समायोजनको आधार व्यक्तिगत योग्यता : कांग्रेस – एमाले

काठमाडौं/ विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले माओवादी लडाकूहरुको समायोजन सामूहित नभई व्यक्तिगत योग्यताका आधारमा गर्नुपर्ने अडान दोहो¥याएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठकले नेपाल सेनाको मापदण्ड पूरा गरेका लडाकूहरुलाई व्यक्तिगत आधारमा समायोजन गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले समायोजनपछि नेपाली सेना मातहतमा बस्ने महानिर्देशनालयमा माओवादीको कुनै पनि पहिचान देखिन नहुने निष्कर्ष निकालेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सेना भित्र अर्को सेना बनाउने कार्य मान्य नहुने स्पष्ट पारे ।
यस्तै कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले दलहरुबीच भएको ७ बुँदे सहमति अनुसार नै माओवादी लडाकुहरुको सेनामा समायोजन हुनुपर्ने बताए । उनले भने–‘सातबुँदे सहमति विपरीत सेना समायोजन कुनै पनि हालतमा मान्य हुँदैन, सही अर्थमा समायोजन हुनुपर्छ र त्यसले सेनाको अहिलेसम्मको छविलाई तलमाथि पार्ने कार्य हुनुहुँदैन ।’
बैठकले सेना समायोजनका विषयमा स्पष्ट
पार्न सेना समायोजन विशेष समितिको बैठक तत्काल बोलाउन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आग्रह गरेको छ ।

0 प्रतिकृया:

Post a Comment