्वको हुनुप¥यो, एकअर्काप्रति बफादार हुनु प¥यो, विश्वासको वातावरण बन्नु प¥यो तब पो नेपालको विकास हुन्छ । तर यहाँ नेताहरू जहिल्यै पनि त्यो जा४    लाई माथि जान दिनु हुँदैन, बिचैमा रोक्ने जुक्ति लगाएर के–के बहाना बनाएर रोक्ने गरिन्छ । मतबल घरको ढोका खुल्ला हुनु प¥यो नि जो कोहि पनि त्यहाँ पस्न सकोस् । मतलब नेपालीहरू चाहि । हो यस्तो महान कार्यको थालनी गर्नुपर्दछ ।
एकात्मक सोच र चिन्तनबाट नेपालीहरू ग्रसित छन्, त्यो तोड्नु पर्दछ । तब मात्र नेपालको विकास सम्भव छ, नेपालको संघीय क्रान्तिले कार्यदिशा निर्देश गर्दछ तर फेरि पनि नारामा मात्र स्ीमित रहने हो भने माछा–माछा, भ्यागुता जस्तै हुन्छ ।
अबको संघीय क्रान्तिलाई कुन मोडलबाट अगाडि बढाउँदा साँच्चिकै नेपाललाई फाईदा पुग्छ त त्यो सुत्रको खोजि गर्नु जरुरी छ । संघीय क्रान्ति कता वा कति सम्म अगाडि बढाउँदा नेपालमा संघीय संविधान बन्छ, जहाँ सबैलाई समेट्न सकिन्छ । प्रष्टसँग कुराहरू उल्लेख गर्न सक्नु पर्दछ नत्र यहाँ जे जति गरे पनि हुनेवाला केही छैन । यहाँ जति धेरै प्रतिनिधि भेला पारेर सम्मेलन गरे पनि त्यसको कुनै अर्थ रहदंैन । यदि सबैलाई एकजुट बनाउन सके २ दिनमा सबै विषयमा सहमत गर्न सकिन्छ तर के गर्ने ‘नेपालको कानून् दैवले जानून्’ भन्ने कथन झैं नेपाली नेताहरू आफू र आफ्नो लागि मात्र गर्न खोज्छन् सिंगो नेपाल र नेपालीको लागि केही पनि गर्न खोज्दैनन् र गरेतापनि सक्दैनन् ।
त्यसैले अबको क्रान्तिलाई संघीय सह–अस्तित्ववाद सिद्धान्तमा अगाडि बढाउनु पर्दछ । नेपाल र नेपालीलाई एकजुट बनाई संघीय संविधान जारी गरेर नेपाललाई समुन्नत नेपाल बनाउनु पर्दछ । संघीयताको बहसलाई विश्व सामु पु¥याउनु पर्दछ । यहाँका एकात्मक राज्यसत्तालाई पर्दाफास गर्दै सबैको साझा नेपाल बनाउनु पर्दछ । त्यो सम्भव छैन, त्यसैले अबको आन्दोलन संघीय क्रान्तितिर उन्मुख हुनुपर्दछ । यहाँ कोही जाति पनि छुट्नु हुँदैन, सबै जातिहरू जो नेपाली हुन्, चाँहे जंगलमा बस्ने राउटे नै किन नहोस्, नदी किनारमा बस्ने त्यो माझी नै किन नहोस् । अब सबै एकजुट हुनुको विकल्प छैन । किन कि हिजो १०४ वर्ष राणाकालमा पनि हामी आदिवासी जनजाति नै लड्यौं, भारत, जापान, अर्जेन्टिनाको टापु, बर्मा लगायतका देशमा पनि हामी नै लड्यौं, पञ्चायत कालमा पनि हामी नै लड्यौं, ४६ सालको जनआन्दोलनमा पनि हामी नै लड्यौं, माओवादीको १० वर्षे द्वन्द्वकालमा पनि हामी नै लड्यौं र २४० वर्षे क्रुर एकात्मक राजतन्त्रको विरुद्ध ६२÷०६३ को दोस्रो जनआन्दोलनमा पनि हामी नै लड्यौं । यसरी लड्दा–लड्दा हामीलाई चेतना हुनु पर्दछ, अब हामी आफ्नो हक अधिकार, पहिचान र अस्तित्व रक्षाको लागि लड्नु पर्दछ । एकजुट हुनु पर्दछ । संघीय बाटोमा हिँड्नु पर्दछ, एकात्मक बाटोको विरुद्धमा अगाडि बढ्नु पर्दछ । अबको लडाई जायज र सार्थक लडाई हुनेछ । संघीय क्रान्तिको चुनौतीहरूको सामना गर्न सक्नु पर्दछ । त्यो नै अबको विकल्प हो । राजनैतिक छलाङ्ग हो ।
(मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, नेपालका वैकल्पिक केन्द्रीय सदस्य हुन्)

0 प्रतिकृया:

Post a Comment