हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

शिविरमा बढ्यो सम्बन्ध विच्छेद – मुख्य समाचार

विष्णु सुब्बा
दमक/भुटानी शरणार्थी शिविरमा सम्बन्ध विच्छेद मुद्दाका घटना बढेर गएका छन् । तेस्रो मुलुक पुनस्र्थापनाका काम तिव्र बनाइएपछि शरणार्थीहरुमा सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको पाइएको हो ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग– युएनएचसीआरको सहयोगमा नेपाल वारएशोसिएसन झापाले सञ्चालन गरेको निःशुल्क कानुनी सहायता कार्यक्रमको पछिल्लो तथ्यांकमा शरणार्थीहरुमा सम्बन्ध विच्छेदका मुद्दा बढेको औल्याइएको छ ।
२००३ देखि भुटानी शरणार्थीहरुका लागि कानुनी सहायता झापा बारले सञ्चालन गरिआएको छ । सो कार्यक्रमका कार्यक्रम निर्देशक अधिवक्ता भुपाल कट्टेलका अनुसार गएको आठ वर्षको अवधिमा त्यस्ता मुद्दाको संख्या करिब १ हजार अदालतमा दर्ता भएका छन् । चालु वर्षमा अहिले सम्म २ दर्जन विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका कट्टेलले जानकारी दिए ।
सो कार्यक्रमको तथ्यांकमा सन् २००३ देखि २००६ सम्म करिब डेढ सय मुद्दा अदालतमा दर्ता भएको थियो । त्यस्तै सन् २००७ मा १ सय ३५, २००८ मा १ सय ५०, २००९ मा २ सय ४, २०१० मा १ सय ६५ र गएको वर्ष २०११ मा १ सय ६८ वटा विभिन्न मुद्दा अदालतमा दर्ता भएको उल्लेख छ । कार्यक्रम निर्देशक कट्टेलले कूल मुद्दामध्ये ७५ प्रतिशतका हाराहारीमा सम्बन्ध विच्छेदका मुद्दा भएको बताए । ‘शिविरको शरणार्थीमा बहुविवाह गर्न तथा तेस्रो मुलुक जाने प्रक्रियाका कारण त्यस्ता प्रकृतिका मुद्दा बढी भएको हो’– निर्देशक कट्टेल बताउँछन् ।
शरणार्थी महिलाहरुले तेस्रो मुलुक जाने प्रक्रियामा पारिवारिक सहमति नबनेका कारण धेरैले अदालतमा सम्बन्ध विच्छेद गरि जाने गरेको बताइएको छ । यस्तै झापा, मोरङ, सुनसरी लगायतका कारागारहरुमा विभिन्न मुद्दामा जेल जीवनमा ६० बढी भुटानी शरणार्थी रहेका छन् । थुनुवा बन्दी सम्बन्धी रेखदेखमा संलग्न अधिवक्ता बसन्त नेपालले त्यस्ता बन्दीहरुमध्ये बढी आपराधिक घटनाका अभियोगमा परेका बताए ।
बारले सो कार्यक्रमका लागि झापा र मोरङका विभिन्न शिविरमा ५ जना अधिवक्ता परिचालित गरेको छ । साताका दुईदिन प्रत्येक शिविरमा गएर ति अधिवक्ताहरुले कानुनी परामर्श उपलब्ध गराउने गर्छन् । शिविरमा कानुनी उपचारमा आउने शरणार्थीहरुलाई फिल्ड वेशमा नेपालका कानुनी व्यवस्था सम्बन्धी सहजीकरण गराउने कार्यक्रम निर्देशक कट्टेलले जानकारी दिए । मुद्दामा जाने शरणार्थीहरुलाई युएनएचसीआर मार्फत् बारमा आवश्यकीय प्रक्रिया अघि बढाइने गरिन्छ । सम्बन्धविच्छेदसँगै जबर्जस्ती करणी, कुटपिट, डकैत, नाता कायम, हाडनाता करणी, हक प्रचलन लगायत खरखजना तथा फौजदारी मुद्दाहरुमा शरणार्थीहरुको संलग्नता रहेको जनाइएको छ ।
त्यसैगरी बारमा त्यस्ता मुद्दा सम्बन्धी कानुनी उपचारमा २०० जना अधिवक्ता परिचालित भएका छन् । गएको डिसेम्बर सम्म झापा र मोरङका विभिन्न पाँच ओटा शिविरमा ५४ हजार ९ सय ५५ शरणार्थी रहेका जनाइएको छ । तेस्रो मुलुक पुनर्वासमा अधिकांश शरणार्थीहरुले चासो देखाएका कारण सात शिविर घटाएर ५ ओटा शिविर कायम गरिएका छन् । ति मध्ये आधा बढीले पुनर्वास प्रक्रियामा सामेल हुन इच्छा जाहेर गरेका पुनर्वास कार्यमा संलग्न अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) ले उल्लेख गरेको छ ।

शिविरमा पारिवारिक तनाव – उपमुख्य समाचार

जारी तेस्रो मुलुक पुनर्वास कार्यक्रमले शिविरमा रहेका शरणार्थीहरुमा पारिवारिक तनाव बढाएको शरणार्थीका एक अगुवाले बताएका छन् ।
भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका अध्यक्ष डाक्टर भम्पा राईका अनुसार तेस्रो मुलुक पुनर्वासले शिविरमा त्यस्तो समस्या देखिएको छ । ‘पुनर्वासमा जाने र नजानेले सिङ्गो परिवारभित्र बेमेल ल्याएको छ ।’ डा. भम्पा राईको दाबी छ । २००८ देखि जारी पुनर्वास कार्यक्रममा सामेल धेरै परिवार भित्र पारिवारिक बेमेल मात्र होइन मानसिक रुपमा समस्या जन्माएको उनको भनाई छ । एउटा परिवारका सदस्यहरु सँगै र एकै देशमा पुनर्वास नहुने तथा कमजोर शरणार्थीहरु शिविरमा रहनुपर्ने लगायतका कारणले पारिवारिक बैमनस्यता बढेको डा. राईको अनुमान छ ।
उनले पुनर्वासका कामले शरणार्थीको स्वदेश फिर्ती चाहनालाई नैतिक रुपले दबाउन प्रेरित भएको समेत आरोप लगाए । ‘स्वदेश तथा तेस्रो मुलुक पुनर्वास एकै चरणमा गरिनु पथ्र्यो’
डा. राई भन्छन्–‘नेपाल सरकार यसमा चुकेको छ भने अन्तर्राष्ट्रिय निकायसम्म बेखबर बनेको छ ।’

‘छिट्टै शान्ति आउँछ’

विराटनगर/पूर्व राजा ज्ञानेन्द्र साहले मुलुकमा छिट्टै शान्ति स्थापना हुने कुरा बताएका छन् । सुनसरीको भादगाउँ सिनुवारी गाविसस्थित झुम्का बजारमा बिहीबारदेखि सुरु भएको भविष्य महापुराणको उद्घाटनका अवसरमा पूर्व राजा साहले बताए ।

डेढ घण्टा कार्यक्रम स्थलमा रहेका उनले कार्यक्रममा सम्बोधन नगरे पनि फर्किने बेलामा गाडी चढ्न लाग्दा सर्वसाधारणले मुलुकमा शान्ति कहिले आउँछ भन्ने प्रश्न गर्दा उनि छिट्टै मुलुकमा शान्ति आउने बताए । मुलुकमा छिट्टै शान्ति आउँछ भन्ने वाक्य भन्दै उनी सरासर गाडी चढेका थिए । ज्ञानेन्द्र दिउँसो १ बजे झुम्कास्थित कार्यक्रम स्थल पुगेका थिए ।
उनलाई स्थानीय सञ्चारकर्मीले केही बोलिदिनु प¥यो भन्दा आफूले पत्रकारहरुलाई डाकेरै कुरा राख्ने भन्दै पत्रकारहरुसित कुरा गर्न पन्छिएका थिए । कार्यक्रममा सप्तरीदेखि झापासम्मका पूर्व राजाका समर्थक ओइरिएका थिए । कार्यक्रम स्थलमा पूर्व राजा पुग्दा उनका समर्थकहरुले राजा, राजसंस्था र राजतन्त्रका पक्षमा नाराबाजी गर्दे राजनीतिक दलका नेताहरुका विरुद्धमा समेत नाराबाजी गरेका थिए ।
पूर्व राजा ज्ञानेन्द्र शाहले दीप प्रज्वलित गरी महापुराणको उद्घाटन गरे ।

‘सीमा व्यवस्थित गरिनृ

चन्द्रगढी/ पूर्वाञ्चल क्षेत्रीय प्रशासक कृष्णचन्द्र पौडेलले पूर्वका सीमा सम्बन्धी समस्या हल गर्न दुवै देशका अधिकारीहरु छिट्टै नै त्यस कार्यमा लाग्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार संचारकर्मीहरुसँग अन्तक्र्रिया कार्यक्रममा सहभागी प्रशासक पौडेलले दुवै देशको सीमा व्यस्थित गराउन उच्च अधिकारीहरुको टोली चाँडै खटिने बताए ।
उनले नेपालर र भारतका ५÷५ सदस्यीय सो टिमले सीमा सम्बन्धी समस्या हल गर्न अग्रसर हुने बताए । ‘नेपाली टोली तयारी छन्’–प्रशासक पौडेलले भने–‘यो असार भित्र पूर्व क्षेत्रका विवादित सीमा समस्या हटाइने छन् ।’  संचारकर्मीहरुको जिज्ञासामा प्रशासक पौडेलले पूर्वका शान्ति सुरक्षा कायम गराउन प्रशासन कहिल्यै नचुकेको दाबी गरे ।
सो अवसरमा झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रप्रसाद शर्माले जिल्ला भित्रका समस्या समाधानमा आफू क्रियाशील भएको जनाए । अन्तक्र्रियामा प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्साल लगायतको सहभागिता रहेको थियो ।

स्पर मर्मत शुरु

इनरुवा/हिउँदको समयमा पानीको बहाब कम भएका बेला सप्तकोशीका केहि स्पर मर्मतको काम भइरहेको छ । बर्खायाममा कोशीले कटान गर्ने जोखिम भएका स्परहरु अहिले धमाधम मर्मत भइरहेको हो ।
प्रकाशपुर क्षेत्रमा रहेको २५÷२५ सहित आसपासका स्परमा ढुङ्गा राखेर तारजाली लगाउने कार्य अहिले भइरहेको छ । हिउँदमा पानीको बहाब कम हुने र स्परको केहि तल्लो भागसम्म मात्र पानी आइपुग्ने भएकाले यो समय स्पर निर्माणमा प्रमुख ध्यान दिइएको हो ।
अहिले नै स्पर मर्मत गरी दह्रो पारिएको
खण्डमा बर्खायाममा कटान हुनबाट बचाउन सकिन्छ । तर स्परमा लगाइएका पुराना तारजाली भने चोरी हुने क्रम रोकिएको छैन । स्थानीय बालबालिकाहरु दैनिक जसो स्परमा तार निकाल्न आउने गरेको भेटिएको छ । स्परका तारजालीहरु निकालिदा स्पर कमजोर बन्ने हुँदा बर्खायाममा कोशीको कटानमा पर्ने गरेका छन् ।

विद्युत चोरी रोकिएन

इटहरी/ सुनसरी ग्रामीण वस्तीहरुमा हुकीङ गरी विद्युत चोरी गर्ने क्रम नियन्त्रणमा आउन सकेको छैन ।
विद्युत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत हुकीङ गर्ने विरुद्ध निरन्तर कार्बाही प्रक्रिया अघि बढाइरहेको भएपनि ग्रामीण वस्तीहरुमा अधिकांशका घरमा विद्युत हुकीङ गरिएको पाइएको छ ।
सुनसरीको मधेली गाविसको भवन अगाडिको विद्युतीय तारबाटै पनि एक दर्जन बढीले हुकीङ गरी विद्युत् चोरी गरिरहेका छन् । मधेली गाविसका विभिन्न ठाउँहरुमा विद्युत चोरी गर्ने क्रम जारी रहेको छ ।
सो क्षेत्रमा अहिलेसम्म प्रहरीले कार्बाही
प्रक्रिया अघि बढाउन नसक्दा विद्युत चोरी गर्ने कार्य नियन्त्रणमा आउन नसकेको हो । विद्युत चोरीका कारण विद्युत प्राधिकरणले लाखौंको नोक्सानी व्यहोर्नु परिरहेको छ भने लोडसेडिङ पनि बढिरहेको छ ।

द्वन्द्वपीडितलाई राहत

बिराटनगर/ माओवादीको सशस्त्र द्वन्द्वको समयमा सेनाको गोली लागी घाइते भएका केराबारी गाविस–९ भलुवाका ३८ वर्षीय वाक्यविहीन ज्ञानबहादुर घिमिरेलाई इन्सेकले राहत प्रदान गरेको छ ।
ईन्सेक क्षेत्रीय कार्यालय विराटनरले बुधबार सहयोगस्वरुप पाँच हजार रुपैया राहत उपलब्ध गराएको हो । क्षेत्रीय संयोजक सोमराज थापाले उनको घरैमा गएर सो रकम उपलब्ध गराएका हुन् । सो रकम पीडितले सरकारी विद्यालयमा पढ्दै गरेका आफ्ना तीनजना छोराछोरीको पठनपाठनमा खर्च गर्नेछन् । पीडितले सरकारको तर्फबाट हालसम्म राहत तथा
उपचार खर्च केही पनि पाएका छैनन् ।
पीडितलाई ०६२ असार १९ गते घरनजिकको खोलाको डिलमा लेटाङ गाविसस्थित सुरक्षा बेस क्याम्पको सेनाको गस्ती टोलीले बोलाउँदा नसुनेको आरोपमा माओवादी कार्यकर्ता भई भाग्न खोजेको भन्दै गोली प्रहार गरेर घाइते बनाएको थियो ।

विद्युत उत्पादन आयोजना बन्द

इलाम/करिब एक दशकदेखि बिजुली बालेका उत्तरी मावुका बासिन्दाले त्रिवेणी लघु जलविद्युत् आयोजना बन्द गरेका छन् । मेसिनरी सामग्री र टर्वाइनसम्म ल्याइएको कुलोमा बारम्बार आउने समस्याका कारण खर्च धान्न नसकेपछि पूर्वाञ्चलकै नमुनाका रुपमा रहेको सो विद्युत् आयोजना बन्द गर्न उपभोक्ता बाध्य भएका हुन् ।
आयोजना बन्द भएपछि त्यहाँ कार्यरत दुई कर्मचारीलाई बुधबार नै बिदा दिइएको उपभोक्ता समितिले जनाएको छ । आफ्नै जग्गा कृषि विकास बैंकमा धितो राखेर ऋणबाट सञ्चालन गरिएको आयोजना बन्द गरिएपछि स्थानीयबासी अन्धकारमा बस्न बाध्य भएका छन् । घरलौरी चन्दा उठाएर मावु र माइमझुवाका करिब चार सय उपभोक्ताले ५० किलोवाट क्षमताको विद्युत् आयोजना सञ्चालन गर्दै आएका थिए । उपभोक्ताले बिजुली बाल्दा बैंकमा राखेको ऋण तिर्न नसकेपछि लिलामको स्थितिमा पुगेको थियो, तर मावुमा सञ्चालित अपरमाई हाइड्रोपावरले रु १५ लाख तिरेर सात महिनाअघि मात्र उपभोक्ताको धनीपुर्जा बैंकबाट उकासिदिएको थियो ।
उपभोक्ता समितिका अध्यक्ष ढालबहादुर गुरुङले कुलो र टर्वाईनमा आइरहने समस्याले आयोजनाको ऋण थाम्न नसकिएपछि बन्द गर्न बाध्य भएको बताए ।  स्थानीयबासीको लगानी, वैकल्पिक ऊर्जा तथा प्रवद्र्धन केन्द्र (इसाब) को अनुदान तथा नाम्सालिङ सामुदायिक विकास केन्द्रको सहजीकरणमा पूर्वाञ्चलमै पहिलो पटक स्थानीय प्रयासमा विद्युत अयोजना सञ्चालन गरिएको थियो । आयोजनाको कुल लागत ८५ लाखमध्ये उपभोक्ताले रु ५० लाख  खर्च गरेका थिए भने इसाबमार्फत् रु ३५ लाख  अनुदान प्राप्त थियो ।

श्रीमान र ससुराको कुटपिटबाट मृत्यु

चितवन/चितवनमा आफ्नै श्रीमती र सुसुराको कुटपिटबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । चितवनको गुञ्जनगर–६ मा रहेको ससुराको घरमा श्रीमतिसंगै बस्दै आएका वीरेन्द्रनगरका इन्द्रबहादुर थापाको ससुरा र श्रीमतिको कुटाईबाट मृत्यु भएको हो ।
कुटाइबाट ज्यान गुमाएका थापाको शव उनकै ससुरा जङगु थापा मगर र श्रीमती विवह थापाले घरभित्र लैजाँदै गर्दा रङ्गेहात पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।  पारिवारिक झगडा हुँदा आफूहरुले कुटपिट गरेको मृतककी श्रीमती र उनका ससुराले प्रहरी समक्ष बयान दिएका छन् । कुटपिट गर्ने दुवैलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

लखनपुरमा सोसाइटी अस्पताल

लखनपुर/झापाको लखनपुरमा सोसाइटी अस्पताल स्थापना गरिएको छ ।
लखनपुर–२ को मंगलबारे बजारमा विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउने पूर्वाधारयुक्त सो अस्पताल संचालनको तयारी गरिएको छ । अस्पताल सञ्चालक चन्द्र शाहका अनुसार अस्पतालमा दक्ष चिकित्सक सहित ल्याब एक्सरे, इसीजी, भिडियो एक्सरे लगायतका
सुविधा उपलब्ध हुनेछन् । उनले अस्पतालको शुभारम्भका अवसरमा आउँदो फागुन २७ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाए । अस्पताल सञ्चालनका लागि आवश्यकीय तयारीहरु तिव्र पारिएका स्वास्थ्यकर्ता समेत रहेका शाह बताउँछन् ।