हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

भुटानी शरणार्थीहरु स्वदेश फर्किने अभियानमा

दमक/अधिकांश भुटानी शरणार्थीहरु तेस्रो देश पूनर्बासमा जान थालेपछि स्वदेश फिर्तीको अडानमा बसेका शरणार्थीले नयाँं अभियान थालेका छन् । पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्ने शरणार्थीहरुलाई तेस्रो देश पूनर्बासमा लगिएपछि स्वेदश फिर्ती चाहनेहरु संगठित हुन थालेका हुन्् । संयूक्त राष्ट्र संघिय शरणार्थी सम्बन्धि उच्च आयोग(यूएनएचसिआर)ले असार मसान्तसम्ममा पूनर्बासमा जाने शरणार्थीको सुची तयारी गरी सकेपछि स्वदेश फर्किन चाहने उनीहरु संगठित हुन थालेका हुन् । भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समिति मार्फत घरफिर्ती चाहने शरणार्थीहरु एकताबद्ध हुन थालेका छन् । यूएनएचसिआरले आफ्ना मागहरु नसुनेको भन्दै उनीहरुले अन्तराष्ट्रिय समुदायसँग घर फर्किन पाउने अधिकार रक्षाको माग गरेका छन् ।
भुटान मानव अधिकारबादी संस्था (ह््यूरोब)का अध्यक्ष एसबि सुब्बाका अनुसार पूनर्वासमा लगिएका देशहरुलाई नै अनुरोध गरेर भुटानलाई बाँकी रहेका नागरिकलाई भुटान फर्काउन दवावमूलक कार्यक्रम सञ्चालन गरिने जनाएका छन् । करिब ८ हजार जना शरणार्थीले स्वदेश फिर्तीको अडान लिएका उच्चायोगको एक तथ्यांकमा उल्लेख छ ।

बालिका सहित दुईको मृत्यु

दमक/मोरङको फरक फरक स्थानमा  एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।
मधुमल्ला २ मा राजु गहतराजकी २ वर्षकी छोरी सिखा गहतराजको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको छ । घर छेउमा खेल्दै गर्दा सेफ्टी ट्याङकीमा डुबिरहेको अवस्थामा फेला पारी बालिकालाई उपचारका लागि स्थानिय साझा अस्पताल लगिएको र उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख राजेश चौधरीले बताएका छन् ।
यस्तै मोरङको डाँगीहाट ९ मा पैनीमा डुबेर ६० वर्षका वृद्धको मृत्यु भएको छ । बाहुनी ४ का माइला खवासको स्थानीय पैनीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाबारेमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

मुक्तिका लागि क्रान्ति अपरिहार्यमा जोड

दमक/नेकपा एमालेका नेताहरुले जनताको मुक्तिका लागी क्रान्तिको अपरिहार्यता रहेको औँल्याएका छन् ।
उनीहरुले क्रान्तिको एउटा चरण पार भए पनि पुर्ण नभएको बताएका थिए । बुधवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा नेकपा एमाले क्षेत्रीय  कमिटी क्षेत्र नम्बर ७ झापा र मदन भण्डारी फाउण्डेशन झापाको संयुक्त आयोजनामा भएकोे कार्यक्रमा बोल्दै नेकपा एमाले अनुशासन आयोगका सदस्य अर्जुन राईले जनताको मुक्ति र मुलुकलाई परिवर्तन गर्नका लागी अझै पनि विभिन्न चरणका क्रान्तिहरुको आवश्यकता रहेको बताए । उनले एमालेलाई अझ शसक्त बनाउनका लागी पार्टी भित्र देखिएका गुटबन्दीको अन्त्य गर्नुपर्ने माग गरे  ।   कम्युनिष्ट पार्टीमा पद प्रतिष्ठा भन्दा पनि नेपाली क्रान्ति मुख्य भएको  राईले बताए ।
एमाले नेता रोमनाथ ओलीले पुष्पलाल नेपाली कम्युनिष्टहरुको दुरदर्शी नेता भएको बताए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव चिन्तन पाठकले पार्टीको पहिलो कार्यभार संविधान  निर्माणको एजेन्डा नवौँ महाधिवेशनले पारित गरेको बताए । उनले   अवको केन्द्रिय अनुशासन आयोग अधिकार सम्पन्न भएको बताउँदै  बिगतको जस्तो अध्यक्षको अघिपछि मात्र घुम्न नहुने बताए ।
 जिल्ला सचिवालय सदस्यहरु राधाकृष्ण खनाल,  जिल्ला सदस्य  मणी  भण्डारी लगायतले पुष्पलालको बिचार र चिन्तनलाई कम्युनिष्टहरुले अनुसरण गर्नुपर्ने बताए ।
क्षेत्रीय अध्यक्ष नेत्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थागत र सामुदायिक बिद्यालय तर्फ एसएलसी परिक्षा २०७० मा क्षेत्र भित्र उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
 सामुदायिक बिद्यालय तर्फ हिमालय उच्च माबि दमक २ की समिक्षा आर्याल, शहिद धर्मभक्त उच्च माबि केर्खाका भरत पौडेल, संस्थागत बिद्यालय तर्फ चुलाचुली आवाशिय माबिका प्रकृति गौतम, झापा मोडल आवाशिय माबि दमकका सुदीप बिष्टलाई जनही ५ हजार नगद सहित पुरस्कृत गरिएको थियो ।
पुष्पलालको स्मृतिमा बृक्षारोपण नेकपा एमालेले  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासंचिव पुष्पलाल श्रेष्ठको ३६ औँ स्मृति दिवसका अवसरमा  दमकमा बुधवार बृक्षारोपण गरेको छ ।
 एमाले वडा कमिटी दमक १४ले  रतुवा खोला धार र शिखर टोलमा बृक्षारोपण गरिएको हो । एमाले जिल्ला कमिटी सचिवालय सदस्य राधाकृष्ण खनालले बृक्षारोपणको शुभारम्भ  गरेका थिए ।
२ सय बढी खयर, मसला र  सिरीस जातको बिरुवा  रोपीएको  एमाले वडा कमिटी अध्यक्ष नरेस बन्जराले जानकारी दिए।

दमकमा अघिल्लो वर्षमा चक्काजाम धेरै

दमक/दमक क्षेत्रमा आर्थिक वर्ष ०७०/७१ मा भन्दा अघिल्लो वर्ष १ सय ३५ घण्टा बढी  चक्का जाम तथा सडक अवरोध भएको छ ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकको बिवरण अनुसार ०७०÷०७१ मा ९७ घण्टा अवरोध भए पनि  अघिल्लो वर्ष २ सय ३२ घण्टा चक्का जाम तथा सडक अवरोध भएको हो । बिगतमा नेपाल बन्द जस्ता कार्यक्रम गरी सडक जाम भएका थिए । तर अघिल्लो वर्ष  त्यस्ता गतिविधि थोरै  भएको ट्राफिक  कार्यालय प्रमुख बासुदेव थापाले बताए ।

गुणस्तरहिन प्याकेजिङ्गका कारण नुन व्यापारी मारमा

भद्रपुर/साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्रीबितरण गरिँदै आएको आयोडिनयुक्त नुनको प्याकेटलाई गुणस्तरहिन प्याकेजिङ्ग गरेका कारण व्यापारीहरु मारमा परेका छन् ।
व्यापारीहरुले बिक्रीका लागि ल्याइएको आयोनुनको वोराभित्रका अधिकांश प्याकेटहरु फुटेका कारण खुला नुनको मूल्यमा बिक्री गर्नुपर्दा मारमा परेको व्यापारीहरुले गुनासो गरेका छन् । डिलरले थोक बिक्रेतालाई प्रतिप्याकेट ६ सय ७५ रुपैयाँका दरले दिएको नुनलाई प्याकेट फुटेपश्चात प्रतिकिलो कम मूल्यमा खुला नुनको रुपमा विक्री गर्नुपरेको अग्नि ट्रेड एण्ड सप्लायर्स चन्द्रगढीका व्यापारी भेषराज नेपाल बताउँछन् । उनले फुटेको प्याकेटको थुप्रो देखाउँदै भने ‘कम्पनीको लापरवाहीका कारण आयोडिनरहित नुनलाई घाटा खाएर बिक्री गर्नुपरिहेको छ ।’ फुटेको प्याकेट ग्राहकलाई बेच्न नमिल्ने र फिर्ता पनि नहुने भएकोले घाटै खाएर भएपनि गाईवस्तुले खाने नुनकोरुपमा बेच्न वाध्य भएको उनले वताए ।
फुटेको प्याकेटका कारण नुनको गुणस्तर घट्न गइ सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको भएपनि बजार अनुगमन गर्नुपर्ने जिम्मेवारी लिएका जिल्लास्थित वजार अनुगमन समिति मौन रहनु रहस्यमय भएको उपभोक्ताको गुनासो रहेको छ । वजारमा वेलावेला अनुगमनको झ्याली वजाउने घरेलु तथा साना उद्योग कार्यालय झापाले चासो नदिएकोमा झापाका उपभोक्ता आक्रोस समेत व्यक्त गर्दछन् ।
यस विषयमा उपभोक्ता मञ्च झापाका अध्यक्ष राजेन्द्र घिमिरे दुई वर्षदेखि खानेनुनको अनुगमन नभएको बताउँछन् । यसको बजार अनुगमनका लागि सरोकारवाला निकायलाई अनुरोध र गर्ने र पहल गर्ने काम भइरहेको मञ्चका अध्यक्ष घिमिरे बताउँछन् ।
जिल्ला वजार अनुगमन समितिका सदस्य सचिव रहेको घरेलु तथा साना उद्योग झापाका प्रमुख गोपीप्रसाद घिमिरेले खानेनुनको वजार अनुगमन नभएको स्वीकार गर्दै साल्ट ट्रेडिङ कर्पाेरेशनले बिक्रीबितरण गर्दै आएको नुनको गुणस्तर परीक्षण गरेर कारवाही गर्न नसकिए पनि समस्या देखिए यस विषयमा सचेत गराउन सकिने बताउँछन् ।
उता साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल, क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख नवीनचन्द्र झा गुणस्तरहीन प्याकेजिङ्ग नभएको दावी गर्छन् । कर्पोरेशनका क्षेत्रीय प्रमुख झा व्यापारीहरुको लापरवाहीले र लोडअनलोड गर्दा हुकिङको प्रयोगले प्याकेट च्यातिएको हुनसक्ने बताउँछन् । यदि कर्पोरेशनको कारण प्याकेट फुटेको प्रमाण पुगे त्यस्तो सामान व्यापारीले फिर्ता गराउन सक्ने र त्यसको सट्टा भर्ना दिने प्रमुख झाले प्रष्टीकरण दिए ।

मोरङ व्यापार संघमा सारडा

उर्लाबारी/मोरङ व्यापार संघको अध्यक्षमा सभासद पवनकुमार सारडा चयन भएका छन् । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
 दोस्रो संविधानसभामार्फत सभासद बनेका सारडाले संघको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट समानुपातिक सभासद बनेका हुन् । संघको साधारणसभा गत असार २२ गते नै सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र राउत चुनिएका छन् ।
 यसपटक पनि सबैजसो पद सहमतिबाट चयन भएको हो । महासचिवमा प्रकाश मून्दडा चयन भए । उनी यसअघि पनि महासचिव थिए ।
देशकै सबैभन्दा पुरानो उद्योग वाणिज्य संघका रूपमा स्थापित संघमा ८ सयभन्दा बढी साधारण सदस्य छन् । प्रजातन्त्रको स्थापनासँगै २००८ सालमा संघको स्थापना भएको थियो । उद्योगतर्फको उपाध्यक्षको जिम्मेवारी रमेशकुमार राठीले पाएका छन् । उनी यसअघि पनि उपाध्यक्ष थिए । सचिवमा अनिल शाह आएका छन् । सचिवमा नवीन रिजाल, राजन श्रेष्ठसहित चारजनाले इच्छा देखाएका थिए । श्रेष्ठ निवर्तमान सचिव हुन् । 
बुधबार चयन गरिएको कार्यसमिति सदस्यमा श्रवणकुमार अग्रवाल, रविनकुमार दाहाल, सुशीलकुमार जोशी, सुनिल टिवडेवाला, विजेन्द्र परासर, तरुणकुमार संचेती, अनुपम राठी, चयन भए ।  त्यस्तै अनिल सारडा, नवीन रिजाल, आनन्द जाजु, राजन श्रेष्ठ, सुवास आचार्य र ओमप्रकाश श्रेष्ठले पनि सदस्यको जिम्मेवारी पाएका छन् । संघका निवर्तमान अध्यक्ष अविनाश बोहरा सल्लाहकारमा चयन भए । बुधबार नै नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।

खोला बन्द गरी क्रसर खुला गरेकोमा ट्रयाक्टर व्यवसायीको विरोध

दुधे/चुरे संरक्षण अभियानलाई सफल बनाउन भनी नेपाल सरकारले नदी खोलाबाट बालुवा, गिटी, ढुंगा निकाल्न प्रतिबन्ध लगाएर क्रसर खुल्ला राखेकोप्रति ट्रयाक्टर व्यवसायीहरुले विरोध जनाएका छन् ।
माई–बिरिङ्ग ट्रयाक्टर व्यवसायी संघ सुरुङ्गा र सतासी ट्रयाक्टर व्यवसायी संघ सतासीधामले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त सरकारी निर्णयको विरोध गरेका हुन् । चुरे क्षेत्रको संरक्षण गर्न सरकारले ल्याएको कार्यक्रम सकारात्मक र स्वागतयोग्य भएतापनि नदी खोलाबाट निर्माण सामग्री निकाल्न रोक लगाउने निर्णयका कारण निर्माण सामग्रीको अभाव भई मूल्य आकाशिएको, ट्रयाक्टर व्यवसायीहरुको व्यवसाय अप्ठ्यारोमा परेको, ट्रयाक्टर मजदुर तथा निर्माण मजदुरहरु बेरोजगार हुँदै गएका र काठको घर बनाउने युगतिर मुलुक लाग्ने भएकाले वन विनाशमा तिब्रता आउने ट्रयाक्टर व्यवसायीहरुको भनाई छ ।
माई–बिरिङ्ग संघमा ५ सय र सतासी संघमा ३ सय ट्रयाक्टर व्यवसायी र दुवै संघमा २५ सय बढी ट्रयाक्टर मजदुरहरु आबद्ध छन् । खोला पसेको निजी जग्गाबाट र स्टोर गरिएको ठाउँबाट बालुवा, गिटी, ढुंगा ल्याउँदा पनि प्रशासनबाट रोक लगाइएकोमा माई–बिरिङ्ग ट्रयाक्टर व्यवसायी संघ सुरुंगाका अध्यक्ष डि.पी. गौतमले दुःख व्यक्त गरेका छन् । उक्त सरकारी निर्णयबाट खोलामा बालुवा चाल्ने र गिटी कुटेर जिविकोपार्जन गर्नेहरु पनि बेरोजगार बनेका गौतमले बताए ।
विगतमा पूर्व पश्चिम राजमार्गमा रहेका पुलदेखि ५ सय मिटर उत्तर–दक्षिणबाट गिटी बालुवा निकाल्न नपाइने भनी सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नसकिरहेको अवस्थामा खोलाबाट बेल्चा लगाएर ट्रयाक्टरमा बालुवा गिटी निकाल्दा चुरे क्षेत्रलाई खासै असर नपर्ने तर स्काभेटर र जेसिबी जस्ता हेभी मेसिन प्रयोग गरी ट्रिपरका ट्रिपर ढुंगा, बालुवा र गिटी निकाल्दा चुरे क्षेत्रमा बढी क्षति हुने सरकारले बुझ्न आवश्यक रहेको सतासी ट्रयाक्टर व्यवसायी संघ सतासीधामका अध्यक्ष अग्नि राईले बताए ।
सरकारी निर्णयबाट ट्रयाक्टर व्यवसायी र सो क्षेत्रमा आबद्ध भएका मजदुरहरु प्रभावित भएकाले सो निर्णयलाई सच्याउन व्यवसायीहरुले अपिल गरेका छन् ।

राहदानी बनाउनेको संख्या चालीस प्रतिशत बढ्यो

झापा/झापामा गत आर्थिक बर्ष भन्दा वितेको आर्थिक बर्षमा राहदानी बनाउनेको संख्या लगभग ४० प्रतिशतले बृद्धि भएको छ ।
गत आ.व ०६९÷७० मा १७ हजारले राहदानी बनाएका थिए भने आ.व.०७०÷७१ मा २३ हजार ८२ जनाले राहदानी बनाए लगतै बृद्धिदर हवतै बढेको हो् । झापाबाट वैदेशीका रोजगार जानका लागी तथा विभिन्न उद्देश्यका साथ राहदानी बनाउनेको संख्या बढ्दै गएको बार्षिक बृद्धि बढ्न थालेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
एक वर्षको अवधिमा २७ हजार २ सय १५ जनाले फारम भरेर पेस गरेपनि सो अवधिमा २३ हजार ८२ को मात्र राहदानी आएको प्रशासकीय अधिकृत केशव रिजालले जानकारी दिए । वैदेशीक रोजगारीमा जानका लागि दैनिक एक सयको हाराहारीमा राहदानी बनाउन आउने गरेको भन्दै उनले त्यस मध्येको २५ प्रतिशत महिला रहेको बताए । सोही अवधिमा राहदानीबाट सरकारले १३ करोड ९५ लाख रुपैयाँ राजश्व संकलन गरेको प्रशासकीय अधिकृत रिजालको भनाई छ । गत वर्ष करिब १७ हजारले मात्र राहदानी बनाएकोमा यस बर्ष झण्डै दोब्बरले बृद्धि भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कुल जनसंख्याको करिब ३० प्रतिशत युवाहरु विदेशी सकेको र अझै बृद्धि भइरहेकाले अब युवाहरु गाँउ तथा शहरमा नै नपाउने अवस्था सिर्जना हुन सक्ने तर्फ सरकार सचेत बन्नु पर्ने बेला आएको जानकारहरु बताउँछन् ।
राहदानी बनाएका सबै विदेशीए भन्ने यकिन तथयाङ्क नभए पनि अधिकांश विदेशीएको हुन सक्ने रिजालले बताए । क्रमशः मानिसहरु विदेशीने क्रम बढेकाले यसको दिगो समाधानका लागि पहल गर्नुपर्ने तर्फ हाल सम्म कसैको ध्यान जान सकेको छैन ।
बेरोजगार तथा रोजगारले पनि श्रम अनुसारको पारिश्रमीक नभएका कारण मानिसहरु विदेशीने क्रम बढेको र यस्तै अवस्था रहे अबको केही वर्षमा बालबालीका र वृद्धवृद्धा मात्र रहने आंकलन गर्न सहजै सकिन्छ ।

कम्प्युटर प्रिन्ट नागरिकताको तयारी

दमक/झापा दमकको इलाका प्रशासन कार्यालयले आगामी भदौ महिनाबाट कम्प्युटर प्रिन्ट गररै नागरिकता बितरण गर्ने भएको छ ।
हस्त लिखित नागरिकता  बिस्थापित गरी कम्प्युटर प्रिन्ट नागरिकता बितरणका लागि  आन्तरिक तयारी भइरहेको  हो । कार्यालयले  कम्प्युटर टाइप गर्ने भौतिक पुर्वधार तयारी,  सफ्टवेयर संकलन  लगायतका काम भइरहेकोे  प्रमुख बासु प्रसाद कोइरालाले बताए ।
अहिले दैनिक ५०÷६०  जति  नागरिता  बितरण हुने गरेकोमा कम्प्युटर प्रविधिबाट  धेरै नागरिकता  बितरण गर्न सकिने कार्यालयले जनाएको छ ।  
दमक नगरपालिका र आसपासका १० गाविसका नागरिकले  कार्यालयबाट सेवा लिने गरेका छन् ।

के हो ‘सडेन इन्फेन्ट डेथ सिन्ड्रोम’ ?

सडेन इन्फेन्ट डेथ सिन्ड्रोमबाट एक वर्ष नपुगेका शिशुको मृत्यु हुने गरेको छ । एक देखि १२ महिनाका शिशुको मृत्युमा यस समस्याको ठूलो हिस्सा रहेको देखिन्छ । अमेरिकामा दुई हजारभन्दा बढी शिशुले प्रत्येक वर्ष यस समस्यामा परेर ज्यान गुमाउने गर्छन् तर सामान्यतया यसरी हुने शिशुको मृत्युको कारण व्याख्या गरिँदैन । अहिले एक अनुसन्धानले जनाए अनुसार ओछ्यानमा शिशुसँगै सुत्नु सडेन इन्फेन्ट डेथ सिन्ड्रोमको एक प्रमुख कारण हुन्छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको जर्नल पेडियाट्रिक्समा प्रकाशित नयाँ अनुसन्धानको विवरणमा अमेरिकाका २४ राज्यमा सन् २००४ देखि २०१२ सम्म भएका सडेन इन्फेन्ट डेथ सिन्ड्रोम मामिलाको अध्ययन गरिएको जनाइएको छ ।
अमेरिकाको रोग नियन्त्रण केन्द्रले शिशुको मृत्युको प्रमुख तीन कारणलाई यसरी छुट्याएको छः सडेन इन्फेन्ट डेथ सिन्ड्रोम (सिड्स), अज्ञात कारण र ओछ्यानमा दुर्घटनावस सास लिन नपाउने । एकदेखि चार महिनाका शिशुमा सडेन इन्फेन्ट डेथ सिन्ड्रोम बढी देखिने भए पनि एक वर्ष नपुगेका जसलाई पनि यो समस्याको खतरा रहन्छ । ओछ्यानमा सुत्दा शिशुको मृत्यु हुने जोखिम उमेर समूह अनुसार फरक हुने भएकाले अनुसन्धान टोलीले दुई समूह शून्यदेखि तीन महिना र चारदेखि १२ महिना, बनाएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान अवधिमा आठ हजार २ सय ७ शिशुको मृत्यु भएकोमा ६९ प्रतिशत शिशुले अभिभावकसँगै सुतेको अवस्थामा ज्यान गुमाएका थिए ।
अनुसन्धान टोलीले सडेन इन्फेन्ट डेथ सिन्ड्रोमजस्ता दुर्घटनाबाट जोगाउन जहिले पनि शिशुलाई उतानो पारेर सुताउनुपर्ने सुझाव दिएको छ । कोल्टे पारेर सुताएमा शिशु आफ्नो पेटको बलमा घोप्टिने खतरा हुन्छ । यस अतिरिक्त शिशुलाई न्यानो राख्ने भनेर धेरै लुगा लगाउने र ठूलो कम्मलले ओढाएर सुताउनु हुँदैन । कोठाको तापक्रम पनि आरामदायक राख्नुपर्छ ।

शिशुलाई कसरी सुताउने ?
– शिशुलाई हल्का नरम ओछ्यानमा सुताउने ।
– धुवाँ नहुने स्थानमा सुताउने ।
– शिशुलाई सुताउन वयस्क मानिसको ओछ्यान, कुर्सी, सोफा, तकिया आदि प्रयोग नगर्ने ।
– शिशुको ओछ्यानमा ठूला कम्मल, खेलौना, अतिरिक्त तकिया आदि नराख्ने ।
– आमाबाबुले शिशुलाई सँगै नसुताउने ।
– आमाले आपूmले सुतेर बच्चालाई कोल्टे पारी स्तनपान नगराउने । बसेर शिशुलाई काखमा राखी स्तनपान गराउनु पर्छ ।
– गर्भावस्था र बच्चा जन्माएपछि आमाले धूमपान नगर्ने वा धुवाँ हुने वातावरणबाट आपूmलाई टाढा राखेर पनि शिशुलाई सडेन इन्फेन्ट डेथ सिन्ड्रोमबाट जोगाउन मद्दत मिल्छ ।
– शिशुलाई मसाज गर्दा शिशुलाई धेरैबेर घोप्ट्याएर राख्नु हुँदैन ।
– शिशु ब्युँझेको बेला उसलाई आफ्नो निगरानीमा केहीबेर पेटको बल रहन दिएमा उसको शारीरिक विकासमा सहयोग पुग्छ ।