सत्सङ्गमा के तागत हुन्छ

रुद्र निरौला
मानिस अनेकौँ मार्गदर्शनबाट आफूलाई अगाडि बढाउने चेष्टा गरिरहन्छ । तर सही ज्ञान प्राप्त गर्न नसक्दा ऊ विचलित हुन्छ र दिग्भ्रममा पर्न जान्छ । जब संसारको चेतनशील वर्गमा यो विचलन पैदा हुन्छ तब आपसी कलह वैमनस्य तथा अति स्वार्थी विचारमा ऊ चुर्लुम्म डुब्न पनि सक्छ । हामी आज सत्सङ्गका नाममा अनेक दिग्भ्रमहरु प्राप्त गर्छौँ धर्मका नाममा जे होस् राजनीतिका नाममा होस् अथवा शिक्षाका नाममा होस् । आखिर यो किन चलायमान छ मानिस चेतनशील प्राणी हुनाकै कारण यो सब हुनेगर्छ । मुण्डे-मुण्डे मतिर्भिन्न कुण्डे-कुण्डे नवं पय ः। बेग्ला बेग्लै अभिरुचि राख्नु र समाजको सृजना नहुनु हो भने सृष्टि नचल्न पनि सक्छ । तर बेग्ला बेग्लै हुने बहानामा परिवार समाज वा राष्ट्र नै चकनाचुर भएर फुट्नु चाँही हुँदैन । त्यसको मूल कडी भनेकै सत्सङ्गको शक्ति हो । 
सत्सङ्ग भन्ने बित्तिकै आध्यात्मिक चिन्तन अथवा धार्मिक सोच हो भन्ने हाम्रो ठम्याई रहन्छ । तर सत्सङ्ग भनेको असल सत्य कुरासँगको सङ्गत गर्नु हो । यस अर्थमा राजनीति भनेको राज्यलाई असल बनाउने नीति हुनजान्छ । शिक्ष् धातुमा आ प्रत्यय लाग्नाले शिक्षा र त्यसलाई चलाउने असल पद्धति भन्नाले शिक्षानीति हुनेभयो । त हाम्रो शिक्षा दिइने विधि पद्धति वा नीति सत्य नहुने हो भने त्यसमा दिग्भ्रम पैदा हुन्छ । आज त्यही विचलन आउनाले हाम्रो शैक्षिक जगत कुइराको कागजस्तै बनेको छ । यसर्थ हामीले टेकेको धरातल सत् हो यो असत् भनेर गम्ने बेला बित्न लागेको छ । सामन्ती संस्कृति समाप्त पार्ने र वस्तुपरक ढङ्गले छिट्टो राज्यको काया पलट गर्ने नेताहरु मुखमा सर्वहाराको मुक्ति दिलाउने आठेभक्ति प्रवाहित गर्छन र करोडौँ करोड राष्ट्रको सम्पत्ति दुरुपयोग गर्छन् भने त्यो सत्सङ्ग हो या भ्रष्टाचार यस्तो विकृतियुक्त मानसिकता भएका नेताको बोली के सत्सङ्ग हुन सक्छ सत्सङ्ग पाएका जो कोहीले आफूले प्राप्त गरेको ज्ञान दुरुपयोग गर्दैनन् र यदि गरे भने ती सदाचारी रहँदैनन् । त्यसैले जसले सत्सङ्ग प्राप्त गरेको हुन्छ ऊ कर्तव्यनिष्ठ इमान्दार जितेन्द्रिय सकरात्मक तथा स्वयम् सर्वपि्रय बन्न सक्छ । तर हाम्रो समाजमा खै सत्सङ्ग प्राप्त व्यक्तिहरु खोइ सत्सङ्ग दाता व्यक्तिहरु धर्म कर्म राजनीति सबै तिरर दिग्भ्रमको खेती चलाएको हाम्रो परिवेश वास्तवमै कहाली लाग्दो भएको छ । एपीजे कलामे आफ्नो स्वदेश भ्रमणको क्रममा सम्पर्क राखेका धेरै साधु सन्त महात्मा योगी तथा विशिष्ट विद्वानद्वारा प्राप्त ज्ञान र सत्सङ्गले नै आफू एक एक सफल वैज्ञानिक तथा देशको सर्वोच्च पद राष्ट्रपति समेत बन्न सकेको र बिना सत्सङ्ग कोही पनि व्यक्ति असल बनेर समाजमा स्थापित हुन नसक्ने प्रसङ्ग निबन्ध मार्पुत देखाएर राष्ट्र सफल र उन्नतशील बन्न राष्ट्रवासीमा राम्रो सत्सङ्गको खाँचो हुनेतर्फ प्रस्तुत गरिएको पाइन्छ । मान्छेमा रहेको अदृश्य र अजेय शक्तिको मूल स्रोत नै सत्सङ्ग हुने हुँदा समाज सेवा राष्ट्रसेवामा लाग्ने व्यक्तिले सत्सङ्ग प्राप्त गरेर अविचलित आफ्नो सत्यपथमा लाग्ने हो भने ऊ अवश्य सफल बन्न सक्छ तर उसमा दृढनिश्चयता र धैर्यता भने रहनु पर्दछ भन्ने भावमा निबन्ध प्रस्तुत भएको छ ।
हाम्रोमा विभिन्न भेष धारणा गरेकाहरु सत्सङ्गका नाममा झुट खेती गर्दैछन् । त्यसलाई पत्पार मानेर हामी उनीहरु पछि लाग्दै पनि छौँ । हाम्रो कार्य क्षेत्र कुन हो भन्ने ध्यान हामीमा हराएको छ । सामान्य खेतीपाती गर्ने किसान आफ्नो कृषि पेशा छोडेर राजनीति गर्न कुद्छ । पठन पाठन गर्ने अध्याप राजनीतिकै पछि दौडिन्छ । इन्जिनियर पाइलट चिकित्सक प्यारा मेडिकल सबै राजनीतिकै खेताला भैदिएका छौँ । यसैले यहाँको सत्सङ्ग भाडिँयो चारै तिरका काम काज लथालिङ्ग भए । सबैभन्दा बढी शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुग्यो जसकारण दशकौँ सम्मको पिढी विचलित हुन पुग्यो । आज यो दुर्गति हामीले खेप्नु परेको छ । यस निबन्धमा कलामले देश सबैको साझा अस्तित्वको सवाल भएका कारण देशका सबै नागरिक सचेत भएर आफ्नो दायित्व र कर्तव्यमा सच्चा हृदयले समर्पित हुने हो र सकरात्मक सोच सही विचारलाई हदसङ्कल्पका साथ कार्यमा रुपान्तरण गर्ने हो भने त्यहाँ आफै सत्सङ्गको माहौल खडा हुनसक्छ र नेतृत्व पंक्ति छाडा हुन पाउँदैनन् जहाँ राष्ट्र सबल बन्छ मनोभावना प्रकट भएको छ ।

0 प्रतिकृया:

Post a Comment