हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

उच्च मावि बनाउन सहयोग जुट्दै

६ दिनमा १० लाख, १ बिगाहा जग्गा
माहाभारा, वैशाख १७/ गाविसमा नै पहिलो उच्च मा.वि. सञ्चालन गर्न आवश्यक सहयोग रकम जुटाउने उद्देश्यले माहाभारामा सञ्चालित महापुराणमा  १ बिगाहा बढी जग्गा र नगद १० लाख रुपैयाँ सहयोग जुटेको छ ।
वडा नम्बर ३ कुञ्जिबारीस्थित बालकल्याण माविमा उच्च माध्यमिक तहको पठन पाठन सञ्चालन गर्ने उद्देश्यले ६ दिन अघिदेखि सञ्चालित श्रीमद भागवत ज्ञान महायज्ञमा दाताहरुले सो सहयोग प्रदान गरेका हुन् । जग्गा प्रदानको घोषणा गर्नेहरुमा माहाभारा–४  का श्रीप्रसाद राजवंशी, अघोरी राजवंशी र कोरोबारीका श्रीमप्रसाद न्यौपाने रहेका छन् । राजवंशीद्वयले क्रमश १४ कठ्ठा साढे १७ धुर र २ कठ्ठा तथा न्यौपानेले कोरोबारी–४ मा पर्ने ५ कठ्ठा जग्गा प्रदान गर्ने घोषणा गरेका विद्यालयका सह–प्रधानाध्यापक तथा आर्थिक संकलन समितिका संयोजक भोलाप्रसाद खतिवडाले जानकारी दिए ।
सो अवसरमा सुरुङ्गाका व्यवसायी टिका तिम्सिनाले समेत ५१ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका खतिवडाले बताए । त्यस्तै सोही विद्यालयका भूपू विद्यार्थी स्व. विजय कोइराला (पुण्य) को स्मृतिमा उनको परिवारले १ लाख १ रुपैयाँ बराबरको पुण्य स्मृति अक्षयकोष खडा
गर्ने घोषणा गरेका छन् ।
उनका दाजु विष्णु कोइरालाले महायज्ञमा सो घोषणा गरेका हुन् । कोषबाट प्राप्त ब्याज रकम सोही विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीहरुलाई प्रदान गर्ने बताइएको छ ।
नेपाल विकास कोषको सहयोगमा सञ्चालित सो महापुराणमा आचार्य पण्डित सुदर्शन ढुंगेलले कथा वाचन गरिरहेका छन् ।

शिविरको विद्यालयमा आगलागी

मोरङ, वैशाख १७/ मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविर भित्र रहेको शरणार्थी बालबालिका पढ्ने विद्यालयमा शनिबार राति आगलागी भएको छ ।
राति करिब ९ बजे विद्यालयमा आगलागी सुरु भएको हो । शिविर सचिव चम्पसिंह राईले आगलागीको कारण खुल्न नसकेको बताएका छन् । आगलागीबाट स्कूल पूर्णरुपमा जलेर नष्ट भएको छ । आगो निभाउन शरणार्थी, सुरक्षाकर्मी र दमक नगरपालिका तथा इटहरी नगरपालिकाका दमकल खटिएका छन् ।
यो समाचार तयार पार्दासम्म आगो पूर्णरुपमा निभाइ नसकेपनि नियन्त्रणमा आएको सचिव राईले जानकारी दिए ।  हावा हुरी र सुख्खा मौसमसँगै तराई क्षेत्रमा दिनहु जसो आगलागीका घटना दोहोरिन थालेपनि आगो निभाउन भरपर्दो मानिएको वारुण यन्त्रको उपलब्धता सहज हुननसकेको सर्वसाधारणको गुनासो छ ।

समिति बने पनि अनशन रोकिएन

बेलडाँगी, वैशाख १७/भुटानी शरणार्थीहरुको पुनर्दर्ता प्रक्रियाका लागि समिति गठन गरे पनि पाँच दिनदेखि  अनशनमा बसेका भुटानी शरणार्थी महिलाहरुले अनशन तोडेका छैनन् ।
गृह मन्त्रालयले मन्त्रालयका उप–सचिव शम्भुप्रसाद घिमिरेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेपनि अनशनकारीहरुले प्रकृया शुरु भएपछि मात्र अनशन रोक्ने बताएका छन् । उनीहरुको स्वास्थ्य अवस्था बुझ्न शनिबार अनशन स्थलमा पुगेको अधिकारकर्मीहरुको टोलीलाई उनीहरुले सो बताएका हुन् ।
नेपाल बार एशोसिएसन झापाका अध्यक्ष टंक उप्रेती, नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक केपी सुवेदी, हुरेक्ड झापाका अध्यक्ष नारायण भट्टराई, ईन्सेक झापाका संयोजक लक्ष्मी निरौला तथा भुटानी शरणार्थी प्रतिनिधी स्वदेश फिर्ती समितिका संयोजक डा. भम्पा राईसहितको टोलीले अनशनकारीको अवस्था गम्भिर भएको भन्दै उनीहरुलाई मानवोचित व्यवहार गर्न आग्रह गरेका छन् ।
अनशनकारी एवम् परिचयपत्र तथा राहत बञ्चित शरणार्थी महिला समूहकी संयोजक दूर्गादेवी विष्टले शरणार्थीको पुनर्दर्ता प्रकृया शुरु भएपछि मात्र अनशन रोकिने बताइन् ।
गृहमन्त्रालयले गठन गरेको समितिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख यज्ञ आचार्यले पुनर्दर्ताका लागि गठित समितिको कार्यालय ३ दिन भित्रमा नैं स्थापना गरिने र प्रकृया शुरु गरिने बताए । उनले शरणार्थी महिलाहरुलाई अनशन स्थगित गर्न समेत आग्रह गरेका छन् ।

एमाले उपाध्यक्षमाथि हातपात

दमक, वैशाख १७/नेकपा एमालेका झापा जिल्ला कमिटी उपाध्यक्ष लोकबहादुर धिमालमाथि एक समूहले हातपात गरेको छ ।
शनिबार राति धिमाललाई दमक १५ चिया दोकान स्थित निवासमै रहेको पसलमा चुरोट किन्न भन्दै आएको समूहले घाँटीमा समाएर हातपात गर्न सुरु गरेका उनका नातेदार दीपक धिमालले बताए ।
सो समूहले हातपात गर्नको कारण थाहाँ हुन नसकेको बताइएको छ । धिमाललाई हातपात गरे लगत्तै उनको परिवार र गाउँलेले सो समूह विरुद्ध प्रतिकार गरेका थिए । सो पछि मोटरसाईकलमा चढी आएका १०–१२ जनाको समूहले धिमालसहित गाउँका अन्य घरहरुमा समेत ढुंगा हान्दै आतंक मच्चाएका स्थानीयबासीले बताएका छन् । इलाका प्रहरी कार्यालय दमकले घटनामा संलग्न रहेका भनिएका तीनजनालाई तत्कालै नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक मिलन भट्टराईले जानकारी दिए ।,

व्युरोमा ९२ जना

उर्लाबारी, वैशाख १७/ बिभिन्न पार्टीमा आस्था राख्ने  ९२ जना युवाहरु एकिकृत नेकपा माओबादी निकट युवा संगठन जनस्वयम्सेवक परिचालन ब्यूरोमा प्रवेश गरेका छन् ।
जनस्वयम्सेवक परिचालन ब्यूरो नगर  समिति उर्लाबारीले शनिबार आयोजना गरेको पार्टी प्रवेश र प्रशिक्षण कार्यक्रमको अवसरमा ९२ जना युवाहरु ब्यूरोमा प्रवेश गरेका हुन् । ब्यूरोका उर्लाबारी नगर अध्यक्ष सुसन लिम्बुको सभापतित्वमा भएको सो कार्यक्रममा नव प्रवेशीहरुलाई प्रमुख अतिथि समेत रहेका कोचिला राज्य समिति सचिवालय वरिष्ठ सदस्य लक्ष्मी पौडेल (विवेक) ले प्रशिक्षण दिएका थिए ।
सोही कार्यक्रममा वडा नं.२ मा बिधान बराल इन्चार्ज र निरज सुब्बा सह–इन्चार्ज, वडा नं. ४ मा सन्तोष शाह इन्चार्ज र संजिव शाक्य सह–इन्चार्ज, वडा नं. ६ मा सूर्य बस्नेत इन्चार्ज र सनम तामाङ सह–इन्चार्ज र वडा नं.७ मा ज्ञानु फागो इन्चार्ज तथा बरिष्ठ सल्लाहकार बिष्णु नेपालीलाई मनोनियन गरिएको छ ।
त्यस्तै भूपाल दर्जीको अध्यक्षतामा रिक्सा मजदुर यूनियन समेत  गठन गरिएको छ । दर्जीको नेतृत्वमा २४ जना रिक्सा मजदुरहरु ब्यूरोमा प्रवेश गरेका छन् । पार्टीका मोरङ क्षेत्र नं. ९ का इन्चार्ज अन्नत राजवंशी, ब्यूरोका मोरङको क्षेत्र नं. १,२ र ९ का कार्यवहाक इन्चार्ज समिर कुईकेल, पार्टीका उर्लाबारी इन्चार्ज प्रेम घिमिरे, सचिव डिल्ली नेपाली, ब्यूरोका उर्लाबारीका बरिष्ठ उपाध्यक्ष राजिव लिम्बू लगायतले बालेका थिए । कार्यक्रम ब्यूरोका उपाध्यक्ष जिवन राईले सञ्चालन गरेका थिए ।

प्रतिष्ठानको नाममा ठगी

दमक, वैशाख १७/दमकस्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठानको नाम बेचेर ठगी शुरु भएको छ ।  संस्थाको सहयोग रसिद छपाएर बृद्ध आश्रम सहयोगार्थ भन्दै केहि व्यक्तिहरुले ठगी गरिरहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको हुबहु देखिने गरी छपाईएका सहयोग रसिद काट्दै दमकका वडा नम्बर ८, १६ तथा लखनपुरका केहि क्षेत्रमा ठगी भइरहेको पाइएकाले आफूहरु गम्भिर बनेको अध्यक्ष भवानीप्रसाद दाहालले बताए ।
प्रतिष्ठानले तत्कालै बृद्ध आश्रम बनाउने योजना नरहेको कोषाध्यक्ष सीताराम खतिवडाले जानकारी दिए । कसैले प्रतिष्ठानको नाममा सहयोग माग्न आए सत्य–तथ्य बुझेर मात्र सहयोग दिन उनले आग्रह गरे ।

सशस्त्र प्रहरी पकली फाइनलमा – खेल समाचार

लखनपुर, वैशाख १७/झापाको लखनपुरमा जारी नवौँ एसवाइसी च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा भारतको सिलीगुढीस्थित सूर्यकिरण फ्रेन्ड्स क्लबलाई हराउँदै सशस्त्र प्रहरी पकली फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्रले बेस्ट अफ फाइभमा सिलिगुढीको फ्रेन्ड्सलाई २५–२०, १८–२५, २३–२५, १९–२५ र १५–८ को अन्तरले हराएको थियो । निकै प्रतिष्पर्धात्मक सो खेलको अन्त्यतिर फ्रेन्ड्सका खेलाडी अतुल सिंहलाई एम्पायर विनय राईले खेल मर्यादा उल्लंघन गरेको भन्दै ‘पहँेलो’ कार्ड दिएका थिए । दुवै टिम २०६७ सालको क्लबले सञ्चालन गरेको सातौँ संस्करणको फाइनल खेलमा समेत प्रतिष्पर्धा हुँदा सशस्त्र विजयी भएको थियो । दुवै टिममा आधा बढी राष्ट्रिय खेलाडीहरु सहभागी थिए ।
आईतबार हुने सेमिफाइनलको अन्तिम खेलमा समूह ‘बी’ बाट फाइनलको लागि भगवान ब्रदर्श बिर्तामोड र लिम्बुवान मुक्ति मोर्चाको ‘ब्’ टीमबीच हुने  आयोजक सगुन युवा क्लवका अध्यक्ष गणेश आङ्देम्बेले जानकारी दिए । गत वैशाख ९ गतेदेखि सञ्चालन भएको सो प्रतियोगिताका विजेता, उप–विजेताले क्रमश १ लाख र ५० हजार नगद र ट्रफी पाउने छन् । फाइनल वैशाख १८ गते हुने आयोजकले जनाएको छ ।
शनिबार नै क्लबले आयोजना  गरेको साङ्गीतिक कार्यक्रममा कलाकार दमन रुपाखेती,  शेखर खनाल र गायक तिलक बम मल्लले प्रस्तुति दिएका थिए ।

मैत्रीपूर्ण फुट्बल खेल

कुञ्जिबारी, वैशाख १७/ नयाँ वर्ष २०६९ को अवसर पारेर माहाभारा–४ र ५ बीच आज मैत्रीपूर्ण फुट्बल खेल हुँदैछ ।
वडानम्बर ४ स्थित बालुवाडीको खेलमैदानमा सो खेल हुने वडानम्बर ५ का टेकराज लिम्बू (मन्त्री) ले जानकारी दिए । 
प्रतियोगिताको बिजेता टिमले ५ हजार रुपैयाँ पुरस्कार हातपार्ने बताइएको छ । दुई वडाका युवाहरुबीच आपसी सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले समेत सो कार्यक्रम आयोजना गरिएको लिम्बूले बताए ।

जेष्ठ नागरिक सम्मानित

दमक, वैशाख १७/ नेकपा एमाले दमक–१३ नम्बर वडा कमिटीले शनिबार ८ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
स्थानीय ९३ वर्षीय खडानन्द अधिकारी, ९२ वर्षीया कलमाया अधिकारी तथा जीतबहादुर श्रेष्ठ, ८८ वर्षीया इन्द्रकुमारी ओस्ती, ८४ वर्षीया दीपा शिवाकोटी, ७८ वर्षीय डम्बरुबल्लभ प्याकुरेल तथा गणेशप्रसाद न्यौपाने र ७६ वर्षीया हीरादेवी गजमेरलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
पार्टीका वडा अध्यक्ष हरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य अर्जुन राई तथा जिल्ला अध्यक्ष रविन कोइरालाले जेष्ठ नागरिकहरु समाजका इतिहास भएकाले उनीहरुको सम्मान र संरक्षण आवश्यक रहेको बताए ।
जेष्ठ नागरिकहरुको सामाजिक महत्व बुझाउने तथा उनीहरुको योगदानलाई कदर गर्ने उद्देश्यले सम्मान गरिएको वडा संगठक राम प्रधानले बताए । कार्यक्रम वडा सचिव खगेन्द्र अधिकारीले सञ्चालन गरेका थिए ।

धिमाल लोक नाचका केही विशेषताहरु

धिमाल लोकनाचका प्रकार, उत्पत्ति, चिनारी र लोकसंस्कृति र धर्मसंस्कृतिको सम्बन्धीको संक्षिप्त सिंहावलोकनको आधारमा केही विशेषताहरु औँल्याउन सकिन्छ ।
क) सामाजिकता तथा सामूहिकताको स्पष्ट विद्यमानताले धिमाल लोकनाचका जटिल र विकट नभएर अत्यन्त सरल र सहज छन् । तिनलाई सिक्न र बुझ्न कुनै विशेष प्रशिक्षणको आवश्यकता हुँदैन । अतः ती खास रुपले सिकाइँदैनन् या सिकिँदैनन् । स्वतः समाजको सदस्यको नाताले जन्जात परम्परागत कलाहरुको उत्तराधिकारी भएर व्यक्तिले विभिन्न संस्कारहरु पचाउँदै र पार गर्दै सहजरुपमा बालककालदेखि नै परिचित हुन्छन् ।

ख) धिमाल लोकनाचहरु वैयक्तित रचना नभएर सामाजिक सृजनाको रुपमा बढी स्वीकृत छन् । एदतर्थ व्यक्तिविशेषको व्यक्तित्वको प्रछापको सर्वथा अभाव नभए पनि सामाजिकताको प्रछाप प्रखर हुने हुन्छ । यसैले पनि ती लोकनाचका समान विशेषताहरु सर्वगम्यता, सर्वसुलभता र सर्वग्राह्यताले परिपूर्ण छन् । तिनमा नाच प्रस्तुतिकरणको क्रमिक सिलसिला प्राप्त भए पनि कथात्मताको भने नितान्त अभाव देखिन्छ ।
ग) धिमाल लोकनाचहहरु अत्यन्त सहज र स्वभाविक लाग्छन् । लोकनाचका अनिवार्य अङ्गहरु ताल, लय र अङ्गभंगिमाको दृष्टिकोणले ती एकरुप छन् । तिनमा आवश्यक एकरुपताको लागि नर्तकहरुले एक अर्काको हस्त, ग्रीवा, पाउ, कटी आदिको सञ्चालनको निमित्त सह–नर्तकहरुलाई पटक–पटक दृष्टि परीक्षणले र गायक तथा वादकहरुले एकै लयबद्धता र समान तालबद्धताको निर्वाहको निमित्त आफ्ना सह–कर्मीहरुलाई चनाखो श्रवण परीक्षणको पूर्णत अभावमा पनि धिमाल–लोकनाचमा नृत्यका सबै अंगहरु स्वभाविक रुपमा संपृत्त भेटिन्छन् ।
घ) धिमाल–लोकनाचमा धिमाल–लोक–जीवनमा प्रचलित परम्परा, रीतिरिवाज, लोक–धर्म विश्वास जातीय विचारधारा एवम् संस्कारहरु सम्मिलित र प्रतिबिम्बित छन् । ती अनुष्ठानिक र मनोरञ्जनात्मक दुवै छन् । त्यसैले ती कालस्थान र परिस्थितिबाट केही प्रभावित भए पनि परम्पराकै रुपमा बढी प्रतिष्ठित र मर्यादित छन् । तिनको प्रदर्शनमा हीनताबोधभन्दा बढी जातीय गौरब बोध र लक्षित उद्देशय प्राप्तिको आतुरता देखिन्छ ।
ङ) धिमाल–लोकनाचहरु सबैजसो धार्मिक एवम् सामाजिक उत्सव चाड तथा पर्वहरुसँग सम्बन्धित भए पनि तिनमा विशेष परिधान र विशेष अलंकरणको प्रयोग पाइँदैन । यसो हुनाको कारण धिमालहरु मनोरञ्जन र आडम्बर र देखावटी पनलाईभन्दा नाचको अनुष्ठानिक एवम् आदूई पक्षलाई विशेष महत्व प्रदान गर्ने गरेको पनि हुन सक्दछ धिमालहरु नाचमा पनि सामान्य श्रृङ्गार र दैनन्दिन पोशाककै प्रयोग गर्दछन् र बहुधा ‘आल्गी’ (सेतो बर्को) ले मुख छोप्ने गर्दछन् ।
च) धिमाल–लोकनाचमा कण्ठसंगीत र बाद्यसंगीत दुवैको समान प्रयोग र समान महत्व देखिन्छ । धिमा, नृत्यगीत ताल र लयको दृष्टिकोणले सरल, सहज र आकर्षक छन् । तर तिनमा एकरसता र एकरुपताको बढी प्रधानता देखिन्छ ।
छ) धिमाल–लोकनाचमा बढी प्रयोग हुने लोकबाजाहरु हुन्– ढोलक, उर्नी र गोमना । यी बाजाहरुमा बज्ने ‘पोदो’ कै आधारमा धिमाल–लोकनाचहरु नाचिन्छन् । धिमालहरु धिमाल–लोकनृत्यमा प्रयुक्त कुनै पनि वाद्यको जोडी मिलाउन आवश्यक मान्दछन् । विशेषतः एक जोडी ढोल, एक जोडी उर्नी र एक जोडी मुर्चुङ्गा बजाउँदछन् । यी बाजाहरुको जोडी मिलाउँदा पनि उनीहरुको डाँका (भाले) तथा माइनी (पोथी) स्वरको सन्तुलन तथा समन्वय कायम गर्ने गर्दछन् ।
ज) धिमाल लोकनाचहरुमा नृत्यको विविध मुद्रा केही भए पनि निश्चित नाचमा निश्चित मुद्राको प्रधानता र प्रमुखता पाइन्छ । एक प्रकारले प्रधान अङ्गभंगिमा तथा मुद्राकै आधारमा धिमाल लोकनाचहरुको नामकरण भएको पाइन्छ । धिमाल नाचमा नाचका सञ्चालित अङ्गभंङ्गिमाहरुमा चपलताभन्दा मन्दता भए पनि लयबद्धताले गर्दा आकर्षक छन् । धानमा बहुत केराको पात चलेको नक्कल गर्ने प्रवृत्तिको प्रदर्शन हुने गर्छ । नृत्य गठन विधिको सम्बन्धमा धिमाल लोक नाचमा गोलाकार र अर्ध गोलाकार रुपको गठन अधिक मात्रामा पाइन्छ । साभार ः धिमाल लोक धर्म र संस्कृति