आर्थिक अभावमा ट्यूमरको समस्या

कुमारी निरौला
उर्लाबारी । पाँचथरको मौवा ५ की युवती आफ्नो भर्भराउँदो उमेरमा अनुहारमा पलाएको ट्यूमरबाट पीडित छिन् । टाउको, गाला र घाँटीमा फैलिएको ट्यूमरको आर्थिक समस्याका कारण अपरेशन गर्न नसकेपछि  २६ वर्षिया कुमारी निरौलाले सहयोगको याचना गरेकी छिन् ।
हाल मोरङको मधुमल्ला– ४ स्थित मामाघरमा आश्रय लिई बसेकी निरौलाको आर्थिक अवस्था ज्यादै नाजुक भएका कारण अपरेशनको लागि सहयोगी हातहरु फैलाउनु परेको उनका मामा जंगबहादुर खत्रीले बताए ।
सानैदेखिको गालाको कालो दागले साथीहरुले जिस्क्याएर विद्यालय जान समेत अप्ठेरो पर्यो र पढ्न पाइनन् । उनी सानै हुँदा बुबाको निधन भएको र आमाले उनलाई खासै वास्ता नगरेपछि मामलमा बस्दै आइन् । ‘सानैमा सानो कालो दाग थियो, अहिले बढेर यत्रो भइसक्यो ।’ –उनले भाबुक हुँदै भनिन् ‘अपरेशन गर्ने  पैसा छैन ।’  पारिवारिक अवस्था ज्यादै कमजोर भएका कारण अपरेशन गर्न नसक्दा १४ वर्षको उमेरदेखि टाउको, गाला र घाँटीमा ट्यूमरको कुरुपपन बोकेर हिँड्नु परेको विवशता उनले सुनाइन् ।  डाक्टरले एक पटक अपरेशन गर्दा ३ लाख लाग्ने र तीन पटकसम्म अपरेशन गरेपछि प्लास्टिक सर्जरी गर्नुपर्ने सुभाव दिएको सुनाइन् । उनले गहभरी आँशु पार्दै भनिन्– ‘सबैले सहयोग गर्नुभयो भने मैले पुनर्जन्म पाउँन सक्थें । ’ उनले सबैलाई सक्दो सहयोग गर्न आग्रह गरेकी छिन् । ऋण काडेर  धुलिखेल, बनेपा, टिचिङ र  ग्लोबल हस्पिटलमा उपचारको लागि लगिएको थियो । टिचिङ हस्पिटलका डा. इश्वर लोहनीले पैसा भए उपचार गर्न सक्ने तीन पटक अप्रेशन गर्दा नौ लाख लाग्ने बताएको उनका मामा जंगबहादुरले बताए । ‘भाञ्जीको उमेरसँगै ट्यूमर बढेपछि चिन्ता बढेको छ, अपरेशनको लागि लाग्ने यत्रो रकम आफुहरुसँग नभएका कारण सहयोगको अपिल गरेको हो ।’–उनले पत्रकारहरुसँग भने । सहयोगी दाताहरुले पीडित कुमारी निरौलाको  नाममा हिमालय बैंकमा रहेको  ०४३०५५८१२२००१४ नम्बरमा रकम जम्मा गर्न सकिने पनि उनले जनाए  ।

0 प्रतिकृया:

Post a Comment