म्याद नभएको औषधी वितरण

राम योङ्हाङ
इलाम, २ पुष/म्याद सकिएको खाद्यान्न खोजी–खोजी नष्ट गर्ने सरकारी निकायले स्वास्थ्य उपचारमा भने म्यादै नभएको औषधी वितरण गरिरहेको पाईएको छ ।
जिल्लाका विभिन्न आयुर्वेदिक औषधालयले उत्पादनको मात्र मिति उल्लेख भएको औषधी वितरण गरिरहेको छ । वितरण गरिएका ती औषधीको कहिलेबाट म्याद सकिने हो भन्ने मिमि उल्लेख छैन । यसरी वितरित म्याद नभएका औषधीहरू स्वास्थ्यकर्मीहरूले अन्दाजको भरमा प्रयोग गर्ने÷गराउने गरेका छन् । ‘म्यादनै उल्लेख नभएको औषधी कहिलेसम्म प्रयोग गर्ने हो, कुनै टुङ्गो नै हुँदैन’ एकतप्पा आयुर्वेदिक औषधालयका प्रमुख गणेश यादवले भने ।

सकिने म्याद उल्लेख नभएको औषधी देखाउँदै एकतप्पा आयुर्वेद औषधालय, इलामका प्रमुख गणेश यादव ।


औषधालयले २०६७/०१/३० उत्पादन भएको चुर्ण औषधी नागकिलाई वितरण गरिरहेको छ । निःशुल्क रुपमा पाउने औषधी सर्वसाधारणले पनि प्रयोग गर्ने गरेका छन् । ज्वरोको लागि प्रयोग गरिने मृत्युञ्ज, त्रिमोन कृति, मोदन्त भष्मलगायतका औषधी उत्पादन भएको लामो समयसम्म प्रयोग हुने गरेको औषधालय प्रमुख यादवले बताए । उत्पादन भएको ६ महिना भन्दापछि औषधी प्रयोग गर्दा प्रभावकारी नहुने भएपनि विभागलेनै उत्पादन भएको लामो समय वितेपछि मात्र औषधी पठाउने गरेको यादवले बताए । जिल्ला स्तरमा भएको समिक्षा कार्यक्रमहरूमा औषधिको म्यादको विषयमा पटक–पटक कुरा उठाए पनि कार्यान्वयन नभएको यादवको भनाई छ ।
औषधालयमा ल्यावको समेत सुविधा नभएकाले बिरामी जाँच्नको लागि समस्या हुने गरेको छ । इलाममा रहेको तीन आयुर्वेदिक औषधालयमा मात्र होइन । मेची अञ्चल आयुर्वेदिक कार्यालयमा समेत ल्याव छैन । ल्याव नहुदा सामान्य परिक्षण मात्रै समेत हुँदैन । दीर्घकालिन रोग भएकाहरूहरूलाई परिक्षण नगरी औषधी दिन नमिल्ने भएपनि अन्दाजका भरमा औषधीको प्रयोग हुने गरेको छ । ‘औषधीको परिक्षण गर्ने ल्याव पनि उपलब्ध छैन, रङ्ग हेरेर औषधी छुट्याउछौ ।’ आयुर्वेदका सन्त लिम्बुले भने ‘डिस कलर भएको औषधी बिरामीलाई दिदंैनौ ।’
आयुर्वेदिक औषधालयबाट ५०–६० प्रकारको औषधी निःशुल्क वितरण हुने गरेको छ । वर्षको एक पटक मात्र विभागले औषधी पठाउने गरेकाले समय–समयमा औषधिको अभाव हुने गरेको स्वास्थ्य कर्मीहरू बताउँछन् । ‘पेट सम्बन्धी समस्याका र खोकीको बिरामीका लागि प्रयोग हुने औषधीको अभाव छ ।’ एकतप्पा आयुर्वेदिक औषधालयका यादवले भने । बिचमा औषधी अभाव भएपछि जिल्ला कार्यालयबाट दिने गरेको छ । इलामको होमियोपेथिक्स चिकित्साको पहुँच नभएका ठाउँमा भने आयुर्वेदिक उपचार पद्धतिको सेवा दिइदै आएको छ ।

0 प्रतिकृया:

Post a Comment