रुवाउने मनहरु नै रोएपछि - दोस्रो लेख

राम प्रधान
२०५२ साल फाल्गुण १ गते देखि सशस्त्र युद्ध शुरु गरेको नेकपा माओवादी पार्टीले १ दशकको युद्ध पछि राज्य सत्ताको बागडोर सम्हाल्न सफल भयो । माओवादी पार्टी र सो पार्टीका नेताहरु २०४६ सालको संविधानलाई आधार मानी नेकपा एमाले बराबरको सभाषद् संख्या लिएर सभाषद् बन्दै नेपाललाई गणतान्त्रिक राज्य सत्ताको बाटोमा हिँडाउने काम पनि भयो । २०४६ साल चैत्र महिनामा भएको संविधान सभाको निर्वाचनमा सबै भन्दा धेरै सिट जित्ने पार्टी पनि नेकपा माओवादी भएको हुँदा धेरै अवसरवादीहरु देखि शक्ति पुजारीहरु पनि सो पार्टीमा लाम लाग्ने पुगे । त्यसबेला नेकपा माओवादी र तिनका नेता कार्यकर्ता समर्थक शुभचिन्तकहरुमा ठूलो उत्साह उमँग छाएको थियो । निर्वाचन आयोगले निर्वाचनको परिणामहरु घोषणा भइसक्दा नसक्दा अनेरास्ववियू क्रान्तिकारी तत्कालै विद्यालयहरुमा पाठ्यपुस्तकहरु खारिज गरी जनवादी शिक्षा पद्धति लागू गर्नु पर्छ भन्ने उर्दी लागू गर्यो । त्यसबेला माओवादी नेता कार्यकर्ताहरु समर्थक शुभचिन्तकहरुको निम्ति ठूलो हर्ष र गर्वको स्थिति थियो । माओवादी लडाकूहरुको आडमा स्याल जस्ताहरु पनि िसंह भन्दा शक्तिशाली भएर निस्किए । माओवादीको युद्धकालमा र संविधानसभाको परिणाम घोषणा ताका वा संविधानसभा निर्वाचन प्रचार-प्रसार ताका कतिको मन रुवाए भन्ने लेखाजोखा यकिन छैन । तापनि सबै जसोलाई थाहा छ । मन नपरेको भरमा व्यक्तिगत मनमुटावको भरमा हत्या िहंसामा संलग्न हुन नचाहेको बहानामा घर-जग्गा कब्जाको बहानामा हजारौं हजार मानिसहरु मात्र नभई पशुपंक्षीहरु समेत रुवाईमा परेका थिए । हजारौं मानिसहरु अपहरण हत्या िहंसाका डरले घरबारी छोडेर हिँड्दा गाई बस्तु बाख्रा पाठा कुखुरा चल्ला कुकुर-बिरालो समेत खान नपाएर रुवाईमा परेका थिए । कुनै गाउँमा एउटा मानिसले घरबारी त्यागेर रुँदै हिँड्दा बडो क्रन्तिकारी बनेर हर्षको सीमा नै थिएन । त्यसबेला ढुंगा माटो घर अन्न-पानी खेतबारी बालीनाली सबै रुवाईमा परेका थिए । मानिसहरुको रुवाई प्रकट भयो अरुले पनि पीडाहरु महसुस गरे भने पशुपंक्षीको भाका कसैले पनि बुझी दिएनन् । कतिपयले जीवनभर सँधै यस्तै परिस्थिति आइरहन्छ । सँधै आफ्नै पक्षमा मात्र वातावरण बनिरहन्छ भन्ने महत्वकांक्षीहरु बढेको थियो । माओवादीको कार्यक्रम र कार्यशैलीप्रति असहमत हुनेहरुको धन-सम्पति लुटिँदा परिवारका सदस्यहरु अपहरण हुँदा घर जग्गा कब्जा गरी घरबाट लखेटीएका मानिसहरुको रुवाबासीहरु गराउँदा वा गर्न लगाउँदा साच्चै क्रान्तिकारी ठानिन्थे । अरुलाई रुवाए पनि आफूहरु मिठोसँग हाँस्थे । त्यसबेला साथीभाइ इष्टमित्र छरछिमेकी कोहीसँग सम्बन्ध थिएन । पढाईलेखाई शिक्षा दीक्षा घर-व्यवहार केही मतलवै नराखी नयाँ नेपाल बनाउन गर्वका साथ काँधमा बन्दुक बोकेर सर्वहारा वर्गको मुक्तिको निम्ति हिँडेका युवाहरुको ताँतीसँगै लाम लागे । बैंकहरु लुटेका सुनचाँदी पैसाहरु पार्टीलाई बुझाइए । चन्दा उठाएको रकमहरु पनि बुझाए । इमान्दार लडाकूहरु बनेर क्यान्टोनमेन्टमा थन्किए । क्यान्टोनमेन्टमा राखिएको लडाकूहरुको भरमा अवसरवादीहरुले भ्रष्टाचारीहरुले कमिसन खोरहरुले तस्करहरुले नेपाल राष्ट्रिय ढिकुटी मात्र होइन न इज्जत इमान पहिचान सबै लुटेर ध्वस्त बनाए ।
तर अहिले परिस्थिति फेरिएको छ । इमान जमान पनि फेरिएको छ । सँगै लडेका हिँडेका काम गरेका साथीभाइहरु सँगको व्यवहार विचारहरु बेग्लै भएको छ । सँगै हिँडेका बसेका काम गरेका एउटै क्यान्टोन्मेन्टमा बसेका साथीहरुको विचार व्यवहार फरक बनेको छ । जब लडाकुहरु विचारमा वर्गिकरण सकेर स्वेच्छिक अवकास रोजेका लडाकूहरुले क्रमशः ५ ६ ७ ८ लाख दिने सरकारले निर्णय गरेपछि पार्टीभित्रका नेताहरु क्यान्टोनमेन्टका कमाण्डरहरुको नजरमा लोभ पलाउँछ । तब स्वेच्छिक अवकास रोजेका घर फर्की घर व्यवहार चलाउन तयार भएका लडाकूहरुको मागमा कालो बादल मडारिन थाल्छ । आखिर त पैसा न हो । दर्जनौं वर्षहरुसम्म अरुकै पसिनाको कमाई खाएकाहरुलाई पैसाको थुप्रोमा कसरी आँखा नबलोस् पनि । चन्दाहरु उठाएको थाक बैंकहरु लुट्दा थुपि्रएको रास मानिसहरुलाई अपहरणको धम्की दिएर असुलेको बिटाहरु झल्झली सम्झिएको मन आत्मा र कर्महरुले वहिर्गमनमा परेका लडाकूहरुले प्राप्त गरेको पैसामा आँखा निभ्छ र ! सशस्त्र क्रान्ति गरेर गरीब दुःखी सर्वहाराहरुको वर्गीय मुक्तिको निम्ति सुन्दर सपना सजाएर बन्दुक बोकी सामन्तवादको अन्त्य गर्न क्रान्तिमा लागेकाहरु शैक्षिक र आर्थिक रुपमा पछि परेका छन् । उनीहरुको उर्जाशील उमेर समय सृजना लगनशीलता र कि्रयाशीलता क्रान्तिमा खर्च गरे । समयले उनीहरुलाई क्रान्तिको मात्र कुरा र कामले जीवन निर्वाह गर्न गाह्रो कठिन भएपछि स्वाभाविक रुपले स्वच्छिक अवकास रोज्न पुगे । जब नेपाल सरकारले स्वेच्छिक अवकास रोजेका लडाकूहरुको निम्ति रकम निकासा गरी दिएपछि सर्वहारा क्रान्तिको नाममा कालोधन बटुल्न पल्केकाहरुको मन मस्तिष्क र हृदयमा गिद्धे नजर परेकोले लडाकूको नाममा प्राप्त चेक रकम खोसिएको विषयले व्यापक चर्चा पायो । करिब डेढ दशकसम्म व्यक्तिगत जीवनको बारेमा नसोचेका लडाकूहरुले प्राप्त गरेको जाबो रकमहरु माथि त्यसरी जवरजस्ती खोसेपछि कसको मन पो हाँस्छ । सँगै लडेका साथीहरु सभाषद् ठेकदार कमीसनखोर जागिरदार व्यापारी बनेर विदेश गएर घर बसाएर राम्रोसँग चलाउने करोडपति मालिक बनेका छन् । तर देश जनता र सर्वहाराको लागि लड्नेहरुको जीवनबारे केही भएन । हिजो लडाकु बन्दा जे जस्तो हर्ष र उमँग थियो । अहिले माओवादी पार्टी र तिनका नेता कार्यकर्ताहरुले गरेको व्यवहारले लडाकूहरुको मन त्यो भन्दा बढी चिन्ता र पश्चातापले जलेको छ । हिजो माओवादी कृयाकलापमा असहयोग गर्ने व्यक्तिहरु प्रति कार्यवाही गर्न जसरी हात पाखुराहरु मन मस्तिष्कहरु हैसिन्थ्यो जोसिन्थ्यो । आज आफ्नो पार्टीका नेता र कार्यकर्ताहरुको दुव्र्यवहारले हात पाखुरा र मन मस्तिष्कहरु हिनता र पश्चातापले गलेको छ । हृदय जलेको छ । मनहरु रोएको छ । वाध्यताले पीडाहरुलाई सार्वजनिक गर्नु परेको छ ।
समय र वातावरण सबैको निम्ति सदावहार रहँदैन । कुनै पनि मानिसहरु समय र परिस्थिति सँगसँगै दौडन सक्दैन । कुनै समयमा एउटा व्यक्तिको निम्ति मालिलो बन्छ भने त्यही समय अर्काेको निम्ति घातक बनिरहेको हुन्छ । तर हुने भए विश्वमा दादागिरी जमाउने डनहरु हिटलर सद्धाम हुसेन नेपालको हकमा राणाहरु पाचायत र राजतन्त्र पनि धारासायी हुने थिएन । समयको गतिलाई पच्छ्याउँदै माओवादी लडाकू बनेर क्यान्टोनमेन्ट भित्र बसेर माओवादीलाई सत्ताको पहिलो दाबेदार बनाउन सफल लडाकूहरु आफ्नै नेता र पार्टीका कार्यकर्ताहरुबाट नै शोषित पीडित र दण्डीत बनेपछि हृदयदेखि नै रोएर विगतलाई सम्झदै रुवाउनेहरुका मनहरु पनि रुनु पर्दाे रहेछ भनेर चित्त बुझाउनु बाहेक विकल्प छैन ।

0 प्रतिकृया:

Post a Comment