निर्माणाधिन योजनाको स्थलगत अनुगमन

दमक । जिल्ला विकास समिति (जिबिस) ले झापा क्षेत्र नं. ७ मा सञ्चालन भएका विभिन्न निर्माणाधिन योजनाहरुको मंगलवार स्थलगत अनुगमन गरेको छ ।
जिबिस झापा मार्फत आर्थिक वर्ष २०७१÷७२ मा यहाँ सञ्चालन भएका २० वटा योजनाको स्थालगत अनुगमन गरिएको हो । स्थानिय विकास अधिकारी ( एलडिओ) फडिन्द्र दाहालका अनुसार चालु आ.व.मा जनसहभागितामा आधारित १० वटा तथा निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रम अन्र्तगतका १० वटा गरि २० वटा योजनाहरु सञ्चालन भइरहेका छन् । जसको कार्य प्रगतिको अवस्था वारेमा नागरिक स्तरसम्म जानकारी गराउने उदेश्यले योजनाको अनुगमन गरिएको स्थानिय विकास अधिकारी दाहालले जानकारी दिए । क्षेत्र नं. ७ अन्र्तगत सडक पक्की गर्ने, ग्राभेल, पुल, विद्युत विस्तार, घेरावारा, भवन निर्माण लगायतका योजना सञ्चालनमा भइरहेका छन् । अनुगमनको क्रममा दमक नगरपालिका ६ स्थित कृष्ण मन्दिर वेलडाँगी ढुकुरपानी जनता चौक सडक खण्ड कालोपत्रे, दमक १९ वाट मोरङको राजघाट जोड्ने मावाखोलामा निर्माणाधिन पक्की पुल समेत अनुगमन गरिएको थियो । त्यस्तै दमककै पशुपति मन्दिरको अतिथि सदन तथा रत्न कुमार वान्तवा स्मृति भवन निर्माण लगायतका योजनाको प्रगति अन्तिम चरणमा रहेको पाइएको जानकारी गराइएको छ ।
टोलीले लखनपुर गाविसका नौवटै वडाका विभिन्न १७ टोलमा ७० थान विद्युत पोल तथा तार विस्तारको कामको भएको विद्युत विस्तार तथा गर्ने काम धमाधम भइरहेको जानकारी गराइएको छ । त्यसैगरी सरस्वती उच्च माबि तथा लखनपुर गाविसको घेरावाराको काम समेत अन्तिम चरणमा पुगेको छ । टोलीले तोपगाछी र धरमपुरमा निर्माणाधिन अन्य योजना समेत अनुगमन गरेको थियो । एकदुई योजना वाहेक सम्पुर्णको प्रगति सन्तोजानक रहेको जिबिसका योजना अधिकृत डिल्ली नेपालले जनाए । टोलीमा  एलडिओ दाहाल, सहायक सिडियो रोहितराज पोख्रेल, नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा, नेकपा एमालेका क्षेत्र नं. ७ का होम थापा, एमाओवादीका वम वहादुर कार्की, शन्ति समिति झापा अध्यक्ष सुर्य नारायण गणेश, रेडक्रस झापाका सभापति लोकराज ढकाल, जिल्ला प्राविधिक कार्यालय झापाका ईञ्जिनियर राम लखन माझी, कोष तथा लेखा नियन्त्रण कार्यालका कोष नियन्त्रक दीनेश भण्डारी लगायत सहभागि थिए । 

0 प्रतिकृया:

Post a Comment