पूर्वाञ्चलमा एक लाख हेक्टर जमीन बाँझै

दमक । पूर्वाञ्चलमा ९ लाख ४५ हजार छ सय ५८ हेक्टर खेतीयोग्य जमिनमध्ये ८ लाख ४८ हजार ३ सय ५ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको छ । 
पूर्वाञ्चलका जिल्लामा १० प्रतिशतसम्म खेतीयोग्य जमिन बाँझै रहने गरेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । खेतीप्रति मानिसहरुको विकर्षण बढेकाले खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको निर्देशनालयले उल्लेख गरेको छ । तथ्यांक अनुसार यो वर्ष तेह्रथुममा सबैभन्दा बढी १० प्रतिशत जमिन बाँझै छ । अन्नको भण्डारका रुपमा चिनिने पूर्वका झापा, मोरङ र सुनसरीमा पनि ४ देखि ६ प्रतिशतसम्म खेती गर्ने जमिन बाँझै रहेको छ । यो वर्ष सुनसरीमा ६ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको छ । झापामा ४ प्रतिशत र मोरङमा २ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको निर्देशनालयका कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारीले बताए ।
समयमै मल, बीउ नपाउने, सिँचाइ अभावका कारण आकाशेपानीको भरमा अन्नबाली लगाउनुपर्ने बाध्यता र श्रमिक अभावले खेती गर्ने किसानहरु पिरोलिएका छन् । जसका कारण अधिकांश किसान पहाडी कृषिले परिवार पाल्न धौधौ भएको गुनासो गर्छन् । सन् २०३० सम्ममा हालको तुलनामा ६० प्रतिशत बढी खाद्यान्न आवश्यक पर्ने अनुमान लगाउँदै ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ र एक गाउँ एक उत्पादन’ जस्ता प्रचारमुखी सरकारी कार्यक्रममा बाँझो जमिनको प्रयोग, खाद्यान्न उत्पादन, आपूर्ति र वितरणमा रहिआएका समस्या सम्बोधन गर्ने कुनै ठोस योजना छैनन् ।

0 प्रतिकृया:

Post a Comment