धिमालको ६ बुँदे घोषणा पत्र

दमक, फागुन ६/  धिमाल जाती विकास केन्द्र नेपालको चौथौं राष्ट्रिय महाधिवेशनले ६ बुँदे घोषणा पत्र जारी गरेको छ ।
मोरङको उर्लाबारीस्थित धिमाल परियोजना स्थलमा फागुन १ गतेदेखि ३ गतेसम्म भएको महाधिवेशनले जातीय ऐतिहासिक पृष्ठभूमिका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र तथा धर्म निरपेक्ष राज्यभित्र धिमाल स्वायत्त क्षेत्रको संस्थागत विकास गर्न राज्यका सबै तह तप्का र निकायमा पूर्ण समानुपातिक सहभागिता गर्न धिमाल जातिको भाषा भेषभूषा परम्परागत संस्कार संस्कृतिको संरक्षण गर्न माग गरेको छ ।
घोषणा पत्रमा अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं। १६९ तथा संयुक्त राष्ट्रिय संघ आदिवासी सम्बन्धी घोषणा पत्र कार्यान्वयन गर्न धिमाल जातिको प्रथाजनित कानुनहरुलाई संरक्षण संवद्र्धन र लागू गर्न गराउन तथा गाउँ टोलमा सहकारीताको विकास गराउँदै आर्थिक स्थीति मजबुत बनाउन माग गरेको उल्लेख छ ।
केन्द्रले शुक्रबार दमकमा पत्रकार सम्मेलन गरी पाचवर्षे योजना समेत सार्वजनिक गरेको छ ।
केन्द्रका नव निर्वाचित अध्यक्ष नगेन्द्र धिमालले संस्थाका नाममा कायम गर्ने प्रकृया अड्कीएको परियोजना स्थानको १० विगाहा जग्गाको दर्ता प्रकृया अगाडी बढाउने धिमाल समुदायका नमुना घर निर्माण गराउने प्राविधिक तथा भाषिक विद्यालयको स्थापना गर्ने लगायतका योजना रहेको जानकारी दिए । केन्द्रका महासचिव केदार धिमालले धिमालहरु मुख्य रुपमा झापा र मोरङमा आदिम कालदेखि बसोबास गर्दै आएका भएपनि उनीहरुलाई राजनीतिक अग्राधिकार नहुँदा पछाडि पर्नु परिरहेको बताए । पत्रकार सम्मेलनमा नयाँ बन्ने संविधानमा धिमाल समुदायलाई पनि राजनीतिक अग्राधिकारको ग्यारेन्टी हुनुपर्ने जोडदार माग गरिएको छ । धिमाल जाती विकास केन्द्रका अनुसार धिमालहरुको जनसंख्या झण्डै ३५ हजार भन्दा बढी छ ।

0 प्रतिकृया:

Post a Comment