धनयुद्धको लडाई र जनखबरदारी

ओमप्रकाश गौतम
स्वभावैले आजको मानव भौतिक सुखसुविधा चाहन्छ । काम गर्नु नपरोस् । अर्काको घरमा गएर ढिंकी, जाँतो गर्नु नपरोस् । भरसक मीठो–मीठो खानेकुरा खानु परोस् । अर्काले मोटरसाईकल किन्यो भने आफूले चाहि शयर गर्नका लागि कार चढ्नु परोस् । अरुलाई आपत बिपत प¥यो भने आफूलाई चाहि कहिल्यै बिपत्ति नपरोस् । भरसक फुसको छानो र टिनको छानो होइन, ७ तले रातो बंगलामुखी घर बनाएर स्वर्गीक संसारमा आनन्द लिनु परोस् वास्तवमा यिनै मनोरञ्जका साधनले आजको मानव बढी भन्दा बढी आकर्षित छ ।
किन कि आफ्नो हातमा डाडु पनि पुन्यु पनि हुँदा ‘मौकामा चौका’ हान्न सकियो भने आफ्नो शेखपछि भावी सन्ततीले सातपुस्तासम्म पुगुञ्जेल बसी बसी खान पाउने व्यवस्था अगाडि नै गरेपछिको मानव रुपैयाँका लागि मरिहत्ते गर्दैन र ? वास्तवमा रुपैयाँ पैसाकै लागि अहिले राजनीति खेलमा हाम्रा नेता भनाउँदाहरू गुट–उपगुटको फोहोरी खेलमा प्यानल–प्यानलमा विभाजित गराएर धनयुद्धका लागि लडाई गरिरहेका छन् । कुर्सी हाना–हान गर्दैछन् ।
जनयुद्ध र जनसंविधानलाई ब्रेक फेल गर्दैछन् । यो ब्रेकफेल गराउने कार्य सबैभन्दा ठूला दल भनाउँदाहरू र मधेसवादी दलहरू नै अग्रगतिमा अघि बढेका छन् । हिजो संविधानसभाको निर्वाचनमा सभाषद् हुँदा सत्ता, भत्ता, ऐश, आराम तथा भौतिक सुविधाबाट सर्वसम्पन्न बनेर मातिएको मान्छे संविधानसभा नै बिघटन भएपश्चात ‘घरको न घाटको’ भएपछि अतिपछि अत्याचार भयो भने जुनसुकै कुरामा पनि जनबिद्रोह हुन्छ । त्यसले हिंसात्मक बाटोको अख्तियार ग¥यौ भने एक दिन न एकदिन क्षति पु¥याउँछ भनेझै त्यो क्षति आज प्रत्येक पार्टीमा पुग्दै आएको छ । यसको प्रमुख कारक भनेको नै संकिर्णतावाद, एकात्मकवाद, अराजकतावाद र रकमी भागवण्डा वाद नै हो ।
हिजोको राजनीतिक अवस्था खुकुलो भएको बेला प्रत्येक जनताबाट लिएको चन्दा पारदर्शी नभई झुण्ड–झुण्ड बनाएर बाँडफाँडमा एकरुपता गराएर रकमको भागवण्डा पश्चात घर जग्गा किनबेच गरेपछि जनतालाई नै कंगाल बनाएपछि किन जनतामा विद्रोहको राप सल्किदैन र ? सहिद तथा बेपत्ता नागरिकका छोराछोरी पढ्ने शिक्षालयमा फर्निचरदेखि दैनिक रासन ठेक्कामा ब्रम्हलुट गरेपछि अनि शिविरको अनियमितता पारदर्शी नगरीकन एक्लै भागेदार भएपछि कसको मन कुँडिदैन र ?
भित्रभित्रै ज्वाला दन्किएपछि बिद्रोहका स्वरहरू किन छताछुल्ल भएर गोला बारुदझैँ पड्किदैन र ? जनयुद्धदेखि वर्तमान अवस्थामा आइपुग्दा हिजोको अवस्था र आजको अवस्थामा परिवर्तन भएको मानवीय जीवन कसरी तिलस्मीमय भएको छ तपाई हामीले नै मूल्यांकन गरौँ न ? विगतका दिनमा एउटा गरीब किसान जो अर्काको घरमा बनिबतो गरेर जीवन चलाउँछन् तिनको घरमा हिजो रात्तो दिन धाउने ति बिद्रोहका नक्कली स्वर गुन्जाउनेहरू आज त्यो फुसको छानोमा बास माग्न जाँदैनन् किन ? किन कि हिजोको बास नक्कली मात्र थियो सक्कली हुन सकेको थिएन । त्यतिबेला जनताको गाँस, बास र कपासका कुराहरू उठेका थिए । आज ति सबै हात्तीको देखाउने दाँत मात्र भए आज । त्यही चपाउने दाँत भत्काइदिएका छन् बहुरंगी नेताहरूले । शान्ति प्रक्रिया आएपश्चात तिनै नेताहरूले नियम बनाएर कागज मिलाएर राज्यकोषको ढुकुटी दाँइ गरेर सुकुम्बासी र मुक्त कमैयाहरूलाई जग्गा दिलाई दिने झुट्टा आश्वासनमा ‘चपरी मुनीको बास’ निरीह किसान, मजदुरलाई बनाइदिएका छन् । आफ्नो नाममा रहेको ऐलानी जग्गा तथा नम्बरी जग्गा अर्कैलाई दिलाई दिएर भु(माफियाको साँठगाँठमा जालसाँझी गरेर कित्ता काट गराइदिएर लाखौ लाख रकम असुलेर गाउँ र नगरको महासेठ बनेपछि ति च्यातिएका लुगा लगाएर रिक्सा र ठेलागाडा कुदाउनेहरूलाई बिर्सेका छन् जनयुद्धका नाममा धनयुद्धमा लडाई गर्नेहरू ।
सशस्त्र जनयुद्धमा मरेका लडाकुका सन्तानहरू गाउँमै बिचल्लीमा परिरहेका छन् । हिजो सशस्त्र द्वन्द्वमा गाउँ र शहर छोडेर खुल्ला राजनीति गर्नेहरू चाकरी र चाप्लुसी अनि बढी भन्दा बढी रकम दिने नक्कली साम्यवाद चाहनेहरू दशवर्षे जनयुद्धमा मोर्चा भिडेको भन्दै ठूला–ठूला बैठकहरूमा नारा लगाउँदै गुट र उपगुटको सारंगी बाजा बजाइ रहेका छन् किन होला ? किन कि त्यो बाजा बजाईएन भने आगामी दिनमा जसरी कुर्सीले हाने त्यो भन्दा अझै धेरै कुर्सी हान्ने समूहको बहुसंख्यक हातहरू लामबद्ध हुँदैछन् भन्ने कुराको हेक्का अब भ्रष्टाचारी गर्ने नेताहरूको सातोपुत्लो आज उड्दैछ । त्यसैले विगतमा जे जति कर्तुत गरियो त्यसको भागिदार मैले भोग्नु पर्दछ । आखिर मेरै राजनीतिक चलखेलले गर्दा आज राजनीतिमा भण्डाफोर र शक्ति सञ्चय बलियो अरुको हुँदै गयो भन्ने कुराको हेक्का राख्दै धनयुद्धको लडाईलाई छानबिन गरेर युद्ध लडेका संघर्षशील हातहरूलाई चाँडो भन्दा चाँडो सम्बोधन गरौँ ।

0 प्रतिकृया:

Post a Comment