* स्थानीय धानले मूल्य पाएन * धान अभावमा मिलहरू बन्द

झापा, १९ कात्तिक
भारतबाट लुकाई–छिपाई चामल भित्रिने क्रम नरोकिँदा झापामा उत्पादित धानले उपयुक्त मूल्य पाउन सकेको छैन । खुला सीमाका कारण विभिन्न नाका हुँदै भारतबाट चामल भित्रिएपछि स्थानीय उत्पादनले मूल्य नपाएको हो ।
धान खरिद गर्ने चामल मिल सञ्चालकहरू भारतीय चामल आयात नरोकिएसम्म स्थानीय उत्पादनले उचित मूल्य नपाउने बताउँछन् । चामल उत्पादक संघ झापाका अध्यक्ष विजय बरालका अनुसार अनियन्त्रित रूपले भारतबाट सस्तो मूल्यको चामल भित्रिएकाले झापाको धानले मूल्य नपाएको हो ।
भारतबाट सोझै चामल आयात भएपछि लाखौं रुपैयाँ खर्चिएर खोलिएका चामल मिलसमेत बन्द हुन थालेका छन् । चामल आयातको क्रम नरोकिँदा मूल्य नपाएर कृषक मार्कामा परेको र न्यून मूल्यमा कृषकले धान नबेच्दा मिल सञ्चालक समस्यामा परेको अध्यक्ष बरालले बताए । उनका अनुसार दैनिक ५० ट्रकको हाराहारीमा चामल उत्पादन गर्दै आएका झापाका करिब ५५ वटा सेलर मिल (चामल उत्पादक मिलहरू) मध्ये करिब डेढ दर्जनले उत्पादन नै बन्द गरेका छन् ।
व्यापारिक प्रयोजनका लागि नभई दैनिक उपभोगका लागि भनेर न्यून परिमाणमा भारतबाट चामल भित्रिरहेको मेची भन्सार कार्यालय कांकडभिट्टाका भन्सार अधिकृत उमेशकुमार बस्नेत स्वीकार्छन् । “ट्रक वा ठूला गाडीमा चामल भित्रिँदैन तर थोर–थोरै गरी ल्याइएको चामलको कुल परिमाण पनि दैनिक दुई–तीन ट्रकसम्म पुग्छ,” उनले भने । एक ट्रकमा करिब १५ मेट्रिक टनसम्म अँट्छ । अधिकृत बस्नेतकै भनाइअनुसार पनि न्यून परिमाणमा भित्रिरहेको भनिएको चामलको मात्रा दैनिक सरदर ३० मेट्रिक टनभन्दा बढी हुन्छ ।
घरेलु तथा साना उद्योग कार्यालय झापाले भने चामल मिल बन्दको जानकारी कार्यालयमा आइनपुगेको जनाएको छ ।
कृषि उपजमध्ये मुख्य मानिएको धानको बजार मूल्य पनि कहिल्यै निश्चित हुने गरेको छैन । पूर्वाञ्चलको हकमा हरेक दिन साँझ विराटनगरको ‘गोल बजार’ मा भेला हुने व्यापारी तथा व्यापारीका एजेन्टहरूले बिना कुनै आधार धानको बजार मूल्य तोक्ने गर्छन् । “त्यहाँ एक किसिमको दलाली नै चल्छ, दलालकै भरमा धानको बजार भाउ तोकिन्छ, अर्काे साँझसम्मका लागि,” एक व्यवसायीले भने ।
गत वर्ष कात्तिक दोस्रो सातासम्ममा बजार भित्रिएको धानले औसत प्रतिमन ७ सय रुपैयाँ पाएकोमा यो वर्ष ५ सय रुपैयाँ पनि पाउन सकेको छैन । दमक, बिर्तामोड, सुरुंगा, धाइजनलगायत ठाउँका मिलहरूले यतिबेला भित्रिरहेको आउ मुसुली, डल्लेलगायत धान ५ सय रुपैयाँ प्रतिमन (४० केजी)ले किन्न मानिरहेका छैनन् भने ती बजारसम्म धान ल्याउने ग्रामीण भेगका व्यापारीले कृषकलाई ४ सय रुपैयाँमात्रै दिइरहेका छन् ।
एकता कृषक समूह कोरोबारी–१ का कृषक रघुनाथ निरौला सरकारले धान उत्पादनमा लाग्ने रासायनिक मल तथा कीटनाशक औषधिको मूल्य तोकेर पनि सहज रूपमा उपलब्ध नगराउने र धानको मूल्य तथा बिक्रीको ग्यारेन्टी नलिने समस्याका कारण कृषिक्षेत्रको विकास हुन नसकेको बताउँछन् ।

0 प्रतिकृया:

Post a Comment