बहुसांस्कृतिक महत्वको माघे सक्रान्ति

माघे संक्रान्तिका अवसरमा प्रत्येक वर्ष मुलुकका विभिन्न स्थानहरुमा मकर संक्रान्ति मेला लाग्ने गरेको छ । पूर्वााचलका कन्काई माई सुनसरीको बराहक्षेत्र चितवन र तनहुँको बीच भएर बग्ने त्रिशुली नदीको किनारामा अवस्थित देवघाट लगायतका हिन्दु धार्मिक महत्वका दृष्टिले प्रख्यात स्थानहरुमा मकर नुहाउने अनुष्ठान गर्ने र रमाईलो मेलाहरुको आयोजना हुँदै आएका छन् । यस्ता मेलाहरुमा मुलुकका विभिन्न जिल्लाका मानिसहरुको जमघट हुने गर्दछ । तिर्थालु श्रद्धालु र मेलामा सहभागिताकै निम्ति मात्रै पनि नेपाल र नेपाल बाहिरका मानिसहरुको माघे संक्रान्ति मेलाहरुमा सहभागिता रहँदै आएको छ । झापा जिल्लाको कन्काई नदी किनारामा वर्षेनी लाग्दै आएको मेलाका लागि यस पटकको तयारी प्रारम्भ भइसकेको छ । भौगोलिक रुपमा कन्काई नदीले चिरेर यस धार्मिक महत्वको स्थललाई राजनीतिक वर्गीकरणका आधारमा सतासीधाम र सुरुङ्गा गाविसका रुपमा विभाजन गरेको अवस्था छ ।
कन्काई क्षेत्रलाई विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायहरुले श्रद्धापूर्वक पुज्ने र मान्ने गरेका छन् । यस क्षेत्रमा वर्ष भरि नदी स्नान शव जलाउने पूजाआजा गर्ने लगायत विविध कार्यहरु हुन्छन् । ती मध्ये पनि प्रत्येक वर्ष माघे संक्रान्तिका अवसरमा ५ दिन सम्म यहाँ लाग्ने माघे संक्रान्तिले बेग्लै महत्व राख्दै आएको छ । मुलुकका पूर्वी भेगका झापाका अतिरिक्त इलाम पाँचथर ताप्लेजुङ्ग मोरङ सुनसरी धनकुटा र छिमेकी मुलुक भारतका सिक्किम दार्जिलिङ्ग आसाम तथा भुटानका गरी ३ लाख बढी मानिस मेला भर्न आउने गरेका छन् । माई वारी र पारी दुई स्थानमा आयोजना हुने मेलालाई लक्षित गरेर राम्रै व्यापार पनि हुने गरेको छ ।
अहिले झापाको कन्काई तटमा यसै मेलाका लागि व्यापक रुपमा तयारी अघि बढेको छ । स्थानीय राजनीतिक सामाजिक संघसंथाका अतिरिक्त सुरक्षा निकाय र अन्य सरोकारवाला पक्षले समेत यस मेलाको चुस्त व्यवस्थापन र सफलताका लागि प्रभावकारी भूमिका खेल्न जरुरी छ । वर्षेनी माघे मेलाका दिनहरुमा देखिएका थुपै्र चुनौतिहरु यस पटक पनि नदोहोरिएलान् भन्न सकिन्न । किनकि मेलामा सहभागी हुन दर्शन र तिर्थस्थानमा आउने-जाने क्रममा यातायातको समस्या सवारी दूर्घटना मेला स्थलमा मच्चिने चोरी चकारी लगायतका घटना न्यूनीकरणमा सबै पक्ष गम्भीर हुन जरुरी छ ।
माघे संक्रान्ति पर्व किराती समुदायका लागि अझ महत्वपूर्ण चाड हो । किरातीहरुले नव वर्षको रुपमा यस चाडलाई मान्दै आएका छन् । वैज्ञानिक दॄष्टिले समेत पृथ्वी र सूर्यबीचको नियमित दूरीमा यो दिनले महत्व राख्ने हुँदा किराती मिथ अनुसार गिठ्ठा तरुल भ्याकुर खाएर आधुनिक सभ्यता र विकास भएको अर्थमा पनि माघे संक्रान्तिमा तरुल जन्य खाद्य फलले विशेष महत्व राख्छ ।
समग्रमा माघे संक्रान्ति पर्व आम नेपाली जनजीवनका लागि बहुसांस्कृतिक सह-अस्तित्वको पहिचानका रुपमा विकास हुँदै आएको छ । त्यसैले पनि यस चाडको महत्व बढेको छ । यस चाडलाई मर् यादित र सुखमय बनाउन पनि सबै सांस्कृतिक पक्षले भूमिका खेल्नै पर्दछ ।

0 प्रतिकृया:

Post a Comment