हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

शैक्षिक हड्ताल पाँच दिनलाई स्थगित – मुख्य समाचार

पिपुल्स टाइम्स समाचार
काठमाडौं, फागुन २९/ शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चले आइतबारदेखि सुरु गरेको आम शैक्षिक हड्ताल ५ दिनका लागि स्थगित गरेको छ । सभामुख सुवास नेम्वाङ, शिक्षा मन्त्री दिनानाथ शर्मा र सरकोकारवालाबीच भएको वार्तापछि यस्तो निष्कर्ष निकालेको हो ।
वार्तामा सहभागी एक प्रतिनिधिका अनुसार तत्काल ५ दिन स्थगित गरेर हड्तालको सुरक्षित अवतरण गर्न लागिएको हो । सरकारले ४७ बुँदे माग सम्बोधन गर्ने आश्वासन दिएपछि हड्ताल स्थगित गर्न लागेको ति सहभागीले बताए ।
शिक्षा ऐनको आठौं संशोधनका लागि तयार विधेयकमा शिक्षकका माग समेट्ने मन्त्रीले प्रतिबद्धता जनाएका बताइएको छ । विधेयक मन्त्री परिषद्  द्वारा पारित भएको छ । आइतबार गरेको आम हड्तालका कारण मुलुकका ७५ लाख स्कूले बालबालिकाको पढाइ बिथोलिएको छ । बन्दले कक्षा ८ को जिल्लास्तरीय परीक्षा पनि स्थगित भयो ।
‘हामी अभिभावक विद्यार्थीको मर्काप्रति संवेदनशील छौं’, नेपाल शिक्षक संघका महासचिव केशव निरौलाले भने, ‘शिक्षा मन्त्रालयले शिक्षकका मुद्दालाई चासो दिने बताएको छ । तत्काललाई हड्ताल स्थगित गर्ने कुरा छ ।’ हड्तालको सरोकारवालाले गैरजिम्मेवारीको पराकाष्ठा भन्ने टिप्पणी गरेका छन् ।
आन्दोलनमा शिक्षक कर्मचारी सम्बद्ध २३ वटा संघ संगठन छन् । शिक्षक कर्मचारीका ४७ सुत्रीय माग भए पनि प्राथमिकता तीनवटा कुरामा केन्द्रित छ अस्थायी शिक्षकका समस्या समाधान गर्ने, बालविकास केन्द्रमा पढाउने शिक्षकको तलब कम्तीमा ६ हजार २ सय बनाउने र विद्यालय कर्मचारीको दरबन्दी तथा तलब सुविधा बढाउने । विधेयकले अस्थायीबारे आन्तरिक प्रतिस्पर्धा र सेवा अवधीका आधारमा उपदान दिने व्यवस्था गरे पनि अन्य समस्या सम्बोधन गरेको छैन ।
विद्यालय कर्मचारीबारे २०६२ सालमा भएको सहमतिअनुसार मन्त्रालयले पहिलो वर्ष प्राविमा २१ र माविमा ३१ हजार, दोस्रो वर्ष प्राविमा ४२ र माविमा ६२ हजार रुपैयाँ मासिक रुपमा २०६६ सालदेखि पठाउँदै आएको थियो । देशभर रहेका करिब २७ हजार बालविकास केन्द्रमा कार्यरत सहजकर्ताको तलब २ हजार ४ सयबाट पाउनुपर्ने विषयलाई विधेयकमा उल्लेख गरिएको छैन । आन्दोलनरत शिक्षकले विधेयक संशोधन गरेर माग नसमेटिएसम्म हड्ताल जारी रहने चेतावनी दिएका छन् ।
यस अघि आइतबार नै राष्ट्रिय मानवअधिकार आयोगले विद्यालय बन्द फिर्ता लिन आग्रह गरेको थियो । आयोगले आइतबार विज्ञप्ती जारी गरि विद्यालय बन्दको घोषणाबाट निर्वाध शिक्षा प्राप्त गर्न पाउने बालबालिकाहरुको नैसर्गिक हकको हनन् भएको तथा सरकारले जारी गरेको ‘विद्यालय शान्ति क्षेत्र ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८’ को समेत उल्लंघन भएको जनाएको छ ।

उर्लाबारीले जित्यो उपाधी

दमक, फागुन २९/झापाको दमकमा आइतबार सम्पन्न रवी स्मृति अन्तर कलेज फुटबल प्रतियोगिताको उपाधी उर्लाबारी बहुमुखी क्याम्पसले कब्जा गरेको छ । 
दमक बहुमुखी क्याम्पस दमकलाई ट्राइवेकर मार्फत ३–१ को गोल अन्तरले पराजित गर्दै उर्लाबारीले उपाधीमाथि कब्जा जमाएको हो । खेलको पहिलो पूरा समय दुबै तर्फका खेलाडीहरुबाट गोलका लागि निक्कै प्रयासहरु गरिएको भए पनि गोल भने हुन नसकेपछि ट्रइवेकरमा प्रवेश गरेको थियो ।
अखिल क्रान्तिकारी दमक बुहुमुखी क्याम्पस इकाइ समिति दमकले आयोजना गरेको प्रतियोगिताको बिजेता टिम उर्लाबारी बहुमुखी क्याम्पसले नगद १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपबिजेता दमक बुहुमुखी क्याम्पस दमकले १० हजार नगद र ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

दानाबारी र याङशीलाको स्थानान्तरण पूरा

दमक, फागुन २९/इलामको चुलाचुलीस्थित माओवादी जनसेनाको प्रथम डिभिजन मातहतका दुई सहायक शिविरमा रहेका लडाकुहरुको स्थानान्तरण कार्य पूरा भएको छ ।
इलामको दानाबारी सहायक शिविरमा रहेको विप्लप स्मृति ब्रिगेड अन्तर्गतका समायोजन रोजेका १ सय ६६ जनालाई चुलाचुलीस्थित मुख्यालयमा र मोरङको याङशिला सहायक शिविरबाट १ सय ७३ जना लडाकुलाई  टाँडी शिविरमा स्थानान्तरण गरिएको हो । प्रथम डिभिजन कमाण्डर यामबहादुर अधिकारी प्रतिक्षले दुवै शिविर आइतबार साँझ सम्ममा खाली गराइएको जानकारी दिए ।
सेना समायोजन विशेष समितिका सदस्य डा. शम्भु सिंखडा नेतृत्वको टोलीले गत बिहीबारदेखि सो कार्य थालेको थियो । खाली गराइएको दानाबारी शिविर स्थलमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५० जना सुरक्षाकर्मीको टोली सुरक्षाका लागि आइतबार दिउँसो नै खटेको पाथीभरा गण लखनपुरका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र शाक्यले जानकारी दिए । त्यस्तै याङशीलामा नेपाली सेनाको टोलीलाई सुरक्षा जिम्मा दिइएको बताइएको छ ।

‘एक युवा, एक रोजगार’ कार्यक्रम ल्याइने

दमक, फागुन २९/ युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामीले युवाहरुलाई आत्मनिर्भर बनाउन ‘एक युवा, एक रोजगार’ कार्यक्रम ल्याइने बताएका छन् ।

देशमा रोजगारीका अवसर नहुँदा वर्षेनी हजारौं युवाहरु विदेशिनु परेको उल्लेख गर्दै उनले युवाहरुको आत्मनिर्भरता नैं बेरोजगारी समस्या समाधानको दीर्घकालिन उपाय भएको उनले बताए । झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा आयोजित रवि स्मृति फुटबल प्रतियोगिताको समापन समारोहमा उनले देशका एक करोड युवाहरुलाई लक्षित गरेर ‘एक युवा, एक रोजगार’ कार्यक्रम ल्याइन लागेको बताए ।
राष्ट्रिय युवा परिषद्का लागि मन्त्री परिषद्मा प्रस्ताव लगिसकिएको उल्लेख गर्दै राज्यमन्त्री अछामीले मन्त्री
परिषद्बाट निर्णय हुना साथ सो प्रस्ताव सदनमा पेश गरिने जानकारी दिए ।

मोर्चा अखण्ड लिम्बुवानको पक्षमा

बिर्तामोड, फागुन २९/लिम्बुवान मुक्तिमोर्चा झापाले मोर्चा अक्षुण अखण्ड लिम्बुवानको पक्षमा रहेको जनाएको छ । मोर्चाका जिल्ला अध्यक्ष देउकुमार नेम्वाङको अध्यक्षतामा आइतबार बिर्तामोडस्थित जिल्ला कार्यालयमा बसेको बैठकपछि नेम्वाङले सो जानकारी दिएका हुन् । उनले मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले शनिबार मार्चपास समापन कार्यक्रममा दमकमा छुट्टै स्वतन्त्र लिम्बुवान राज्य घोषणा हुनसक्ने चेतावनी दिएको भन्दै सो प्रति बैठकले आपत्ति जनाएको समेत बताए ।

कांग्रेसको सम्मेलन सकियो

बिर्तामोड, फागुन २९/नेपाली कांग्रेस झापाको पहिलो जिल्ला सम्मेलन आइतबार सकिएको छ ।
शनिबारबाट पार्टीको जिल्ला कार्यालय बिर्तामोडमा शुरु सम्मेलनले समसामयिक राजनीतिक तथा सांगठानिक प्रतिवेदन संसोधनसहित पारित गरेको छ । पार्टीका जिल्ला सभापति उद्धव थापाले पेश गरेको प्रतिवेदन माथि सहभागीहरुले टिप्पणी गरेका थिए । पार्टीको १२ औं महाधिवेशपछि संसोधित विधान बमोजिम गाउँ, नगर, क्षेत्र तथा जिल्लाका सम्मेलनहरु गर्न थालिएको हो ।  
पार्टीका जिल्ला सभापति सुशिल कोईरालाले उद्घाटन गरेका थिए । सम्मेलनमा जिल्लाका महासमिति सदस्य,
महाधिवेश प्रतिनिधी, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र क्षेत्रीय, नगर तथा गाउँ समितिका पदाधिकारीहरुका साथै भातृसंगठनका जिल्ला पदाधिकारीहरु सहभागी थिए ।

प्रसुतिमा समस्या

खोटाङ , फागुन २९/जिल्लामा दक्ष स्वास्थ्यकर्मीको अभावमा प्रसुतिमा समस्या रहेको जिल्ला अस्पताल दिक्तेलले जनाएको छ । २ लाख ७४ हजार जनसंख्या रहेको जिल्लामा ५२ हजार ३६१ विवाहित महिला प्रजनन् योग्य भएपनि १४ जना दक्ष स्वास्थ्यकर्मीको भर पर्नुपर्ने भएकाले समस्या रहेको जिल्ला अस्पतालका डाक्टर ओमबिजु पन्तले बताए ।
उनका अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीहरु बिदामा बस्दा थप जटिलता आउने गर्छ । यातायातको समस्यासँगै दक्ष स्वास्थ्यकर्मी गाउँका बर्थिङ सेन्टरमा नहुँदा सुत्केरीको मृत्यु हुने गरेको उनले बताए । जिल्लामा १० वटा बर्थिङ सेन्टर, एक बीईओसी र एक सीईओसीमार्फत प्रसुति गराईदै आएको छ ।
जिल्ला अस्पतालमा सीईओसीमार्फत अप्रेसन गराउन करारको डाक्टर ल्याइएपनि उनको सम्झौता २०६९ असार मसान्तमा सकिने भएकाले त्यसपछि थप समस्या आउने अस्पतालले जनाएको छ ।

सेनाद्वारा बिस्फोटक पदार्थ निष्कृय

भोजपुर, फागुन २९/नेपाली सेनाले सशस्त्र द्वन्द्वका समयमा राखिएका घरेलु बिस्फोटक पदार्थ निष्कृय पार्ने कार्य पुनः शुरु गरेको छ । नेपाली सेनाको माइन डिस्पोजल टोलीले गोरखबहादुर गण परिसर क्षेत्रमा रहेका घरेलु बिस्फोटक पदार्थ निष्कृय गर्ने कार्यलाई ३ दिन अघिदेखि सुरु गरेको हो ।
सशस्त्र द्वन्द्वका समयमा तत्कालिन बिद्रोही माओवादीले छोडेका बिस्फोटक पदार्थहरु राखिएका स्थानको पनि पहिचान गरी बिस्फोटक पदार्थ निष्कृय गर्ने कार्यलाई सुचारु गरिने सेनाले जनाएको छ ।
केही दिनसम्म सेनाको व्यारेक परिसर र आसपासमा रहेका घरेलु बिस्फोटक पदार्थहरु निष्कृय गरी अन्य स्थानको पनि निष्कृय गरिने सेनाले जनाएको छ । बिस्फोटक पदार्थको खोजीका लागि माइन डिक्टेटर मेशिनको पनि प्रयोग भइरहेको सेनाले जनाएको छ ।
सशस्त्र द्वन्द्वका समयमा भोजपुर सदरमुकामस्थित टुंडिखेलमा राखिएका घरेलु बिस्फोटक पदार्थ खोजी गरी निष्कृय गर्ने तयारीसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब निरीक्षक लक्ष्मीकुमार थापाले बताए ।

महिला हत्याको आरोपमा गिरफ्तार

पाँचथर, फागुन २९/सिवा गाविस–३ की ३४ वर्षीया रमादेवी आलेमगरको हत्या भएको रहस्य खुलेको छ । उनलाई १० दिन अघि राति सोही ठाउँका जेठाजु ५० वर्षीय जहरमान आलेमगर, १८ वर्षीय सुभराज नेम्बाङ, इम्बुङ गाविस–९ का ४१ वर्षीय बसन्त तामाङ र बसन्तकै पत्नी ३६ वर्षीया सञ्चमाया तामाङले घाटी निमोठेर हत्या गरी भिरमा लगेर फालेको रहस्य खुलेको छ ।
भीरबाट लडेर मृत्यु भएको भनिएका मगरको लास गत फागुन २० गते बिहान घरबाट दक्षिण तर्फ ५० मिटर टाढा गोरेटो बाटोबाट ९ मिटर तल झरेको अवस्थामा स्थानीयबासीहरुले फेला पारेका थिए ।
छोरीको मृत्यु रहस्यमय र शंकास्पद रहेको भन्दै मृतकको बुवा इलाम जिल्ला फुएतपा गाविस–६ का नरबहादुर रानामगरले २०६८ फागुन २० गते जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको माग गर्दै निवेदन दिएपछि २०६८ फागुन २४ गते आरोपितहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
अनुसन्धानको क्रममा आरोपितहरुले  कुटपिट गरी घाँटी निमोठेर महिलाको हत्या गरी भीरबाट फालेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय पाँचथर अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए । आरोपितहरुविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरिएको समेत पौडेलले बताए ।

कोरिया सेमिफाइनलमा, भारत बाहिरियो – खेल समाचार

एएफसी च्यालेन्जकप फुटबल
 काठमाडौं, फागुन २९/ डिफेन्डिङ च्याम्पियन उत्तर कोरिया एएफसी च्यालेन्ज कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ भने भारत समूह चरणबाटै बाहिरिएको छ ।
पहिलो खेलमा ताजकिस्तानसँग हार व्यहोरेको भारत आइतबार भएको दोस्रो खेलमा फिलिपिन्ससँग २–० ले पराजित भएपछि एक खेल अघि नै समूह चरणबाट बाहिरिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको केही महिना अघि मात्र साफ च्याम्पियनसीपको उपाधि जितेको भारत फिलिपिन्स सामू निरीह देखिएको थियो । ११ औं मिनेटमा गोल गर्दै फिलिपिन्सलाई अग्रता दिलाएका फिलिप योङहसब्याण्डले खेलको ३ औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चत गरे ।
फिजिफिन्सको जितसँग उत्तर कोरिया भने एक खेल अघि नै अन्तिम चारमा प्रवेश गरेको छ । पहिलो खेलमा फिलिपिन्सलाई पाखा लगाएको कोरियाले आइतबार भएको आफ्नो दोस्रो खेलमा ताजकिस्तानलाई २–० गोलले पराजित गरेको थियो । सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा कोरियाका लागि पाक नाम चोल र जाङ कुक चोलले गोल गरे । खेलको चौथो मिनेटमा नै पाकको गोलबाट अग्रता लिएको कोरियाका लागि खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
यसअघि शनिबार सम्पन्न समूह ‘ए’ को खेलमा माल्दिभ्ससँग पराजित भएपछि घरेलु टोली नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालले आज तुर्कनिमिनिस्तानसँग खेल्नेछ ।