हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

पब्लिक सहकारीको कारोवार शुरु

गौरादह/पब्लीक कृषि सहकारी संस्था गौरादहले शुक्रवारबाट कारोवार शुरु गरेको छ । संस्थाले औपचारिक रुपमा बचत तथा ऋणको कारोवार शुरु गरेको हो ।
संस्थाको कारोवारको उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरि चरण बानियाँले उदघाटन गरेका छन् ।  कार्यक्रममा संस्थाका अध्यक्ष भुपाल राज कटुवालले कृषि क्षेत्रको विकासमा सहकारी लाग्ने प्रतिवद्धता गरेका थिए । उद्घाटन कार्यक्रममा  द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था दमकका ब्यवस्थापक धर्मानन्द भट्टराई लगायतले  कारोवारको सफलताको शुभकामना ब्यक्त गरेका थिए । संस्थाको २ करोड शेयर पूँजी रहेको संस्थाका प्रवन्ध निर्देशक हेमन्त कार्कीले बताए । सो सहकारी संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा टेक बहादुर कार्की  छन् भने सदस्यहरुमा टपेन्द्र घिमीरे, सिरु शाह, लक्ष्मी प्रसाई र गंगा कार्की रहेका छन् ।

दमक–११ मा चुम्लुङ

दमक/किरात याक्थुङ चुम्लुङले दमक–११ मा वडा समिति गठन गरेको छ । शुक्रबार सम्पन्न वडा भेलाले कविन्द्र शेर्माको अध्यक्षतामा चुम्लुङको वडा समिति गठन गरेका हुन् । सर्वसम्म्त गठित समितिको उपाध्यक्षमा पूर्ण कुमार साउदेन, सचिवमा विजय लिङदेन ,सह–सचिवमा कृष्ण बेघा र कोषाध्यक्षमा लक्ष्मी प्रसाद चेम्जोङ चुनिएका छन् । 
यसैगरि, सदस्यहरुमा राम बहादुर सम्बाहाम्फे, सन्तकुमार लिङदेन, यमुना योङहाङ (लिङदेन) र अमृता केरुङ (सेनेहाङ)लगायत रहेका छन् । चुम्लुङका नगर अध्यक्ष गुमानसिंह सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भेला चुम्लुङका नगर सचिव देवेन्द्र चेम्जोङले सञ्चालन गरेका थिए । कार्यक्रम स्थानीय किरात युमा माङहिमको प्राङगणमा भएको थियो भने  पूजारी आईतराज कुरुम्बाङको प्रमुख आतिथ्यतामा भएको थियो ।

बर्षाले धराने टोलमा समस्या

दमक/३ दिन यता निरन्तर भएको बर्षाका कारण झापाको दमकका विभिन्न स्थानमा रतुवा नदीले कटान थालेको छ ।
नदीमा पानीको वहाव बढेपछी दमक १८ धराने टोलमा कटान जारी राखेको छ । धराने टोल उत्तरको बस्तीमा नदी पस्ने खतरा बढेपछि स्थानहरुले अस्थायी तटबन्द निमार्ण गरेका छन् । पानी स्पर भत्काउन थालेपछी
बाँस, बोरा लगाएर अस्थायी तटबन्ध निर्माण गरिएको एमाले नगर अध्यक्ष अम्बिका खनालले जानकारी दिए । त्यस्तै दमक १८ र १५ को सिमानामा पर्ने चक्रपथमा समेत पानीले क्षति पुर्याएको छ ।

सिटी क्लवको अध्यक्षमा खडका

दमक/दमकमा भएको एक युवाहरुको भेलाले शेखर खड्काको अध्यक्षतामा ११ सदस्यीय सिटी फुटवल क्लव दमक गठन गरेको छ ।
 समितिको उपाध्यक्षमा राजु लावर, सचिवमा नारायण बिष्ट, सहसचिवमा सन्तोष थापामगर र कोषध्यक्षमा मजुन राई रहेका छन् । भेलाले सल्लाहकार समिति गठन गरेको छ ।  समितिको सदस्यहरुमा इन्द्र कार्की, टिका अधिकारी र कर्ण बिक रहेका छन् ।

भृकुटीको बाल क्लवमा सविना

दमक/भृकुटी निम्न माध्यमिक बिद्यालय दमक १ को भृकुटी बाल क्लवको अधिवेशनले सविना केसीलाई चयन गरेको छ ।
 शुक्रवार भएको अधिवेशनले समितिको उपाध्यक्षमा सलिना सुब्बा, सचिवमा फणिन्द्र रिजाल, सहसचिवमा देशराज कटुवाल र कोषध्यक्षमा अस्मित राई चुनिएका छन् । सदस्यहरु जानुका अर्याल , पुर्णिमा माखिम , सोनिया कुमाल ,  जितेस धिमाल , पुजा बिक र ममता राई छनौट भएको  बिद्यालयले जनाएको छ ।

हिमालयको शैक्षिक पुरस्कार बितरण

दमक/हिमालय उच्च मावि दमक २ ले तुलसादेवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बितरण गरेको छ ।
 शुक्रवार विद्यालयमा भएको कार्यक्रममा विद्यालयकै कक्षा ११ मा अध्ययनरत  जेहेन्दार विद्यार्थी  समिक्षा अर्याल , कक्षा १० का छात्र प्रविण ताजपुरिया  र कक्षा ७ का श्यामबाबु रजकलाई पुरस्कार प्रदान गरेको हो । दमक नगर पालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजिक अगुवा शेर बहादुर भटराई, लोक गायक एल पी जोशी, लेखक रुद्र निरौला, धनञ्जय बास्कोटा लगायतले पुरस्कारको बिषयमा चर्चा गरेका थिए ।
बोन्साइ साहित्य प्रतिष्ठान दमकको आयोजनामा भएको कार्यक्रममा जेष्ठ नागरिक कृष्ण भण्डारी, गणेश रिजाल र गोमा रिजाललाई प्रमुख अतिथि खतिवडाले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

मेरो देश – कविता

निसान श्रेष्ठ
म नेपाली हुँ मलाई लाग्छ गर्व
मेरो देश हेर्दा लाग्छ मलाई स्वर्ग
हामी कक्षा ८ मा पढ्छौं एक साल
तर म कहिले बिर्सिन मेरो देश नेपाल

नेताहरु चुनाव मै अड्किन्छन् सबै हुन्छन् निरास
यस्तै भयो भने कहिले हुन्छ देशको विकास ?
हाम्रो देश हेर्दा सबै देश छन् अगाडि
एकदिन हाम्रो देशको विकास हुन्छ किनभने हामी हौं नेपाली ।

हाम्रो देशमा जताततै छ हरियाली
देशको विकास गर्नुपर्छ है यसपाली
अहिले त हुन थालेको छ नेपाल बन्द
हामी जस्तो विद्यार्थीले यो सुन्दा मान्छन् आनन्द ।

हामी नै हो देशको भविष्य
कसलाई थाहा छ होला, हाम्रो देशको सुन्दरताको रहस्य ?
हामी नेपाली भनेर चिनिन्छ भेषमा
हाम्रो देश नेपाल चिनिन्छ सबै देशमा ।
कक्षा : ८, इष्टर्न स्टार सेकेण्डरी स्कूल, दमक

बाढी पहिरोमा परी १० जनाको मृत्यु

पिपुल्स टाइम्स समाचार
झापा/दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी १० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार जनधनको ठूलो क्षति भएको छ ।
ललितपुर पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने अर्का एकलाई भेलले बगाएको छ । कालेश्वर ५ मा पहिरोमा पुरिरर करिव २०–२१ वर्षका सोनाम घलान र १८ वर्षकी ललिता घलानको मृत्यु भएको छ ।
पानी परेपछि घर छेउको ठाडो खोल्सीमा आएको भेल बारीमा लगाउन खोज्दा उनीहरुलाई पहिरोले पुरेको थियो । प्रहरी टोलीले उद्धार गर्ने क्रममा दुईको शव भेटिएको ललितपुर प्रहरीका प्रवक्ता डीएसपी पवन गिरीले जानकारी दिए ।
यस्तै भट्टेडाँड–३ को तनपाने भञ्ज्याङ ग्रिनचुलीमा भेलले बगाएर २५ वर्षका दिपक लोको मृत्यु भएको छ । दिउँसो साढे १ बजेतिर भेलले बगाएका उनको शव प्रहरीले करिव ३ घन्टापछि फेला पारेको छ ।
त्यस्तै जाजरकोट, सिन्धुली, उदयपूर र सिराहामा गरि थप ७ जनाको ज्यान गएको छ । बाढीले बगाएर दुईजना बेपत्ता भएका छन् ।
यसैबीच रौतहटमा बागमती नदीले निरन्तर कटान गर्दा नदी किनाराका बस्तीहरु उच्च जोखिममा छन् । त्यहाँको मध्यधार भन्ने टापुका बासिन्दा जोखिममा परेपछि उनीहरुलाई उद्धार गर्न जान खोजेको हेलिकाप्टर समेत फर्किएको छ । भिजिबिलिटी नपुगेको भन्दै हेलिकाप्टर जान नसकेपछि स्थानीय प्रशासनलाई अन्य उपाय लगाएर बासिन्दाको ज्यान जोगाउन निर्देशन दिइएको छ । सिराहा र जाजरकोटमा पनि हेलिकाप्टर लगेर उद्धार गर्न खोजिएको तर हेलिकाप्टर जान नसकेको गृहमन्त्री बामदेव गौतमका प्रेस संयोजक विश्वमणी सुबेदीले जानकारी दिए । यद्यपी कुनै पनि बेला ठूलो बिपत्ति आउने सम्भावना भएकाले सेना र प्रहरीका हेलिकाप्टरलाई तयारी हालतमा राखिएको गृहमन्त्रालयले स्रोतले जनाएको छ । भारी वर्षातका कारण देशका कुनै पनि ठाउँमा हेलिकाप्टर उड्न नसकेकाले उद्धारको कार्य प्रभावित भएको छ ।
तराइका धेरै जिल्लाका बस्तीमा बाढी पसेर बस्ती डुबाउनुको साथै सयौँ हेक्टर खेती समेत डुबाएको छ । कमल, रतुवा, रातु लगायतका नदीले महोत्तरी, धनुषा, सिराहामा क्षति पु¥याएको छ ।
पहिरोको कारण क्षतिग्रस्त कोशी राजमार्ग

पहिरोले कोशी राजमार्ग अवरुद्ध

अचानक मनसुन सक्रिय हुँदा आएको बाढी पहिरोका कारण पूर्वी पहाडी जिल्लाहरुका सडक अवरुद्ध भएका छन् ।
 धरान–धनकुटाको कोशी राजमार्ग अन्तर्गत मुलघाटमा गतवर्षको बाढीले क्षति पु¥याएको स्थानमा पुनः क्षति पुग्दा सडक अवरुद्ध भएको हो। त्यस्तै धनकुटाको डाँडाबजार जाने सडक खण्डमा पनि पहिरो जाँदा धनकुटाको राजारानीबाट आउने गाडीहरु धरान आउन सकेका छैनन् भने यताबाट छुटेका गाडीहरु पनि बीच बाटो मै अलपत्र बनेको यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी अञ्चल संयोजक सरोज श्रेष्ठले बताए ।
उनका अनुसार धनकुटाको मुलघाटमा पनि बाटो अवरोध हुँदा गाडीहरु बीचमै अलपत्र परेका छन् । भेडेटार भन्दा १६ किलोमिटर उत्तरको लेउतीसँगै जोडिएको खराने खोलाका कारण पहिरो जाँदा केही समय गाडी अवरोध भएको थियो। त्यो बाटो खुलाउनका लागि धनकुटाका प्रमुख जिल्ला अधिकारी भरत इङ्नामको सक्रियतामा एक्सकाभेटर प्रयोग गरेर बाटो खुलाइएको अस्थायी प्रहरी चौकी भेडेटारका प्रहरी नायव निरीक्षक तेजबहादुर श्रेष्ठले जानकारी दिए ।
 तर, मुलघाटको बाटो हाल पनि अवरुद्ध भएको उनले बताए । बुधबार राति ८ बजे अचानक बाढी आउँदा एउटा कृषिजन्य सामग्री बोकेको गाडीसमेत डुबाएको थियो । सो गाडी बिहीबार मात्रै निकालिएको प्रनानी श्रेष्ठले जानकारी दिए । बाढीले बाटो अवरोध गरेपछि यातायात व्यवसायीहरु पनि निरीक्षणका लागि सो क्षेत्रमा पुगेका थिए ।
निरीक्षणमा रहेका सप्तकोशी बस व्यवसायी संघ धरानका सदस्य माधव घिमिरेका अनुसार भेडेटारबाट ५ किलोमिटर पूर्व नाम्जे र ओख्रेको बीचमा दुई तिन स्थानमा पहिरो गएको छ । सो स्थानमा मान्छेसमेत हिँड्न नसक्ने अवस्था भएको छ भने डाँडाबजार भन्दा पूर्व साम्मेवा र बुधबारेको बीचमा पनि सामान्य पहिरो गएको छ ।
 त्यस्तै मध्य पहाडी राजगमार्गको भोजपुर हिले सडक खण्डको श्यामसिला हिले भञ्ज्याग बीचमा पनि पहिरो गएर बाटो अवरोध भएको नागेश्वर बसका स्टाफको भनाई उदृत गर्दै उनले जानकारी दिए ।

खतरामा बेलबारी बजार

उर्लाबारी ÷ बिगत २४ घण्टादेखि परेको अबरिल बर्षाका कारण मोरंगको बेलबारीस्थित लोहन्द्रा खोलामा आएको बाढीले बजार क्षेत्रमा कटान थालेको छ ।
निरन्तर बर्षाका कारण खोलामा आएको बाढीका कारण खोरियाबस्ती र बेलबारीका वार्ड नम्बर २, ३, ४ लगायतका वार्डहरु कटानको खतरामा परेका छन् । उता मोरङ्गकै गछिया खोलामा आएको बाढीका कारण गछिया बजार समेत तिब्र कटानमा परेको छ ।

सप्तकोशीमा पुनः पानीको बहावमा वृद्धि

इटहरी/सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । विहीबार दिउँसो २ बजेको मापन अनुसार २ लाख ९२ हजार ३०३ क्युसेक पुगेको छ । पानी प्रतिघण्टा १० हजार क्युसेकले बढीरहेको छ ।
निरन्तरको वर्षाको कारण बिहिबार आज विहानदेखि नै पानी वहाव उच्च छ । बिहिबार दिउँसो १ बजेको मापनअनुसार दुई लाख ८४ हजार ५३० क्युसेक पानी बगेको कोशी ब्यारेजमा पानीको वहाव १२ बजे १० हजार क्युसेकले कम थियो ।
लगातार परेको पानीका कारण विहीबार दिउँसो पानीको बहाव तीन लाख क्युसेकको हाराहारी पुगेको हो । निरन्तर वर्षा भइरहेकोले पानीको बहाव अझै बढ्न सक्ने आशंका गरिएको छ । बहाव उच्च भएर
बाँधमा पानीको चाप बढेपछि ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएका छन् ।
पानीको बहाव विहीवार विहान २ लाख ३४ हजार थियो । कोशीमा एक लाख पचास हजार क्युसेक नाघ्ने बित्तिकै सोमबार बिहानैदेखि ब्यारेजमा खतराको चिन्ह स्वरुप दिउँसो रातो झण्डा फहराइएको छ ।
 पानीको बहाव कोशीको क्षमता भन्दा कम भएपनि ब्यारेज पचास वर्षभन्दा पुरानो भएकाले कोशी तटबन्धभित्र वालुवा थुप्रिएका कारण तटबन्धको क्षमतामा समेत ह्रास आएको छ । त्यसैले पानीको बहाव थोरै बढ्दा पनि सतर्कता अपनाइने गरिन्छ । यो पटक पनि सुरक्षा निकायलाई उच्च सतर्कताका साथ राखिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
 गत २०६५ भदौ २ गते ब्यारेजका पर्याप्त ढोका नखोलिँदा कोशी ब्यारेजको बाँध भत्किएर तीस हजार बढी घर परिवार विस्थापित भएका थिए । विस्थापित भएकाहरुको लामो समयसम्म पुनर्वास र राहत वितरण हुन सकेको थिएन । उक्त समयमा तटबन्ध भत्किँदा ब्यारेजमा पानीको वहाव १ लाख ६८ हजार क्युसेक मात्र थियो भने बाँध भत्केको दुई वर्ष पछि पानीको बहाव तीन लाख ३६ हजार क्युसेकसम्म पुगेको थियो ।


अस्पताललाई गाउँलेद्वारा जग्गादान

लखनपुर/झापा लखनपुरका बासिन्दाहरुले गाँउमा नै आयुर्वेद अस्पताल बनाउन २ विगाहा बढी जग्गा उपलब्ध गराएका छन् । लखनपुर–४ र ५ का एक दर्जन बढी गाँउलेहरुले करोडौँ मूल्य पर्ने २ विगाहा १ कठा जग्गा अस्पताललाई दान गरेका हुन् ।
पूर्वाञ्चल क्षेत्रिय आयुर्वेद अस्पतालको भवन निर्माणका लागि ती क्षेत्रका गाँउलेहरुले विहीवार सामूहिक रुपमा १ विगाहा ८ कठ्ठा साढे १ धुर जग्गा दान गरेका स्थानीय सामाजिक अगुवा तथा जग्गादाता मणीकुमार भण्डारीले जानकारी दिए । विहीवार जग्गादाताहरुले अस्पताललाई मालपोत कार्यालय दमकमा गएर लिखत पास गरेका हुन् । भण्डारीले ९ कठ्ठा १३ धुर, गणेश गुरुङले ३ कठा, नन्द पौडेलले ६ कठ्ठा, ताराप्रसाद नेपालले ३ कठठ, रङ्गलाल मिश्रले ३ कठ्ठा, तारादेवी भण्डारीले ६ कठ्ठा र पदम गुरुङले ३ कठ्ठा जग्गा अस्पताललाई पास गरिदिएका हुन् । यस्तै,जगत बहादुर खड्काले
१ कठ्ठा ४ धुर ,तुलसीराम कार्कीले साढे १७ धुर, वेदमाया सुवेदीले साढे ५ धुर र याम प्रसाद भट्टराईले साढे १७ धुर जग्गा केहि दिनमै दान दिने भएका हुन् । सो दान दिएका क्षेत्रमा सरकारले पूर्वाञ्चल स्तरिय आयुर्वेद अस्पताल बनाउन तयारी अगाडी बढाउने दाता भण्डारीले जानकारी दिए ।

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

विराटनगर/मोरङ जिल्लामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।
मोरङको लेटाङ बस्ने ३६ वर्षीय कर्णबहादुर मगरको खोला तर्ने क्रममा र एक बालिकाको ठेलाको पाङ्ग्रामा सल बेरिएका कारण मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मगर बिहिबार राति तुर्के खोला तर्ने क्रममा बेपत्ता भएपछि शनिबार बिहान ९ बजे खोजतलास गर्दा नदीको बगरमा मृत अवस्थामा फेला परेका हुन् ।
त्यसैगरी, मोरङको कटहरी–७ बस्ने छ वर्षीया बालिका गुल्सन खातुनको सल ठेलाको पाङ्ग्रामा बेरिएर लड्दा गम्भीर घाइते भएको थियो । उपचारका लागि विराटनगर ल्याउने क्रममा उनको बुधबार साँझ मृत्यु भएको हो ।
बुबा मोहम्मद मुस्लिमले चलाइरहेको ठेलामा आमा चाहिरा खातुनसँगै बसेकी ती बालिकाको सल पाङ्ग्रामा बेरिएको थियो ।