पूर्व सभामुखको कार्यक्रम प्रभावित

चुलाचुली/पूर्व संविधानसभा अध्यक्ष तथा सभामुख सुवासचन्द्र नेम्बाङको आफ्नै निर्वाचन क्षेत्र इलाम क्षेत्र नम्बर २ का कार्यक्रमहरू लिम्बुवान भोलेन्टियर्स, नेकपा–माओवादी र नेपाल आदिवासी जनजाति महासंघ लगायतका विरोधका कारण प्रभावित भएका छन् ।
एमाले क्षेत्र नम्बर २ को आयोजनामा शनिबारका लागि तय गरिएका इलाम चुलाचुली–३ बाह्रगोठे र महमाईको शुक्रबारेका कार्यक्रमहरू असफल पारिएको लिमबुवान भोलेन्टियर्स रेड जोन एरिया ‘ए’ का इञ्चार्ज तिलकबम फागोले जानकारी दिए । एमाले पार्टी विशेषको कार्यक्रम बहिस्कार गरिएको नभई संविधानसभा अध्यक्ष भएर चार वर्ष कुर्सीमा बसेर पनि देश र जनताका लागि संविधान दिन असफल भएको तथा संविधानसभा जस्तो गरिमामय निकायको अध्यक्ष भइसकेका व्यक्ति भएर पनि दल विशेषको कार्यक्रम गर्न आउने भएपछि नेम्बाङको कार्यक्रम बहिस्कार गर्नु परेको इञ्चार्ज फागोले बताए ।
शुक्रबार चुलाचुलीमा नेम्बाङको शवयात्रा सहित पुत्ला दहन गरिएको र उनलाई अब उप्रान्त इलाम क्षेत्र नम्बर २ मा पूर्ण निषेध गरिएको समेत फागोको जिकिर छ ।
शुक्रबार र शनिबारका नेम्बाङ उपस्थित रहने भनिएका कार्यक्रमलाई प्रभावित पार्न नेकपा–माओवादी, आदिवासी जनजाति महासंघ र भोलेन्टियर्सको माङतोक कमाण्डले व्यापक रुपमा कार्यकर्ता परिचालन गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment