के (च्याब्रुङ) को उत्पत्ति : एक चर्चा


गोविन्द आङ्बुङ
प्राचीन किरात जातिको प्रमुख शाखामा लिम्बू आदिवासी जनजाति एक हो । यो जाति सुदूरपूर्व नेपालको लिम्बुवानमा आदिमकालदेखि बसोबास गर्दै आएका छन् । आफ्नै धर्म, संस्कृति, भाषा, लिपी र लोकसंस्कृतिमा धनी जाति मानिन्छ । लिम्बू लोक संगीतलाई (१), गीत, (२) नृत्य र (३) वाद्यसमूह गरेर तीन समूहमा बाँड्न सकिन्छ ।
बाजाहरुमा लिम्बू जातिको जातीय बाजा के(च्याब्रुङ्ग) हो । च्याब्रुङ बाजाको उत्पत्तिको रोचक कथाहरु छन् । लिम्बू जातिको प्रथम घर बाजाइबाले निर्माण गरेपछि धमिराले घर खाएर पटक–पटक भत्किँदा बाजाइबा खिन्न भई थकित भएर हङसिङ या खमारीको रुखको सियालमा बसिरहँदा अचानक घुनघुन आवाज सुनेछन् । केको आवाज भनी नियाल्दा त्यो हङसिङ या खमारीको रुखको धोन्द्रो रहेछ । त्यो धोन्द्रोमा माहुरीको गोलो रहेछ र त्यो हङसिङ या खमारीको धोन्द्रोमा माहुरीको गोलो देखेपछि बाजाइबाले लोदेनहाङ र फुङ्देनहाङलाई देखाइदिएछन् र ती दाजुभाइ लोदेनहाङबा र फुङदेनहाङबाले त्यो हङसिङको  धोन्द्रो परेको रुखलाई ढाली टुक्रा बनाएर केसामी अथवा बाघको छालाले मोरेको बाजा बजाउँदै लोदेनहाङबा र फुङदेनहाङबाले पुनः नयाँ घर निर्माणपछि  त्यस घरवरिपरि नृत्य गरे । त्यसपछि धमिरा कहिल्यै लागेन भन्ने आख्यान छ । त्यही आख्यानको आधारमा अहिलेसम्म लिम्बूहरुको नयाँ घरको निर्माण सकिएपछि धमिरा नलागोस् भनी ‘थक्थाम्मा के’ नाच्ने चलन अद्यापि छ ।
केसामीको छालाले मोरेको देब्रेपट्टि घुरुङ–घुरुङ गर्दै बाघझैँ आवाफ निस्कने हुँदा यस बाजाको लिम्बू भाषामा के नाम रह्यो । यसैलाई हिजोआज च्याब्रुङ भनिन्छ । खरीविहीन ढोल आधारका बाजाहरु ईसापूर्व पाँच हजार अघिदेखि प्रयोगमा आएको विश्वास गरिन्छ । यसर्थ, खरिविहीन च्याब्रुङ बाजालाई अति प्राचीन वाद्ययन्त्रहरु मध्ये एउटा मानिन्छ । च्याब्रुङ बाजा सामान्यतया अढाई फुट लामो र गोलाई पाँच फिटको हुन्छ । यसको दाहिने पाटालाई पाथी स्वर वा हुक्चाङ्गे र देब्रे पाटोलाई भाले स्वर वा सिङ्जाङ्गे भनिन्छ । दाहिनेपट्टिको भाग ३, ४ दिनसम्म भिजाइराखेर खरी आएझैँ देखिने डाम पारिन्छ । त्यसैले त्यतापट्टिको आवाज चर्को र तिखो सुनिन्छ ।

च्याब्रुङ नाचको आधारभूत ताल वा पारा कुसरक्पा हो । कुसरक्पा नाचको स्थानअनुसारको नाच हुन्छन् । जस्तै, फेदापे, तमरखोले, पान्थरे, चारखोले आदि । कुसरक्पामा नै अवसरअनुसार पारा थपेर नाचिन्छ । जस्तै, साम्सिङ्मा लाङ (तयारी नाच), मेःक्काम्मा लाङ (लगन नाच), लारिङ्गेक लाङ (हात हल्लाउने), लाङ्जाङ्वा लाङ (छिट्टो नाचिने नाच) र सेम्मुई लाङ (विदाई नाच) आदि छन् । थपिने पारा सृष्टिसँग सम्बन्धित छ जस्तै, पशुपंक्षीको नृत्य नै अनुकरण गरेर नाचिन्छ – हात्ती नृत्य, गैँडा नृत्य, परेवा नृत्य, ढुकुर नृत्य, सर्प नृत्य आदि । यसका साथै अन्नबाली लाउने, उठाउने, खाने आदि जस्ता पारामा पनि नृत्यहरु गरिन्छन् ।
शुभ उपलक्ष्यमा मात्रै नाचिने च्याब्रुङ नृत्यमा गीत गाउँदैनन् भने पनि हुन्छ तर बेलामौकाअनुसार बाजाको तालमा गाउँदै भावको अभिव्यक्तिहरु पनि गरिन्छ । त्यस्तै, च्याब्रुङ बजाउँदै स्त्रीजातिहरुले के नाच्दैनन् तर बेलामौकाम स्त्रीजातिहरुले पनि च्याब्रुङ नृत्यमा सम्मिलित भई हात हल्लाउँदै पारा मिलाउँदै नृत्यमा साथ दिन्छन् ।

0 प्रतिकृया:

Post a Comment