हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

लिम्बूवानको सदस्यता

दमक । संघीय लिम्बूवान पार्टीले विहीबार इलामको चुलाचुली १ मा क्रियाशिल सदस्यता वितरण गरेको छ । घुम्ती शिविरका रुपमा लिम्बुवानी सहिद राजकुमार आङ्देम्बेको निवासमा क्रियाशिल सदस्यता वितरण शुरु गरेको पार्टीका दिलकुमार लावतीले जनाए । पहिलो दिन १ सय जनाले क्रियाशिल सदस्यता लिएको उनले उल्लेख गरे । १ महिनासम्ममा अरुण सप्तकोशी पूर्वका ९ जिल्लामा सदस्यताको शिविर सञ्चालन गरिसक्ने पार्टीले जनाएको छ ।

वर्षाले परियोजना रोकियो

पथरी । विराटनगरको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाको काम वर्षाका कारण रोकिएको छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा सुस्त गतिमा सञ्चालित परियोजना वर्षा लागेको भन्दै सञ्चालनमा रहेका ढल, सडक र नाला निर्माणको काम रोकिएको हो । लगातार पानी पर्न थालेकाले काम रोक्नु परेको परियोजना प्रमुख उपेन्द्रप्रसाद बरालले जनाए । इमरजेन्सी बाहेक परियोजनाका अन्य काम वर्षा लागेकाले रोकिएको उनले बताए । उनले रोकिएको काम बर्षापछि सुरु गरिने जानकारी दिए ।

जातिय विभेद र दाइजो विरुद्ध नाटक

दुधे । झापाको शिवसतासीस्थित राष्ट्रिय रमणीय आदर्श उच्च माध्यमिक विद्यालय दूधेका विद्यार्थीहरुले जातीय विभेद र दाइजो प्रथा विरुद्धको नाटक विद्यालयमा प्रस्तुत गरेका छन् ।
सामाजिक शिक्षाको विषयगत शिक्षणका क्रममा कक्षा ८ का विद्यार्थीहरुले जातीय विभेद र दाइजोका कारणले धेरै महिलाहरु घरेलु हिंसाको सिकार बन्नु परिरहेको कुरालाई नाटकको रुपमा प्रस्तुत गरेका छन् । नाटकबाट सामाजिक समस्या र त्यसको समाधानको उपाय खोजिएको विषय शिक्षक गोविन्द काफ्लेले जनाए ।
पाठका आधारमा विद्यार्थीहरुलाई दाइजो प्रथा, भ्रष्टचार, विदेश पलायन र लागु पदार्थ दूव्र्यसन गरी ४ भागमा विभाजन गरेका छन् । विद्यालयमा रहेको ५ सदनलाई ४ समूहमा विभाजन गरी सो नाटक प्रस्तुत गरिएको छ । दाइजोका कारण हुने घरेलु हिंसालाई कसरी न्यूनीकरण गर्ने, गाउँ समाजमा त्यस्ता घटना हुन नदिन विद्यार्थीहरुले समाजमा खेल्नु पर्ने भूमिका नाटकीय ढंगबाट प्रस्तुत गरिएको थियो ।
विद्यार्थीहरुलाई पाठको आधारमा विषय बस्तुलाई यसरी नाटकीय ढंगबाट प्रस्तुत गराउँदा उनीहरुको सिकाई बढी रुचीपूर्ण, प्रभावकारी, उद्देश्यपूर्ण र विद्यार्थीहरुलाई बुभ्mन सजिलो हुने शिक्षक श्रीप्रसाद खरेलले बताए ।
नाटकमा विद्यार्थीहरु जीवन उप्रेती, सपना लिम्बु, सिमसन राई, नेहा साँवा, कुशल नेपाल, तोया कटुवाल, सन्तोष श्रेष्ठ, विजय उप्रेती, सृष्टि तामाङ्ग, छुनु लक्सम, विनिता मिश्र, सुनिल देवान, अभिषेक राई लगायतले अभिनय गरेका छन् ।

असारभित्रै संविधान : भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाओवादीका नेता डा. बाबुराम भट्टराईले असार मसान्तभित्र संविधानसभाबाट नयाँ संविधान जारी हुने बताएका छन् ।
 आफ्नो गुहजिल्ला गोरखा सदरमुकाममा विहीबार पत्रकारसँग कुराकानी गर्दै नेता भट्टराईले भने, ‘प्रमुख राजनीतिक दलहरूबीच संविधान निर्माणको विषयमा सहमति जुटेकाले धमाधम संविधान लेखनको काम अघि बढेको छ । छुटेका विषयहरू राजनीतिक तहमै सुल्झाउने हो ।’उनले भने ‘मस्यौदा समितिले टुङ्ग्याउने भन्ने होइन ।’
 आन्दोलनकारी शक्तिहरूबीच संविधान निर्माण गर्ने सहमति भएकाले नयाँ संविधान जारी हुने उनले प्रतिबद्धता जनाए । हल्लाको भरमा जनता लाग्न नहुने भन्दै उनले यसअघि दलहरूबीच भएको धर्म्निरपेक्षता जस्ता ठूला विषय अब परिवर्तन नहुने उल्लेख गरे ।
 शक्ति बाँडफाँडमा दलहरूबीच सहमति नभएको बताउँदै उनले राष्ट्रपतिको ठाउँमा राष्ट्रप्रमुख राख्दा पनि खासै फरक नपर्ने धारणा राखे । ‘संबिधान जारी गरेर प्रधानमन्त्रीले छोड्छु भन्नुभएको छ’ उनले भने, ‘साउनमा राष्ट्रिय सरकार गठन हुन्छ ।’

फोहोरको ब्यवस्थापनमा समस्या, दुुर्गन्धले महामारी फैलिने डर

दमक १२ मा थुपारिएको फोहोर
– विमल लामिछाने
दमक । दमक नगरपालिकाले तोकेको ठाउँमा फोहोर व्यवस्थापन हुन नसक्दा नगरवासी आक्रोशित हुन थालेका छन् । दमकलाई फोहोर मुक्त बनाउने भन्दै नगरपालिकाबाट दैनिक रुपमा उत्पादन हुने सबै किसिमका फोहोर मैलालाई स्रोतका रुपमा परिचालन गर्न र त्यसको व्यवस्थापन गर्न सार्वजनिक निजी साझेदारीको अवधारणा ल्याएको थियो । जस अन्तर्गत पाथ वे नेपाल प्रा.लि. जेभी इटहरी सुनसरीले २०७२ साल वैशाख १ गतेदेखि २०७६ साल चैत्र मसान्तसम्म जम्मा ५ वर्ष सञ्चालन गर्ने गरी सम्झौता गरेको थियो ।
 पाथ वे नेपाल प्रालि जेभीले यसअघि दमक नगरपालिका बजार क्षेत्रबाट प्रति महिना शुल्क लिने गरी सरसफाई शुल्कको दररेट समेत सार्वजनिक गरिसकेको छ । तर यो दररेट अवैज्ञानिक र स्तर अनुुकुल नभएको भन्दै चौतर्फी विरोध आइरहेपछि  फोहोर मैला व्यवस्थित हुन नसकेको हो । पाथ वे प्रालि र नगरपालिका बीच भएको यसअघिको सम्झौतालाई नगरबासीले स्वीकारेका छैनन् । उनीहरुले दररेट महंगो भएको र नगरपालिकाले उचित वर्गीकरण गर्न नसकेको बताएका छन् । ब्यावसायीहरुले दोहोरो कर तिर्न नसकिने भन्दै यसको तत्काल ब्यापक छलफल गरी पुनः वर्गीकरणको माग समेत गरेका छन् ।
 पाथ वे नेपाल प्रालिका अध्यक्ष सुुवास बस्नेतले नगरपालिका र पाथ वेबीच भएको सम्झौता अनुसार नै नगरको फोहोर व्यवस्थापन गरिने र यो कार्य जारी रहेको बताए । उनले भने ः  स्थानीय स्वायत्त शासन ऐन २०५५, फोहोर मैला व्यवस्थापन ऐन २०६८, फोहोर मैला व्यवस्थापन नियमावली २०७०, सार्वजनिक नीजि साझेदारी नीति २०६० लगायतका नियम बमोजिम नपा र पाथ वेबीच सम्झौता भएकाले यही सम्झौता अनुुसार काम भइरहेको जानकारी गराए ।  दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले फोहोरलाई स्रोतका रुपमा विकास गरी प्राप्त आम्दानीबाट दमक नगरपालिकाले विगतमा फोहोर व्यवस्थापनमा गरिरहेको खर्चलाई घटाएर नगर विकासमा अधिकतम प्रयोग गरिने, चुस्त व्यवस्थापनबाट दमक नगरबासीलाई प्रभावकारी सेवा उपलब्ध गराउने र नगरपालिकालाई फोहोर व्यवस्थापनको दीर्घकालीन दायित्वबाट मुक्त गर्ने अवधारणा अनुरुप यो कार्य सञ्चालन गरिएको बताए । उनले यो योजना तर्जुमा गर्दा कतिपय संघसंस्थाका प्रतिनिधिसँग परामर्श लिन छुुटेकाले केही समस्या आए पनि अब थप छलफल गरेर मिलाउने बताए ।
दमक नगर घरबेटी संघका अध्यक्ष मेहरमान लिङदेनले सरसफाई शुल्कको नाममा उठाइने रकम नगरपालिकाको कर श्रेस्ता भित्रैबाट तिर्नुपर्ने बताए । घरबेटीहरुको पूूर्ण सहमतिबिना नगरपालिकाले कर लगाएको छ । त्यसमाथि फोहोर व्यवस्थापन हुुन नसक्नुु दुःखको कुरा हो भन्दै ब्यापक छलफलको आवश्यकता रहेको बताए ।
यसैरी दमक–१२ का श्याम कार्कीले नगरपालिका र पाथ वेले गरेको सम्झौता अनुसार फोहोर फ्याक्ने ठाउँमा नफ्याकी दमक–१२ मा फोहोर फ्याक्ने कार्य भइरहेको बताए । यसले दुुर्गन्ध फैलाएर स्थानीयलाई विभिन्न रोगको संक्रमण बढीसकेको स्थिति छ । यो गैरजिम्मेवारी कार्यलाई तत्काल सुुधारी सम्बन्धित 
पक्षले तोकिएकै ठाउँमा ब्यवस्थापन गरोस् । उनी भन्छन्–‘अव्यवस्थित फोहोरले विरामी बढ्न थाले, महामारी चल्ने डर भयो यसको जिम्मा कस्ले लिने हो ?’ होटल व्यवसायी संघका कार्यबाहक अध्यक्ष राजेन्द्र दंगालले होटल व्यवसायीहरुले चर्को मूल्य तिर्नुु परेको बताए । उनले भने–‘कर समायोजन भएको छैन, नगरपालिकाले ठेक्का लिइसकेपछि नगरपालिकाले नै कर तिर्नुु पर्ने हो तर साना होटललाई मासिक ५ सय र ठूूला होटललाई मासिक १ हजारका दरले उठाउने गरिन्छ यो आफैमा अवैज्ञानिक छ ।’ उता, पाथ वे प्रालि दमक नगर शाखा कार्यालय प्रमुख निर्मला चौधरीले फोहोरबाट मल बन्ने र प्लाष्टिकजन्य वस्तुको गमलालगायत भाँडा बनाइने भएकाले ‘फोहोर नै मोहोर हो’ भन्दै फोहोर व्यवस्थापनलाई साथ दिन नगरबासीसँग आग्रह गरिन् । उनले प्रसोधनका लागि लगानी नगरपालिकाले गर्ने र व्यवस्थापन गर्ने काम मात्र पाथ वे प्रालिले गर्ने बताइन् । उनले फोहोर व्यवस्थापनलाई ‘रिसोर्स रिकभर सेन्टर’ भन्ने अर्थमा बुुझ्नुु पर्ने बताइन् । उनले भनिन्–अहिले हामीले फोहोरलाई विभिन्न वर्गमा छुुट्याएर मल बनाउने र अन्य सामग्री बन्ने कच्चा पदार्थलाई छुुट्टाछुृट्टै व्यवस्थापन गरिरहेका छौं, तर औषधि व्यावसायी र कतिपय अस्पतालहरुले रगतसहितका सिरिन्ज समेत फोहोर मैलामा फ्याँकीदिने गरेकाले समस्या भएको छ । दमक नगरपालिकामा दैनिक १२ टनभन्दा बढी फोहोर उत्पादन हुुने गरेको छ तर यसको व्यवस्थित डम्पिङ हुन नसक्दा यो फोहोर दुुर्गन्धित बनेर समाजमा प्रत्यक्ष असर पारिरहेछ । नगरपालिका र पाथवे को पूर्व सर्त अनुुसार प्रशोधन गरिने भनिएको स्थान र तरिकाले काम गर्न नसक्दा दमकमा यो समस्या सृजना भएको हो । दमक–१२ स्थित सृजना टोलको किनारमा थुुपार्दै आएको फोहोर मैलाले अब केही दिनभित्रै अर्को समस्या निम्त्याउने खतरा देखिन्छ । सृजना टोलका जनसमुुदायले यहाँ फोहोर नथुुपार्न पटक–पटक आग्रह गर्दा पनि संस्थाले नटेरेपछि त्यस क्षेत्रका बासिन्दाहरु आक्रोशित बनेका कुरा स्थानियबासी राजकुमार सुब्बाले बताए । अहिले त्यस क्षेत्रमा दुुर्गन्धका कारण रुघाखोकी लाग्ने, टाउको दुुख्ने, बच्चाहरुलाई बान्ता हुुने जस्ता रोगहरु बढेपछि यसले महामारीको रुप लिने स्थिति भइरहेको छ ।


के भन्छन् दलका नेताहरु

विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले दमक नगरभित्रको फोहोर व्यवस्थापनको योजना कार्यान्वयन  गर्न सम्बन्धित संस्थाले ब्यापक छलफल र वहस चलाउनुु पर्ने आवश्यकता रहेको बताएका छन् ।
नेकपा एमालेका नगर अध्यक्ष अम्बिका खनालले फोहोर व्यवस्थापनमा केही समस्याहरु सृजना भएकाले उद्योगी, ब्यापारी र नगरबासीहरुको प्रतिनिधित्व हुुने गरी ब्यापाक छलफल गर्नुुपर्ने आवश्यकता रहेको र यो कार्यको निम्ति चाँडै पहल गर्न नगरपालिकाले  चासो राख्नुुपर्ने बताए । उनले डम्पिङ साइडका लागि भनेर छुुट्याइएको जमिनमा निश्चित क्षेत्रभित्र प्रशोधन गर्ने क्षेत्र नबनिसकेको स्थिति भएको बताए । उहाँ डम्पि साइड व्यवस्थापन समिती दमकका संयोजक समेत हुन् । उनले भने–अहिले जुुन कदम चालेर पाथवे र नगरपालिकाबीचको समन्वयमा काम भइरहेको छ, यो अरुभन्दा छुुट्टै र पृथक कार्य हो यसलाई तीन प्रकृतिबाट फोहोर मैलाको व्यवस्थापन गर्नुुपर्ने हुन्छ ।  
यसैगरी राप्रपाका नगर सचिव प्रकाश सुवेदीले फोहोर व्यवस्थापनमा जनचेतनाको खाँचो रहेको बताए । उनले भने ः कसले लान्छ, कतिखेर गाडी आउँछ, कहाँ लगेर फ्याँक्ने ? यो केही पनि सर्वसाधारणलाई थाहै छैन । यो स्थितिमा खातामा योजना बनाएर दराजमा खाता थुुनेर योजना कार्यान्वयन हुँदैन । अहिले जहाँ फोहोर फ्याक्दिैछ, त्यो अव्यवस्थित र गैरजिम्मेवारी हो । किनभने हम्सेदुुम्से सामुुदायिक वनले उपलब्ध गराएको क्षेत्रको ल्याण्डफिल्ड (डम्पिङ साइड)मा फ्याक्ने भनिएको फोहोर मैला पहिले सयपत्री टोलमा फ्याकिदै आएको र अहिले दमक १२ को नयाँ सुुकुम्बासी बस्तीमा फ्याँकिएकाले यो कदम गलत छ । 
यसैगरी नेपाली कांग्रेसका नगरसभापति ढुण्डीराज भण्डारीले नगरबासीहरुले फोहोरको समस्या हाम्रो समस्या हो भन्ने अर्थमा बुुझ्न आवश्यक रहेको बताए । उनले भने–कोही मान्छेहरु फोहोरमा राजनीति गर्ने र केही व्यक्तिगत स्वार्थ राखेर संस्थामा पसकेका छन् । यी मान्छेहरुले काम बिगारेका हुन् । उनले भने सबैसँग परामर्श र छलफल नगरी कामलाई अगाडि बढाउन गलत कदम हो । विभिन्न स्वार्थ राखेर व्यापारिक उद्देश्यले संस्थामा पसेका मान्छेहरुदेखि नगरबासी सचेत रहनुुपर्छ ।
यसैगरी एकीकृत कम्युुनिष्ट पार्टीका नगर सेक्रेटरी उमेश सिटौलाले नगरपालिकाले पाथवेलाई जिम्मा दिएपछि अहिलेको भन्दा भिन्न र नयाँ तरिकाले फोहोर व्यवस्थापन गर्न सक्नुुपथ्र्यो तर यो हुन सकेन । यसका लागि नागरिक स्तरबाट पनि उत्तिकै सहयोगको आवश्यक पर्छ ः उनले भने ।
नेकपा माओवादीका नगर सेक्रेटरी लोमनाथ भण्डारीले वन क्षेत्र  को पूर्वाधारलाई व्यवस्थित नगरी फोहोर तोकिएको ठाउँमा भन्दा अन्यत्र फ्याँकीएकोमा जनआपत्ति रहेको छ । यसलाई नगरपालिकाले तत्काल समाधान गरोस् । तोकिएको ठाउँमा फ्याक्न नसक्दा दमक–१२ को गाउँ नै प्रदुषित भएको छ ।
 यसैगरी संघीय समाजवादीका नगर इन्चार्ज सुुशिल राईले पाथवेले ल्याएको यो कदम पूूर्वको लागि पहिलो भए पनि सबैको राय सुुझाव र सल्लाहले काम गर्न नसक्दा योजना असफल भएको जस्तो देखिने बताए । उनले भने– बिहान उठाउनु पर्ने फोहोर उठाउन बेलुका ३ बजे गाडी लिएर आउँछन् । कतिबेर पर्खिएर बस्ने र कुन–कुन टोलको एक ठाउँमा संकलन गर्ने यो पनि तोकिएको छैन । यसैगरी यसअघिको शुल्क निर्धारणमा एकरुपता छैन भन्दै  एकरुपताको खाँचो दर्शाए ।
एमाओवादीका नगर इन्चार्ज रमेश गुुरागाईले संस्थाले नगरबासीको धारणा बुुझेर काम गर्न सक्नुपर्छ भन्दै योजना सफल परामर्शको अभाव भएको प्रतिकृया दिए । 
राप्रपा नेपालका केन्द्रीय सहमहामन्त्री राम थापाले पाथवे, नगरपालिका र नगरबासीबीच समन्वयको खाँचो छ । यो हुुन नसक्दा काम फितलो र अव्यवस्थित भएको बताए । उनले फोहोर डम्पिङ कार्य अव्यवस्थित छ भन्दै तोकिएको ठाउँमा फोहोर नफ्याकिएको गुुनासो गरे ।
त्यसैगरी लिम्बुवानका केन्द्रीय सचिव देउकुमार नेम्वाङले ब्यापक छलफल नगरी केही ठूला व्यक्तिहरुले मात्र बसेर बनाएको योजना भएकाले कार्यान्वयन हुने कुरामा थप समस्या भएको बताए । उनले भने– यो योजना व्यवस्थित गर्न सके राम्रो हुुने थियो तर संस्थाले भूूमिका निभाउनै सकेन ।

उपभोक्ता समिति र प्रधानमन्त्रीबीच भेटबार्ता बहुबर्षिय योजनामा पार्ने प्रधानमन्त्रीको आश्वासन

दमक । प्रधानमन्त्री शुशील कोइरालाले निर्माणाधिन दमक चिसोपानी रवि सडक निर्माणमा सक्दो सहयोग गर्ने आश्वसन दिएका छन् । प्रधानमन्त्री कोइरालाले लामो समयसम्म सडक निर्माण हुन नसकेकोमा दुःख ब्यक्त गर्दै आउदो बर्ष बहुबर्षिय योजनामा पार्ने आश्वासन दिए । 
 दमक चिसोपानी रबि सडक निर्माण उपभोक्ता समितिको टोलीलाई मंगलबार भेट गर्दै उनले आफू सडक निर्माणप्रति आफु गम्भिर रहेको भन्दै आगामी बर्ष बहुबर्षिय योजनामा पार्ने आश्वासन दिए । कोइरालाले सबै विभागहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सडक डिभिजन लगायतको निकायहरुसँग सम्पर्क गरी बाटोलाई आगामी बर्ष कुनै पनि हालतमा बुहबर्षीय योजनामा पार्न निर्देशन दिएको समितिका अध्यक्ष रेवतराज पुरीले जानकारी दिए । 
त्यस अवसरमा अध्यक्ष पुरीले सडकबाट करिब १५ लाख जनताहरु प्रत्यक्ष लाभान्वित हुने, ४७ किलोमिटर रहेता पनि मेची अञ्चलको सबै जिल्लालाई छुने बाटो भएको हुँदा प्राथमिकता नं. १ मा पारिदिन आग्रह गरेका थिए । 
उनले  भारतको फत्तेपुर हुँदै झापाको गौरीगञ्ज र चीनको घाङ्लासम्म जोड्ने भएकोले विशेष गरी झापा, पाँचथर, 
इलामको ३३ वटा गाविस, एक नगरपालिका, विभिन्न धार्मिक पर्यटकीय स्थलहरु, किरात धर्मको प्रमुख धार्मिकस्थल लारुम्बा, माङ्सेबुङ् लगायत ठाउँहरुहरु सो बाटोमा पर्ने भएको हुँदा सो सडकलाई बहुबर्षीय परियोजनामा पारिदिन आग्रह गरेका थिए । सोही भेटको क्रममा ताप्लेजुङ्मा गएको पहिरोले पिडीतहरुलाई गास, बास र कपासमा सरकारको पुर्याउन पनि सहभागी सभासदहरुले आग्रह गरेका छन् ।
टोलीमा झापा, इलाम र पाँचथर जिल्लाका सभासदहरु केशवकुमार बुढाथोकी, भिष्मराज आङ्देम्बे, दिपक कार्की, श्रीप्रसाद जवेगु, राम कार्की, मोहन टुडु सहभागी थिए । त्यसैगरी समितिका पूर्व उपाध्यक्ष लोकबहादुर धिमाल, वर्तमान उपाध्यक्ष विनोद नेम्वाङ्, सचिव दिल कुमार लावती, महिला सचिव लिलादेवी दाहाल, सदस्यहरु केन्द्र प्रसाई अन्य दलीय प्रतिनिधिहरु झलकसिंह दर्लामी, धर्मशीला चापागाई, हरि भण्डारी, रुद्र गौतम, सिताराम अधिकारी, सिपी कडरिया, नगेन्द्र भटट्राई, दिपक दुलाल, दिपक खतिवडा, दमक काठमाण्डौं सरोकार मञ्चका गोपाल चुडाल, विष्णुमाया साम्पाङ, अविनास तामाङ, विरेन्द्र बस्नेत लगायतका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई भेट गरेका थिए । 
यसअघि टोलीले आइतबार र सोमबार एमाले अध्यक्ष रोमनाथ ओली, कांग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौला, एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ट नेता डा. बाबुराम भट्टराई, सभाध्यक्ष सुबास नेम्बाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोबिन्द पोखरेल लगायतका दलका नेताहरुसंग भेटेर सडक निर्माणका लागि सहयोग गरिदिन आग्रह गरेको थियो ।

निर्माणाधिन योजनाको स्थलगत अनुगमन

दमक । जिल्ला विकास समिति (जिबिस) ले झापा क्षेत्र नं. ७ मा सञ्चालन भएका विभिन्न निर्माणाधिन योजनाहरुको मंगलवार स्थलगत अनुगमन गरेको छ ।
जिबिस झापा मार्फत आर्थिक वर्ष २०७१÷७२ मा यहाँ सञ्चालन भएका २० वटा योजनाको स्थालगत अनुगमन गरिएको हो । स्थानिय विकास अधिकारी ( एलडिओ) फडिन्द्र दाहालका अनुसार चालु आ.व.मा जनसहभागितामा आधारित १० वटा तथा निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रम अन्र्तगतका १० वटा गरि २० वटा योजनाहरु सञ्चालन भइरहेका छन् । जसको कार्य प्रगतिको अवस्था वारेमा नागरिक स्तरसम्म जानकारी गराउने उदेश्यले योजनाको अनुगमन गरिएको स्थानिय विकास अधिकारी दाहालले जानकारी दिए । क्षेत्र नं. ७ अन्र्तगत सडक पक्की गर्ने, ग्राभेल, पुल, विद्युत विस्तार, घेरावारा, भवन निर्माण लगायतका योजना सञ्चालनमा भइरहेका छन् । अनुगमनको क्रममा दमक नगरपालिका ६ स्थित कृष्ण मन्दिर वेलडाँगी ढुकुरपानी जनता चौक सडक खण्ड कालोपत्रे, दमक १९ वाट मोरङको राजघाट जोड्ने मावाखोलामा निर्माणाधिन पक्की पुल समेत अनुगमन गरिएको थियो । त्यस्तै दमककै पशुपति मन्दिरको अतिथि सदन तथा रत्न कुमार वान्तवा स्मृति भवन निर्माण लगायतका योजनाको प्रगति अन्तिम चरणमा रहेको पाइएको जानकारी गराइएको छ ।
टोलीले लखनपुर गाविसका नौवटै वडाका विभिन्न १७ टोलमा ७० थान विद्युत पोल तथा तार विस्तारको कामको भएको विद्युत विस्तार तथा गर्ने काम धमाधम भइरहेको जानकारी गराइएको छ । त्यसैगरी सरस्वती उच्च माबि तथा लखनपुर गाविसको घेरावाराको काम समेत अन्तिम चरणमा पुगेको छ । टोलीले तोपगाछी र धरमपुरमा निर्माणाधिन अन्य योजना समेत अनुगमन गरेको थियो । एकदुई योजना वाहेक सम्पुर्णको प्रगति सन्तोजानक रहेको जिबिसका योजना अधिकृत डिल्ली नेपालले जनाए । टोलीमा  एलडिओ दाहाल, सहायक सिडियो रोहितराज पोख्रेल, नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा, नेकपा एमालेका क्षेत्र नं. ७ का होम थापा, एमाओवादीका वम वहादुर कार्की, शन्ति समिति झापा अध्यक्ष सुर्य नारायण गणेश, रेडक्रस झापाका सभापति लोकराज ढकाल, जिल्ला प्राविधिक कार्यालय झापाका ईञ्जिनियर राम लखन माझी, कोष तथा लेखा नियन्त्रण कार्यालका कोष नियन्त्रक दीनेश भण्डारी लगायत सहभागि थिए । 

तमोर बगरमा माछैमाछा, एउटै ८० किलोसम्म [ फिचर फोटो सहित ]

माछा मारेपछि बोकेर घर लाँदै स्थानिय
धनकुटा । तीन दिनअघि अकस्मात आएको बाढीका कारण तमोर नदीमा ठूल्ठूला माछा फेला परेका छन् । उत्तरी जिल्लाहरुमा भएको भीषण वर्षापछि बाढी आएर नदि धमिलिएको थियो । त्यसक्रममा ठूल्ठूला आकारका माछा बगरसम्म लेदोमा बगेर आएका थिए । बगरमा छ्यापछ्याप्ती माछा आएको हल्ला फैलिएपछि आसपास गाउँ र धनकुटा सदरमुकामसम्मका बासिन्दा माछा संकलन गर्न पुगेका थिए । बूढीमोरङ, मूलघाट लगायत क्षेत्रमा पर्ने बगरमा माछा देखेपछि कोसी राजमार्गमा चल्ने सवारी साधनका कर्मचारी र यात्रु समेत माटा बटुल्न पुगेका थिए । त्यसरी फेला परेको माछा ६५ देखि ८० किलोसम्मको भएको स्थानीय पत्रकार मोहन वान्तवाले बताए । माछा गोंज जातको भएको स्थानीयको भनाइ छ । एकै दिन धनकुटाका विभिन्न स्थानमा पर्ने तमोर किनारमा संकलन गरिएको माछा १० हजार टनसम्म भएको अनुमान गरिएको 
छ । फेला परेको माछा समातेर कतिपयले घरमा लगेर थिए । कतिपयले भने बिक्री गरेका थिए । वान्तवाका अनुसार सयदेखि ४ सय रुपैयाँ प्रतिकिलोसम्ममा किनबेच भएको थियो । तमोरमा यसरी छ्यापछ्याप्ती माछा हमेसा पाइँदैन । स्थानीय बूढापाकाका अनुसार २०३७ सालताका आएको बाढीमा पनि यसैगरी माछा बगरमा फेला परेका थिए । यसअघि पाँचथरमा पनि तमोर नदीबाट ठुलो मात्रामा माछा निकालेर बेचिएको थियो ।












पूर्वाञ्चलमा एक लाख हेक्टर जमीन बाँझै

दमक । पूर्वाञ्चलमा ९ लाख ४५ हजार छ सय ५८ हेक्टर खेतीयोग्य जमिनमध्ये ८ लाख ४८ हजार ३ सय ५ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको छ । 
पूर्वाञ्चलका जिल्लामा १० प्रतिशतसम्म खेतीयोग्य जमिन बाँझै रहने गरेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । खेतीप्रति मानिसहरुको विकर्षण बढेकाले खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको निर्देशनालयले उल्लेख गरेको छ । तथ्यांक अनुसार यो वर्ष तेह्रथुममा सबैभन्दा बढी १० प्रतिशत जमिन बाँझै छ । अन्नको भण्डारका रुपमा चिनिने पूर्वका झापा, मोरङ र सुनसरीमा पनि ४ देखि ६ प्रतिशतसम्म खेती गर्ने जमिन बाँझै रहेको छ । यो वर्ष सुनसरीमा ६ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको छ । झापामा ४ प्रतिशत र मोरङमा २ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको निर्देशनालयका कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारीले बताए ।
समयमै मल, बीउ नपाउने, सिँचाइ अभावका कारण आकाशेपानीको भरमा अन्नबाली लगाउनुपर्ने बाध्यता र श्रमिक अभावले खेती गर्ने किसानहरु पिरोलिएका छन् । जसका कारण अधिकांश किसान पहाडी कृषिले परिवार पाल्न धौधौ भएको गुनासो गर्छन् । सन् २०३० सम्ममा हालको तुलनामा ६० प्रतिशत बढी खाद्यान्न आवश्यक पर्ने अनुमान लगाउँदै ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ र एक गाउँ एक उत्पादन’ जस्ता प्रचारमुखी सरकारी कार्यक्रममा बाँझो जमिनको प्रयोग, खाद्यान्न उत्पादन, आपूर्ति र वितरणमा रहिआएका समस्या सम्बोधन गर्ने कुनै ठोस योजना छैनन् ।

५० % शुल्क मिनाहा गर्न निर्देशन

काठमाण्डौ । भूकम्पका कारण बन्द रहेको एक महिनाको मासिक शुल्कमा ५० प्रतिशत छुट दिन  शिक्षा मन्त्रालयले नीजी विद्यालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर यस्तो निर्देशन दिएको हो । मन्त्रालयको यो निर्देशनसँगै  आन्दोलन घोषणा गरेका १३ विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका छन् । यसअघि निजी विद्यालय सञ्चालकहरुले बिभिन्न शिर्षकहरुमा छुट दिने र त्यो छुट ५० प्रतिशत मिनाहा गरेको सरह हुने भन्दै आएका थिए । तर, विद्यार्थी नेताहरुले एक महिनाको शुल्क शतप्रतिशत मिनाहा गर्न माग गर्दै आएका थिए । यसअघि आइतबार बिहान  नै  बिद्यार्थी संगठनहरुले  प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । मन्त्रालयले विज्ञप्ति मार्फत भूकम्प प्रभावित जिल्लामा प्रभावित भएको शैक्षिक क्यालेण्डरमा समायोजन गरी पाठ्यसामग्री पठन पाठन पूरा गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । भूकम्पबाट आमा बुवा गुमाएका २०० बालबालिकाहरुलाई पालन पोषणसहित शिक्षादिक्षाको निःशुल्क व्यवस्था एसओएस भिलेज नेपाल सानोठिमी भक्तपुरमा मिलाइएको छ ।