हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

‘शान्ति र संविधानमाथि खेलवाड’ – मुख्य समाचार

२०६३/६४ मा गैरनेपालीलाई नागरिकता वितरण गरेको तर वास्तविक नेपालीले नागरिकता नपाएको सम्बन्धमा उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्न माग गर्दै सत्तारुढ दल एकीकृत माओेवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच २०६८ फागुन २५ गते जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनका लागि संविधानमा संशोधनका लागि गरिएको सहमतिप्रति गम्भीर आपत्ति जनाइएको छ ।
काठमाडौ, चैत्र १÷शान्ति स्थापना र संविधान निर्माणका सवालमा सत्तापक्ष र प्रतिपक्षका प्रमुख राजनीतिक दलले आफ्नो भूमिका निर्वाह नगरेर शान्ति र संविधानमाथि खेलबाड गरेका भन्दै साना दलले गम्भीर चिन्ता प्रकट गरेका छन् ।
संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलमध्येका १९ साना दलको मंगलबार बसेको बैठकले पटक–पटक संविधान निर्माणका लागि म्याद थप गरेर आफ्ना स्वार्थ र सत्तालाई सर्वोपरी ठान्ने प्रमुख दलको प्रवृत्तिले गर्दा संविधान निर्माण हुन नसकेको ठम्याउँदै  यसमा विभिन्न शक्ति केन्द्रको समेत षड्यन्त्र रहेको प्रष्ट देखिएको बैठकपछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा २०६३÷६४ मा गैरनेपालीलाई नागरिकता वितरण गरेको तर वास्तविक नेपालीले नागरिकता नपाएको सम्बन्धमा उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्न माग गर्दै सत्तारुढ दल एकीकृत माओेवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच २०६८ फागुन २५ गते जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनका लागि संविधानमा संशोधनका लागि गरिएको सहमतिप्रति गम्भीर आपत्ति जनाइएको छ ।
यसैगरी सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन नगरी असंवैधानिक बाटोबाट द्वन्द्वकालका राजनीतिक मुद्दा फिर्ता लिन गरेको निर्णयको विरोध गर्दै उक्त निर्णय फिर्ता लिन माग गरिएको छ ।
विज्ञप्तिमा २०६८ फागुन ३ गते नेपाल–भारत मन्त्रीस्तरीय निर्णयबाट पञ्चेश्वर विकास प्राधिकरणलाई तत्काल अघि बढाउने, सप्तकोसी उच्चकोसी बाँध निर्माण गर्न डिपिआर तयार पार्ने र मन्त्रिपरिषद्को बैठकबाट जिएमआर.कम्पनीलाई उपल्लो कर्णाली निर्माण गर्न दैलेख कालिकोटलगायत क्षेत्रको वनक्षेत्र उपलब्ध गराउने जस्ता निर्णय खारेज गर्न माग गरिएको छ ।
राज्य संरचना आयोगले ल्याएको जातीय राज्य, आत्मनिर्णयको अधिकार, बहुराष्ट्रवाद जस्ता विभाजन तथा विघटनकारी अवधारणासहितको प्रतिवेदनको विरोध गर्दै जनतालाई सो विरुद्ध जानकारी गराई जनमत तयार गर्न बैठकले विभिन्न छलफल तथा गोष्ठी आयोजना गर्ने निर्णय गरेको जनाइएको छ । बैठकमा नेकपा (मसाल),  नेकपा (माले), जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माक्सवादी), नेकपा संयुक्त (माक्सवादी), चुरेभावर राष्ट्रिय पार्टी, समाजवादी जनता पार्टीलगायतका दलको सहभागिता थियो  ।

व्रैद्यद्वारा राजिनामाको माग – उपमुख्य समाचार

माओवादी उपाध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् । उनले राष्ट्रघाती काम गरेकोले वर्तमान सरकार विरुद्ध सडक संघर्ष चर्काउने चेतावनी समेत दिएका छन् ।
पार्टी मुख्यालय पेरिस डाँडामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै वैद्यले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भट्टराईको राजिनामा माग गरे । ‘यो सरकार माओवादीको जस्तो भएन,’ उनले भने–‘सरकारले पार्टीको एजेन्डा पनि कार्यान्वयन गरेन । माओवादीको सरकार हो भन्ने महशुश नै हुँदैन ।’ भट्टराईले राजिनामा गर्न ढिलाई गरेकोमा वैद्यको आपत्ति थियो ।

पार्टीको निर्णय कार्यान्वयन नगर्ने तथा राष्ट्रघाती कतिपय काम गरेको यो सरकार विरुद्ध आवश्यक परे सडक संघर्ष चर्काइने वैद्यको भनाई थियो । भट्टराईको राजिनामापछि सरकारको नेतृत्व कसले गर्ने विषयमा आफूहरु खुला रहेको उनले बताए ।
यसअघि आईतबार र सोमबार वैद्य पक्षीय केन्द्रीय सदस्यहरुको बसेको बैठकले भट्टराईको राजिनामाको विषय चर्काउने
तथा  राष्ट्रिय स्वाधिनता र केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन गराउन सडकबाट  आवाज उठाउने निर्णय गरेको थियो ।

शिक्षकहरुका माग पूरा गरिने

‘लामो समयसम्म अस्थायी रुपमा कार्यरत शिक्षकहरु सरकारको नीतिगत कमजोरीका कारण मर्कामा परेको बताइन्  ।’
दमक, चैत्र १÷ शिक्षा राज्यमन्त्री लिला भण्डारीले शिक्षकहरुले उठाएका मन्त्रालयगत मागहरु दुई दिन भित्र पूरा गरिने बताएकी छिन् ।
सबै मागहरु पूरा गर्न ऐन संशोधनको तयारी भइरहेको उल्लेख गर्दै शिक्षा मन्त्रालयले पूरा गर्न सक्ने मागहरु अबिलम्ब पूरा गरिने उनले बताईन् । क्रान्तिकारी पत्रकार संघले मंगलबार दमकमा गरेको पत्रकार सम्मेलनमा उनले लामो समयसम्म अस्थायी रुपमा कार्यरत शिक्षकहरु सरकारको नीतिगत कमजोरीका कारण मर्कामा परेको बताइन् । शिक्षकहरुले राखेका ४७ सुत्रीय माग मध्ये सबै माग शिक्षा मन्त्रालयले मात्र पूरा गर्न नसक्ने उल्लेख गर्दै उनले अन्य माग पूरा गर्न अन्य सरोकारवाला मन्त्रालयहरुसँग परामर्श भइरहेको जानकारी दिइन् ।
आगामी चैत महिनामा हुने प्रवेशिका परीक्षा सौहार्द रुपमा सम्पन्न गर्न शिक्षकहरुसँग सहमति भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा विद्यालयहरुमा रहेको दरबन्दी मिलानका लागि आवधिक रुपमा नियमित पदपूर्ति गरिने बताइन् । कार्यक्रम क्रान्तिकारी पत्रकार संघ माइपश्चिम क्षेत्रीय समितिका उपाध्यक्ष डण्डीराज घिमिरेको अध्यक्षतामा भएको थियो ।

वर्कसले हतियार बुझाउने

खोटाङ, चैत्र १/ जातीय राज्यको माग गर्दै पूर्वी पहाडी जिल्लाहरुमा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएको किरात जनवादी वर्कस पार्टीले सरकारलाई हतियार बुझाउने भएको छ । वर्कस र सरकारबीच शान्ति मन्त्रालयमा ०६८ फागुन ३० गते भएको शान्ति वार्तामा हतियार बुझाउने वर्कसले जनाएको हो ।
हतियार बुझाउने प्रक्रिया अर्को वार्ताबाट अघि बढाइने सहमति भएको वर्कसका तर्फका वार्ता टोली संयोजक सुमन वान्तवाले बताए । शान्ति मन्त्रालयका तर्फबाट शान्ति मन्त्री सत्य पहाडी, गृहराज्यमन्त्री भीमराज चौधरी र वर्कसका सुमनबीच पाँच बुँदे सहमति भएको छ ।
सहमतिमा विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, आन्दोलनका क्रममा भएका सरकारी मुद्दा फिर्ता लिनुपर्ने, शान्ति र संविधान वर्कसलाई स्वीकार हुने समेटिएको छ । वार्तामा भोजपुरका राजनीतिक संयन्त्रका प्रतिनिधि शेरधन राईले मध्यस्तताको भूमिका निभाएका थिए भने सभासद् सुदन किराँती पनि वार्तामा सहभागी थिए ।
वर्कसले ०६४ माघ ७ गते खोटाङका फाक्टाङ, देवस्थान र चिसापानी प्रहरी चौकी आक्रमण र ०६७ वैशाख २१ गते नुनथला प्रहरी चौकीमाथि आक्रमण गरी हतियार लुटेका थिए । चन्दा आतंकको पर्याय बनेको वर्कसले प्रहरी चौकी आक्रमण गरेपछि उसको केन्द्रीय तहका ३० जना कार्यकर्तालाई प्रहरीले अहिले पनि हिरासतमा राखेको छ ।
वर्कसले मुन्धुम बिचारधारा अन्तर्गत किराँत स्वायत्त राज्यको माग गर्दै हतियार उठाएका थिए ।

अभिभावक संघमा पुनः शिवाकोटी

बिर्तामोड, चैत्र १/संस्थागत विद्यालय अभिभावक संघ झापाको मंगलबार सम्पन्न तेश्रो जिल्ला सम्मेलनले पुनः मोहन शिवाकोटीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
शिक्षा राज्यमन्त्री लिला भण्डारीको प्रमुख आतिथ्यमा भएको सम्मेलनले सर्वसम्मत १५ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्ष सीता बस्नेत, सचिव घनश्याम अधिकारी, सह–सचिव आनन्द लिम्बू र कोषाध्यक्षमा दिपेन्द्र दाहाल रहेका छन् ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी
लक्ष्मीप्रसाद भट्टराई, संघका संस्थापक अध्यक्ष हरी कट्टेल, प्याब्सनका जिल्ला अध्यक्ष नारायणप्रसाद घिमिरे, एनप्याब्सनका जिल्ला सचिव धर्मराज माझी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पोखरेल, पुस्तक व्यवसायी संघका केन्द्रीय सदस्य श्याम ढकाल, एशिया पब्लिकेसनका पूर्वाञ्चल प्रतिनिधि शिव ढुङ्गेल लगायतले बोलेका थिए ।
संघकी तत्कालिन जिल्ला उपाध्यक्ष सुमित्रा प्रसाईले स्वागत मन्तव्य राखेको कार्यक्रममा  सीता बस्नेतले आर्थिक तथा अध्यक्ष शिवाकोटीले सांगठानिक प्रतिवेदन पेश गरेका थिए । सम्मेलनले संघको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ ।

झापामा नेवाः पत्रकार

बिर्तामोड, चैत्र १/ झापामा नेवाः पत्रकार राष्ट्रिय दवू गठन भएको छ । अग्रज पत्रकार अमृतलाल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।
दवूका केन्द्रीय उपसंयोजक महेश श्रेष्ठको प्रमुख आतिथ्यमा मङ्गलबार बिर्तामोडमा गठित समितिको उपाध्यक्षमा दिनेश शाक्य, सचिवमा निरकुमार श्रेष्ठ, कोषाध्यक्षमा कमला श्रेष्ठ रहेका छन् । त्यस्तै, सदस्यमा विकास, सञ्जय, रीता, मञ्जु, जयबहादुर, आसिम ज्वयल श्रेष्ठ, डीएन, एकराज प्रधान र माया प्रधान (पकुवाल) रहेका छन् ।
नेवा देय दवूका अध्यक्ष कृष्ण उदासको अध्यक्षतामा भएको कार्यक्रममा
उप–संयोजक महेश श्रेष्ठ, सुन्दरी श्रेष्ठ, इन्द्रसिंह राजवंशी, जयप्रकाश श्रेष्ठ लगायतले बोलेका थिए । समितिमा झापाका विभिन्न सञ्चारमाध्यममा कार्यरत नेवार समुदायका सञ्चारकर्मी आवद्ध छन् ।

हङकङ विरुद्ध नेपाल विजयी – खेल समाचार

काठमाडौ, चैत्र १/आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोटको खेलमा हङकङविरुद्ध नेपाल विजयी भएको छ । पहिले टस जितेर ब्याटिङ सुरु गरेको नेपालले हङकङलाई १३१ को लक्ष्य दिएको थियो । दुवईको जीसीए–२ मैदानमा भएको खेलमा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो । हङकङले २० ओभरमा ९ विकेट गुमाउँदै १०० रन मात्र बनाउन सफल भएको छ ।
दुवै टिमले यसअघि दुई खेलमा प्रतिस्पर्धा गरेका थिए, नतिजा भने १–१ को स्थितिमा थियो । नेपालले अघिल्लो वर्ष चीनको गोन्जाउमा भएको १६ औं एसियाली खेलकुदमा हङकङसँग ३० रनको हार बेहोरेको थियो । तर, यसै वर्ष काठमाडौंमा भएको एसीसी ट्वान्टी–ट्वान्टी कप च्याम्पियनसिपमा नेपालले अन्तिम ओभरमा रोमाञ्चक २ विकेटको जित निकालेको थियो ।
सोह्र टिमको सहभागिता रहने प्रतियोगिताका उत्कृष्ट दुई टिमले यसै वर्षको सेप्टेम्बरमा श्रीलंकामा हुने विश्वकपमा खेल्न पाउने छन् । ८–८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका उत्कृष्ट ३ टिमले प्लेअफ खेल्छन् । ६ टिमको सहभागिता रहने प्लेअफबाट उत्कृष्ट दुई टिमको छनोट गरिने छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, अफगानिस्तान, क्यानडा, पपुवा न्युगिनी, हङकङ, बर्मुडा र डेनमार्क छन् । समूह ‘बी’ मा आयरल्यान्ड, केन्या, स्कटल्यान्ड, नामिबिया, युगान्डा, ओमान, इटाली र अमेरिका छन् ।

उत्तर कोरिया र फिलिपिन्स विजयी

काठमाडौ, चैत्र १/एएफसी च्यालेन्ज कप प्रतियोगिता अन्तर्गत समूहचरणका अन्तिम खेलमा उत्तर कोरिया र फिलिपिन्स बिजयी भएका छन् ।
भारत र उत्तरकोरियाबीच दशरथ रंगशालमा भएको खेलमा उत्तर कोरियाले ४ गोल गरेको छ । भारतले भने कुनै गोल गर्न सकेन । हलचोक मैदानमा भएको खेलमा ताजकिस्तानविरुद्ध फिलिपिन्स २–१ ले विजयी रह्यो ।

दुर्घटनामा ५ दर्जन घाइते

बिराटनगर, चैत्र १/सीमा सुरक्षा कार्यालय सुनसरी इनरुवाबाट फाइरिङका लागि झापातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको मिनी ट्रक दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
मंगलबार बिहान ५ बजे बा१ग २०६१ नम्बरको ट्रक मोरङको दुलारी–३ पूर्व–पश्चिम राजमार्गमा ब्रेक फेल भइ दुर्घटना भएको थियो । घाइतेमध्ये १६ जनाको स्थिति गम्भीर रहेको र उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी जन्ती बोकेर गईरहेको बस सोमवार राति सप्तरीको वभनगामा कट्टिस्थित खाँडो पुलमा दुर्घटना हुँदा ३० जना भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये
६ जनाको अवस्था गम्भीर रहेको छ ।
राजविराजबाट वभनगामा कट्टी तर्फ गईरहेको ना १ ख ३६८७ नम्वरको अन्सारी ट्राभल्स राति करिब साढे ९ वजे खाँडो पुलमा दुर्घटनाग्रस्त भएको हो । पुल नजिकै सडकमै पार्क गरेर राखिएको ट्रयाक्टरमा ठोक्किएर अनियन्त्रित भइ बस पल्टिएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

बालकल्याणको अध्यक्षमा काफ्ले

शिवगञ्ज, चैत्र १/माहाभारा–३ कुञ्जिबारीस्थित बालकल्याण माविको व्यवस्थापन समिति अध्यक्षमा पर्शुराम काफ्ले (अर्जुन) निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनबाट समितिका सदस्यहरुमा रीताकुमारी लिम्बु, हरिनारायण राजवंशी र भरत अधिकारी निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित काफ्लेले २ सय मत पाएका छन् । उनका प्रतिद्वन्द्वी गणेश राजवंशीले १ सय ३३ मत पाएका थिए ।
त्यसैगरी सदस्यहरुमा निर्वाचित लिम्बुले २ सय ३४ राजवंशीले २ सय ४ र अधिकारीले १ सय ७९ मत ल्याएका स्थानीय रघुनाथ निरौलाले जानकारी दिए । कूल ३ सय ७९ मतदाता रहेको सो निर्वाचनमा ३ सय ५५ मत खसेको जनाइएको छ ।
अध्यक्षमा निर्वाचित काफ्लेले आफ्नो जीत सबै अभिभावकहरुको सामूहिक जित भएको प्रतिक्रिया दिएका छन् ।