सञ्चारमाध्यम आफैं पीडित

भूकम्पले सञ्चारमाध्यमलाई पनि असर नपार्ने कुरै भएन । तर जति नै असर परेपनि सञ्चारमाध्यमले आफ्नो कर्म रोक्नै मिल्दैन । काठमाडौंमा घरहरु क्षत विक्षत भएको अवस्थामा पनि वैशाख १२ देखि नै पालमुनी बसेर सञ्चार कर्म गरिरहेको छ । लगानी गरेर यसका लगानीकर्ताले सञ्चार उद्योग बनाउने हो । उद्योगको सम्पूर्ण स्वामित्व र अधिकार सञ्चालककै हो । तर यसले प्रकाशन र प्रशारण थालेपछि आम पाठक र स्रोताको सार्वजनिक सम्पत्ती बन्छ । यसकारण पनि कस्तै संकटमा समेत यसलाई कुनै समय र कुनै दिन बन्द गर्न मिल्ने अवस्था हुँदैन । बन्द भएमा जनताको सूचना पाउने अधिकार नै हनन् हुन पुग्छ ।
यसर्थ, सञ्चारमाध्यमले भूकम्पको पीडा सहेर भएपनि आफ्नो कर्म जारी राखेका छन् । पूर्वमा पनि भूकम्प पीडाले सञ्चारमाध्यम पीडित छन् । भूकम्प र त्यसको लगातारको पराकम्पनपछि झापाको काँकडभिट्टास्थित लोकतन्त्र पोष्टको कार्यालय भवन चर्किएर बस्नै जोखिम भएपछि पत्रिकाको कार्यालय पालमा छ । पालमा बसेर भएपनि उसले आफ्नो प्रकाशनलाई निरन्तरता दिँदैछ । यता दमककै पिपुल्स टाइम्सको कार्यालय रहेको भवन पनि चर्किएको छ । सम्पादन कक्षकै भित्तो चर्किनुका साथै पिल्लर जोडिएको ठाउँ समेत चर्किएको छ । यस्तो अवस्थाको भवनमा बसेर काम गरिहँदा केही होला या नहोला भन्ने आफैं प्रश्न उठेको छ ।
उता पूर्व सन्देश दैनिक रहेको भवन पनि पुरानो जीर्ण अवस्थाको छ । त्यसका भित्ताहरु पनि चर्किएर भूकम्प जाँदा त्रासको वातावरण बनेको छ ।
यति हुँदाहुँदै पनि हामीले हाम्रो काम सूचारु गरिरहेका छौं । डराएर मात्रै पनि भएन । पराकम्पन आइरहँदा नडराएर पनि नहुँने स्थिति छ । यस्तो अवस्थामा सञ्चार क्षेत्रको सुरक्षाको नीति पनि थप आवश्यक देखिन्छ ।

0 प्रतिकृया:

Post a Comment