ब्राह्मण समाजको बन्द स्थगन

दमक/ब्राह्मण समाज नेपालले आगामी फागुन–२१ गर्ने भनेको नेपाल बन्द स्थगन गरेको छ ।
बिभिन्न जातीय संस्थाहरु बीच कार्यगत एकता गरी निर्णायक आन्दोलनको तयारीका लागि नेपाल बन्द स्थगन गरिएको शुक्रबार दमकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार मोहन भण्डारीले जातीय राज्य र जातीय आरक्षणको बिरोधमा रहेका बिभिन्न संस्थाहरु बीच कार्यगत एकता शुरु भइसकेको बताए । यस्तै समाजका केन्द्रीय सह–अध्यक्ष लक्ष्मी संग्रौलाले नेपालमा जातीय राज्य सम्भव नरहेको उल्लेख गर्दै समाज यसको बिपक्षमा रहेको बताए ।
कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष बासुदेव भट्टराई, केन्द्रीय सचिव डिल्ली उप्रेती, केन्द्रीय सदस्य छविरमण निरौला, जिल्ला अध्यक्ष टीकाराम खरेल, दमक नगर अध्यक्ष महेश पोखरेल लगायतले बोलेका थिए । यस्तै समाजले शुक्रबार गरेको पूर्वाञ्चल बन्दका कारण बजार, पसल तथा यातायात बन्द रहे ।
बन्द सफल पार्न दमकमा भएको कोणसभाका वक्ताले आगामी दिनमा थप सशक्त आन्दोलन गर्ने
चेतावनी दिए । कोण सभामा बिष्णु अधिकारी र राधा पोखरेलले कविता वाचन गरेका थिए भने समाजका जिल्ला सदस्य युवराज पौडेल सागर, अम्बिका सिटौला लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment