हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

तीन वर्षमा ५८ मुद्दा फस्र्यौट

दमक/इलाका प्रहरी कार्यालय दमकले अघिल्लो ३ बर्षमा ६१ वटा सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको छ । ती मध्ये ५८ वटा मुद्दाहरु फस्र्यौट भएका छन् ।
आर्थिक वर्ष २०६८÷६९ देखि ०७०÷०७१ सम्ममा ती मुद्दाहरु आएका थिए । सो अवधिमा ६१ जनाको सबारी दुर्घटनामा परि मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । २०६८÷६९ मा २० मध्ये १८
वटा, ०६९÷७० मा २८ मध्ये २७, ०७०÷७१ मा १३ मध्ये १३ वटा मुद्दाहरु फस्र्यौट भएको कार्यालयका प्रमुख डिएसपी रबीकुमार पौडेलले जानकारी दिए ।

महारानीमा प्रशोधन केन्द्र बन्दै

गौरादह/झापाको महारानीझोडामा पूर्वाञ्चलकै सवैभन्दा ठुलो विउविजन प्रशोधन तथा प्याकेजीङ केन्द्र बनाउन थालिएको छ  । नेपाल सरकार र स्थानीयबासीहरुको करिव दुई करोड रुपैयाँको संयुक्त लगानीमा केन्द्र बनाउन थालिएको हो । महारानीझोडास्थित साना किसान कृषि सहकारी संस्थाले विउविजन तथा प्रशोधन केन्द्रको निर्माण थालिएको संस्थाकी अध्यक्ष मीना ढकालले बताइन् । सो केन्द्र महिलाहरुले मात्र सञ्चालन गरेका हुन् । सो केन्द्र बनाउन संस्थाको २० लाख र सरकारको एक करोड ६० लाख रुपैयाँ लगानी रहेको उनले जानकारी दिईन् । महारानीझोडा गाविस वडा नम्बर ५ मा संस्थाले सो केन्द्र बनाउन काम तीव्र थालेको हो ।
धान, मकै, गँहु जस्ता नगदे वालीका विउविजन तथा प्रशोधन पूर्वमा नभएका कारण स्थानीय कृषकहरुको अगुवाईमा व्यवस्थित केन्द्रको काम अगाडी बढाइएको सो सहकारीका प्रवन्धक चिरञ्जिवी भण्डारीले बताए । स्थानीय स्तरमा प्रशोधन केन्द्र नहुँदा यस क्षेत्रका कृषकहरुले भारतबाट आयातीत कम गुणस्तरका विउविजनमा निर्भर रहनु परेको थियो । विउ खरिदका लागि नै यहाँका कृषकहरुले ठूलो रकम बाहिर खर्चनु परेको स्थानीय कृषकहरुको गुनासो छ । केन्द्र निर्माण पूरा भएपछि बिशेष गरि धान, गहुँका विज उत्पादन तथा प्रशोधन कार्य आफ्नै स्थलमा हुने संस्थाकी अध्यक्ष ढकालले जानकारी दिइन् । आगामी दुई बर्ष भित्र निर्माण पुरा गरिने लक्ष्य लिईएको सो केन्द्र पूर्वकै सवैभन्दा ठूलो विउविजन तथा प्रशोधन केन्द्र हुने अध्यक्ष ढकालले दावी गरिन् । उनले भने–‘यस प्रशोधन तथा विउविजन केन्द्र बनिएपछि जिल्लाकै कृषकहरुलाई राहत पुग्ने छ ।’

वनका अध्यक्षमाथि अख्तियारको मुद्दा

उर्लाबारी /सामुदायिक वनको रकम हिनामिना गरेको अभियोगमा एक पदाधिकारीमाथि अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
वनको कमाई हिनामिना गरेको अभियोगमा मोरङको पार्टी गाविस–७ स्थित समला उपभोक्ता समूहका अध्यक्ष फारस कुमार विश्वकर्मा र सचिव असलमाया मगरविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
उनीहरूले आ.व. ०६९÷७० मा समूहको काठ लिलाम गरे भएको २० लाख ६ हजार ५ सय ९६ रूपैयाँ हिनामिना गरेको अभियोग अख्तियारले लगाएको छ । उनीहरूविरूद्द भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १७ द्वारा परिभाषित कसुर गरेको पुष्टि हुने भएकाले कडा सजाय दिन अख्तियारले विशेषसँग माग गरेको हो ।

नहरमा डुवेर मृत्यु हुने संख्या बढ्यो

दमक/उचित सुरक्षाको ब्यवस्था हुन नसक्दा झापाको कन्काई सिँचाई अन्तर्गत माईधार दक्षिणतर्फ सञ्चालित नहरमा जोखिम बढ्दो छ ।  बर्षायामको अवधिमा ती नहर क्षेत्रमा अकालमा नै डुवेर मृत्यु हुने क्रम बढेको पाईएको छ । सिँचाईको लागि सञ्चालित नहरलाई घेरावारा वा अन्य सुरक्षा ब्यवस्थामा सरोकारवालाले गम्भिर ध्यान नदिँदा स्थानियहरु बर्षौँ देखि यस्तो जोखिम भोग्न बाध्य भएका छन् ।
प्रहरीका अनुसार साउन महिना यता कन्काई नहरमा डुवेर मर्नेहरुको संख्या ५ पुगेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार आज बुधबार घरवाट बिद्यालय हिडेका एक किशोर बिद्यालय नपुग्दै नहरमा डुवेर मृत्यु भएको छ । बिहान ९ बजेको सयमा घरवाट बिद्यालय तर्फ आउँदै गरेका शिवगञ्ज–८ ब्याङ्गडाँडाका ९ बर्षीय सजेन भण्डारीको नहरमा डुवेर मृत्यु भएको हो । स्थानिय चेतना आवसिय माध्यामिक बिद्यालयको कक्षा ३ मा अध्यनरत भण्डारी ब्याङ्गडाँडा चौक दक्षिण ५ सय मिटर सतासीखोलाको साइफनमा मृत अवस्थामा शब भेटिएको प्रहरी निरीक्षक शैलेन्द्र यादवले जानकारी दिए ।
यसैगरी हिजो मंगलबार मात्र शिवगञ्जमा एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा शिवगञ्ज–३ का सुजन बस्नेत रहेका छन् । कन्काई नदीबाट माईधार हुँदै दक्षिणी सीमावर्ती महाभारा अन्तर्गत कुञ्जीवारी बजार तर्फ सञ्चालित नहरमा डुवेर बस्नेतको मृत्यु भएको थियो । प्रहरीका अनुसार बस्नेत नजिकै खेतवारीवाट घाँस बोकेर घरतर्फ आउने क्रममा नहरमा डुब्दा घटनास्थलमा नै ज्यान गएको झिलझिले प्रहरीले जनाएको छ । यसअघि शिवगञ्ज–४ का १२ बर्षीय दिपक सुन्दासको पनि नहरमा नै डुवेर ज्यान गएको छ ।
उनी साथीहरु सँग गर्मिमा नहरमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा सुन्दास डुवेका थिए । त्यसैगरी श्रावणको पहिलो साता सतासीधाम–८ माइधार दक्षिण किराँत चौकमा दुईजना महिलाको शव नहरमा डुवेर मृत अवस्थामा फेला परेको थियो । मृतक दुई महिलाको सनाखत हुन नसके पनि पोष्टमार्टम गरेका थिए ।

शैक्षिक वृद्धिमा लाग्न अनुरोध

दमक/नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले सिटीइभीटीको सम्वन्धन प्राप्त शैक्षिक संस्थाहरुले दिने शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिन आग्रह गरेको छ ।
बुधवार संघका झापा जिल्ला सभापति रोशन बिष्टद्वारा जारी बिज्ञिप्तमा जिल्ला भित्र अध्यापन गराइरहेका शैक्षिक संस्थाहरुले बिद्यार्थीहरुको अध्यायनलाई खस्किन नदिन आग्रह गरेको हो ।  शैक्षिक संस्थाहरुले प्रयोगात्मक र सैद्धान्तिक बिषयको सिकाईमा बिशेष ध्यान दिई  शैक्षिक बृद्धि गर्न संघले  अपिल गरेको छ ।
बिद्यार्थीहरुको  शैक्षिक उन्नतिका लागि अभिभावकहरुलाई समेत आफनो छोरा छोरीले पढे नपढेको  ख्याल गर्न र शैक्षिक संस्थालाई खवरदारी गर्ने बातावरण सिर्जना गर्न  जारी बिज्ञिप्तमा उल्लेख छ ।
विद्यार्थीहरुको भर्ना शुल्क एक मुष्ठ लिँदा अभिभावकलाई  आर्थिक बोझ पर्ने हुँदा किस्ता बन्दी रुपमा  शुल्क सङ्कलन गरी दिन संघको  अनुरोध छ । संघको  अनुरोधलाई वेवास्ता गरी शैक्षिक संस्थाहरुले  एकलौटी, मनोमानी ढङ्गले रकम अशुली गरे नेविसंघ आन्दोलनमा उत्रिने    सभापति बिष्टले बताए ।

युनाइटेड स्पोर्टिङ क्लव दमक बिजयी

दमक/दमक १२ को सुकुम्वासी टोल छेउको खेल मैदानमा जारी  दमक फुटवल लिग २०७१ को बुधवार भएको खेलमा युनाइटेड स्पोर्टिङ क्लव दमक बिजयी भएको छ । खेलमा ब्रायनमुनीक फुटवल क्लव दमक १२ लाई  १–० गोल अन्तरले हराउँदै  युनाइटेड  बिजयी भएको हो । खेलमा युनाइटेडका  खेलाडी अतित बान्तवाले  गरेको  गोल नै निर्णायक भएको थियो ।
शुक्रबार हुने खेलमा न्यु थट फुटवल क्लव र न्यु ब्वाइज फुटवल क्लव दमक १२ बीच हुने  आयोजक  दमक युनाइटेड स्पोर्टिङ क्लव दमकका सदस्य ललित मगरले बताए ।

सुर्यदर्शन फुटवल लखनपुरमा आज

लखनपुर/झापाको लखनपुरमा आज बिहिवारदेखि दुई दिवसीय तेस्रो सुर्यदर्शन अन्तर सदस्य फुटबल प्रतियोगिता शुरु हुँदैछ । सुर्यदर्शन सहकारी संस्था दमकको आयोजनामा १५ वटा बस्तुगत संघहरु बीच फुटबल प्रतियोगीता हुने भएको हो ।
आज बिहान ६ बजेबाट  लखनपुर–१ स्थित आदिवासी रंगशालामा हुने खेलमा होटल व्यवसायी, हार्डवेयर, प्रेस, रेडिमेट, जुत्ता चप्पल, सुनचाँदी लगायतका संघको टोली बीच ष्पर्धा गर्दैछन् ।  प्रतियोगीताको फाइनल खेल शुक्रवार हुने सहकारी संस्थाका अध्यक्ष टिकाराज सापकोटाले जानकारी दिए । बिजेताले ३० हजार रुपैयाँ र उप बिजेताले २० हजार रुपैयाँ पाउने सुर्यदर्शन सहकारीले जनाएको छ । सहकारीले २ वर्ष अघिबाट मैत्रीपुर्ण खेल आयोजना गर्दै आएको छ ।
प्रतियोगीताको समापन भोलि शुक्रबार हुने प्रतियोगीतका संयोजक अरुण भण्डारीले जानकारी दिए । सहकारीले विगत तीन बर्ष देखि स्थानीय संघसंस्थाहरु वीच मैत्रीपूर्ण खेलको आयोजना गर्दै आएको जनाईएको छ ।

क्याम्ब्रिजद्वारा विदाई

दमक/क्याम्व्रिज इन्ष्टिच्यूट अफ टेक्नोलोजीबाट भारतको बेङलोर लगायतका प्रतिष्ठीत शैक्षिक संस्थाहरुमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई विदाई गरेको छ  । 
मंगलबार एक कार्यक्रम गरि ती विद्यार्थीहरुलाई उच्च शिक्षाको सफलताको कामना गर्दै विदाई गरिएको हो । यो वर्ष मात्र क्याम्व्रिजले १ सय ५० बढी बिद्यार्थीहरु अध्ययनका लागि त्यस तर्फ गएका क्याम्व्रिजका ब्यवस्थापक शिशीर सिम्खडाले जानकारी दिए । क्याम्ब्रिजले ती क्षेत्रका प्रतिष्ठीत शैक्षिक प्रतिष्ठानहरुमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु पठाउँदै आएको छ । गएको तीन बर्ष अघि स्थापना भएको सो संस्थाले प्राविधीक तथा ब्यवहारिक विषयमा उच्च शिक्षा अध्ययनका लागि भारत जाने विद्यार्थीहरुलाई समन्वय गरि विदेश पठाउँदै आएको छ ।

मोदीको दिक्षा र भिक्षा

टंक पाठक
नेपाल भारतको सम्बन्ध हाम्रो कला, धर्म, संस्कृति, परम्पराले गर्दा धेरै कुरामा मेल छ । नेपालले भारतका र भारतले नेपालका नागरिकसँग वैवाहिक सम्बन्ध समेत गाँस्दै आएका छन् । अरु देशभन्दा सबै सीमा खुल्ला भएको नेपाल भारत नै हो । नेपालीहरूको हाट बजार पनि भारत नै हो । गाँस, बास, कपासको सम्बन्ध पनि भारतसँगै छ । भारतीय नेपाल आउन र नेपाली भारत जान कुनै पासपोर्ट र भिसा चाहिँदैन । त्यसैले परम्परादेखि नै विशिष्ट सम्बन्ध भएको मानिन्छ । यही सम्बन्धलाई मानेर होला यस देशमा परम्परादेखि या राजा महाराजादेखि हालसम्मका हाम्रा राजनीति गर्ने नाङ्गा बाबाहरू आफूलाई अलिकति गिलो आची आयो भने पनि रित्तो कमडलु बोक्यो अनि भारततर्पm लागिहाल्यो । चाहे औषधि उपचार गर्ने बहानामा होस् या त भिक्षा र अर्ति उपदेश माग्ने काममा होस् । त्यस्तै, भारतीय नेता पनि परम्परादेखि नै नेपाल आउने चलन थियो नै । तर यसपालि भारतीय प्रधानमन्त्री भर्खरै नेपाल आएर २६ घण्टा पछि भारत फर्केका छन् ।
यस विषयलाई उठान यहाँ गर्दा या नरेन्द्र मोदीको चर्चा गर्दा कसैलाई दिक्क लाग्छ होला तर मोदीले यहाँका राजनीति गर्छु भन्ने बाबाहरूलाई एकै ठाउँ भेला गराई दिक्षा दिँदा देखिएको दृश्य हेर्दा सपेराले नागिन बाजा बजाउँदा विषालु सर्प जसरी बाजाको धुन सुनेर बाजाको धुनले लठ्ठ पर्छ र लटिन्छ । त्यस्तै लट्टिकाले केवल यस विषयलाई यहाँ पस्कन सान्दर्भिक ठानेको मात्र हो । यी हाम्रा राज बाबाहरू भ्रष्टाचारको भिडमा हुर्किराखेका, विकृति, संस्कृतिलाई आफ्नो मार्गदर्शन लिने, सिधासाधा नेपाली दाजुभाईको हत्या गर्ने र तिनीहरूका परिवारले भोगेका पीडालाई रुपैयाँ पैसाले गौरवगाथा गाउने, डनहरूलाई असल मित्र मान्ने, लोकतन्त्रको फाइदा आफूले मात्र लिने, मूल्यवृद्धिका जननी बन्ने, विदेशीले पटक–पटक दिएको सहयोग र ऋण विकास निर्माणलाई आफै अवरोध गरी लुटाहा ठालु हुने, नेपालको भौगोलिक स्थिति र धरातलीय बनोट थाहा नपाउने, नेपाल देश हिमाल, पहाड, तराईले बनेको छ भन्ने नबुझी आफू र जात अनुकूल पण्डित्याईं गर्ने पण्डाहरू, विगतको संविधानसभालाई मध्यरात पारी छुरा प्रहार गरी मृतक घोषणा गर्ने हत्याराहरू, भारतको एउटा प्रधानमन्त्रीलाई निमन्त्रणा गरेर विशिष्ट कक्षमा राखेर दिक्षा दिँदै गर्दा या दिक्षा लिँदा यति लठ्ठ पर्छन् भने यिनीहरूले आज भन्दा अघि के बुझेर राजनीति गर्न थाले र अब पनि के गर्छन् होला ? जति मोदीले बोलेका कुरा थिए के यिनीहरूलाई त्यहाँभन्दा अगाडि थाहा थिएन ? जानेका थिएनन् ? जति बोल्छन्, ताली बज्थ्यो । जे भने पनि ताली ? कति त केही नेताहरूलाई अंकित गरेर औंला ठड्याएर बोलेको त्यहाँ अनुमान गर्न सकिन्थ्यो, तर ताली बजिहाल्थ्यो । बुलेट होइन, ब्यालेट भन्दा कसलाई भनेको हो ? संविधान लेखनको विषय उठान गर्दा विगतमा संविधानसभालाई मृतक घोषणा गर्नको पेट पोल्थ्यो कि पोलेन ? त्यो कसलाई भनेको हो ? पानी र जवानी कहिले एकै हुँदैन भन्दा कसलाई अर्ति दिएको हो ? भारतले आएर ज्।क्ष्।त्। का कुरा गरिदिनुपर्ने ? हाइवे र सडक, सूचना सञ्चार, विद्युतका कुरा गर्दा आज ताली पड्काको ? विगतका सन्धी सम्झौतालाई आफू अनुकूल नहुँदा कार्यान्वयन गर्न नसक्ने अनि फेरि कमण्डलु थाप्ने ? आफू सत्तामा रहँदा गरिएका सबै सम्झौतालाई राष्ट्रवादी देख्ने सत्ता बाहिर रहँदा अरुले गरेका सबै सम्झौतालाई राष्ट्रघाती देख्ने आँखा फुलो पर्ने तुच्छ संस्कार बोकेर हिँड्ने तिनै होइनन् ? अनि फेरि मोदीको लयमा ताली ठोक्ने ? फेरि भारतले हेप्यो भन्ने ? सुगौलीको सन्धीदेखि १९५० को सन्धी हुँदै महाकाली सन्धी र पछिल्लो विप्पा सम्झौतासम्म भारतले हेप्यो भन्नेको ठूलै जमात छ । हुन सक्छ, भारतले आफ्नो नाफा नहेरी गरेन होला । तर यो देशका या हाम्रा जोगीको चरित्र हेर्दा किन नहेपोस् ?
सबै जोगीको मन मस्तिष्क, मुटु पहिले पनि भारतले छामेकै हो, अहिले मोदीले त सबैको ब्लड नै टेष्ट गरेर गए । अब झन् नेगेटिभ र पोजेटिभ छिट्टै थाहा पाइ हालिन्छ । विदेशी महामहिमको गच्छे अनुसार स्वागत त गर्नैपर्छ, तर मोदीलाई धेरै बढी स्वागतमा ढाँचा गरेको चर्चा छ । कस्तो अनौठौं ? नेपालका प्रधानमन्त्री बस्ने सिंहदरबारको कोठा अरुबेला माकुराको जालो हुने मोदी आउँदा हटाउनुपर्ने ? अरुबेला हाम्रा प्रधानमन्त्री त्यही जालाले झेलिएर बस्नुपर्ने अरु बेला, काठमाडौं गल्ली बाटा, घाटा, फोहोर रहिराख्दा हुने मोदी आउँदा चिटिक्कै पारेको देखाउनुपर्ने । अरु बेला काठमाडौं बासीले दुर्गन्धले गर्दा नाक छोपेर सास नफेरि हिँड्नुपर्ने कोही विदेशी आउँछ भने अत्तर छर्नु पर्ने । कति बुद्धिमानी हाम्रा मान्छेहरू ? यहाँ अर्को कुरो पनि थप्ने प्रयास गरिन्छ । आफ्नो देशको स्रोत साधन पहिचान गर्न नसक्ने र प्रयोगमा ल्याउन प्रयासै नगर्ने जो विदेशी आयो झोली थापी हान्नुपर्ने, कस्तो संस्कार हो । मोदीले हाम्रा नाङ्गा बाबाहरूले थापेको कमण्डलु सबै थोकले मौखिक भरिदिएका छन् । पूरा हुन्छ कि हुँदै व्यवहारले देखाउला । यस्तो दृश्य देखिरहादा के पनि याद आउँछ भने कसैको व्रतबन्धमा उपनयन गरेको बेला बटुकले एउटा झोली बोकेर भवती भवती भिक्ष्यान देहीः भन्दै सबैसँग भिक्षा मागेर आफ्नो कर्म चलाउँछ, नेपालको हालत सधैं त्यस्तै हुन्छ अब ? जे होस्, मोदीले पुनः एक पटक हाम्रा बाबाहरूको कर्म चलाएर गायत्री मन्त्र दिएर गएका छन्, कतिको आफ्नो सत्कर्ममा हिँड्ने हुन्, हेर्न बाँकी छ ।
स्मरण रहोस्, नेपाललाई हेप्नु भनेको हामी सबै नेपालीलाई हेप्नु हो । नेतालाई हेप्नु भनेको नेपालीको मन दुख्नु हो । हाम्रा नाङ्गा बाबाजीहरू हो, सधैं कमण्डलु मात्र नबोकौं । स्वाधिन भएर बाँच्नेतिर अग्रसर हौं । पराधिनले देश जनता सधैं हेपिन्छ । अन्त्यमा अमेरिकी राष्ट्रपति रोनाल्डो रेगनले भनेको कुरा के याद आउँछ भने “आफ्नो भूगोलको रक्षा गर्न नसक्ने मुलुक राष्ट्र हुँदैन, अर्थात एउटा मुलुकका लागि उसको भूगोलको सुरक्षा पहिलो सरोकार हो । त्यसपछि मात्र जनता, आत्मा सम्मान र विकास हो । स्मरण रहोस् ।

गुण्डाराजको सुनौलो युग – सम्पादकीय

देशभर सुनकोशीको पहिरो र त्यसले उत्पन्न गरेको जोखिमका विषयमा चर्चा चलिरहेका बेला नामुद गुण्डा दिनेश अधिकारी ‘चरी’ मारिएको खबरले सनसनी मच्चिएको छ । बुधबार काठमाडांैको गोलढुङ्गामा ‘चरी’ लाई प्रहरीको गोलीले निशाना बनाएको खबर यतिबेला हटकेक बनेको त छ नै । घटनाका विषयमा अनेकन किसिमका चर्चा परिचर्चा समेत हुन थालेका छन् । चरीलाई समात्नका लागि खटिएको प्रहरी टोलीमाथि चरीले गोली हानेपछि जवाफी कार्बाहीमा उनको मृत्यु भएको प्रहरी स्रोतले जिकिर गरेको यतिबेलाको ताजा जानकारी हो ।
सिन्धुपालचोकको जुरेमा गएको पहिरोका कारण निम्तिएको बिपत कसरी व्यवस्थापन गर्ने ? राज्यका लागि यो समस्या झन(झन सकस बन्दै गएका बेला राजधानी नजिकै कुख्यात डन चरीको इहलीला समाप्त भएको खबर मुलुकलाई नै तताउने किसिमको बनेको छ । यो घटना र चर्चा प्रायोजित पक्कै होइन । तर, सिङ्गो मुलुकका निम्ति सुनकोशी पहिरो, त्यहाँ भएको १५६ जनाको मृत्यु, अन्य बेपत्ताहरुका बारेको चिन्ता, शोक, सास्ती, जमेको ताल बिष्फोट हुन सक्ने अतराले त्यसले निम्तन सक्ने गम्भीर क्षति आदि विषय ‘चरी’ मृत्युका अघि सामान्य वा नगन्य बन्नु पर्ने कारण त होइन । तथापि स्थिति त्यस्तै बनेको छ । यसको खास महत्व के ? यो गहन किसिमले मनन गर्नु पर्ने विषय हो ।
नेपालमा गुन्डागर्दीको जन्जाल यतिबिघ्न जकडिएको छ कि यो मुलुक हाँक्ने राजनीतिक दलहरुभित्रसम्म अन्तरसम्बन्धित छ । मृतक चरीको नाउँ जति पटक विभिन्न जघन्य अपराधका घटनाहरुमा संलग्न भएको आरोप सहित अघि आयो वा सार्वजनिक भयो, त्यति नै पटक चरीसँगै जोडियो नेकपा एमाले पार्टीको नाउँ । त्यसरी एउटा गुण्डा र उसले गरिरहेको अपराधका विषयमा पार्टीको नाम जोडिइरहँदा एमालेका उपल्लो तहका नेता गणले त्यसको खण्डन गर्ने चासो राखेनन् । मौनतामै सुलाउन खोजिएको त्यो विषयले मौनतामै धेरै कुरो बोल्यो । यतिसम्म कि भर्खरै सम्पन्न एमालेको नवौं महाधिवेशनमा समेत हाल निर्वाचित अध्यक्ष केपी ओलीमाथि चरीलाई संरक्षण गरेको आरोप लागेको थियो । त्यस विषयलाई माधवकुमार नेपाल समूहका नेता कार्यक्र्ताले जोडतोडका साथ उठान गरेका थिए । मुलुकमा अरु पनि यस्ता धेरै गुण्डाहरु छन् । जसका बारे खोजी गर्दै जाने हो भने उनीहरुको साँठगाँठ कुनै न कुनै दलका नेताहरुसँग भएको पाइन्छ । गतिलो मानिएका नेताहरुको संरक्षणमा गुण्डाहरुले मुलुकमा आतंकको राज गरिरहन्छन् । राज्य, सरकार र सुरक्षा निकायहरु गुण्डाहरुलाई सलाम गर्नुपर्ने निन्दनीय नियति भोगिरहन्छन् ।
यो वा त्यो दल वा नेताका भागमा मात्रै दोष थोपर्नु भन्दा पनि समग्र मुलुकको राजनीतिक प्रक्रिया नै गुण्डा संरक्षण र प्रवद्र्धनका दृष्टिले पायक एवम् सकरात्मक छ भन्दा फरक पर्दैन । किनकि गुण्डागर्दीको उपस्थिति र पहुँच तथा दवदवा जतै छ । पूर्वाधार निर्माणदेखि फिरौती असुली, वेश्यालय सञ्चालनदेखि मानव बन्धक, अपहरण लगायतका कार्यहरुमा गुण्डागर्दीको संलग्नता नेपाली परम्परा बन्दै गएको छ । गुण्डा बिनाको कुनै पनि टेण्डर प्रक्रिया सम्भव हुनुलाई मुलुकमा अपवाद मान्ने चलन छ । यो चलन गुण्डाहरुले कम र उनीहरुलाई संरक्षण दिने राजनीतिक नेताहरुले स्थापित गरेका हुन् । एकातिर समाजको विकास, सुरक्षा, अपराधमुक्त समाज निर्माण गर्ने लगायतका नारा फलाकेर भोट बटुल्ने काम गर्छन् राजनीतिक दलका नेताहरु । तर, किन उनीहरुकै नाउँ जोडिन्छन् जब(जब गुण्डाहरुको चर्चा मुलुकमा चुलिन्छ ?
मुलुकलाई गुण्डाहरुको दवदवाबाट मुक्त पार्न सकिएन भने स्थायी सुरक्षा, शान्ति, अमनचयन र सामान्य जीवनयापनको कल्पना सम्भव नहुने पक्का छ । तर त्यो भन्दा अघि गुण्डाहरुका वास्तविक नाइकेहरुको पहिचान गरेर उनीहरुका विरुद्ध  कडाईका साथ कानुनी कार्बाही अघि बढाउन आवश्यक छ । गुण्डा प्रश्रयका घटनालाई न्युनीकरण गर्ने काम राज्यको हो । राज्यको बागढोर सत्तासञ्चालक राजनीतिक दलको हातमा हुन्छ । तसर्थ सर्वप्रथम गुण्डागर्दीको अन्त्यका लागि राजनीतिक दलहरुको इमानदारिता आवश्यक छ । तब मात्र चरी जस्ता कुख्यात गुण्डाहरुको दवदवाका कारण मुलुकले सरमका साथ शिर झुकाउने पर्नेछैन । एउटा गुण्डाको मृत्युले मुलुकमा सयौं मानिसको मृत्युको घटनालाई ओझेलमा पार्न सक्नु भनेको गुण्डाराजको सुनौलो युग हो । यो युगको अन्त्य हुन नसकेसम्म मुलुकले समृद्धि, समानता र न्यायको कल्पना समेत गर्न सक्दैन ।