हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

राप्रपा नेपालका नेता लावतीको निधन

पद्मसुन्दर लावती
दमक । पूर्व मन्त्री तथा राप्रपा नेपालका राप्रपा नेपालको सह अध्यक्ष पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा बुधबार विहान निधन भएको छ ।
मृगौला सम्बन्धी समस्याका कारण काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा लावतीको निधन भएको उनकी  बुहारी एवम् सभासद् बबिना लावती मोक्तानले जानकारी दिइन् । उनी गत जेठ २३ मा नर्भिक अस्पतालमा भर्ना गरिएका थिए । उनको स्वास्थ जटिल वन्दै गएपछि वुधवार विहानैबाट परिवारको अनुरोधमा उनलाई भेन्टिलेटरमा राखिएको थियो । लावती मृगौलाका साथै रक्त अल्पता र श्वासप्रश्वास लगायतका समस्यावाट पनि ग्रसित थिए ।
पञ्चायतदेखि प्रजातन्त्र पुनस्र्थापना पश्चात समेत पटक पटक गृह, प्रशासन र कृषिसहित विभिन्न मन्त्रालय सम्हालेका लावतीको जन्म ७ साउन १९९६ सालमा भएको थियोे ।
२०१४ सालमा विद्यार्थी अवस्थावाटै राजनीतिमा सक्रिय लावती २०१९ सालमा युवक संगठन अञ्चल सभापति, २०२१ सालमा यासोक गाँउ पञ्चायतको प्रधानपञ्च, २०२४ सालमा जिल्ला पञ्चायतको सदस्य, २०२९ सालमा उद्योग वाणिज्य राज्यमन्त्री हुँदै, स्वास्थ, खाद्य र गृह मन्त्रीका समेत भएका थिए । गृहजिल्ला पाँचथरको विकासमा योगदान दिएका लावतीकै पहलमा मेची अञ्चलका जिल्लाहरु जोड्ने मेची राजमार्ग निर्माण, पाँचथर सदरमुकाम फिदिमदेखि यासोकसम्म विद्युतीकरण लगायतका काम भएको थियो ।
उनी स्वास्थ मन्त्री हुँदा झापाको भद्रपुरमा २५ वेडको अस्पताल स्थापनासँगै अस्पतालका लागि ५ विगाहा जमिन खरिद, पाँचथर सदरमुकाम फिदिममा १५ वेडको अस्पताल स्थापना र ५० रोपनी जग्गा खरिद, तेह«थुममा १५ वेडको अस्पताल स्थापना, ताप्लेजुङ, गुल्मी, भैरहवा, अर्घाखाँची, मनाङ, मुस्ताङ र चैनपुरमा अस्पताल स्थापनासँगै वीर अस्पतालको समेत स्तरवृद्धी गरिएको उनको जीवनीमा आधारित ‘मेरो देश मेरो परिवेश’ नामक पुस्तकमा उल्लेख छ ।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनलाई सघाएका पूर्वपञ्च लावतीको प्रधानमन्त्री बन्ने चाहनालाई भने तत्कालीन दरबारले पुरा गरेन । त्यसमा असन्तुष्ट लावती बेलाबेलामा ‘राजाले मलाई पत्याएनन्’ भन्दै गुनासो गर्थे । २०४६ सालको परिवर्तनसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका लावती पछिल्लो पटक राप्रपा नेपालको सह अध्यक्ष भएका थिए । तर, केही समयअघि मात्रै कमल थापासँग केन्द्रीय अध्यक्षमा पराजित भएपछि लावतीले पार्टी विभाजन गर्दै आफ्नै संयोजकत्वमा राप्रपा नेपाल सुदृढीकरण अभियान शुरु गरेका थिए । लावतीका एक श्रीमती, दुई छोरी र तीन छोरा छन् ।

मोरङका सिद्धान्त विश्वकप क्रिकेटमा

सिद्धान्त लोहनी
मोरङ । मोरङ विराटनगरका सिद्धान्त लोहनीले आइसीसी विश्वकप क्रिकेट छनौट खेलमा नेपाली टोलीबाट खेल्ने पक्का भएको छ ।
बुधबार पारस खड्काको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय नेपाली टोलीमा बिराटनगरका लोहनी पनि पर्न सफल भएका हुन् । सो टोलीमा लोहनी नयाँ अनुहारका रुपमा टिममा अटाएका छन् । लोहनीले राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेका थिए ।
अनिल मण्डल, जितेन्द्र मुखिया र प्रदिप ऐरी पनि टोेलीमा परेका छन् । टोलीका अन्य सदस्यहरुमा शरद भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुुरेल, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी र राजेश पुलामी मगर छन् । पृथु
बास्कोटा, मेहबुब आलम, भुवन कार्की र अभिनाश कर्ण भने बैकल्पिक खेलाडीमा परेका छन् । आउँदो जुलाई ३ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको क्रिकेट संघ    (क्यान) का कार्यबाहक अध्यक्ष दीपक कोइरालाले बुधबार विज्ञप्ति निकालेर जानकारी दिएका छन् । नेपाली टोली अहिले भारतको धर्मशालमा बन्द प्रशिक्षणमा रहेको छ ।

लेटाङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पथरी । मोरङको लेटाङ भोगटेनी नगरपालिकामा बुधबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उर्लाबारीको मदन भण्डारी स्मृति प्रतिष्ठान अन्र्तगत सामान्य चिकित्सा तेश्रो वर्षमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरमा सो क्षेत्रका एक सय बढीले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा रक्तचाप, मधुमेह र मृगौला रोगको परिक्षण गरिएको थियो । शिविर लेटाङ भोगटेनी प्राथमिक स्वास्थ्य केन्द्रको प्राबिधिक सहयोग सम्पन्न भएको थियो । सोही बिद्यार्थीहरुको टोलीले आउँदो शनिबार उर्लाबारी बहुमुखी क्याम्पसमा दन्त शिविरको समेत आयोजना गर्ने कार्यक्रम संयोजक अग्नि भट्टराईले जनाए ।

कांग्रेस मोरङमा उम्मेद्वारीहरुको दौडधुप

उर्लाबारी । नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिदै गर्दा मोरङमा पनि नेतृत्वको चयनका लागि उम्मेदवारी घोषणाको क्रम चलेको छ । संस्थापन र देउवा पक्षले नेतृत्व हत्याउन छुट्टा–छुट्टै उम्मेदवारी घोषणा गरेका छन् ।
संस्थापन पक्षबाट मोरङ कांग्रेसका पूर्व सचिवहरू गोपालमान सिंह राजभण्डारी, ,सञ्जय भट्टराई र मदन संग्रौलाले सभापतिको उम्मेद्वारी घोषणा गरेका छन् भने त्रिलोचन रिजालले पनि संस्थापन पक्षबाटै सभापतिको आकांक्षी बन्ने पक्कापक्की भएको छ । उता संस्थापन पक्ष भन्दा कमजोर संगठन भएको मोरङ कांग्रेसमा देउवा पक्षले पनि सर्वसम्मत उम्मेदवार चयन गर्न नसक्ने अवस्था देखिएको छ । अघिल्लो अधिवेशनमा संस्थापन पक्षबाट सभापति जितेका अमृत अर्याल यो पटक क्याम्प परिवर्तन गरी पुनः सभापति बन्ने दौडमा देखिएका छन् । अर्यालसँग चुनाव हारेपनि अर्याललाई देउवा कित्तामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डिगबहादुर लिम्बू आफू सर्वसम्मत उम्मेदवार बन्न पाउनु पर्ने दावी गरिरहेका छन् । तर देउवा पक्षमा  अर्याल र लिम्बूसँगै दिलिपकुमार गच्छदार पनि आफूलाई सर्वसम्मत उम्मेदवार बनाउन केन्द्रीय नेतृत्वसँग लविङ गरिरहेको बुझिएको छ ।
संस्थापन पक्षका उम्मेदवारहरूमध्ये गोपालमानसिंह राजभण्डारी सबैभन्दा पुराना र कोइराला परिवारका आज्ञाकारी उम्मेदवार मानिन्छन् । उनलाई नजिकबाट चिन्ने कांग्रेसजनका अनुसार  तत्कालिन कोइराला निवासका विश्वासपात्र मानिएका राजभण्डारीसँग स्वर्गीय नोना कोइराला र गिरिजाप्रसाद कोइरालाको किचन क्याविनेटमा रहेर काम गरेको अनुभव छ । यद्यपि पछिल्लो दशक कांग्रेस राजनीतिमा उनको चर्चा कम हुने गरेको छ । नोना र गिरिजाप्रसाद कोइरालाको निधन पछि छायाँमा परेका राजभण्डारीलाई हाल आएर नोना पुत्र डाक्टर शेखर कोइरालाको भरपर्दाे आशिर्वाद रहेको छ । कोइराला परिवारसँग निकट रहेर लामो समय राजनीति गरेका राजभण्डारी मोरङ कांग्रेसको सभापति बन्न योग्य ब्यक्ति भएपनि उनलाई संस्थापन पक्षकै केन्द्रीय नेताहरू महेश आचार्य, सुजाता कोइराला र मीनेन्द्र रिजालले असहयोग गर्ने बताइन्छ । गिरिजाप्रसाद कोइरालासँग अन्तरंग सम्बन्ध कायम गर्न सफल राजभण्डारीले प्रतिबन्धित कालमा गरेको काम र सुजाता कोइराला सक्रिय राजनीतिमा आउँदै गर्दा राजभण्डारीको राजनीति आझेलमा पर्दै गएकोले स्वंय सुजाताले राजभण्डारीलाई सहयोग गर्नेमा शंका उठ्न थालेको छ । एकातिर कोइराला परिवार भित्रको आन्तरिक राजनीतिमा पनि शेखर र सुजाताबीच सामन्जस्यता नभएकोले बरु महेश आचार्य र  आमोदप्रसाद उपाध्यायको समर्थन राजभण्डारीलाई हुने बताइएको छ । तर उपाध्याय हाल क्यान्सरको उपचार गराइरहेकाले अबको अधिवेशनमा उनको भूमिका लगभग शुन्य हुने निश्चित छ । सभापतिको दावी गरिरहेका मदन संग्रौलालाई कांग्रेस महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालको भरथेक रहेको छ । संग्रौला युवाहरूबीच लोकप्रिय मानिन्छन् । तर मोरङ कांग्रेसलाई हाक्न सक्ने क्षमता संग्रौलाले बटुलि नसकेको बताइन्छ । विगतमा प्रजातान्त्रिक कांग्रेसको मोरङ नेतृत्वमा रहेर विभिन्न भूमिका निर्वाह गरिसकेका संग्रौला पछिल्लो समय मीनेन्द्र रिजालसँगै संस्थापन पक्षमा लागेका छन् ।

मोतियाविन्दुका ४६ विरामी

दमक । पाथिभरा नेत्रालय दमक र मेची अाँखा अस्पताल बिर्तामोडले आयोजना गरेको ७ दिने निशुल्क आँखा शिविरमा  ४६ जना मोतीया विन्दुको रोगी फेला परेका छन् । दमक १ स्थित नेत्रालयमा भएको शिविरमा  मोतीया विन्दुका रोगी मध्ये २४ जनाको आँखा अस्पतालमा लगेर शल्यक्रिया गरेको छ ।  नेत्रालयका सञ्चालक समिति संयोजक तथा लान्यस क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष अजय अग्रवालले जानकारी दिएका छन् । बांकी २२ जनाको  मोतीया बिन्दु रोगीहरुले एक साता भित्र शल्यक्रिया गर्ने अस्पतालले जनाएको छ ।
बुधवार सम्पन्न ७ दिने शिविरमा  जम्मा ६ सय ३ जना आँखाका रोगीले आँखा परीक्षण गराएका थिए । शिविरमा आँखा पाक्ने , मोतीयाविन्दु, जलबिन्दु , आँखामा मासु पलाउने, दुरदृष्टि, अदुरदृष्टि, आँखाको संक्रमण लगायतका लक्षण देखिएको अप्थल्मिक एसीस्टेन्ट बिष्णु महतराले बताए । झापा, मोरङ र इलाम लगायतका ठाउँबाट आँखाका रोगीहरु सेवा लिन आउने गरेको नेत्रालयले जनाएको छ ।

आफ्नै लगानीमा बाटो निर्माण अभियान

विर्तामोड । झापाको गरामनी, चकचकी र गोलधाप गाविसका २ सय घर परिवारले आफ्नै लगानीमा साढे चार किलोमिटर बाटो निर्माण गरेका छन् |
गरामनी सापडिग्री हुँदै चकचकी–७ जनता होलीतरी पुनः गरामनीबाट गोलधाप–४ जनजागृति उमावि अगाडि कालोपत्रेमा जोड्ने बाटो स्थानीयवासीले निर्माण गरेका हुन् । अत्यन्त साँघुरो सो बाटोलाई ३० फिट र पैनी भएको ठाउँमा ३५ फिट चौडा कायम गरी माटो भर्ने काम सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष अम्बरबहादुर कन्दङ्वाले जानकारी दिए ।
तीन चरणमा निर्माण सम्पन्न गरिएको सो बाटोका लागि १ हजार २ सय ३२ जना मजदुर परिचालन गरिएको र ६ लाख बढी खर्च भएको निर्माण समितिका सचिव मोहनकुमार उप्रेतीले बताए । समितिले बाटोको स्तरोन्नति गरी हेभी ग्राभेलका लागि जिल्ला विकास समिति समक्ष बजेट माग गरेको छ । गाविसको सिफारिस र जिल्ला प्राविधिक कार्यालयबाट १ करोड १७ लाख ८७ हजार ९ सय १२ रुपैयाँ ५० पैसाको लागत इस्टमेट सहित हेभी ग्राभेलका लागि बजेट माग गरिएको हो । अध्यक्ष कन्दङ्वा, सचिव उप्रेती सहितको टोलीले प्रतिवेदन र उक्त माग योजनासहितको फायल मंगलवार जिविस झापामा बुझाएको छ ।
यसैबीच, बाटो निर्माण समितिले एक भेलाको आयोजना गरी आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । अध्यक्ष कन्दङ्वाले प्रस्तुत गरेको प्रतिवेदन भेलाले पारित तथा अनुमोदन गरेको छ । जस अनुसार ६ लाख २५ हजार ६१ रुपैयाँ आम्दानी भइ ६ लाख २१ हजार ९ सय ६३ रुपैयाँ खर्च भएको र ३ हजार ९८ रुपैयाँ बचत भएको छ  ।
नेपाली कांग्रेसका २ नम्बर क्षेत्रीय सभापति मोहनसिंह कार्कीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । कार्यक्रममा एमाओवादीका जिल्ला नेता सीपी कडरिया, कांग्रेसका विर्तामोड सभापति भोजराज सिटौला, एमाओवादी गरामनी अध्यक्ष मोहन सुब्बाले मन्तब्य राखेका थिए ।

झिलझिलेमा ३ किमि सडक ग्राभेल

झिलझिले । झापाको शिवसतासी—७ दुधे—झिलझिले सडकखण्डको उत्तरतर्फ रहेको डाँडागाउँका बासिन्दाहरु आफ्नो गाउँ आफै बनाऊ भन्ने अभियानमा जुटेका छन् । विकाश निर्माणमा सधै अरुको भरपर्नु पर्ने त्यस क्षेत्रका मानिसहरु आफ्नै प्रयासमा ३ किलोमिटर सडकमा ग्राभेल गरी नमूना गाउँको रुपमा परिचित गराएका छन् । पूर्वपश्चिम राजमार्गदेखि नजिक भएरपनि विकास निर्माणमा पछिपरेका सो क्षेत्रका वासिन्दाले राजनीतिक पार्टीका अगुवाहरुसंग हारगुहार गरेपनि कुनै चासो नभएको भन्दै आफैं जुटेको स्थानीय नरवीर फागोले बताए  । विद्यालय आवत—जावत गर्ने आफ्ना बालबालिका र बजारसम्म किनमेल लगायत अन्य कामको निम्ति हिलाम्य सडकलाई व्यवस्थित गर्दै सो सडकमा ग्राभेल गरिएको फागोले जनाए ।
हिउँदमा सडकमा आवतजावत गर्न समस्या नभएपनि बर्षादको समयमा आवतजावत गर्न कठिनाई भइरहेको फागो बताउँछन् । ३ किलोमिटर सडकखण्ड अन्र्तगत यसअघि २ किलोमिटर सकडमा ग्राभेल गर्ने कार्य पुरा भइसकेको छ । नगरपालिकाको ५० हजार र स्थानीयले स्काइभेटर सहित श्रमवापत १ लाख ५० हजारको लगानीमा १ किलोमिटर सडकमा माटो भर्ने र ग्राभेल गर्नेकार्य पुरा गरेका हुन् ।

उच्च रकममा पशुहाट ठेक्का

दमक । नेपालकै ठूलो पशुहाटका रुपमा गनिने दमकको पशुहाट अघिल्लो वर्षको तुलनामा उच्च रकममा ठेक्का लागेको छ । 
दमक नगरपालिकाले आर्थिक वर्ष ०७२/०७३ को लागि १ करोड २ लाख १० हजार १ सय रुपैयाँमा पशुहाटको ठेक्का लगाएको हो । नगरपालिकाले  पशुहाट कर संकलनका लागि आब्हान गरेको ठेक्का अनुसार ३ जना ठेकेदारहरुमध्ये  सबैभन्दा बढी दमक १२ का युवराज खड्गीले १ करोड  २ लाख १० हजार १ सय रुपैयाँ प्रस्ताव हालेपछि ठेक्का पाएको नगरपालिकाका राजश्व शाखा प्रमुख टिकाराम दाहालले बताए । आगामी साउन १ गतेबाट ३ प्रतिशतले चौपाय बिक्री मूल्यको कर लिने भएपछि पशुहाटको ठेक्का पनि बढेको दाहालले बताए । हालसम्म सयकडा २ प्रतिशतले चौपाया बिक्री कर लिइरहेको नगरपालिकाले जनाएको छ ।
ठेकेदार खड्गीले आगामी साउन १ गते देखि ०७३ असार मसान्तसम्मको ठेक्का उठाउन पाउने छन् । ३४ वर्ष अघि ५ लाख रुपैयाँबाट शुरु भएको ठेक्का नगरपालिकाको आफनो मुख्य आम्दानीको रुपमा रहेको छ । नगरपालिकाले  पशुहाट कर बढेसंगै नगरको विकासलाई सहयोग गर्ने उद्धेश्यले आर्थिक वर्ष ०७२÷०७३ को ठेक्का लिएको ठेकेदार खड्गीले बताए ।
ठेकेदार दमक २ का कमल थापाले १ करोड २ लाख ७ हजार ६ सय ६६ रुपैयाँ र वडानम्वर १२ कै बिजयकुमार नेपालले ८७ लाख रुपैयाँ मात्र ठेक्का रकम प्रस्ताव गरेका थिए । आर्थिक वर्ष ७१÷०७२ को पशुहाट करको ठेक्का  ६८ लाख रुपैयाँमा मात्र लागेको  थियो । २०३२ सालबाट शुरु भएको दमकको पशुहाट नेपालकै सबै भन्दा बढी गाईबस्तु खरिद बिक्री हुने पशुहाट रहेको नगरपालिकाको दावी छ । यो पशुहाट ६ विगाहा क्षेत्रफलमा रहेपनि बिभिन्न किसिमका अतिक्रमणले अहिले साँघुरिदै गएको छ ।

सम्झौता रद्ध गर्न लिम्बुवानको माग

विर्तामोड । संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले सोमबार चारदलका शीर्ष नेताहरुबीच भएको १६ बुँदे सम्झौताले संविधान बन्न नसक्ने भन्दै सम्झौता रद्ध गर्न माग गरेका छन् ।
मंगलबार झापाको विर्तामोडमा पार्टीद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लिङ्देनले सो सम्झौता पहिचान विरोधी भएको भन्दै त्यसको विरोध गरेका छन् । लिङदेनले १६ बुँदे सम्झौता पहिचान पक्षधरहरुमाथिको धोका भएको बताए ।
उनले भने ‘सम्झौता फिर्ता नभए पार्टीले सशक्त आन्दोलन गर्छ  ।’ एकसाता भित्र पार्टीको सचिवालय बैठक बसी आन्दोलनको स्वरुप बारे निर्णय गरिने पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङवाले बताए ।
पार्टीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लिम्बुवान, मगरात, खम्बुवान, थरुहट, नेवा, खसान, मिथिला, र तामांगसालिंगहरुमा भएको संघर्ष, माओवादीले गरेको १० बर्षे सशस्त्र संघर्ष, ०६२÷६३ को जनआन्दोलन र त्यसपछि भएका लिम्बुवान, मधेश र थरुहटमा भएका आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने कोषिस भएको छ ।’
लिम्बुवान राज्य गठनका लागि लिम्बुवान र नेपाल सरकारबीच भएको सम्झौता अनुसार अरुण पूर्वका ९ जिल्लालाई ऐतिहासिक पृष्ठभूमि तथा शासकीय भूगोलको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान राज्य घोषणा गरिनुपर्ने जिकिर गरेको छ ।

सभासदसँग छलफल
सङ्घीयता र संविधान निर्माणका विषयमा जेठ २५ गते मध्ये रातमा संविधानसभाका प्रमुख ४ दल १६ बुँदे सम्झौता सहित ८ प्रदेशमा सहमति भएपछि लिम्बुवानका सभासदहरुसँग मंगलबार अनामनगरमा छलफल सम्पन्न गरेको छ ।
‘राष्ट्रिय सहमतिको सरकार, संविधान  निर्माण र लिम्बुवान सुनिश्चितताको बहस’ विषयक छलफलमा खास गरेर पछिल्लो चार दलबीच भएको सम्झौता र त्यसमा प्रस्तावित लिम्बुवानको अवस्था के हुने ? ८ प्रदेशमा लिम्बुवान कहाँ पर्ने ? यसपछि लिम्बुवान पार्टी र लिम्बुवान लगायत पहिचान चाहने पहिचान पक्षधरहरुको भूमिका के हुने भन्ने विषयमा छलफल भइरहेको छ  ।
कार्यक्रममा संविधानसभाको सभासद श्रीप्रसाद जबेगूले माओवादी पार्टीले एकल पहिचान पक्षमा नरहेकोले लिम्बुवान आएतापनि बहुपहिचान आधारित भएर आउने कुरा बताएका छन् । सभासद टिकाराम चेम्जोङ्ले भने लिम्बुवान लिम्बूको मात्र एकल जातिय राज्य बनाउन खोजिएको हो भने सम्भब नभएको बताए । उनले लिम्बुवान भुगोलभित्र बहुलजातीय अवधारणा हो भने अहिले हतास हुने बेला नरहेको बताए । यस्तै सभासद आइन्द्रसुन्दर नेम्बाङले यदि प्रदेशसभालाई नामाकरण गर्ने अधिकार दिएपछि 
प्रदेशमा जे नाम राख्ने हो त्यसमा भूमिका प्रदेशसभामा खेल्नु पर्ने बताए । पूर्वमन्त्री पुर्णकुमार शेर्माले भने ‘‘पहिचानको आधारमा विश्वका राजधानी, ठूलाठूला शहरहरुको नाम फेरिरहेको छ भने मेची कोशीको स्थानमा लिम्बुवान पनि सम्भव छ । कुनै न कुनै दिन सफल हुन्छ ।’’
कार्यक्रममा सङ्घीय लिम्बुवान पार्टी नेपालको उपाध्यक्ष खगेन्द्र माखिमले सहमतिले एमाओवादीले जनजातिको मुद्दा छोडेको बताउँदै आफ्नो पार्टी प्रचण्ड नेतृत्वको ३० दलिय गठबन्धनबाट बाहिरिएको जानकारी दिए । उनीहरुले लिम्बुवानबासी सभासदहरुलाई आफ्नो पार्टीमा लिम्बुवान सुनिश्चितताको लागि सहकर्ताको भूमिका निर्वाह गर्नु आग्रह गरेका छन् ।
कार्यक्रममा डा.चैतन्य सुब्बा, बालकृष्ण माबोहाङ, कुमार फुदोङ, डा.युवराज लिम्बू, नेत्र तुम्बाहाङफे, मञ्जुल याक्थुम्बा, अर्जुन लिम्बू, शङ्खधोज नेम्बाङ, सभासद रामकुमार सुब्बा, डम्बरबहादुर तुम्बाहाङफे, डीवी आङबुहाङ, खगेन्द्र जबेगू आदिले बोलेका थिए ।

ज्याकी च्याङले राहत दिए

दमक । भूकम्प पीडितकोे सहयोगका लागि चाइनाका चर्चित एक्सन अभिनेता ज्याकी च्याङ मंगलबार काठमाडौं आएका छन् । चाइना रेडक्रसको संयोजनमा नेपाल आएका च्याङले आफूले ल्याएको राहत सामग्री ललितपुर सिद्धिपुर गाविसका भूकम्पपीडितलाई दिएर फर्किएको नेपाल रेडक्रस सोसाइटीका बरिष्ठ अधिकृत इश्वरी रेग्मीले जनाए ।
उनी एयर चाइनाको जहाजमा विहान नेपाल आएका थिए । उनी त्रिभुवन विमानस्थलबाट सोझै सोल्टी होटल गएका थिए । उनले केही साता अघि नेपालका भूकम्प 
पीडितहरुका लागि १ करोड २ लाख नेपाली रुपैंयाँ सहयोग स्वरुप दिएका थिए ।

दमक नपामा मेसिनबाट टोकन प्रणाली सुरु

दमक । सेवाग्राहीलाई छिटो छरितो सेवा दिने उदेश्यले झापाको दमक नगरपालिकाले पालो पर्खाइ ब्यवस्थापन प्रणाली (क्यू मेनेजमेन्ट सिस्टम) को मेसिन प्रयोगमा ल्याएको छ ।
नगरपालिकाले सो प्रणाली प्रयोग गरेर टोकनमार्फत नगरवासीलाई कर लिने सेवा दिएको हो ।  कर तिर्नका लागि  धेरै समय लाइन बस्नु पर्ने बाध्यतालाई हटाउन  त्यस्तो मेसिन सञ्चालनमा ल्याएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए । सो मेसिन प्रयोग गर्ने नेपालभरमै दमक नगरपालिका पहिलो सरकारी कार्यालय रहेको अधिकृत दाहालको दावी छ ।
करदाताले  नगरपालिकाको राजश्व शाखामा गएर मेसिनमा आवश्यक कर विवरणमा छोएपछि तत्काल टोकन निस्किन्छ । सो टोकन लिएर शाखाभित्रको आराम कक्षमा बस्ने र  मेसिनले टोकन नम्वर बताएपछि करदाताले कर बुझाउन जानु पर्ने कर्मचारी बिष्णु पौडेलले बताए ।