हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

लखनपुर र सुन्दरदुलारीमा विउ बैंक स्थापना गरिँदै

दमक । झापाको लखनपुर र मोरङको सुन्दर दुलारीमा लोप हुन लागेका विउ विजन संरक्षणका लागि विउ बैंकको योजना अगाडि बढेको छ ।
 उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्र्रतिष्ठानको अगुवाइमा लोप हुन लागेका नेपाली मौलिक विउ विजनहरु संरक्षण गर्ने अभियानका विषयमा विहीबार उर्लाबारीमा छलफल भएको छ । प्रतिष्ठानको ‘सशक्तिकरणको माध्यमबाट जिविकोपार्जनमा सुनिश्चितता’ कार्यक्रम अन्तर्गतको अर्धवार्षिक सहभागितामुलक चिन्तन मनन् प्रक्रिया (पीआरआरपी ) का सहभागिले सो कुरामा जोड दिएका छन् । कार्यक्रमको विषयवस्तु उठान गर्दै छलफलको सहजिकरण गरिरहेको प्रतिष्ठानका सामुदायिक विकास अधिकृत तथा कार्यक्रम संयोजक रुद्रबहादुर तामाङले भने’– केही संस्थासँगका सहकार्यमा प्रतिष्ठानले विउ बैंक खडा गर्ने तयारी अगाडि बढाएको छ । अनि वचत समूहहरुलाई पनि सहकारीमा रुपान्तरण गर्ने योजना तपाईहरुलाई कस्तो लाग्छ ? यो अभियानमा प्रतिष्ठानले सवैको सहकार्य खोजेको छ ।’
कार्यक्रममा सो विषयवस्तुलाई केन्द्रविन्दुमा राखेर छलफल चलेपछि  समूह, सरोकारवाला क्षेत्रका सहभागिहरुले त्यसमा धारणा राखे ।  ‘लोप हुन लागेका विउ विजन जोगाउनु ज्यादै आवश्यक छ तर हाइव्रिड विउविजनको हस्तक्षेप चुनौती बनेको छ ।’–लखनपुरस्थित साना किसान सहकारी संस्थाका व्यवस्थापक टंक पराजुलीले भने । विउ बैंक भनेर सुन्दा जति सजिलो हुने बुझिन्छ र तर त्यसको स्थापना गर्न उत्तिनै गाह्रो भएको पनि उनले उल्लेख गरे । ‘एउटा मात्र संस्थाले व्यवस्थापन गर्न नसक्ला, तर संस्थाहरुको सहकार्यमा त्यो काम गर्न भने सकिन्छ भनेर हाम्रो संस्था पनि लागिरहेको छ । ’– उनले भने ।
सन् २००७ बाट एक्सन एडको सहकार्यमा ‘सशक्तिकरणको माध्यमबाट जिविकोपार्जनमा सुनिश्चितता’ कार्यक्रमका रुपमा झापाको दमक, लखनपुर, मोरङको बयरबन, सुन्दरदुलारी र कोसीहरैंचामा प्रतिष्ठानले गतिविधि सञ्चालन गरेको छ । ती क्षेत्रमा भूमि तथा जिविकोपार्जन, नीति तथा सुशासन, महिला अधिकार र शिक्षा अधिकारको क्षेत्रमा काम गर्दै आएको छ । आर्थिक तथा चेतनाको पक्षमा कमजोर रहेका समुदायका लागि कार्यक्रम केन्द्रीत छ । जसमा भूमिअधिकारको पाटोबाट विउविजन जोगाउने कार्यक्रम यसैवर्षबाट अगाडि ल्याइँदै छ । जसका लागि लखनपुरको सानाकिसान, सुन्दरदुलारीको साना किसान सहकारीका व्यवस्थापक सहितका ३ जनालाई ५ दिने तालिम प्रदान भइसकेको छ ।
सुन्दरदुलारी ११ स्थित प्रगति महिला बचत समूहकी अध्यक्ष मेनुका कार्कीले लोप हुन लागेका नेपाली विउ विजनहरु जोगाएर त्यसलाई विस्तार गर्नु स्वास्थ्यका लागि पनि फाइदाजनक भएको बताइन् । उनले गाउँ टोलमा भएका बचत समूहहरुलाई सहकारीका रुपमा रुपान्तरण गर्ने प्रतिष्ठानको प्रस्तावलाई पनि समर्थन जनाइन् ।
सामाजिक परिचालक तारामान पौडेलले सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रतिष्ठानले गठन गराएको ४३ वटा समूहबाट ३६ लाख रुपैयाँ बचत भएको उल्लेख गर्दै त्यसलाई सहकारीका रुपमा रुपान्तरण गर्ने विषयमा छलफल भइरहेको जानकारी गराए ।
उनीहरुले रासायनिक वस्तुको प्रयोगलाई कम गर्दै जाने, अधिकार र चेतनाका पक्षमा स्थानीयलाई जागरुक गराउँदै जाने कार्यक्रमले समुदायमा प्रभाव पारेको विवरण पेश गरेका थिए ।
कार्यक्रममा, विभिन्न समूहले आफुले गरेका गतिविधिलाई चार्टका रुपमा ल्याएर प्रस्तुत गरेका थिए । कार्यक्रमबाट आफ्नो जीवनस्तरमा सुधार आएको सहभागिको धारणा रह्यो । जसमा सामाजिक परिचालक रुना चौधरी, वालकुमारी राई, अम्बिका दहाल, सुनिता राजवंशीका साथै प्रतिष्ठानकी लेखा अधिकृत मेनका वास्कोटा लगायतका कार्यक्रमका समग्र पक्षका विषयमा जानकारी गराएका थिए । एक्सन एडका तर्फबाट सहभागि सुनिता महर्जनले समुदायको रुपान्तरमा कार्यक्रमले प्रभाव पारेको बताइन् ।

उपचारमा ४३ हजार सहयोग

दमक । दमक ११ की पाठेघर क्यान्सर पीडित राधादेवी शाहको उपचारका लागि दमक स्थित दमक युथ क्लब र महिला सशक्तिकरण केन्द्र नेपालले ४३ हजार ३७ रुपयाँ सहयोग गरेका छन् ।
विहिबार दमकमा पत्रकार सम्मेल गरी सो रकम पीडित राधाका श्रीमान कनैयाप्रसाद शाहलाई  हस्तान्तरण गरिएको हो । दमक युथ क्लब र महिला सशक्तिकरण केन्द्र नेपाललले संयुक्तरुपमा १६ हजार ३ सय ११ रुपयाँ र महिला सशक्तिकरण केन्द्रले २६ हजार ७ सय २६  गरी जम्मा
  ४३ हजार ३७ रुपयाँ सहयोग गरेको महिला सशक्तिकरण केन्द्र नेपाललकी सचिव सुमित्रा वाङ्देल चेलीले बताइन्  ।
शाहलाई १ महिना अघि भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि लगिएको  भएपनि पैसा अभावका कारण फेरि घर फर्काइएको थियो । सो कुरा थाहा पाए पछि आफुहरु सहयोग गरेको दमक युथ क्लबका सचिव पारस आचार्यले बताए । शाहले अहिले ठेलामा फलफुल पसल सञ्चालन गरी पाँच जनाको परिवार चलाउदैछन् । आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण श्रीमतीको उपचार गर्न नसकेको बेलामा उनको जीवन रक्षामा सहयोग गरेकोमा कनैयाले खुसी व्यक्त गरेका छन् ।

सहिदका छोराछोरीलाई पढ्ने समस्या

पथरी । सुनसरीको इटहरीमा रहेको सहिद स्मृति आवासीय माविबाट एसएलसी उतीर्ण विद्यार्थीहरु अवको उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि चिन्तित बनेका छन् ।
सशस्त्र युद्धको बेलाका सहिद परिवार तथा द्वन्द्वपीडित अनाथहरुलाई एसएलसीसम्म अध्ययनका लागि खडा गरिएको विद्यालयले एसएलसीमा सतप्रतिशत नतिजा निकालेपनि विद्यार्थीको अवको भविष्य भनें अन्यौलमा परेको छ । ०६६ मा स्थापित तरहरास्थित सहिद स्मृति आवासीय विद्यालयबाट पहिलो पटक एसएलसी परीक्षामा सहभागी २० जनामध्ये ३ जनाले बिशिष्ट र १७ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । असल मान्छे बन्ने सपना साँचेर निक्कै मेहनत गरेर आफुहरुले एसएलसी उत्तीर्ण गरे पनि अब अगाडिको शिक्षा कसरी लिन भन्ने चिन्ताले सताएको त्यहाँबाचट एसएलसी उत्तीर्ण ईलाम दानाबारी–१  की हीमा बराईलीले दुखेसो पोखिन् ।
विद्यालयमा उच्च माध्यमिक कक्षा सञ्चालन नभएको र आफ्नो खर्चमा बाहिर पढ्ने क्षमता उनीहरुको नभएकोले विद्यार्थीहरु समस्यामा रहेको विद्यालयकी प्रधानाध्यापक रीता फुयाँलले बताइन् । विद्यालयमा उच्च माबि सञ्चालन गर्न प्रयत्न भइरहे पनि उच्च माध्यमिक शिक्षा परिषदले दरखास्त नै नमागेकोले यो वर्ष उच्च मावि सञ्चालन हुनसक्ने अवस्था छैन ।
मन्त्रीस्तरीय निर्णय गराएर  विद्यालयमा उच्च मावि सञ्चालन गर्ने पहल भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार डाँगीले बताए । उच्च मावि सञ्चालन नभए एसएलसी उत्तीर्ण द्वन्द्वपीडित बालबालिका समस्यामा पर्ने उनको भनाइ छ । जिरी, पोखरा, दाङ, डोटीमा समेत यस्ता स्कूल सञ्चालनमा छन् ।

ढाका बुनाई तालिम उद्घाटन

शिवसताक्षी । झापाको शिवसताक्षी ३ स्थित साविक शिवगञ्ज गाविसको सभाहलमा चन्द्रडाँगीमा ढाका बुनाई तालिमको उद्घाटन भएको छ ।
शिवसताक्षी नगरपालिकाको महिला लक्षित बजेटको आर्थिक सहयोग तथा पाथीभरा प्रोफेशनल एजुकेशन दमक १० को प्राविधिक सहयोग र ढाका बुनाई तालिम उपभोक्ता समिति शिवसताक्षी ३ को आयोजनामा वडा भरीका ५० जना भन्दा महिला सहभागी रहेको तालिमको नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद गुरागाईले उद्घाटन गरेका थिए ।

औषधी व्यवसायीको स्थापना दिवश

दमक । नेपाल औषधी व्यवसायी संघको ४२ औ स्थापना दिवसका अवसरमा विहीबार दमकका अन्तरक्रिया र फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
 कार्यक्रमका प्रमुख अतिथि आम्दा अस्पतालका मेडिकलसुपरिडेन्ट डाक्टर नविन ढकालले स्वाथ्य क्षेत्रमा सलंग्न व्यवसायीहरु सधै संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । ढकालले स्वास्थ्य क्षेत्रमा संलग्न पेशाकर्मीहरुवीच एकता हुन जरुरी रहेको औल्याएका छन् ।
कार्यक्रममा संघकाअध्यक्ष सुर्यप्रसाद कोइराला, पूर्व केन्द्रीय सदस्य राजेन्द्र ढकाल लगायतकाले समेत बोलेका थिए । त्यस अवसरमा शाखाबाट संघको केन्द्रीय समितिमा मनोनित हुने थोकतर्फका गौतम गुप्ता, खुद्राबाट सुरेन्द्र प्रधान, कञ्चन शर्मा र नेटवर्किङ तथा वुलेटिन प्रकाशन केन्द्रीय उपसमिति सदस्यमा अनिल सुवेदीलाई बधाई तथा कार्यकालको शुभकामना दिएको थियो । सोही अवसरमा आम्दा अस्पतालका करिव १ सय बढी विरामीहरुलाई फलफूल वितरण गरिएको संघका सदस्य अनिल सुवेदीले बताए ।

प्रशिक्षार्थी चिकित्सक र प्रहरीबीच झडप

विराटनगर । मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययनरत प्रशिक्षार्थी चिकित्सक र प्रहरीबीच बिहीबार झडप भएको छ ।
इन्टर्नसिपमा काम गरिरहेका प्रशिक्षार्थी डाक्टरहरुले श्रम शोषणको विरोधमा जारी राखेको धर्नामाथि प्रहरीले हस्तक्षेप गर्दा दर्जन बढी घाइते भएका छन् भने प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
नोबेल मेडिकल कलेजमा एमवीवीएस अध्ययन गरेका सन् २०१० ब्याचका विद्यार्थीहरु एक सातादेखि  आन्दोलनमा छन् । उनीहरुले कलेज प्रशासन समक्ष इन्टर्न समयमा गर्ने श्रमको उचित पारिश्रमिक दिनुपर्ने र भर्ना भएको बेला राखेको धरौटी रकम फिर्ता गर्नुपर्ने माग राखेका थिए । आफ्ना सुनुवाई नभएछि अस्पतालको ओपीडी सेवामा तालाबन्दी गरेर धर्नामा बसेका प्रशिक्षार्थीमाथि प्रहरीले अन्दाधुन्द लाठीचार्ज गरेको थियो ।
प्रशिक्षार्थी चिकित्सकहरुले अन्य मेडिकल कलेजले इन्टर्नमा श्रम गर्नेहरुलाई न्युनतम ७ हजारदेखि १२ हजार रुपैंयाँसम्म पारिश्रमिक दिने गरेको भन्दै सोही अनुसार पारिश्रमिक दिन माग गरेका थिए । नाबेलले भने मासिक ३ हजार ८ सय रुपैयाँ मात्र दिने गरेको छ । प्रहरीले धर्नामा बसेका चिकित्सकहरुमाथि हस्तक्षेप गर्ने क्रममा अस्पतालका बरिष्ठ चिकित्सकहरु पनि घाइते भएका छन् । जथाभावी बल प्रयोग भएपछि नोबेलमा कार्यरत अन्य चिकित्सकहरुले पनि प्रशिक्षार्थीहरुकोे आन्दोलनलाई
समर्थन गर्दै कालोपट्टी बाँधेर काम थालेका छन् । उनीहरुले कलेज प्रशासनले अस्पतालभित्र प्रहरी प्रवेश गराएकोमा आपत्ती जनाएका छन् ।
कलेजमा झडप भएपछि बिभिन्न विद्यार्थी संगठनहरुले अस्पताल प्रशासनको विरोध गरेका छन् । उनीहरुले माग पुरा नभए सशक्त आन्दोलन अघि बढाउने तयारी गरिरहेका छन् । नोवेल मेडिकल कलेजमा अहिले १ सय २४ जना प्रशिक्षार्थी चिकित्सकहरुले इन्टर्नसिप गरिरहेका छन् ।
उता, मेडिकल शिक्षामा उत्कृष्ट नतिजा ल्याएको दावी गर्ने सो कलेजका एमबीबीएस तेस्रो वर्षमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएका छन् । नतिजामा नोबेल मेडिकल कलेजनका १४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । आवश्यक भौतिक पूर्वाधार पुरा नगरी पहुँचका अधारमा १ सय ५० जना विद्यार्थीलाई एमबीबीएस पढाउने सम्बन्धन पाएका नोबेलले २२ जना विद्यार्थी मात्र उत्तीर्ण गराएको छ ।
पूर्वाधार विना ठूलो संख्यामा विद्यार्थी पढाउने सम्बन्धन लिएको भन्दै नेपाल मेडिकल काउन्सिलले नोबेलको कोटा कटौती गरेपनि कार्यान्वयन हुन सकेको छैन ।

विद्यार्थी संगठनद्वारा मेला बन्द

दमक । काठमाडौंका शैक्षिक परामर्श दिने संस्था रेञ्ज कन्सल्टेन्सीले दमकमा लगाएको शैक्षिक मेला विभिन्न ३ विद्यार्थी संगठनको टोलीले बिहिबार बन्द गराएको छ ।
अखिल क्रान्तिकारीको तर्फबाट बिपिन बस्नेत अग्रगामी विद्यार्थी युनियनका मनकुमार लिम्बु र राप्रवि संघका भरत दुलाल सहितको टोलीले दमकमा लाग्दै गरेको शैक्षिक मेला बन्द गराएका हुन् ।
विद्यार्थीलाई राम्रा राम्रा कलेजको आश्वासन देखाएर ठगी गर्ने प्रविधि बढेको भन्दै मेला बन्द गरिएको अखिल क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य बिपिन बस्नेतले बताए ।
पछिल्लो समय झापाका बिभिन्न स्थानमा शैक्षिक परामर्श केन्द्रले भारतका बिभिन्न स्थानमा रहेका कलेजको विज्ञापन गर्न यस्ता मेला लगाउने गरेका छन् । संयुक्त विद्यार्थी संगठनले ठगीका बिषयमा पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि चासो नदिएको भन्दै मेला बन्द गर्न बाध्य भएको राप्रवि संघका भरत दुलालले बताए ।
‘यस्ता संस्थाले विद्यर्थीको भविष्य अन्योलमा पारेको छ कि त विद्यार्थीको त्यहाँ गइ पढेर नआएसम्मको जिम्मा लिनु पर्छ, होइन भने भ्रमात्मक प्रचार गर्न पाइदैन’।– क्रान्तिकारीका बस्नेतल भने ।

राखेपको सदस्य सचिवमा विष्ट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य–सचिवमा केशव विष्ट बिहीबार नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष पुरुषोत्तम पौडेलले विष्टलाई नयाँ सदस्य–सचिव नियुक्त गरेका हुन् ।
एमालेका तर्फबाट मन्त्री बनेका पौडेलले आफ्नै पार्टीका विष्टलाई  राष्ट्रिय खेलकुद विकास ऐन २०४८ अनुसार सदस्यमा बिहीबारै नियुक्त गरी सदस्य–सचिव बनाएका हुन् । मन्त्री पौडेलले राजेन्द्र श्रेष्ठ र समिउल्लाहलाई पनि राखेपको सदस्यमा नियुक्त गरेका छन् । विष्ट एमालेमा नेता माधवकुमार नेपाल निकट मानिन्छन् । जेठ २८ मा युवराज लामाको कार्यकाल सकिएपछि मन्त्री पौडेलले सकुन्तला नगरकोटीलाई निमित्त सदस्य–सचिवको जिम्मेवारी दिएका थिए ।

लागू औषध सहित ४ पक्राउ

दमक । झापा प्रहरीले ठूलो परिमाणको लागू औषध सहित ३ भारतीय सहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा, झापा टाघनडुव्वा २ का २० वर्षीय कलिम अन्सारी, भारतको विहार राज्य, किशनगन्ज जिल्ला, दिघलवैङ्क थानास्थित बालुवाडी ९ का १९ वर्षीय अन्जर अन्सारी, बालुवाडी ३ का २४ वर्षीय चन्दन राजवंशी र बालुवाडी २ का १८ वर्षीय सनोज कुमार सिंह रहेका छन् ।  
भारतको दिघलवैङ्क सिमाना बजारबाट ठूलो परिमाणमा लागु औषध खरिद गरी नेपालतर्फ ल्याउदै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिई गएको प्रहरी गस्ति टोलीले झापा कुमरखोद सुरुङ्गा सडकखण्डबाट उनीहरुलाई पक्राउ गरिएको झापा प्रहरीले बुधबार जनाएको छ । उनीहरुको साथबाट लागू औषध कोरेक्स, रेस्काप सहित २ वटा मोटरसाइकल बरामद गरिएको छ ।

झापाका दर्जनौं सहकारीको अवस्था “कहालिलाग्दो”

– गोपाल काफ्ले
झापा । जिल्लामा सञ्चालित धेरै सहकारीले सहकारी ऐन २०४८, सहकारी नियमावली २०४९ र सहकारी मापदण्ड २०६८ बर्खिलाप हुने गरी आफ्नो संस्था चलाइरहेको पाइएको छ ।
१ करोडदेखि ५ करोड रुपैयाँसम्मको कारोबार गर्ने जिल्लाका १ सय १० वटा सहकारीमध्ये चालू आर्थिक वर्षमा ७० वटामा सघन निरीक्षण गर्दा यस्तो अवस्था पाइएको हो ।
डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलका अनुसार ठूलो ‘भोल्यूम’मा कारोबार गरिरहेका सहकारीहरुसँग धेरै मानिसको सम्बन्ध जोडिने भएकाले सानोतिनो गल्ती भइहाले पनि बेलैमा सच्याउन सहयोग होस् भनी डिभिजन कार्यालयले मसिनो गरी निरीक्षण गर्दा ‘कहालीलाग्दो अवस्था’ पाइएको हो । ‘पछिल्लो चरणमा हामीले ७० वटाको निरीक्षण गर्यौं ।’– सहकारी अधिकृत पोखरेलले भने–‘अधिकांशमा यति धेरै समस्या, विकृति र विसंगति भेटियो कि सहकारी भन्नै नसकिने गरी नीति, नियम, मापदण्डको धज्जी उडाइएको छ ।’
सहकारी अधिकृत पोखरेलले थपे– ‘कतिपय सहकारीका सञ्चालकले आफ्नै संस्थाको विनियमको पालना नगरी सबैजसोले ऋण लिएको पाइयो, जबकि ४९ प्रतिशतभन्दा बढीले एकैपटक ऋण लिन पाइँदैन ।’ उनले कतिपयमा संस्थाको अध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यलगायत पदमा बस्ने र मासिक तलब बुझेर दैनिक काम सञ्चालन गर्ने गरेको पाइएको पनि जनाए । ‘सञ्चालकमध्ये कुनै एकजनाले कार्यकारी भएर सुविधा लिन मिल्ने भए पनि एकभन्दा बढीले तलब वा यस्तै केही नाममा रकम बुझेका छन्, जुन सहकारी ऐन, नियम र मापदण्डसँग नमिल्ने कार्य भइरहेको छ ।’–उनले अवस्था दर्शाए ।
‘कहालीलाग्दो अवस्था’का बारेमा प्रष्ट्याउँदै अधिकृत पोखरेलले भने– ‘ऋण लगानी गर्दा ३ प्रतिशतसम्म सेवा शुल्क लिने गरिएको छ । सहकारी संस्थाको सदस्य बनाउन, बचत संकलन गर्न, ऋण उठाउन कमिशन दिने गरी कर्मचारीका नाममा बिचौलियाको उत्पादन गरिएको छ । गैर ब्यक्ति कारोबार बढेको छ ।’ उनले अनुगमन गरिएका ७० वटा सहकारीमा एकवटादेखि २ सय ४८ वटासम्म संस्थागत सदस्यता दिएको पाइएको छ । आफूलाई सहकारी संस्थाको पदाधिकारी–सदस्य दावी गर्ने तर विनियममा कहीँकतै उसको नाम उल्लेख नै छैन । ‘अब भन्नोस् यी सबै विकृति र विसंगतिहरु हुन् कि होइनन् ?’– पोखरेलले जिकिर गरे ।
१० लाख रुपैयाँभन्दा माथिको ऋण लगानी गर्दा संस्थाको कर्जा समितिले मूल्याङ्कन गरी लगानी गर्ने गरिएको छ तर मापदण्डमा संस्थागत मूल्याङ्कनकर्ताबाट गर्नुपर्छ भनिएको छ । बोनष कोषमा भएभन्दा धेरै रकम स्वास्थ्य उपचार, तालिम, शिक्षाजस्ता नाममा खर्च गरिएको हुन्छ । सहकारी संस्थाका सञ्चालकहरु नै नियमित बचत गर्दैनन् । ‘सहकारीका लागि माथि उल्लेखित सबै कुरा विधिसम्मत छैनन् र होइनन्, यसैले यो कहालीलाग्दो अवस्थामा पुगेको आभाष मिलेको हो’ अधिकृत पोखरेलले दावी गरे ।
हरेकजसो संस्थामा दुई दिनदेखि सात दिनसम्म लगाएर माथिका विवरण र तथ्याङ्क सङ्कलन गरिएको बताउँदै पोखरेलले सबै संस्थाका गलत क्रियाकलापका बारेमा टिप्पणी उठाएर सुझाव दिइएको बताए । हालसम्म गलत भएका र सच्याउन मिल्ने विषयहरु साधारणसभामा छलफल गरी सच्याउन निर्देशन दिइएको बताउँदै पोखरेलले यदि यही प्रकरण फेरि दोहोरिएमा आगामी आर्थिक वर्षमा कारवाहीको प्रक्रियामा लैजाने चेतावनी दिए । ‘कहालीलाग्दो अवस्था’मा पुगेका सहकारीहरुको नाम भनें हाल सार्वजनिक गरिनहाल्ने बताउँदै उनले भने “कमजोरीहरु पाइएका संस्थाहरुलाई सच्चिने अवसर दिइएकालेतत्कालै तिनीहरुको नाम उल्लेख गर्न मिल्दैन ।’
कतिपय संस्थाहरु सहकारी संघका नेतृत्वमा पुगेका जिम्मेवारहरुकै रहेको पनि सघन निरीक्षण अनुगमनमा खटिएका अधिकारीहरुले बताएका छन् । सघन निरीक्षणका लागि अधिकृत पोखरेलसहित नासु डिल्ली दाहाल, वशिष्ट अधिकारी, बद्री दाहालले झण्डै एक वर्षदेखि क्रियाशील रहेको बताइएको छ ।
 ‘सहकारीका ऐन, नियम, मापदण्डहरुको पालना गर्ने र काम कारवाहीलाई रचनात्मक बनाउनु पर्नेहरु कै संस्थाले पनि यस्ता गल्ती र कमजोरीहरु गरिरहेको पाइएकाले अब नसच्याउने हो भने कारबाहीको भागिदार बन्नुपर्ने निश्चित छ ।’– पोखरेलले गम्भीर शैलीमा सुझाए । (साझामञ्च)