हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

नौलो संसारको शुभ मुहूर्त

दमक/टेलिकथानक चलचित्र नौलो संसारको यहाँ शुभमुहूर्त गरिएको छ ।
सर्वज्ञान म्युजिक प्रालि दमकको ब्यानरमा निर्माण थालिएको सो टेलिचलचित्रको शुभमूर्हत गरिएको हो । दमक–१३ स्थित दुर्गा मन्दिरमा गीतकार ज्ञानेन्द्र कोइरालाले नरिवल फोरेर शुभमुहूर्त गरेका हुन् ।
 पारुहाङ वान्तवाको कथा र निर्देशन रहेको चलचित्रको सम्पादन र छायाँकन भानु फोटो स्टुडियोका भानुभक्त न्यौपानेले गरेका छन् । सामाजिक कथावस्तु रहेको सो चलचित्रकोे निर्माता शोभा कार्की र डिएन खरेल रहेका छन् ।
पुनम न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा रामप्रसाद भट्टराई, शोभा कार्की लगायत कलाकारले अभिनय गरेका छन् । मेची र कोशीका विभिन्न जिल्लामा छायाँकन गरिने सो टेलिचलचित्र हिमशिखर टेलिभिजनबाट प्रशारण हुने जनाइएको छ ।

प्राकृतिक विपत्ति र संस्कार

निधिरत्न अधिकारी
नेपाल प्राकृतिक रुपमा सुन्दर रहँदा रहँदै पनि यसको भौगोलिक बनावट हिमाल, तराई र पहाड तीन भू–खण्डले घेरिएर रहेको छ । हिमाल पग्लिएर बग्ने सदावहार नदीदेखि साना–साना जरुवा खोला खोल्सा नदीहरू हिमाल, पहाड र तराई हुँदै बग्दछन् । यसरी बग्ने क्रममा जब वर्षा ऋतु शुरू हुन्छ, त्यतिबेला तिनै नदीहरूमा पानीको मात्रा धेरैभन्दा धेरै बढेर पानीको वहाब बढ्दछ । अनि यो बहाव बढाईको परिणाम तराईका उर्वरा भूमिहरूभित्र आफ्नो बाटो तयार गरी ठूला–ठूला बाढीद्वारा ती जमिनहरू बगरमा परिणत हुन्छन् । जराले गर्दा प्रत्येक वर्षको वर्षा ऋतुमा तराईका किसानहरूको बिल्लीबाट हुने भूमिहीन हुने क्रम वर्षेनी बढ्दो रुपमा छ । नेपाली राज्यको गैह्र जिम्मेवारीपनको कारणले यस्तो आपत्ति र विपत्ति भोग्नुपरेको कुरा सत्य हो । किनभने पृथ्वी सृष्टिका सबै रुपको भूगोल हामीसँग छ । यी तिनै अवस्थित भौगोलिक कारणले प्राकृतिक सम्पदा हामीसँग प्रचुर मात्रामा छ । विज्ञानको नियम अनुसार विकासको अर्थ ती सबै प्राकृतिक स्रोत र साधनलाई हामी मानिसको अनुकूलतामा हाम्रै लागि प्रयोग र उपयोग गर्न हामीले जान्नुपर्दछ । ती साधनहरूलाई समुचित परिचालन गर्नुपर्दछ ।
यसो गर्न नसकेको कारण र हाम्रा प्राकृतिक स्रोत र साधनको विकास गर्नुभन्दा त्यसलाई जोगाउनुभन्दा नष्ट गर्ने दिशातिर हामी लागिपरेका छौं । नदी तटबन्धन छैन, हाम्रो वनजङ्गल दिनानुदिन मासिँदै गएका । त्यसको नकारात्मक असर, बाढी, पहिरो जानु नै हो ।
आज विश्व दुनियाले प्रविधि विकासको चरम चुलीमा पुग्दा विशाल समुद्रमाथि शहर बजार बस्ती बसालेका छन् । त्यहाँ माथि खेती गरेका छन् । तर हामी समुद्रभन्दा टाढा जमिन नै जमिनको समुद्रभन्दा धेरै उच्च ठाउँमा हामी बसोबास गर्दछौं । तर पनि हाम्रो विकासको रुप वर्षैपिच्छे बाढी, पहिरोबाट ग्रसित छौं । हाम्रा विकासका पूर्वाधारहरू अति नै कमजोर छन् । हाम्रा जमिनको भू–क्षमताको मापन गर्ने कुनै यन्त्र, मानवीय जनशक्ति हामीसँग छैन । समुद्र किनारका मुलुकहरूले समुद्रमाथि बसेर त्यत्रो विकास गर्दा हामी हाम्रा यी साना नदीहरूको दीर्घकालीन व्यवस्था गरी त्यसको आसपासका साविक उर्वरा भूमिहरू किन जोगाउन सक्दैनौं ? कति लाजमर्दो कुरा ?
हामीले हाम्रो सरकारले यहाँका टाठा, बाठा, बुज्रुकले जानेको कुरा के हो भने कति बेला बाढी पहिरो आउँछ र त्यसको नाममा बजेट निकासा हुन्छ, छुटिन्छ अनि तिनै अमूक केही बुज्रुक, टाठाबाठाको कमाई खाने भाँडो यो सोचभन्दा माथि अरु के हुन सकेको छ ? किनभने नेपालको इतिहास तयार भएको कति भयो ? यी नदी खोला हिजोदेखि मात्र बगेका हुन् र ? नेपालीको समृद्धि र देश विकास गर्छौं भनेर कति नेपाली संस्कार आए गए ? आज आएर पनि उस्तै बाढी पहिरोबाट आपत विपत भोगिरहनुपरेको छ, नेपाली जनताले । विकासको रुप भनेको पानीको बहाव जत्रो भए पनि वैज्ञानिक रुपले उसको सीमाभित्र बगाउन सक्नुपर्छ । त्यही आधारमा नदीको किनारका मानव वस्तीहरू दीर्घकालीन रुपमा विश्वस्त भएर बसाउन सक्नुपर्छ । वनजङ्गल बढाउनु सबैलाई प्रेरित गर्नुपर्छ । भू–क्षय हुने, पहिरो जाने नजाने, त्यहाँको माटो, चट्टानको मात्रा हेरी वैज्ञानिक तरिकाले माटो चेकजाँच गरी दीर्घकालीन पूर्वाधार विकास र मानव वस्ती बसाउन राज्यमा रहेको जनताको प्रतिनिधि मुलुक संस्था सरकार सक्षम र पारदर्शी हुनुपर्दछ । यो मापदण्ड अनुसार गरिने विकासको विरुद्धमा पनि आउने प्राकृतिक प्रकोप, विपत्तिहरूबाट चित्त बुझाउने आधारहरू हुन सक्छन् । तर जब विपत्ति आउँछ, अनि दुःख व्यक्त गर्ने, करोडौंको हेलीप्याड चढेर त्यहाँ पुग्ने अनेक नामको अनुहार देखाउने अनि मिठा, गुलिया, चिल्ला, सैद्धान्तिक थुप्रा लगाईदिने अन िव्यवहारमा आपत परेका जनसाधारणको हातमा शून्य । यस्तो गैह्र जिम्मेवार प्रवृत्तिले नेपाली जनताको जीवनस्तर र नेपालको भूक्षय, बाढी, पहिरोको रुप दिनानुदिन कस्तो होला ?
आजको प्रविधिमा अति चरम रुपमा रहेको युग नेपालमा पनि इच्छाशक्तिका साथ गर्दा नहुने कुरा केही छैन । त्यो वैज्ञानिक प्रविधिलाई हाम्रो प्रचुर मात्रामा रहेको स्रोत र साधनलाई उपयोग गरी विकास गर्न सजिलै सकिन्छ ।
संसारका अरु विकसित मुलुकहरूमा बेला–बेलामा आउने प्राकृतिक विपत्तिबाट उनीहरूले गरेका पूर्वाधार विकासमा भएका थोरै कमजोरीबाट पनि अगाडि आउने विपत्तिको लागि समाधान गर्ने पाठ सिक्छन् । तर हाम्रो सरकार र हाम्रो प्रवृत्ति ठीक त्यसको उल्टो छ । मर्ने मर्छ, उसको पहुँच छैन भने केही पाउँदैन, झुक्कियो भने थोरै चारो पाउँछ । त्यस आपत्तिको पीडित मालिक जो पहुँचवाला छ, उसैले राहत पाउँछ, यस्तै छ नेपालको चलन । अब के गर्ने सुधारको लागि । सबैले सोचौं ।

कलाका नायक श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धा सुमन

ओमप्रकाश गौतम
जीवनपछिको मृत्यु अकाट्य छ । मृत्यु निश्चित छ तर समय निश्चित छैन । मानिस यसैका परिधिभित्र रमाइरहन्छन्, दुःखी भइरहन्छन् । यो एउटा निरन्तर प्रक्रिया हो । बुझ्न सक्नेका लागि जीवन एक नदी हो जो अविरल बगिरहन्छ, बुझ्न नसक्नेका लागि जीवन एक महान् समस्या हो । किनकि त्यही समयको परिधिभित्र बाँधिएर मानिस सङ्घर्ष गरिरहन्छ तापनि ऊ कहिल्यै समस्या नै समस्याको पहाड छिचोल्न पछि पर्दैन । हो आज यस्तै सङ्घर्षको आँधी बेहरीबाट कहिल्यै पनि नथाक्ने अविरल बगिरहने नेपाली चलचित्र रजतपटका वरिष्ठ नायक श्रीकृष्ण श्रेष्ठ हामीमाझ रहेनन् । जीवनममा कहिल्यै फर्किएर नआउने गरी हामीमाझ विदा भएर गए ।
जीवनको मध्यान्तर पार गरेर विवाह बन्धनमा बाँधिएका नायक श्रीकृष्ण श्रेष्ठको मृत्युले नायिका स्वेता खड्काको उज्यालो मुहारलाई सदाका लागि बाललले ढाकिदियो । जीवन न हो, एक दिन मरेर गइन्छ, तापनि यस्तो प्रकारको मृत्यु कसैको पनि नहोस् जस्तो श्रीकृष्ण श्रेष्ठको ४६ वसन्त पार नगर्दै रोगले ग्रसित बनाएर जीवन इहलीला समाप्त भयो । आज एक सफल कलाकारका रुपमा नेपाली सिने दर्शकमाझ परिचित नायक श्रेष्ठको निधनले जो कोहीलाई मर्माहत बनाएको छ र सारा नेपाली कलाकर्मीहरूलाई भावविह्वल बनाइदिएको छ । अब्बल अभिनय पस्कने एक नायकको अन्त्यले नेपाली चलचित्र क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ । उनको राष्ट्रिय सम्मानका साथ पशुपतिको आर्यघाटमा दाहसंस्कार गरियो, हजारौं नेपाली सरिह भएको कुरालाई नेपालका सबै पत्र–पत्रिकाले पहिलो पृष्ठमा महत्वका साथ खबर प्रकाशित गरे । नेपाली टेलिभिजनका च्यानलहरूबाट शवयात्राको दृश्यलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरे जो हामी शुभेच्छुक कलाप्रेमी हृदयदेखि नै सम्मान गर्दछौं कि उनको आत्माले चीर शान्ति प्राप्त गर्न सकोस् । आज नेपाली चलचित्र क्षेत्रभित्र पनि राजनीति रङ्ग भरिँदै गएको हुनाले चलचित्रकर्मी–कर्मीहरूबीच एक अर्कालाई निषेध गर्ने काम भइरहेको हुनाले चलचित्र क्षेत्र उति फस्टाउँदो अवस्थामा छैन । कलाकारले जति सम्मान प्राप्त गर्नुपर्ने हो त्यो पाउन सकिरहेका छैनन् । श्रीकृष्ण श्रेष्ठकै शब्दमा भन्नुपर्दा –‘म कसैलाई चुरोट, रक्सी खुवाउँदिनँ, त्यसैले होला म कहिल्यै नम्बर एक वा सुपरस्टार कहलाइनँ’ यस्ता अति नै संवेदनशील शब्दहरू उनको मृत्यु हुनुभन्दा अगावै उनले पटक–पटक संप्रेषित गरेका थिए तापनि चलचित्र कलाकर्मी संघसंगठनले उनको कलाकारिताको कुनै कदर गर्न सकेन कलामा राजनीति रङ्ग मौलाएर गयो । अभिनयको अब्बल कलाकारिता मौलाउन सकेन । हिजो फत्तेमान राजभण्डारी, विश्वशंकर, तारादेवी, नातिकाजी, गोपाल भुटानी जस्ता कलाकार, गायकहरू राज्यले जुन सम्मान दिनुपथ्र्यो त्यो भने दिन सकेन । कलाकारिताभित्र मपाइत्ववाद र राजनीति संस्कारको प्रवृत्ति हावी हुँदै गएको हुनाले नेपालमा अभिनय गरेर कार्यथलो बनाइरहेका कलाकारहरू आज धमाधम अर्थोपार्जनका लागि अमेरिका, जापान, हङकङमा श्रम बेचेर जिवीकोपार्जन गरिरहेका छन् । आखिर किन कलाकारिताभित्र राजनीति रङ्ग मौलाइरहेको होला ?
त्यति मात्र होइन, जीवनकालमै श्रीकृष्णहरूलाई मृत्युपछि राष्ट्रिय सम्मान पाइन्छ भनेर थाहा हुन पाएको भएर अर्थात चलचित्र, लोक, आधुनिक, गीत, सङ्गीत, नृत्य, नाट्यचित्र, पत्रकारिता साहित्य आदिका राष्ट्रिय स्तरमा पुगिसकेका अति लोकप्रिय व्यक्तिहरूलाई राज्यले मृत्युमा राष्ट्रिय सम्मानको मापदण्ड बनाएको भए श्रीकृष्णलाई पनि थाहा हुन्थ्यो कि कलाकारको राज्यले उचित सम्मान गरेको छ । यसलाई शक्तिमा बदल्नुपर्ने रहेछ भनेर उनमा स्फुर्ति बढ्ने थियो होला तर त्यो भने हुन सकेन । शक्ति र अर्थको राजनीतिले कलाकारलाई पनि दलको औरे–भौरे बनाइदियो । आगामी दिनमा यसको पनि अन्त्य हुनैपर्दछ, चुनाव जिताउनका लागि कम्मर मर्काउँदै शहरबाट गाउँ पस्ने प्रवृत्तिको निदान हुनुपर्दछ । झण्डा बोकेर या नातागोताहरूलाई एकेडेमीमा दलको कोटामा नियुक्तिको बक्सिसे हजुरी प्रथा गर्ने चलचित्रकर्मी लगायतका संस्थाहरूमा अन्त्य भने हुनैपर्दछ । कलाकार–कलाकारबीच यो दल, ऊ दल बीचको कटुता अन्त्य हुनुपर्दछ ।
आजसम्म हाम्रो देश नेपालमा अभिनय क्षेत्रमा कहलिएका कलाकार थुप्रै–थुप्रै अभिनय देखाएर आए, गए राजनीतिक रङ्ग छरेर गए तर नायक श्रीकृष्ण श्रेष्ठले कहिल्यै पनि कलाकारितादेखि राजनीतिकर्मीको लबेदा नसमाई ‘ट्रक ड्राइभर’, ‘कसम’, ‘आफ्नो मान्छे’, ‘कहाँ भेटिएला’ देखि उनको अन्तिम नेपाली चलचित्र ‘कोहिनूर’ लगायत सयौं चलचित्र भन्दा बढी चलचित्रमा उनी सफल कलाकर्मी बनेर नेपाली मनहरूको हृदय छुन सफल भए । उनको अभिनयका चमक कहिल्यै हराएन, बिलाएन, उनी चम्किनका लागि पित्तल बने न पग्लिएर जाने मैन, आज त्यही मैनबत्तीको शिखा उनी मरेर गए पनि संसारभर दीप बलिरहेको छ जो चिरस्थायी रुपमा बलिरहनेछ । भावपूर्ण श्रद्धाञ्जली श्रीकृष्णको श्रेष्ठको कलाकारिताको यात्रालाई ।
omgautam817@gmail.com

इच्छाशक्तिको तगारो पार्टी भित्रको बेथिति

नरपति पाण्डे
मुलुकको प्रमुख प्राथमिकता शान्ति स्थापना गरेर नयाँ संविधान बनाउनु थियो । त्यसका लागि दीर्घदृष्टि भएको राजनीतिक नेतृत्व चाहिएको थियो । संविधानसभाको निर्वाचनबाट उदाएका साना ठूला आकार भएका राजनीतिक दलहरू शान्ति स्थापना गराउने प्रमुखकर्ता थिए । प्रतिनिधित्व हुन नसकेका अन्य राजनीतिक समुह र नागरिक समाजहरू सहायक कर्ता थिए । मुलुकको हितका लागि शान्तिपूर्ण स्थीरताको आवश्यकता थियो । त्यस्तो वातावरण सिर्जना गर्न कै लागि विस्तृत शान्ति सम्झौता दलहरू बीच भएको थियो । निर्वाचित हुन वा नहुन गन्तव्य शान्ति स्थापना गरी मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा बलियो बनाउनु थियो । तर दलहरूमा निस्पृहपन बढ्न थाल्यो । इमान्दार र उत्तरदायी राजनीतिक नेतृत्व नभएसम्म शान्ति र समृद्धिको जनइच्छा व्यर्थै रही रहँदो रहेछ । व्यक्तिवादी राजनीतिक चलखेलले नागरिकहरूलाई समेत राजनीतिक भ्रममा फँसाउन पुग्दोरहेछ । गुट, गुटसमुह र व्यक्ति स्वार्थको संर्कीर्ण हुँदै हुर्किएको राजनीतिमा चमत्कारी व्यक्ति नै पो को चाहिं होला यो परिवेशमा ?
आज हास्न लायक राजनीतिक गफहरू सुन्न पाइन्छ । “यो व्यक्ति भए शान्ति स्थापना हुन्थ्यो, त्यो व्यक्ति नै मुलुकको आवश्यकता हो, त्यसले देशको व्यथालाई च्वाट्टै पार्छ” यो अभिव्यक्ति झन् संकीर्ण राजनीतिक चिन्तनको उब्जनी हो । गुटबन्दीको महामारीले दलहरूको तेजलाई खुइल्याई रहेको संक्रमणमा ‘व्यक्ति प्रदान चिन्तन’ निश्चित समुहको स्वार्थी अभिव्यक्ति मात्र हो । गुट सिर्जना गरी राजनीति गर्ने महाज्ञानीहरूहरूलाई साथ दिने गुट छतौराहरूको रङ्ग निश्चित हुँदैन । गुट समर्थकहरूको ज्ञानगोचर कमाउनेमा मात्र हुन्छ । गुट अभियन्ताहरू आफ्नो स्वार्थपूर्ति गर्न गुटलाठेको प्रचारमा निमग्न रहनु आवश्यक ठान्छन् । यो प्रवृत्ति हाम्रो मुलुकमा कम्युनिष्ट दलहरूमा अचाक्ली बाक्दिैछ । दुःखी र पीडितहरूको समुहमा साखिलो बनेर सहानुभूति बटुल्न सक्ने खुबी त कम्युनिष्ट नेताको छ तर दलभित्र प्रजातान्त्रिक चरित्रलाई धरोहर बनाउन नखोज्नु धुत्याइँ नै हो भन्दा बेठीक नहोला ।
ताक परे कोनि के नत्र ...... र सम्पतिमा हाइहाइ बिपत्तीमा कोही छैन दाजुभाइ भने झै यहाँ पार्टी फुटाउने अनि तथानाम गालीगलौच गरी आत्मरतिमा रमाउने उता पद र सम्पतिको छनक नपाउने बित्तिकै फेरि पहिले कै पार्टीमा प्रवेश गर्ने अनि पहिल्यैको पदमा आसिन गराउने पार्टी मठाधिसहरू नागरिकहरूको टाउकोमा गीर खेल्न पात्रै सिपालु छन् । ऐनमौकामा गुट–गुटको आपसमा गोदागोद, ठोकाठोक, लखेटालखेटीको तमासा देश भरी नै बाक्लिने गर्दछ । अनि फेरि “यो व्यक्ति वा त्यो व्यक्ति प्रधानमन्त्री भए सबै समस्या निख्रिन्छ” भन्दै धमिलो पानीमा खेल्दै आत्मरतिको राजनीति गरिरहने ? ज्ञाननिष्ठा नभएका व्यक्तिले मात्र यस्तो व्यक्तिवादी प्रचार गर्दछ । अझ कम्युनिष्ट कार्यकर्ताले सामुहिक हितको पक्षमा सम्पूर्ण जीवनको ज्ञान प्रयोग प्रयोग गर्दै मुलुकलाई शक्तिशाली बनाउने बाटो तर्फ लैजाने होइन र ? । ज्ञाननिष्ठा भएका जो कोही व्यक्तिले दलिय भद्रगोललाई समेल्न सुझाव निरन्तर दिनु पर्दछ ।
कतिको कन्तबिजोग ! कसैले भनेथे “म त शान्ति स्थापना गर्ने एक मात्र अर्जुनदृष्टि भएको व्यक्ति हुँ मसँग रामवाण नै छ” यो भनेको १८० दिन पूरा नहुँदै उचालपुचाल गर्नेहरूले घु¥यान मै पछारि दिए । अनि फेरि अर्काथरीले अर्का थरी लोभीपापी नेतालाई उचालपुचाल गर्न पुगे उचलपुचालको मोहोरीमा रम्ने अगुवा भनाउँदाको फुरफुरी बतासियो । त्यस्ताले आफूले उचालेको सिद्धान्तको झण्डाको बेइज्जत नै गरेको घटना पनि देशले भोग्यो । सानो दलहका इमान्दार नेताको नेतृत्वमा सबै दलहरू सम्मिलित मन्त्रीमण्डल बनाउनु एउटा विकल्प नै नहुने कस्तो बहुदलीयता ? गुट भित्रको ‘व्यक्ति इगो’ को कारणले बढेको आन्तरिक र बाह्य अन्तरबिरोधलाई यो विकल्पले मथ्थर पार्न सक्थ्यो । राजनीतिक इच्छाशक्ति भए शान्ति स्थापना र संबिधान निर्माण समस्या नै हुँदैनथ्यो । दलहरूको राजनीतिक ज्ञानेन्द्रियहरू नै प्रदुषित र संक्रमित भएपछि नागरिकको इच्छा त हावा नै हुन पुग्यो । यस्तो परिवेशमा व्यक्तिवादी राजनीति स्वाभाविक भएको छ । एउटा व्यक्तिलाई उभ्याएर वरिपरि बेरिएका स्वार्थी सुण्डमुसुण्डहरूले संक्रमणलाई बढाउन मलजल गरेकै हुन् हिजो तर आज यो क्रम रोकिनु पर्छ । अनि नागरिकहरूको तर्फबाट पनि कुनै चमत्कारी व्यक्तिको वकालत गर्नु ज्ञानहीन प्रवृति नै हो । गुटगत अतिरञ्जनाहरू बन्द गरिनु पर्दछ ।
आशा लाग्दा व्यक्तिहरूको राजनीति र कुटनीतिक व्यक्तित्वमा गुटबन्दीले उगाल आउँछ । पद नै अन्तिम हो भन्नेहरूको दुर्दशाको परिणाम कस्तो दुःखदायी हुन्छ अहिलेको घटनाले देखाइरहेको छ । अस्थीर राजनीतिक वातावरणामा व्यक्ति र गुटको त स्वार्थ पूरा होला तर मुलुकले गोता खाइरहने छ । लोकतन्त्रमा हिंसा र उद्दण्डता निषेध हुन्छ । लोकतन्त्रमा हिंसात्मक गतिविधिको आडमा अनुचित फाइदा लिन खोज्नु विचारहीन राजनीतिक प्रवृति हो भने गुटको आधारमा पदको पजनी गर्नु निकृष्ट राजनीतिक काम हो । निष्पौरष अर्थात पराक्रमहीन राजनीतिक व्यक्तिहरू समस्याहरूका कारक पनि बनेका छन् । समस्याहरूको छिनोफानो इच्छाशक्तिले मात्र गर्न सकिन्छ । जनचाहना अनुरुपको शान्ति र संबिधान दिन दृढता मात्रै एउटा उपाय हो । सबै दलहरूले राजनीतिक दृढ इच्छाशक्तिका साथ उभिनु पर्दछ । पक्ष विपक्षको रडाको संविधानसभामा देखिनु हुँदैन ।
दलहरूमा दललाई संकट पर्दा दल छोड्ने अनि दलको अवस्था सुदृढ हुँदा दलमा भित्रिने अवसरवादी झुण्ड चाहे त्यो बौद्धिक वर्गको होस् वा अरु कुनै ति सबै संक्रमण तन्काउने संक्रमित तत्वहरू नै हुन् । यहाँ एउटा जाबो सांसद र मन्त्री हुनलाई रङ्गबिरङ्को आतेजाते गैर राजनीतिक लसपस गर्नेहरूको एउटा भीड मडारिरहेको छ । त्यो भीड कहिले जातको रङ्मा कहिले वर्गको रङ्मा कहिले पहिचानको रङ्मा कहिले बौद्धिक वर्गको रङ्मा त्यही सांसद र मन्त्री नपाएको झोंकमा भौतारिएको छ । पार्टी बिछोड र पार्टी प्रवेशको जायामा निरन्तर यात्रा गरिरहेको त्यो स्वार्थी समुह कुनै पनि मानेमा दुःख पाएको नागरिकको साथी बन्न सक्ने छैन । समस्या छिमोल्ने कुनै इच्छाशक्ति त्यो भीडसँग छैन । त्यो भीड मात्रे राम्रो काम हुन लाग्यो भने जस आफू लिन खोज्छ र समस्याको थाक चुलिदै गयो भने त्यो भीड तथाकथित आरोपहरू लगाउँदै पार्टी छोड्ने अनि सत्तोसराप गरी पखाल्ने गरेको जिउँदा घटनाहरू छन् । यो क्ुनै राजनीति काम नै होइन र यसको कुनै सिद्धान्त र नीति नै हुँदैन । यस्तो प्रवृति हुने जोकोहीको पनि जिम्मेवारीबोध गर्ने साहस र आँट नै हुँदैन । यो पनि नागरिकहरूले बुझ्नु पर्ने अवस्था आएको छ ।
navinnp45@gmail.com

समाज निर्माणमा मर्यादित पत्रकारिताको खाँचो

पिपुल्स टाइम्स समाचार
दमक/समाज निर्माणमा मर्यादित पत्रकारिता जरुरी रहेको झापाको दमकमा शुक्रबार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनीहरुले पेशागत विकास गर्न सञ्चारकर्मीहरु गतिशील बन्नु पर्ने बताएका छन् । पत्रकार मञ्च दमकको तेश्रो अधिबेशन तथा आठौँ बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै बक्ताहरुले सञ्चारकर्मीहरुको भूमिका अझ बढ्दै गएको औँल्याए ।
मञ्चको उद्घाटन शत्रमा बोल्दै महासंघका पूर्वाञ्चल संयोजक पोख्रेल
अधिवेशनको उदघाटन सत्रका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेलले पत्रकारहरुको व्यवसायीक एकताको खाँचो औल्याएका थिए ।  बिचार र आस्थाका आधारमा पत्रकारहरु बिभाजित नभई व्यवसायीक हित र एकताका लागि सदैव एक हुनुको बिकल्प छैन, उनले भने । पत्रकारको क्षमता अभिवृद्धि सँगै पेशागत मार्यादा समेत कायम राख्नु अहिलेको चुनौति रहेको उनले  बताए  ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्बाङले पेशागत विकास सँगै क्षमता बृद्धिका लागि सञ्चारकर्मीहरु गंभीर हुनु पर्ने बताए । उनले पत्रकारिता क्षेत्रको विकास गर्न सकिए मात्र यो पेशा जिबीकोपार्जनका लागि माध्यम बन्न सक्ने औँल्याए ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश प्रसाई ,आदीबासी जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राई, संघीय प्रेस यूनियन झापाका सल्लाहकार दिपेनबाला राई,  इलाका प्रशासन कार्यालयका उपसचिव बासु कोइरालाले पत्रकारीता पेशालाई मार्यादित बनाउन र समाजलाई जिम्मेवार बनाउन पनि चुनौती रहेको बताए ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडा, दमक जेसीजका अध्यक्ष भगवान बस्नेत, प्रेस चौतारी झापाका पूर्व अध्यक्ष गोपाल गड्तौला, आदिबासी पत्रकार महासंघ झापाका अध्यक्ष गणेशमान मुखियालले पेशागत चुनौतीहरु रहेपनि व्यवसायीक पत्रकारीताको अभिबृद्धिका लागी मञ्चले गरेको कामको प्रशंसा गरेका थिए । 
कार्यक्रमको उद्घाटनमा क्रान्तिकारी पत्रकार संघ झापाका उपाध्यक्ष टिकाराम उप्रेती, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष नेत्र दाहाल, कांग्रेस क्षेत्रीय सभापति शेरबहादुर भट्टराई, एकिकृत माओवादीका दमक नगर इन्चार्ज रमेश गुरागाइँ, राप्रपाका नगर अध्यक्ष प्रविण चाम्लीङ्ग, संघीय लिम्बुवान पार्टीका संगठन बिभाग प्रमुख प्रेमदीप थाम्सुहाङ्गले व्यवसायीक पत्रकारीताको बिकासका लागी पत्रकारको क्षमता अभिवृद्धिमा समेत जोड दिनुपर्ने बताए ।
--------------------------------------------------------------------------------------------------------------------

मञ्चमा नयाँ नेतृत्व

पत्रकार मञ्च दमकको तेस्रो अधिवेशनले बिष्णु पोखरेललाई  अध्यक्षमा सर्व सम्मत चयन गरेको छ । शुक्रवार दमक –१० स्थित पाथिभरा पार्टी प्यालेसमा भएको अधिवेशनले समितिको उपाध्यक्षमा बिष्णु पौडेल चुनिएका छन् ।
मञ्चका निर्वाचित कार्यसमिति सामूहिक तस्वीर खिचाउँदै ।
सचिवमा नगेन्द्र मणी न्यौपाने, सहसचिवमा नगेन्द्र राई  र कोषाध्यक्षमा मनकुमार तुम्सा चयन भएका छन् । सदस्यहरु राजेश कुइकेल, श्याम लम्साल, निरज अग्रवाल, लक्ष्मी नेपाल, दिलकुमार लावती र मनकुमारी पन्दाक चयन भएका छन् । अधिवेशनको  बन्दसत्रले निवर्तमान अध्यक्ष गोपाल झापालीले प्रस्तुत अध्यक्ष प्रतिवेदन, सचिव कमन देवानले प्रस्तुत सांगठानीक प्रतिवेदन र कोषध्यक्ष कमला श्रेष्ठले प्रस्तुत आर्थिक प्रतिवेदन छलफल पछि संशोधन सहित पारित गरेको थियो । अधिबेशनको वन्द सत्रले कृष्ण कार्कीको संयोजकत्वमा राजन ढुङाना, दिपेनवाला राई र ओम प्रकाश गौतम सदस्य रहेको निर्वाचन समिति, गोपाल गड्तौलाको संयोजकत्वमा विष्णु सुब्बा र टिकाराम उप्रेति रहेको अध्यक्षीय मण्डल चयन गरेको थियो । त्यस्तै चेतन अधिकारीको संयोजकत्वमा विधान संशोधन, पंकज दाहालको संयोजकत्वमा प्रस्ताव लेखन समिति समेत गठन गरिएको थियो ।

‘जेसीजको क्षेत्र ‘क’ सम्मेलन विर्तामोडमा शुरु’

बिर्तामोड/‘नयाँ संविधानको शान, विभेदकारी समाजको अवशान’ नाराका साथ शुक्रबारदेखि जेसीज क्षेत्र ‘क’ सम्मेलन झापाको बिर्तामोडमा शुरु भएको छ । नेपाल जेसीजको आयोजना र वीरता लेडी जेसीजको आतिथ्यमा सम्मेलन शुरु भएको हो । सम्मेलनमा जेसीज ‘क’ अन्तरगत मेची, कोशी, सगरमाथा र जनकपुरका ३८ वटा शाखाका पाँच सय भन्दा बढी प्रतिनिधि सहभागी छन् ।
विर्तामोडमा शुरु जेसीजको सम्मेलनका अतिथिहरु
नेकपा एमाले नेता भरतमोहन अधिकारीले सम्मेलनको उद्घाटन गरेका छन् । उनले माघ ८ गते संविधान बन्ने वातावरण तयार नभएको बताए । अधिकारीले संविधानका केही जटिल मुद्दा समाधान नभएकाले संविधान बन्नेमा ढुक्क हुने अवस्था नरहेको टिप्पणी गरे । ‘संविधान निर्माणका लागि प्रमुख तीन दल जिम्मेवारीका साथ अघि बढ्नुपर्छ’अधिकारीले भने –‘उनीहरुले खुट्टा कमाए माघ ८ मा संविधान जारी हुन सक्तैन ।’ संविधान लेखनका केही मुद्दामा सहमति गरी अघि बढ्नुपर्ने बताउँदै उनले नयाँ संविधानमा लोकतन्त्र, गणतन्त्र र संघीयताको मुद्दालाई मूल आधार बनाउनु पर्ने बताए । संविधान निर्माणका लागि युवा दवाव आवश्यक रहेको उनको भनाई छ  । ‘युवा नै देशका शक्ति हुन्’ उनले भने –‘युवा समाज र मानवताको विकासमा लाग्नुपर्छ ।
पूर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीले महिला र पुरुषबीचको विभेद अन्त्य नभएसम्म मुलुक आर्थिक
सम्वृद्धिको बाटोमा अघि बढ्न नसक्ने बताए । ‘अव बन्ने संविधानले सम्वृद्धिको ढोका खोल्नुपर्छ’ उनले भने ‘तव मात्र देशको विकास हुन्छ ।’
कार्यक्रममा जेसीजका राष्ट्रिय अध्यक्ष सुशीलबाबु श्रेष्ठ, नेपाली कांग्रेस झापाका कार्यवाहक अध्यक्ष देउमान थेबे, शान्ति समिति झापाका अध्यक्ष सूर्यनारायण गणेश, एमाले नेता कुन्दन भट्टराई, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष भीम नेम्वाङ, विशाल थापा, राधा सुब्बा, मीरा बजगाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । पार्वती बिमली, श्रद्धा पोखरेल, गोमा भट्टराई, तिलरुपा श्रेष्ठ लगायतले बोलेका थिए ।
दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन शुक्रबार साँझ ‘नयाँ संविधानको शान, विभेदकारी समाजको अवशान’ विषयक अन्तरक्रिया हुँदैछ । कार्यक्रममा कांग्रेसका युवा नेता गगन थापा र एमाओवादीका युवा नेता गणेशमान पुनले समसामयिक राजनीतिक विषयमा चर्चा गर्नेछन् । सहभागीले उठाएका विषयमाथि दुई नेताबीच अन्तरक्रिया गरिने छ । त्यस्तै शुक्रबार राती साँस्कृतिक कार्यक्रमसमेत हुने जनाईएको छ । जेसीज शुक्रबारदेखि ५० वर्षमा प्रवेश गरेको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम गरिने भएको हो ।

पब्लिक सहकारीको कारोवार शुरु

गौरादह/पब्लीक कृषि सहकारी संस्था गौरादहले शुक्रवारबाट कारोवार शुरु गरेको छ । संस्थाले औपचारिक रुपमा बचत तथा ऋणको कारोवार शुरु गरेको हो ।
संस्थाको कारोवारको उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरि चरण बानियाँले उदघाटन गरेका छन् ।  कार्यक्रममा संस्थाका अध्यक्ष भुपाल राज कटुवालले कृषि क्षेत्रको विकासमा सहकारी लाग्ने प्रतिवद्धता गरेका थिए । उद्घाटन कार्यक्रममा  द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था दमकका ब्यवस्थापक धर्मानन्द भट्टराई लगायतले  कारोवारको सफलताको शुभकामना ब्यक्त गरेका थिए । संस्थाको २ करोड शेयर पूँजी रहेको संस्थाका प्रवन्ध निर्देशक हेमन्त कार्कीले बताए । सो सहकारी संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा टेक बहादुर कार्की  छन् भने सदस्यहरुमा टपेन्द्र घिमीरे, सिरु शाह, लक्ष्मी प्रसाई र गंगा कार्की रहेका छन् ।

दमक–११ मा चुम्लुङ

दमक/किरात याक्थुङ चुम्लुङले दमक–११ मा वडा समिति गठन गरेको छ । शुक्रबार सम्पन्न वडा भेलाले कविन्द्र शेर्माको अध्यक्षतामा चुम्लुङको वडा समिति गठन गरेका हुन् । सर्वसम्म्त गठित समितिको उपाध्यक्षमा पूर्ण कुमार साउदेन, सचिवमा विजय लिङदेन ,सह–सचिवमा कृष्ण बेघा र कोषाध्यक्षमा लक्ष्मी प्रसाद चेम्जोङ चुनिएका छन् । 
यसैगरि, सदस्यहरुमा राम बहादुर सम्बाहाम्फे, सन्तकुमार लिङदेन, यमुना योङहाङ (लिङदेन) र अमृता केरुङ (सेनेहाङ)लगायत रहेका छन् । चुम्लुङका नगर अध्यक्ष गुमानसिंह सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भेला चुम्लुङका नगर सचिव देवेन्द्र चेम्जोङले सञ्चालन गरेका थिए । कार्यक्रम स्थानीय किरात युमा माङहिमको प्राङगणमा भएको थियो भने  पूजारी आईतराज कुरुम्बाङको प्रमुख आतिथ्यतामा भएको थियो ।

बर्षाले धराने टोलमा समस्या

दमक/३ दिन यता निरन्तर भएको बर्षाका कारण झापाको दमकका विभिन्न स्थानमा रतुवा नदीले कटान थालेको छ ।
नदीमा पानीको वहाव बढेपछी दमक १८ धराने टोलमा कटान जारी राखेको छ । धराने टोल उत्तरको बस्तीमा नदी पस्ने खतरा बढेपछि स्थानहरुले अस्थायी तटबन्द निमार्ण गरेका छन् । पानी स्पर भत्काउन थालेपछी
बाँस, बोरा लगाएर अस्थायी तटबन्ध निर्माण गरिएको एमाले नगर अध्यक्ष अम्बिका खनालले जानकारी दिए । त्यस्तै दमक १८ र १५ को सिमानामा पर्ने चक्रपथमा समेत पानीले क्षति पुर्याएको छ ।

सिटी क्लवको अध्यक्षमा खडका

दमक/दमकमा भएको एक युवाहरुको भेलाले शेखर खड्काको अध्यक्षतामा ११ सदस्यीय सिटी फुटवल क्लव दमक गठन गरेको छ ।
 समितिको उपाध्यक्षमा राजु लावर, सचिवमा नारायण बिष्ट, सहसचिवमा सन्तोष थापामगर र कोषध्यक्षमा मजुन राई रहेका छन् । भेलाले सल्लाहकार समिति गठन गरेको छ ।  समितिको सदस्यहरुमा इन्द्र कार्की, टिका अधिकारी र कर्ण बिक रहेका छन् ।

भृकुटीको बाल क्लवमा सविना

दमक/भृकुटी निम्न माध्यमिक बिद्यालय दमक १ को भृकुटी बाल क्लवको अधिवेशनले सविना केसीलाई चयन गरेको छ ।
 शुक्रवार भएको अधिवेशनले समितिको उपाध्यक्षमा सलिना सुब्बा, सचिवमा फणिन्द्र रिजाल, सहसचिवमा देशराज कटुवाल र कोषध्यक्षमा अस्मित राई चुनिएका छन् । सदस्यहरु जानुका अर्याल , पुर्णिमा माखिम , सोनिया कुमाल ,  जितेस धिमाल , पुजा बिक र ममता राई छनौट भएको  बिद्यालयले जनाएको छ ।

हिमालयको शैक्षिक पुरस्कार बितरण

दमक/हिमालय उच्च मावि दमक २ ले तुलसादेवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बितरण गरेको छ ।
 शुक्रवार विद्यालयमा भएको कार्यक्रममा विद्यालयकै कक्षा ११ मा अध्ययनरत  जेहेन्दार विद्यार्थी  समिक्षा अर्याल , कक्षा १० का छात्र प्रविण ताजपुरिया  र कक्षा ७ का श्यामबाबु रजकलाई पुरस्कार प्रदान गरेको हो । दमक नगर पालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजिक अगुवा शेर बहादुर भटराई, लोक गायक एल पी जोशी, लेखक रुद्र निरौला, धनञ्जय बास्कोटा लगायतले पुरस्कारको बिषयमा चर्चा गरेका थिए ।
बोन्साइ साहित्य प्रतिष्ठान दमकको आयोजनामा भएको कार्यक्रममा जेष्ठ नागरिक कृष्ण भण्डारी, गणेश रिजाल र गोमा रिजाललाई प्रमुख अतिथि खतिवडाले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

मेरो देश – कविता

निसान श्रेष्ठ
म नेपाली हुँ मलाई लाग्छ गर्व
मेरो देश हेर्दा लाग्छ मलाई स्वर्ग
हामी कक्षा ८ मा पढ्छौं एक साल
तर म कहिले बिर्सिन मेरो देश नेपाल

नेताहरु चुनाव मै अड्किन्छन् सबै हुन्छन् निरास
यस्तै भयो भने कहिले हुन्छ देशको विकास ?
हाम्रो देश हेर्दा सबै देश छन् अगाडि
एकदिन हाम्रो देशको विकास हुन्छ किनभने हामी हौं नेपाली ।

हाम्रो देशमा जताततै छ हरियाली
देशको विकास गर्नुपर्छ है यसपाली
अहिले त हुन थालेको छ नेपाल बन्द
हामी जस्तो विद्यार्थीले यो सुन्दा मान्छन् आनन्द ।

हामी नै हो देशको भविष्य
कसलाई थाहा छ होला, हाम्रो देशको सुन्दरताको रहस्य ?
हामी नेपाली भनेर चिनिन्छ भेषमा
हाम्रो देश नेपाल चिनिन्छ सबै देशमा ।
कक्षा : ८, इष्टर्न स्टार सेकेण्डरी स्कूल, दमक

बाढी पहिरोमा परी १० जनाको मृत्यु

पिपुल्स टाइम्स समाचार
झापा/दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी १० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार जनधनको ठूलो क्षति भएको छ ।
ललितपुर पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने अर्का एकलाई भेलले बगाएको छ । कालेश्वर ५ मा पहिरोमा पुरिरर करिव २०–२१ वर्षका सोनाम घलान र १८ वर्षकी ललिता घलानको मृत्यु भएको छ ।
पानी परेपछि घर छेउको ठाडो खोल्सीमा आएको भेल बारीमा लगाउन खोज्दा उनीहरुलाई पहिरोले पुरेको थियो । प्रहरी टोलीले उद्धार गर्ने क्रममा दुईको शव भेटिएको ललितपुर प्रहरीका प्रवक्ता डीएसपी पवन गिरीले जानकारी दिए ।
यस्तै भट्टेडाँड–३ को तनपाने भञ्ज्याङ ग्रिनचुलीमा भेलले बगाएर २५ वर्षका दिपक लोको मृत्यु भएको छ । दिउँसो साढे १ बजेतिर भेलले बगाएका उनको शव प्रहरीले करिव ३ घन्टापछि फेला पारेको छ ।
त्यस्तै जाजरकोट, सिन्धुली, उदयपूर र सिराहामा गरि थप ७ जनाको ज्यान गएको छ । बाढीले बगाएर दुईजना बेपत्ता भएका छन् ।
यसैबीच रौतहटमा बागमती नदीले निरन्तर कटान गर्दा नदी किनाराका बस्तीहरु उच्च जोखिममा छन् । त्यहाँको मध्यधार भन्ने टापुका बासिन्दा जोखिममा परेपछि उनीहरुलाई उद्धार गर्न जान खोजेको हेलिकाप्टर समेत फर्किएको छ । भिजिबिलिटी नपुगेको भन्दै हेलिकाप्टर जान नसकेपछि स्थानीय प्रशासनलाई अन्य उपाय लगाएर बासिन्दाको ज्यान जोगाउन निर्देशन दिइएको छ । सिराहा र जाजरकोटमा पनि हेलिकाप्टर लगेर उद्धार गर्न खोजिएको तर हेलिकाप्टर जान नसकेको गृहमन्त्री बामदेव गौतमका प्रेस संयोजक विश्वमणी सुबेदीले जानकारी दिए । यद्यपी कुनै पनि बेला ठूलो बिपत्ति आउने सम्भावना भएकाले सेना र प्रहरीका हेलिकाप्टरलाई तयारी हालतमा राखिएको गृहमन्त्रालयले स्रोतले जनाएको छ । भारी वर्षातका कारण देशका कुनै पनि ठाउँमा हेलिकाप्टर उड्न नसकेकाले उद्धारको कार्य प्रभावित भएको छ ।
तराइका धेरै जिल्लाका बस्तीमा बाढी पसेर बस्ती डुबाउनुको साथै सयौँ हेक्टर खेती समेत डुबाएको छ । कमल, रतुवा, रातु लगायतका नदीले महोत्तरी, धनुषा, सिराहामा क्षति पु¥याएको छ ।
पहिरोको कारण क्षतिग्रस्त कोशी राजमार्ग

पहिरोले कोशी राजमार्ग अवरुद्ध

अचानक मनसुन सक्रिय हुँदा आएको बाढी पहिरोका कारण पूर्वी पहाडी जिल्लाहरुका सडक अवरुद्ध भएका छन् ।
 धरान–धनकुटाको कोशी राजमार्ग अन्तर्गत मुलघाटमा गतवर्षको बाढीले क्षति पु¥याएको स्थानमा पुनः क्षति पुग्दा सडक अवरुद्ध भएको हो। त्यस्तै धनकुटाको डाँडाबजार जाने सडक खण्डमा पनि पहिरो जाँदा धनकुटाको राजारानीबाट आउने गाडीहरु धरान आउन सकेका छैनन् भने यताबाट छुटेका गाडीहरु पनि बीच बाटो मै अलपत्र बनेको यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी अञ्चल संयोजक सरोज श्रेष्ठले बताए ।
उनका अनुसार धनकुटाको मुलघाटमा पनि बाटो अवरोध हुँदा गाडीहरु बीचमै अलपत्र परेका छन् । भेडेटार भन्दा १६ किलोमिटर उत्तरको लेउतीसँगै जोडिएको खराने खोलाका कारण पहिरो जाँदा केही समय गाडी अवरोध भएको थियो। त्यो बाटो खुलाउनका लागि धनकुटाका प्रमुख जिल्ला अधिकारी भरत इङ्नामको सक्रियतामा एक्सकाभेटर प्रयोग गरेर बाटो खुलाइएको अस्थायी प्रहरी चौकी भेडेटारका प्रहरी नायव निरीक्षक तेजबहादुर श्रेष्ठले जानकारी दिए ।
 तर, मुलघाटको बाटो हाल पनि अवरुद्ध भएको उनले बताए । बुधबार राति ८ बजे अचानक बाढी आउँदा एउटा कृषिजन्य सामग्री बोकेको गाडीसमेत डुबाएको थियो । सो गाडी बिहीबार मात्रै निकालिएको प्रनानी श्रेष्ठले जानकारी दिए । बाढीले बाटो अवरोध गरेपछि यातायात व्यवसायीहरु पनि निरीक्षणका लागि सो क्षेत्रमा पुगेका थिए ।
निरीक्षणमा रहेका सप्तकोशी बस व्यवसायी संघ धरानका सदस्य माधव घिमिरेका अनुसार भेडेटारबाट ५ किलोमिटर पूर्व नाम्जे र ओख्रेको बीचमा दुई तिन स्थानमा पहिरो गएको छ । सो स्थानमा मान्छेसमेत हिँड्न नसक्ने अवस्था भएको छ भने डाँडाबजार भन्दा पूर्व साम्मेवा र बुधबारेको बीचमा पनि सामान्य पहिरो गएको छ ।
 त्यस्तै मध्य पहाडी राजगमार्गको भोजपुर हिले सडक खण्डको श्यामसिला हिले भञ्ज्याग बीचमा पनि पहिरो गएर बाटो अवरोध भएको नागेश्वर बसका स्टाफको भनाई उदृत गर्दै उनले जानकारी दिए ।

खतरामा बेलबारी बजार

उर्लाबारी ÷ बिगत २४ घण्टादेखि परेको अबरिल बर्षाका कारण मोरंगको बेलबारीस्थित लोहन्द्रा खोलामा आएको बाढीले बजार क्षेत्रमा कटान थालेको छ ।
निरन्तर बर्षाका कारण खोलामा आएको बाढीका कारण खोरियाबस्ती र बेलबारीका वार्ड नम्बर २, ३, ४ लगायतका वार्डहरु कटानको खतरामा परेका छन् । उता मोरङ्गकै गछिया खोलामा आएको बाढीका कारण गछिया बजार समेत तिब्र कटानमा परेको छ ।

सप्तकोशीमा पुनः पानीको बहावमा वृद्धि

इटहरी/सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । विहीबार दिउँसो २ बजेको मापन अनुसार २ लाख ९२ हजार ३०३ क्युसेक पुगेको छ । पानी प्रतिघण्टा १० हजार क्युसेकले बढीरहेको छ ।
निरन्तरको वर्षाको कारण बिहिबार आज विहानदेखि नै पानी वहाव उच्च छ । बिहिबार दिउँसो १ बजेको मापनअनुसार दुई लाख ८४ हजार ५३० क्युसेक पानी बगेको कोशी ब्यारेजमा पानीको वहाव १२ बजे १० हजार क्युसेकले कम थियो ।
लगातार परेको पानीका कारण विहीबार दिउँसो पानीको बहाव तीन लाख क्युसेकको हाराहारी पुगेको हो । निरन्तर वर्षा भइरहेकोले पानीको बहाव अझै बढ्न सक्ने आशंका गरिएको छ । बहाव उच्च भएर
बाँधमा पानीको चाप बढेपछि ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएका छन् ।
पानीको बहाव विहीवार विहान २ लाख ३४ हजार थियो । कोशीमा एक लाख पचास हजार क्युसेक नाघ्ने बित्तिकै सोमबार बिहानैदेखि ब्यारेजमा खतराको चिन्ह स्वरुप दिउँसो रातो झण्डा फहराइएको छ ।
 पानीको बहाव कोशीको क्षमता भन्दा कम भएपनि ब्यारेज पचास वर्षभन्दा पुरानो भएकाले कोशी तटबन्धभित्र वालुवा थुप्रिएका कारण तटबन्धको क्षमतामा समेत ह्रास आएको छ । त्यसैले पानीको बहाव थोरै बढ्दा पनि सतर्कता अपनाइने गरिन्छ । यो पटक पनि सुरक्षा निकायलाई उच्च सतर्कताका साथ राखिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
 गत २०६५ भदौ २ गते ब्यारेजका पर्याप्त ढोका नखोलिँदा कोशी ब्यारेजको बाँध भत्किएर तीस हजार बढी घर परिवार विस्थापित भएका थिए । विस्थापित भएकाहरुको लामो समयसम्म पुनर्वास र राहत वितरण हुन सकेको थिएन । उक्त समयमा तटबन्ध भत्किँदा ब्यारेजमा पानीको वहाव १ लाख ६८ हजार क्युसेक मात्र थियो भने बाँध भत्केको दुई वर्ष पछि पानीको बहाव तीन लाख ३६ हजार क्युसेकसम्म पुगेको थियो ।


अस्पताललाई गाउँलेद्वारा जग्गादान

लखनपुर/झापा लखनपुरका बासिन्दाहरुले गाँउमा नै आयुर्वेद अस्पताल बनाउन २ विगाहा बढी जग्गा उपलब्ध गराएका छन् । लखनपुर–४ र ५ का एक दर्जन बढी गाँउलेहरुले करोडौँ मूल्य पर्ने २ विगाहा १ कठा जग्गा अस्पताललाई दान गरेका हुन् ।
पूर्वाञ्चल क्षेत्रिय आयुर्वेद अस्पतालको भवन निर्माणका लागि ती क्षेत्रका गाँउलेहरुले विहीवार सामूहिक रुपमा १ विगाहा ८ कठ्ठा साढे १ धुर जग्गा दान गरेका स्थानीय सामाजिक अगुवा तथा जग्गादाता मणीकुमार भण्डारीले जानकारी दिए । विहीवार जग्गादाताहरुले अस्पताललाई मालपोत कार्यालय दमकमा गएर लिखत पास गरेका हुन् । भण्डारीले ९ कठ्ठा १३ धुर, गणेश गुरुङले ३ कठा, नन्द पौडेलले ६ कठ्ठा, ताराप्रसाद नेपालले ३ कठठ, रङ्गलाल मिश्रले ३ कठ्ठा, तारादेवी भण्डारीले ६ कठ्ठा र पदम गुरुङले ३ कठ्ठा जग्गा अस्पताललाई पास गरिदिएका हुन् । यस्तै,जगत बहादुर खड्काले
१ कठ्ठा ४ धुर ,तुलसीराम कार्कीले साढे १७ धुर, वेदमाया सुवेदीले साढे ५ धुर र याम प्रसाद भट्टराईले साढे १७ धुर जग्गा केहि दिनमै दान दिने भएका हुन् । सो दान दिएका क्षेत्रमा सरकारले पूर्वाञ्चल स्तरिय आयुर्वेद अस्पताल बनाउन तयारी अगाडी बढाउने दाता भण्डारीले जानकारी दिए ।

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

विराटनगर/मोरङ जिल्लामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।
मोरङको लेटाङ बस्ने ३६ वर्षीय कर्णबहादुर मगरको खोला तर्ने क्रममा र एक बालिकाको ठेलाको पाङ्ग्रामा सल बेरिएका कारण मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मगर बिहिबार राति तुर्के खोला तर्ने क्रममा बेपत्ता भएपछि शनिबार बिहान ९ बजे खोजतलास गर्दा नदीको बगरमा मृत अवस्थामा फेला परेका हुन् ।
त्यसैगरी, मोरङको कटहरी–७ बस्ने छ वर्षीया बालिका गुल्सन खातुनको सल ठेलाको पाङ्ग्रामा बेरिएर लड्दा गम्भीर घाइते भएको थियो । उपचारका लागि विराटनगर ल्याउने क्रममा उनको बुधबार साँझ मृत्यु भएको हो ।
बुबा मोहम्मद मुस्लिमले चलाइरहेको ठेलामा आमा चाहिरा खातुनसँगै बसेकी ती बालिकाको सल पाङ्ग्रामा बेरिएको थियो ।

लायन्स क्लव अफ दमकको पद हस्तान्तरण

दमक/झापाको दमकस्थित लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका वीच लायन्सको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो । लायन्सका निवर्तमान अध्यक्ष बबरजङ थापा (किरण) ले नवनिर्वाचित अध्यक्ष अजय अग्रवाललाई पद हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा निवर्तमान अध्यक्ष थापाले वार्षिक गतिविधिहरु जानकारी गराएका थिए ।
पद हस्तान्तरण कार्यक्रममा सहभागीहरु ः सो कार्यक्रममा लायन्स दमकका नवनिर्वाचित अध्यक्ष अग्रवालले लायन्सको मार्ग प्रति सधैँ अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए । उनले काठमाण्डौँस्थित लायन्सले सञ्चालन गरेको दमकको पाथीभरा नेत्रालयको स्तरोन्नतिमा भरपूर सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । अग्रवालले आखाँ उपचारको  सेवालाई सुबिधा सम्पन्न बनाउन आफनो क्षेत्रबाट सधैँ सहयोग पु¥याउने विश्वास दिलाएका थिए ।
लायन्सका डिस्ट्रिक ३२५ ए.आई.का गभर्नर भीम घिमीरेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै घिमीरेले सामाजिक क्षेत्र र युवाको ब्यक्तित्व विकासमा लायन्सकर्मीहरु सधैँ अगाडी भएको जोड दिए ।
त्यस अवसरमा विभिन्न क्षेत्रका वक्ताहरुले सामाजिक क्षेत्रमा पु¥याँउदै आएका योगदानको चर्चा गरेका थिए । कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डौँका अध्यक्ष बाबुलाल अग्रवाल, डिस्ट्रिक ३२५का कोषाध्यक्ष राजन खत्री, सेक्रेटरी लीला ढुङगेल, दमक नगरपालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडा, शसस्त्र प्रहरी वल पाथीभरा गणका गणपति महेश श्रेष्ठ लगायतले लायन्स मानवीय सेवामा समर्पीत भएको उल्लेख गरेका थिए ।

मंगल प्रणामी एम्बुलेन्स सेवा शुरु

सुरुङ्गा/ श्रीकृष्ण प्रणामी मन्दिर माईधाम कनकाई नगरपालिका–४ कोटीहोमद्वारा सञ्चालित मंगल प्रणामी एम्बुलेन्स सेवा पुनः सञ्चालनमा ल्याइएको छ । इजरायलमा कार्यरत प्रणामी सम्प्रदायको अगुवाइमा त्यहाँका नेपालीहरुद्वारा ९ लाख २५ हजार रूपैयाँ सहयोग संकलन गरी उक्त एम्बुलेन्स खरिद गरिएको थियो ।
एम्बुलेन्स सञ्चालनबाट प्राप्त आम्दानीले प्रणामी मन्दिर आश्रममा रहेका अनाथ बालबालिका तथा बृद्धबृद्धाहरुलाई टेवा पुगोस् भनेर एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताइएको छ । उक्त आश्रममा नेपालका विभिन्न जिल्लाका २० जना अनाथ बालबालिका र १३ जना वृद्धबृद्धाहरु आश्रित रहेका छन् । २०५२ सालदेखि शुरु गरिएको उक्त आश्रम मुष्ठीदानबाट सञ्चालन हुँदै आएको आचार्य महाराज मोहनानन्दले बताए ।
सो एम्बुलेन्स व्यवस्थित रुपमा सञ्चालन गर्नका निम्ति ७ सदस्यीय एम्बुलेन्स सञ्चालक समिति समेत गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा भक्तिप्रसाद संग्रौला, सचिवमा छवि थपलिया, कोषाध्यक्षमा केदार पाठक र सदस्यहरुमा भवानी मैनाली, विष्णु संग्रौला, विनोद थपलिया र निलम सिटौला रहेका छन् ।

पूर्वमा टेलिकमको जेनेरेटर बिग्रियो

दमक/नेपाल टेलिकमको जेनेरेटरमा खराबी आएपछि पूर्वाञ्चलमा तीन दिनदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध हुन पुगेको छ । बिजुली आएका बेला सिस्टमले काम गरे पनि लोडसेडिङ हुँदा जेनेरेटरले काम नगरेपछि उपभोक्ता मारमा परेका छन् ।
लोडसेडिङ हुनासाथ ल्याण्ड लाइन टेलिफोन, जिएसएम मोबाइल, सिडीएमए टेलिफोन र एडिएसएल इन्टरनेट सेवा अवरुद्ध हुने गरेका छन् । टेलिकमका दुईवटा जेनेटरमा खराबी आएपछि सेवा अवरुद्ध हुन पुगेको हो । लोडसेडिङका बेला सिस्टम सञ्चालन नभएपछि पूर्वाञ्चलका १२ लाख जिएसएम, २ लाख सिडीएमए र १ लाख एडिएसएल प्रयोग गर्ने उपभोक्ता मारमा परेका छन् । सेवा अवरुद्ध हुन पुग्दा इन्टरनेट प्रयोगकर्ता सबैभन्दा धेरै समस्यामा परेका छन् ।
विद्युत आपूर्ति गर्ने जेनेरेटरमै खराबी उत्पन्न भएपछि सम्पूर्ण सेवा प्रभावित भएको नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरले जनाएको छ । ‘मोबाइल कन्ट्रोल सिस्टम नै बन्द हुन पुगेपछि पूर्वाञ्चलमा टेलिकमको सेवा अवरुद्ध भएको छ, टेलिकमका पूर्वाञ्चलका क्षेत्रीय निर्देशक चेतनरत्न कंशाकारले बताएका छन् ।
पूर्वमा गएको शनिबारदेखि शुरु भएको विद्युत आपूर्तिको कमीका कारण धेरै समयसम्म जेनेरेटर चलाउनु पर्दा लोड थाम्न नसकेर खराबी आएको कंशाकारले बताए ।
‘जिएसएम र ल्याण्डलाइन चल्न सक्ने गरी विद्युत प्रबन्ध हँुदै छ कंशाकारले भने, राजधानीबाट नयाँ जेनेरेटर आएपछि अवरुद्ध सबै सेवा शुचारु हुनेछन् । टेलिकमको मोबाइल कन्ट्रोल सिस्टममा विद्युत आपूर्ति गर्ने ३५० केभीएका दुईवटा जेनेरेटर केही समय पहिले मात्र ९ लाख रुपैयाँ खर्च गरी मर्मत गरिएको थियो ।

अदालतमा वयान फेर्नेहरु जेल चलान

इलाम/ मानव वेचविखनमा उजुरी दिएर मुद्धा चलिरहेका बेला बयान फेर्ने दुई जना जेल चलान भएका छन् ।
पुनरावेदन अदालत इलामले बयान फेरेको भन्दै तीन महिना जेल सजाय सुनाएका दुई जनालाई प्रहरीले झण्डै एक वर्षपछि हालै पक्राउ गरेको हो । अदालतले जेल सजाय सुनाएकोमध्ये पीडित एक युवती भने फरार रहेकी प्रहरीले जनाएको छ ।
एक युवती र उनका आफन्तलाई भने कारागार पठाइएको हो । २०६८ असारमा नवमीडाँडाका दुई युवतीलाई बिक्रीका लागि सिलगुडि पु¥याएको आरोपमा पाँच जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि जिल्ला अदालत पाँचथरमा मुद्धा चलेको थियो ।
सुरुवाती बयानको क्रममा पीडित दुई युवती र जाहेरवाला आफन्तले बेचबिखन गरेको बताएका थिए । जिल्ला अदालतले २०६९ बैशाख २५ गते पीडकलाई सफाइ दिएपछि मुद्धा पुनरावेदनमा पुगेको थियो । तर पछि बकपत्रमा वयान साटेको भन्दै पुनरावेदनले दुई पीडित र पीडकका एक आफन्तलाई  तीन महिनाको कारावास सजाय सुनाएको थियो ।
२०७० असार १० गते पुनरावेदन अदालत इलाममा मुख्य न्यायाधीस गोविन्द उपाध्याय र न्यायाधीस उदयप्रसाद चापागाईँको संयुक्त इजलासले बयान फेरेकोमा जाहेरीवालालाई नै सजाय सुनाएको थियो । अदालतको आदेशका आधारमा प्रहरीले पीडित र उनका एक आफन्तलाई प्रक्राउ गरी जिल्ला अदालतमा बुझाएको थियो ।
प्रतिवादीहरुलाई भने पुनरावेदन अदालतले दुई वर्ष कैद सजाय सुनाएको थियो । दुई युवतीलाई काममा लगाइदिने भन्दै बिक्री गर्न सिलगुडि पु¥याएको भन्दै लुम्फावुङ –१ की मनकुमारी लावती, सिवा–५ कि विन्दुकुमारी लावती, फाक्तेप नरवहादुर नेम्वाङ, फाक्तेपकै सुरेन्द्र नेम्वाङ र अर्का नाम नखुलेका व्यक्तिविरुद्ध उजुरी परेको थियो ।

बौद्ध संस्कारमा एक रुपता बनाउन पहल

दूधे/मगरको बौद्ध संस्कारमा एकरुपता विषयक तीन दिने गोष्ठी सतासीको माईधारमा सम्पन्न भएको छ ।
आप्mनो संस्कारमा एकरुपता नभएकैले मगर समुदाय पछि परेको निष्कर्ष निकाल्दै आयोजना गरिएको सो कार्यक्रममा मगर समुदायका अगुवाहरूले देशैभर संस्कारमा एक रुपता लिनुपर्नेमा जोड दिएका थिए । नेपाल मगर बौद्ध सेवा समिति झापाको आयोजना र जिल्ला मगर संघ झापाको सहयोगमा भएको सो कार्यक्रममा नेपाल मगर बौंद्ध सेवा समितिका केन्द्रीय उपाध्यक्ष बिपि रखेल मगरले मृत्यु संस्कारमा सात दिनमा काम सकिनु पर्नेमा जोड दिए ।
उनले भने सात दिनमा बार नदोहोरिने भएकाले यो बैज्ञानिक हुने र अहिलेको व्यस्त जीवनका लागि पनि उपयोगी हुने बताए । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका पूर्व अध्यक्ष तथा अगुवा शिवशंकर थापा, नेपाल आदिवासी जनजाति महिला महासंघ जिल्ला अपाध्यक्ष खेम कुमारी मगर समुदायका युवाहरूमा आधुनिक रहनसहनको प्रभाव बढेकोले बाल्यकालमै आप्mनो संस्कारमा भिजाउन सकेमात्र संस्कार जीवित रहने उल्लेख गरे । कार्यक्रममा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा झापा, मोरङ्ग र सुनसरीका बौद्ध गुरुहरूको पनि सहभागिता रहेको थियो । मगर संघ केन्द्रले आप्mनो संस्कारमा एकरुपता ल्याउन देशैभर यसता अन्तरकृया कार्यक्रमको आयोजना गर्दै आएको छ ।

संघीय लिम्बुवानको कमिटी

पथरी/पूर्वमा भर्खरै एकता भएका ५ लिम्बुवान संगठनहरूको पार्टी संघीय लिम्बुवान पार्टी नेपालको मोरङ जिल्ला कार्यसमिति बुधबार गठन भएको छ ।
नव गठित पार्टीमा दिलु लिङ्देनको अध्यक्षमा १३ सदस्य कार्यसमिति गठन भएको हो । यस्तै शेरबहादुर साँवा सह–अध्यक्ष, विवेक लिम्बू वरिष्ठ उपाअध्यक्ष, दुखाराम माझी, भवानी लिम्बू, राजेश याक्सोक, राज पयाङ्गु र जीवन खेवा उपाध्यक्ष रहेका छन् । यस्तै विशाल इक्सा, योगेन्द्र चोङबाङ्, खगेन्द्र तामाङ सचिव र हेमराज भण्डारी रहेका छन् । यसैगरी अर्थसचिवको पद विसेन्द्र नाल्वोले जिम्मा लिएको छ । भेलामा पार्टी समायोजन समितिका संयोजक रामभक्त कुरुङवाङ र सदस्यहरू विसेन्द्र चेम्जोङ, टुपेन्द्र एकतेन, दिपक नेन्याङ्वो, तेन्दोहाङ मिभक र प्रेमदिप थाम्सुहाङ उपस्थीत रहेका थिए । नव गठित पाटीले मोरङ जिल्ला अधिवेशन चाँडै गर्ने बताएका छन् । अधिवेशन चाँडै गरेर नयाँ शसक्त जिल्ला कार्यसमिति गठन गरिने वरिष्ठ उपाअध्यक्ष विवेक लिम्बूले बताए । संघीय लिम्बुवान राज्य प्राप्तिको मूल नारा लिएर पूर्वी नेपालमा क्रियाशिल मुख्य पाँच वटा छुट्टाछुट्टै लिम्बुवान पार्टी एकीकरण भएको छ ।

वास्तविक सवाल र चुरे संरक्षणको विषय – सम्पादकीय

यतिबेला सरकारले खोलानालाबाट बालुवा, गिटी, ढुङ्गा दोहनमा रोक लगाएको अवस्था छ । यसले चुरे संरक्षण कार्यक्रमको सन्दर्भमा कति महत्व राख्छ त्यो एउटा पाटो हो । सँगसँगै मुलुकको प्रकृतिक स्रोतको व्यवस्थापनका लागि पनि महत्वपूर्ण निर्णय गर्न सक्ला । त्यो अर्को महत्वपूर्ण उपलब्धि हुन सक्छ । तथापि नारा मात्रको चुरे संरक्षणको विषय खेलाँचीपनाको पनि चरम मनोमनी बन्दै गएको यथार्थ आजको लज्जाजनक विषय हो । चुरे संरक्षणलाई मुलुकमै पहिलो पटक स्थापित संस्था राष्ट्रपतिको कार्यालयको गरिमा समेतलाई जोडिनु आफैमा गर्वको विषय हो । कुनै समय सरकारी स्वामित्वका वनहरुको नामाकरण र अधिकरण रानीवनका रुपमा राज्यले एकलौटी दवदवा कायम गरेको तथ्य हाम्रालागि नौलो विषय होइन । त्यस्तै चारकोशे झाडीका रुपमा नेपालको वन सम्पादामाथि सत्ता पक्षले एक्लौटी दादागिरी जमाएको पञ्चायती अवस्थाका बारे पनि नेपाली जनताले नबुझेको विषय केही पनि छैन । तथापि नेपालको वन सम्पादाको संरक्षणमा राज्य पक्षले दावी अनुसारको उपलब्धि प्राप्त गर्न सकेन । तत्कालीन सत्ताले यस कार्यमा ठोस उपलब्धि हात पार्न सकेन । जसको फलस्वरुप मुलुकमा तस्करहरुको दादागिरी र मनोमानी बढेर गयो ।
यतिबेला चुरे संरक्षणको सवालमा पनि राष्ट्रपतिको नामाकरण गरिएको अवस्था छ, तर यो अवस्थामा खोलानाला दोहनको विषय दिनानुदिन गम्भीर बहसको विषय बन्दै गएको छ । चुरे संरक्षणका विषयमा जति हल्ला बजारमा आएको छ, यथार्थ त्यो मात्रै सत्य होइन । चुरे संरक्षण हुनु हुँदैन भन्ने विषयमा कसैको पनि विमति छैन । तथापि चुरे विनाश भएको सत्यका अर्थमा खास विषय र मुद्दा के हो ? कसले यस प्रकरणमा चलखेल गरिरहेको छ ? यो यथार्थको खोजी आजको आवश्यकता हो ।
नदीनाला, खोलामा बालुवा, गिटी, ढुङ्गा उत्खननमा राज्यले रोक लगाएको एउटा विषय जायज हुन सक्छ । तथापि, यो कार्यको रोकटोकले आम मजदुर वर्गलाई कस्तो असर परिरहेको छ ? त्यस बारे गहन विश्लेषण हुन जरुरी छ । रोजीरोटी नै खोनानालामा बाुलुवा र गिटी उत्खनन गरेर र ढुङ्गा बटुलेर चलाउने वर्गलाई यो सरकारी निर्णयले पारिरहेको असर आज मूल्याङ्कन हुन सकिरहेको छैन । समस्या चुरेको जोखिम मात्रै प्रमुख होइन । समस्या रोजीरोटीको पनि हो । आधारभूत तहका जनतालाई मार्कामा पारेर र उनीहरुको पेटमा लात हानेर सरकारले गरेको निर्णयको तुक छैन । सर्वप्रथम आधारभूत जनताको आर्थिक अवस्थालाई बेवास्था गरेर नाराका भरमा खोलानाला नियन्त्रण र कब्जा गर्ने सरकारी नीति गलत छ । यो कार्य सर्वत्र विरोधको विषय हो ।
चुरेको संरक्षणको सवाल राष्ट्रपतिको नाम जोडे पनि महत्वपूर्ण हो नजोडे पनि त्यसलाई उत्तिकै महत्वमा राखेर नीति निर्माण गर्न तथा योजना तय गर्न सकिने विषय हो । अर्कोकुरो भारतमा हुँदै गरेको बालुवा, गिटी र ढुङ्गा निकासीको कार्यलाई राज्यले कडाई गर्न सक्दा चुरे संरक्षणको सवाल आफैमा आधा भन्दा बढी नियन्त्रण भएर जाने विषय हो । यसर्थ पनि यो विषयलाई सरकारी पक्षले गहन विश्लेषण गरेर नीति निर्माण गर्न जरुरी छ ।
चुरेको संरक्षणका नाउँमा पहुँच हुने र सक्नेले मनोमानी गर्ने अनि आधारभूत स्तरका जनतालाई चाँहि मारमा पार्ने सरकारी नीति जायज छैन । वास्तवमै चुरे क्षेत्रको संरक्षणलाई गम्भीर रुपले लिएर सरकारी पक्षले यो नीति लिएको हो भने सर्वप्रथम खोला क्षेत्रमा काम गरेर जीविकोपार्जन गर्ने जनताको हितमा नीति निर्माण हुन जरुरी छ । उनीहरुको चित व्यवस्थापनपछि मात्रै अन्य विषयमा गरिएको सरकारी निर्णयले सार्थकता पाउने निश्चित छ । यो विषयमा सरकारले गम्भीर हुने कि !

सहकारीमा सुविधाहरू र राज्यलाई कर योगदान

नेत्रप्रसाद घिमिरे

यस आ.व.मा मात्र नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले १ करोड ५० लाख कर राजस्व राज्यलाई योगदान गर्नुले सहकारीले समाज विकासमा गर्ने योगदानको आँकलन गर्न सकिन्छ । त्यसै गरी मेची सहकारी संस्था लि.दमक र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.प्रत्येकले करिब ३० लाख राज्यलाई करराजस्व योगदान गरेका छन् । डाँफे दमक, राष्ट्रिय बहुमुखी दमक, कंचनजंघा दमक प्रत्येकले १४ लाखको दरले करराजस्व राज्यलाई योगदान गरेको देखिन्छ । झापाका सहकारीहरूबाट करिब १ करोड ६० लाख रकम आयकरको रुपमा मात्र राज्यलाई योगदान भएको छ ।

 ---------------------------------------------------------------------------------------------------------------------
सहकारी संस्थाहरूको विकास मुलुकको विद्यमान आर्थिक आइडोलोजीमा निर्भर रहन्छ । नेपालमा सहकारी सहितको तीन खम्बे अर्थनीति अवलम्बन गरिएको छ । कुनै मुलुकमा सहकारी संस्थाहरू स्वःस्फूर्त रुपमा सञ्चालन भएका छन् भने कुनै मुलुकमा सरकारको सक्रियतामा र छुटसुविधाका नीतिहरू मार्फत प्रोत्साहन गरेर सञ्चालन भएका छन् । कुनै पनि व्यवसायलाई प्रोत्साहन गर्ने कि नगर्ने भन्ने कुरा राज्यको कर प्रणालीमा निर्भर गर्दछ । खास गरेर नेपाल जस्तो विकासशील मुलुकहरूमा सहकारी संस्थाहरूलाई कर सुविधा, आर्थिक सुविधा, मूल्य नीति मार्फत सुविधा र पूर्वाधार सुविधाहरू उपलब्ध गराइ सहकारीहरूलाई प्रोत्साहन गरेको पाइन्छ । सहकारी ऐन, २०४८ को दफा ३८ ले सहकारी संघ संस्थाहरूलाई छुट सुविधा प्रदान गरिएको छ । जसअन्तर्गत अचल सम्पत्ति लेनदेन, खरिद बिक्रि गर्दा रजिष्टे«शन दस्तुर पूर्ण रुपमा छुट दिन सकिने तथा सहकारीले सञ्चालन गरेका उद्योगहरूका लागि चाहिने आवश्यक सामान वस्तुहरू, कच्चा पदार्थहरूमा लाग्ने भन्सार शुल्क, अन्तःशुल्कको समेत छुट दिन सकिने उल्लेख छ ।
आयकर ऐन, २०५८ को दफा ११ बमोजिम सहकारी ऐन अन्तर्गत दर्ता भई सञ्चालित कृषिमा आधारित सहकारीहरू, साना तथा कुटीर उद्योग सञ्चालन गर्ने सहकारीहरू र नगरपालिका बाहिरका बचत तथा ऋण सहकारीहरूलाई समेत २० प्रतिशत आयकर छुट तथा ५ प्रतिशतमा लाग्ने लाभांश कर समेत छुटको व्यवस्था गरिएको छ । सहकारी कानुनले सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूको हितका लागि एवम् समाज, देश विकासका लागि शिक्षा, स्वास्थ्य सुविधाहरू प्रदान गर्न, एक आपसमा भाइचारा, सद्भाव, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आदि कार्य सञ्चालन गर्न अनिवार्य रुपमा विभिन्न उपसमिति गठन गरी त्यसमार्फत त्यस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । यस्ता कार्यका लागि संस्थाले बाध्यात्मक रुपमा विभिन्न कोषको व्यवस्था गर्नुपर्ने हुन्छ ।
नेपालमा हाल करिब ३० हजारको संख्यामा सहकारी संस्थाहरूमध्ये करिब ५० प्रतिशत सहकारी संस्थाहरूले प्यान दर्ता नगरी अर्थात करको दायरामा नआई सञ्चालन हुँदै आएको आन्तरिक राजस्व विभागको तथ्याङ्कले बताउदँछ । यसरी प्यानमा दर्ता नगर्ने सहकारी संस्थाहरू प्राय ग्रामीण भेगमा छन् । आन्तरिक राजस्व विभागबाट दुई वर्षको आयविवरण पेश गरी बिना जरिवाना प्यान लिन यही मंसिरसम्म (२०७१) छुट सुविधा सहकारीलाई दिइएको निर्देशन जारी गरेको छ । सबै सहकारीहरूलाई करको दायरामा ल्याउन प्यान दर्ता गराउन मनासिब देखिन्छ । प्यानमा दर्ता हँुदैमा कर तिर्नै पर्दछ भन्ने बुझाइ गलत हो । नगरपालिका बाहिरका सहकारी संस्थाहरूले टीडीएस करकट्टी ( ले.प.शुल्क कर लगायत) बाहेक अन्य कर तिर्नुपर्दैन । सहकारी संस्थाहरू आर्थिक कारोबार गर्ने संस्था मात्र नभई सरकारले समाज, देश विकास गर्ने तथा जनताप्रति गर्नुपर्ने दायित्व, जिम्मेवारीलाई सहयोग पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक खम्बा हुन् भन्नेमा दुईमत नहोला । सहकारी ऐनको मनसाय नै सहकारी संस्थाहरू नाफा आर्जन गर्ने व्यापारिक संस्था मात्र नभई त्यो भन्दा महत्वपूर्ण समुदायको हितलाई सर्वोपरि राखी विशुद्ध सेवाको भावनाबाट कार्य सञ्चालन गर्नुपर्दछ भन्ने हो । निम्न आयवर्गका मानिसको सामाजिक, सांस्कृतिक, शैक्षिक विकास गर्ने र रोजगारी तथा गरीबी निवारणको क्षेत्रमा सहकारीले काम गर्ने भएकाले सरकारबाट अन्य व्यवसायिक नाफामूलक निकायहरूलाई गरेसरह नीति नियम लागू गर्नु पक्कै पनि उचित देखिँदैन ।
कर सुविधाः– सहकारी ऐन, २०४८ को दफा ३८ ले सहकारी संघ संस्थाहरूलाई सहकारीको मुनाफामा, सदस्य लाभांशमा, घरबहालमा र स्थानीय करमा छुट सुविधा प्रदान गरिएता पनि सहकारीमा गैर सदस्य कारोबार भएको देखिएकाले वि.सं. २०५८ को आयकर ऐनले तोकिएका ठाउँका निश्चित सहकारीहरूलाई विभिन्न किसिमका कर लाग्ने प्रावधान गरिएको पाइन्छ । सो कर प्रणालीलाई हरेक वर्षका बजेटसंगै आउने आर्थिक ऐनहरूले अद्यावधिक गर्ने प्रचलन रहेको छ । सहकारीहरूले आर्थिक व्यवसायबाट कमाएको मुनाफामा शुरुमा ३० र हाल २० प्रतिशत आयकर र सोमा थप २ प्रतिशत स्थानीय सेवा शुल्क कर तथा ५ प्रतिशत सदस्य लाभांश कर, बैंकबाट प्राप्त गर्ने ब्याजमा १५ प्रतिशत संस्थागत ब्याज कर, ग्रामीण क्षेत्रमा सदस्यले वार्षिक २५ हजार भन्दा बढी ब्याज प्राप्त गरेमा शुरुमा ६ र हाल ५ प्रतिशत ब्याज कर तर शहरमा यो सीमा छैन, शुरुमा १० र हाल १३ प्रतिशत मूल्य अभिवृद्धि कर, शुरुमा १५ र हाल १० प्रतिशत घरभाडा कर, स्रोतमा कर कट्टी टीडीएस (जस्तै १५ प्रतिशत लेखापरीक्षण शुल्क कर, १५ प्रतिशत पारिश्रमिक कर, १ प्रतिशत सामाजिक सुरक्षा कर आदि) जस्ता कर सहकारीले राज्यलाई योगदान गर्नुपर्दछ । यी नगरपालिकामा बचत तथा ऋणको कारोबार गर्ने सहकारीले सबै किसिमका कर तिर्नुपर्दछ भने ग्रामीण क्षेत्रका र उत्पादनमूलक सहकारीले स्रोतमा कर कट्टी टीडीएस मात्र तिरेपुग्दछ । जस्तै कृषि उद्योग, फलफूल उद्योग, पशुपालन, डेरी उद्योग, कुखुरा तथा मत्स्यपालन, तरकारी खेती तथा प्रशोधन उद्योग, उन्नत बिउबिजन उत्पादन उद्योग, मौरीपालन, रबर खेती, जडिबुटी खेती तथा प्रशोधन उद्योग र ग्रामीण बचत तथा ऋणको कारोवार गर्ने आदि सहकारी समेतले स्रोतमा कर कट्टी टीडीएस मात्र तिरे पुग्दछ अन्य कर तिर्नु पर्दैन तर प्यानमा दर्ता भने अनिवार्य हुनुपर्दछ अन्यथा कारवाहीको भागी बन्नुपर्दछ । यस आ.व.मा मात्र नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले १ करोड ५० लाख कर राजस्व राज्यलाई योगदान गर्नुले सहकारीले समाज विकासमा गर्ने योगदानको आँकलन गर्न सकिन्छ । त्यसै गरी मेची सहकारी संस्था लि.दमक र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.प्रत्येकले करिब ३० लाख राज्यलाई करराजस्व योगदान गरेका छन् । डाँफे दमक, राष्ट्रिय बहुमुखी दमक, कंचनजंघा दमक प्रत्येकले १४ लाखको दरले करराजस्व राज्यलाई योगदान गरेको देखिन्छ । झापाका सहकारीहरूबाट करिब १ करोड ६० लाख रकम आयकरको रुपमा मात्र राज्यलाई योगदान भएको छ । राज्यलाई कर योगदान गर्ने प्रणालीले सहकारीहरूलाई पारदर्शी र जबाफदेही बन्न प्रेरणा समेत प्रदान गर्दछ ।
आर्थिक सुविधाहरूः– सहकारी ऐनले सहकारीले अचल सम्पत्ति बाहेक गरेका कारोबार सम्बन्धी लिखित रजिष्टे«शन गर्नु नपर्ने, अचल सम्पत्तिको लेनदेन वा खरीद बिक्रि सम्बन्धी कागजपत्र वा कुनै किसिमको लिखतमा आय टिकट दस्तुर र रजिष्टे«शन दस्तुर नलाग्ने जस्ता छुट सुविधा दिइएको छ । आयकर ऐनले सहकारीले उत्पादन र सेवा प्रयोजनका लागि आयात गर्ने मेसिन, उपकरण, कृषियन्त्र, कच्चा पदार्थ, कार्यालय उपकरण र ढुवानी साधनहरूमा लाग्ने भन्सार महशुल वा बिक्रिकर तथा सहकारीले उत्पादन गरेका माल सामानमा लाग्ने अन्तःशुल्क समेत सहकारी सिद्धान्तभित्र रहेर कार्य गरेका सहकारीलाई प्रचलित कानुन बमोजिम पुरै वा आंशिक रुपमा छुट दिन सकिने व्यवस्था गरेको छ । सहकारीले औद्योगिक व्यवसाय गरेमा कानुन बमोजिम उद्योगले पाए सरहको अन्य छुट सुविधा संरक्षण समेत सहकारीले पाउने प्रावधान गरिएको पाइन्छ । यस्ता व्यवस्थाले सहकारी अभियान निकै लाभान्वित हुन सक्दछन् । सेयर सदस्यलाई कर्जा लगानी गर्दा धितोको दृष्टिबन्धकमा सेवा शुल्क बाहेक रजिष्टे«शन दस्तुर नलाग्ने व्यवस्था गरिएको छ ।
मूल्य नीतिः– सर्वसाधारण उपभोक्ता र किसानहरूलाई गुणस्तरीय सरल र सहज मूल्यमा रासायनिक मल, चिनि, नून जस्ता वस्तुहरू सहकारी मार्फत निश्चित अनुदानमा निर्धारित कम मूल्यमा सहकारी मार्फत विक्रि वितरण गर्नुपर्ने नीति हाल सरकारले लिएको देखिन्छ ।
सहरी इलाकाका केही सहकारीहरूले सहकारीको भावना, मर्मविपरित आफ्ना सेयर सदस्यहरू तथा समाजलाई समेत लाभ, सुविधा नदिई दुई चार जना व्यक्तिहरूको स्वार्थ पूर्ति गर्ने उद्देश्यले मात्र सञ्चालन भइरहेको आरोप लाग्ने गरेको छ । यस्ता संस्थालाई गल्ती अनुसार कारबाही गर्नुपर्दछ वा थप कर लगाउनु पर्दछ । तर त्यस्ता सहकारीहरूलाई आधार बनाएर आयकरको व्यवस्था गरिएको हो भने सहकारी भावना मर्म र सिद्धान्त अनुसार सञ्चालित बहुसंख्यक सहकारीहरूलाई न्याय भएको पक्कै मानिदैन । कर नै अनिवार्य गरिने हो भने सहकारी सिद्धान्तको परिपालना, ठाउँ र कारोवार अनुसार सहकारीहरूलाई वर्गीकरण गरी उचित र न्यायसंगत कर प्रणाली लागू गरिनु पर्दछ भन्ने वास्तविक सहकारीकर्मीको भावनालाई सम्बोधन गर्न जरुरी भैसकेको देखिन्छ । आगामी दिनमा एउटाले विराउने सारा पिराउने प्रवृत्ति अन्त्य गर्ने हो भने सरकारी सहकारी प्रशासनलाई प्रभावकारी र गतिशील बनाइ सहकारीमा विधिको शासन स्थापना गर्न ढिलाइ गर्ने हो राज्यले महंगो मूल्य चुक्ता गर्नुपर्ने स्थिति देखिन्छ । हाम्रो मुलुकमा जनतामाथि हुने आर्थिक तथा सामाजिक शोषणलाई अन्त्य गरी आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्य राखेर स्वःस्फूर्त रुपमा सहकारी संस्थाहरू स्थापना भइ सञ्चालन भैरहेका छन् । सहकारी अभियान समाज समुदायमा भईरहेका र हुने आर्थिक तथा सामाजिक शोषणलाई अन्त्य गरी प्रजातान्त्रिक समाजको स्थापनामा संलग्न भईरहेका समुदायमा आधारित सहकारीहरूको आयमा सामाजिक न्यायको दृष्टिकोणबाट पनि कर, शुल्क, छुट दिनु न्यायसंगत हुने देखिन्छ ।
(लेखक डिभिजन सहकारी कार्यालय झापाका सहकारी अधिकृत हुन्)

सरकारलाई बुझाए मेची सहकारीले ३० लाख कर

दमक/झापाको दमकको मेची सहकारी संस्थाले सरकारलाई कर तिर्ने जिल्लाभरको पहिलो सहकारी संस्था भएको दाबी गरेको छ । संस्थाले २९ लाख ८२ हजार ७ सय ४१ रुपैयाँ कर बुझाएको जनाएको छ ।
बुधवार संस्थाले पत्रकार सम्मेलन गर्दै जिल्लामा उत्कृष्ट कारोबार गर्ने सहकारी संस्था र धेरै कर तिर्ने सस्था भएको दाबी गरेको छ । संस्थाले ४० करोडको कारोबार गरेको छ ।  संस्थाको १८ औँ बार्षिक उत्सव तथा २० आँै साधरणसभाका बारेमा जानकारी दिन गरिएको कार्यक्रममा क्यान्सर पिडित सदस्यहरुलाई सहयोग, सदस्यका सन्तान प्राविधिक बिषय अध्ययनका लागी सरल कर्जा दिने निति अबलम्बन गरिएको संस्थाका अध्यक्ष रोमनाथ ओलीले जानकारी दिए ।
संस्थाले ज्येष्ठ सदस्य, एकल महिला सदस्यहरुलाई बिगत देखि भत्ता प्रदान गर्दै आएको छ । त्यस्तै सदस्यहरुलाई दुर्घटना बिमा, एम्बुलेन्स छुट सेवा पनि दिइँदै आएको संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले
जानकारी दिए । संस्थाले यसै बर्ष देखि संस्थाका पूर्व अध्यक्ष गणेश बस्नेतको स्मृतिमा सहकारी अभियान्ता पुरस्कार र पत्रकारीता पुरस्कार प्रदान गर्ने भएको छ । यस बर्षको पुरस्कारबाट मोरङ इटहराका सहकारीकर्मी केशव पोखरेल र  सप्तरङगी एफ एफ दमकका सम्पादक चेतन अधिकारी आगामी भदौ १२ गते  पुरस्कृत हुने भएका छन् ।
त्यसैगरि बुधवार नै संस्थाले साधरणसभाको प्रतिवेदन सदस्यहरुका बीच सार्वजानिक गरेको छ । कार्यक्रममा राष्ट्रिय सहकारी संघका निबर्तमान सदस्य रामचन्द्र उप्रेतीले सहकारीका आयाम सहकारी व्यवस्था लगायतका बिषयमा  बोलेका थिए ।  जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानियाँले सहकारीका माध्यमबाट समाजिक सेवा र आर्थिक उपार्जन गर्नका लागी मेची सहकारी उदारहण भएको बताए ।
सहकारीको २० औँ साधरणसभा तथा १८ औँ बार्षिक उत्सवका अबसरमा आयोजना गरिएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सदस्य होमबहादुर थापा, झापा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तुलाराम न्यौपाने, सहकारी समन्वय समिति क्षेत्रनम्बर ७ का संयोजक प्रेम कोइराला लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष रोमनाथ ओलीले प्रतिवेदन सार्वजानिक गरेका थिए ।
साधरणसभाकै अबसरमा   भएको कार्यक्रममा महिलाहरुको पाठेघर खस्ने समस्याका बिषयमा अन्तकृया समेत गरिएको छ । आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी प्रमुख सकुन्तला चापागाइँले सहजीकरण गरेकी थिइन् ।  कार्यक्रममा महिलाहरुको पाठेघर सम्बन्धी समस्या र उपचारका बिषयमा जानकारी गराइएको थियो ।

मेचीले डिपार्टमेन्ट चलाउने
दमक/ झापाको दमकस्थित मेची सहकारी संस्थाले छुट्टै डिपार्टमेन्टल स्टोर्स सञ्चालन गर्ने तयारी गरेको छ । आफना शेयर सदस्यहरु मार्फत संस्थाले सुविधासम्पन्न डिपार्टमेन्टल स्टोर्स सञ्चालन गर्ने तयारी गरेको छ । आफना शेयर सदस्यहरुलाई बढी भन्दा बढी सेवा सहुलियत रुपमा बिक्री गराउन सहकारीले ब्यवस्थित डिर्पाटमेन्टल स्टोर्स
सञ्चालन गर्न योजना अघि ल्याएको हो । दैनिक किनमेलमा आफना शेयर सदस्यहरुलाई एकै ठाँउमा खाद्य सामाग्री उपलब्ध गराउन संस्थाले पहल थाल्ने संस्थाका अध्यक्ष रोमनाथ ओलीले जानकारी दिए । उनले भने–‘आफना शेयर सदस्यहरुलाई लक्षित गरि यस्ता कार्यक्रम सञ्चालन गर्न लागेका हौँ ।’
संस्थाले यो वर्ष २ करोड रुपैयाँ विनीयोजन गरेको छ । विनीयोजित रकम आसन्न साधारणसभामा प्रस्तावका रुपमा लैजाने संस्थाका ब्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिए ।  डिपार्टमेन्टल स्टोर्स तर्फ आम उपभोक्ताहरुको आर्कषण बढीरहेको वेला सहकारीले नयाँ अवधारणामा डिर्पाटमेन्टल स्टोर्स चलाउन पहल थालेका हुन् ।

छिट्टै पार्टी एकीकरण : नेता परियार

दमक/राष्ट्रिय जनमुक्ति पार्टीका स्थायी कमिटी सदस्य राम परियारले संघीय समाजवादी पार्टी संग छिट्टै पार्टी एकीकरण हुने बताएका छन् । पार्टीले गठन गरेको वार्ता टोलीका सदस्य समेत रहेका नेता परियारले दुवै पार्टी एकीकरणका लागि अन्तिम तयारी थालिएको बताए ।
 ‘दुवै पार्टीको मुद्दा एकै प्रकृतिका भएकाले पार्टी एकीकरणको पहल लगभग पूरा हुन लागेको उनको भनाई थियो । जनमुक्ति समाजवादी संग बिलय हुन लागेको हो त ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा नेता परियारले भने –‘दुवै पार्टी भित्र एकीकरणको अन्तिम तयारीमा पुगेका छौँ, त्यसलाई विलय भन्नु हुदैन् ।’ उनले संघीयता, धर्म निरपेक्षता जस्ता मूल मुद्दा जनमुक्ति पार्टीले उठाएको चर्चा गर्दै अहिले त्यस एजेण्डा सवै पार्टीको मुख्य एजेण्डा भएको जिकीर गरे ।
बुधबार दमकमा जनमुक्ति पार्टी नगर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता परियारले राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न मूल मुद्दा एकै बोकेका पार्टीहरुमा एकता जरुरी समेत भएको प्रष्टयाए । पार्टीका जनसंगठन राष्ट्रिय दलित मोर्चाका
केन्द्रिय अध्यक्ष समेत रहेका नेता परियारले बैकल्पीक शक्ति निर्माण गर्न पार्टी एकताको पक्षमा पार्टी उभिएको स्पष्ट पारे । झापाको सुरुङामा आज हुने पार्टीको वैठकमा सहभागी हुन् आएका नेता परियारले मोर्चाले आउँदो भदौ १७–१९ सम्म राष्ट्रिय महाधिबेशन नवलपरासीको बर्दाघाटमा हुन लागेको समेत जानकारी दिए । त्यस अवसरमा पार्टीका संघीय परिषद सदस्य पदम जवेगु, नगर सचिव सुक बहादुर सोदेम्बा लगायतको सहभागीता रहेको थियो ।

मजदुरको बिरोध प्रदर्शन

दमक/सरकारले खोलाहरुबाट निर्माण समाग्री निकाल्न रोक लगाएको बिरोधमा बुधवार  झापाको दमकमा मजदुरहरुले बिरोध  प्रदर्शन गरेका छन् ।
सरकारले रोक लगाउँदा मजदुरहरुको रोजीरोटीको समस्या भएको भन्दै तत्काल फुकुवा गर्न माग गरेका थिए । बुधवार कन्काइ माई ट्याक्टर संघ दमकको कार्यालयबाट शुरु भएको र्यालीले दमक नगर परिक्रमा गरि सभामा परिणत भएको थियो । स्वतन्त्र निमार्ण व्यवसायी संघ, जिफन्ट झापा, झापा कन्काइ माइ ट्याक्टर संघ, सम्पुर्ण मजदुर ट्याक्टर व्यवसायी सघर्ष समितिले गरेको ¥यालीमा खोला तथा नदीबाट तत्काल निमार्ण समाग्री ढुवानी फुकुवा गर्न माग गरिएको थियो ।
दमकको मुख्य चोकमा सभामा नेपाली कांग्रेस नगर सभापति ढुण्डीराज भण्डारीले खोलाबाट बालुवा गिटी निकाल्न नदिएर मजदुरको पेटमा लात हानेको  आरोप लगाए । यो निर्णय कसैको लागि हितकारी नभएको उनले बताए ।  एमाले नगर अध्यक्ष अम्बिका खनालले सरकारले मजदुर मारा निती ल्याएको बताए ।  सरकारले चाँडो आफनो निर्णय सच्चाउनु पर्ने उनले बताए ।  संघर्ष समितिका संयोजक चन्द्र गजमेरले चुरे सरक्षणका नाममा अवैज्ञानिक निर्णय गरेको र तत्काल सच्याउन माग गरेका थिए । उनीहरुले बिकास निमार्णका लागी चाहिने सामाग्री समेत ढुवानी नहुदाँ समस्या भएको बताएका थिए ।

चियामा कर वृद्धिको विरोध

इलाम/तयारी चियाका लागि जिल्ला निकासी करमा अत्यधिक वृद्धि गरिएको भन्दै इलामका चिया व्यवसायी विरोधमा उत्रिएका छन् ।
जिल्लाका अधिकांश कारखानाले कर वृद्धिले व्यवसाय सङ्कटमा पर्ने जनाएका छन् । जिल्लाका २९ सानाठूला चिया कारखानाले मङ्गलबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका छन् ।
एकै पटक सय प्रतिशत कर वृद्धि गर्दा चिया उद्योगी, व्यापारी, साना किसान, कर्मचारी, मजदुरलगायत प्रभावित भएको विरोधपत्रमा उल्लेख छ । गएको वर्ष तयारी चियामा प्रतिकिलो एक रूपैयाँ निकासी रहेकामा यो वर्ष प्रतिकिलो दुई रूपैयाँ तोकिएको छ ।
जिल्ला विकास समितिले भने १० वर्षदेखि कर वृद्धि नभएकाले यो पटक वृद्धि गरिएको जनाएको छ । ‘१० वर्षदेखि मूल्य नबढाइएकाले एक रूपैयाँ मात्र वृद्धि गरेका हौँ’– जिविसका लेखाअधिकृत दिनेशकुमार पोखरेलले भने – ‘जिल्ला विकास योजना र परिषद्का समयमा बोलाउँदा नआउने, अहिले निकासी कर बढ्यो भन्नु भएन नि त ।’
चिया व्यवसायीले प्रतिकिलो ४० पैसा मात्र तिर्न सक्ने बताएका छन् । एउटै कारखानाले ठूलो परिणाममा चिया उत्पादन गर्दा
कर तिर्न मुस्किल हुने अन्तु टी प्रोड्युसर्स प्रालिका ओम काफ्लेले बताए । जिल्लामा वार्षिक ३५ लाख किलो तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ । उद्योगीले पनि करको बहानामा हरियो चियापत्तीको मूल्य कम दिने गरेको किसानको गुनासो छ । वृद्धि गरिएको कर पुनः मूल्याङ्कन नगरिए चिया व्यवसायीले कारखाना बन्द गरेर चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सुपारीको मूल्य बढ्दा किसान मालामाल

विर्तामोड/झापाको प्रशिद्ध नगदे बाली सुपारीको मूल्यमा चार गुणाले बृद्धि भएपछि जिल्लाका सुपारी कृषक उत्साहित बनेका छन् । अर्थमन्त्री रामशरण महतले बजेट मार्फत तेश्रो मुलुकबाट आयात हुने सुपारीको राजश्वमा वृद्धि गरेपछि नेपाली सुपारीले राम्रो मूल्य पाउँदा कृषक उत्साहित बनेका हुन् ।
सिंगापुरबाट नेपालमा सुपारी आयात हुँदै आएको थियो । भन्सार मूल्यकर वृद्धि भएपछि तेश्रो मुलुकबाट आयात नहुँदा सुपारीको मूल्यवृद्धि भएको हो । पाउँदै आएको मूल्यभन्दा चारगुणा बढी मूल्य पाएपछि लामो समयदेखि उचित मूल्य नपाएका नेपाली कृषकको मुहार नै फेरिएको छ । सोचेभन्दा बढी मूल्य पाएका उनीहरु सुपारी खेतीतर्फ आकर्षित बनेका छन् ।  यसअघि भन्सारले सुपारीमा ३० प्रतिशत कर लगाउँदै आएको थियो । तर, आर्थिक वर्ष २०७१÷०७२ मा नेपाल सरकारको अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटमा सुपारीको मूल्य प्रतिकिलो ४५ रुपैयाँ र १३ प्रतिशत कर लगाउने व्यवस्था गरेपछि स्वदेशमै उत्पादित सुपारीले चारगुणा बढी मूल्य पाएको हो ।  भन्सारले मूल्य तोकेरै सुपारीको कारोबार गर्ने नयाँ व्यवस्था गरेको पूर्वको काँकरभिट्टास्थित मेची भन्सार कार्यालय प्रमुख मुक्ति पाण्डेले जानकारी दिए । सिंगापुरे सुपारी आयात हुन छोडेपछि झापामा सुपारी कारोबार घटेको व्यापारीको भनाई छ ।
सिंगापुरबाट नेपाल ल्याइएको सुपारीलाई नेपालमा उत्पादन भएको टाँचा लगाउँदै भारतमा निर्यात गर्दा व्यापारीले मनग्यै आम्दानी लिँदै आएका थिए । नेपालमा उत्पादित सुपारीले नेपाली बजार थेग्नै नसक्ने जनाउँदै सिंगापुरबाट आयातीत सुख्खा सुपारी व्यापारीले भन्सारपछि विभिन्न माध्यमबाट सोझै भारतमा निर्यात गर्दै आएका छन् । उनीहरुले सिंगापुरे सुपारीमा नेपाली सुपारी मिसाउँदै चोरीको मार्गबाट भारत पु¥याउने क्रममा झापामा प्रहरी र सुपारी तस्करबीच वेलावेलामा झडप हुँदै आएको थियो । सुपारी तस्करी नियन्त्रण गर्न जिल्ला, अञ्चल तथा सीमा सुरक्षा बल काँकरभिट्टाको शसस्त्र प्रहरीलाई ड्युटीमा खटाउँदै आएको छ । नाका क्षेत्रमा पर्ने तस्करीको मूख्य चोर बाटो नकलबन्दा, बाहुँनडागी रोड लगायतका ठाउँमा हरेक सय मिटरको अन्तरमा एक जना प्रहरीलाई खटाएको छ ।
तस्करसँगको मिलेमत्तोमो काँकरभिट्टामा खटेका प्रहरी इञ्चार्जले लाइन खुलाए, अञ्चलबाट खटेको प्रहरीको टोली तथा शसस्त्र प्रहरीले नियन्त्रण गर्ने र अञ्चल प्रहरीले लाइन खुलाउँदा नेपाल प्रहरी र शसस्त्र प्रहरीले नियन्त्रण गर्ने क्रममा कयौं पटक झडप सिर्जना भई प्रहरीले गोली नै चलाउँदै आएको घटना धेरै छन् । सोही विषयलाई लिएर व्यापारीले जिल्लाका उच्च प्रशासन प्रमुखदेखि तत्कालिन गृहमन्त्री विजयकुमार गच्छदारसम्म सुपारीको लाइन खुलाउन आग्रह गरेका थिए । जिल्लामा नयाँ प्रहरी प्रमुख र सिडियो आउने  बित्तिकै शुरुमा सुपारीमै नजर पुग्ने गरेको छ । नयाँ प्रमुख आएपछि सुपारीको सेटिङ नमिलुन्जेल तस्करलाई हैरान नै हुने गन्थ्र्यो । एक सुपारी व्यावसायीले भने –‘जे–जति कमाउनुथ्यो, पहिले नै कमायौँ, अव विगतको जस्तो छैन –‘ व्यावसायीले सिंगापुरबाट कमसल मूल्यमा सुपारी आयात गर्ने र प्रतिकिलो ४० रुपैयाँबढी मूल्यमा बिक्री गर्दै आएका छन् ।
सुपारी उत्पादनमा केन्द्रित हुँदा धेरै आम्दानी लिन सकिने व्यवसायीको सुझाव छ । व्यावसायीले सुपारीको फूल हेर्दै कृषकलाई पेश्की दिन थालेका छन् । अघिल्ला वर्षमा नेपालमा उत्पादित सुपारीले राम्रो मूल्य नपाउँदा कृषक चिन्तित बनेका थिए । केही सुपारी कृषकले त्यसको विकल्प सोच्दै विरुवा र बोट नै मास्न थालेका थिए । तर, यसअघि २०५६ सालमा कृषकले उत्पालन गरेको सुपारीको मूल्य वृद्धि भएपछि धेरैको ध्यान सुपारी खेतीमा परेको थियो । पछि एक्कासी उत्पादित सुपारीको मूल्य घटेर प्रतिकिलो ५ रुपैयाँसम्म भएपछि कृषकले खेतीको विकल्पमा अन्य खेती गर्न शुरु गरेको उनीहरुको भनाई छ  । तर, ३५ सयदेखि ५ हजारसम्म लिँदै आएको सुपारीबाट हाल २० हजार पाएपछि आफू उत्साहित बनेको मेचीनगर –२ का ललीत भट्टराईले बताए ।
झापाका कृषकको घर–आँगनमा सुपारीको बोट हुन्छ । जिल्लामा ३ हजार ६ सय, ३१ हेक्टर क्षेत्रफलमा सुपारी खेती हुँदै आएको छ । वार्षिक ९ हजार ७ सय १३ मेट्रिक टन उत्पादन हुने गरेको  नेपाल सुपारी खेती विकास संस्थानका महासचिव निलकण्ठ तिवारीले बताए । उनका अनुसार संस्थाले सुपारी प्रशोधन केन्द्र स्थापना गरी स्वादेशमै प्रशोधित सुपारी उत्पादन गर्न थालेको छ । हाल सुपारीको मूल्यवृद्धि भएपछि एउटा सुपारीको बोटबाट कृषकले ४ सय रुपैयाँसम्म आम्दानी लिने गरेको तिवारीको भनाई छ । जिल्लामा दर्जनबढी सुपारी प्रशोधन केन्द्र स्थापना भएका छन् । तिवारीले भने–‘प्रशोधन केन्द्र स्थापना हुनुअघि नेपाली सुपारीको बजार राम्रो थिएन । तर, प्रशोधन केन्द्र स्थापनापछि कृषक ठगिएका छैनन् ।’ उनीहरुले प्रशोधन केन्द्रले तोकेको मूल्य पाउँदै आएका छन् । एउटा प्रशोधन केन्द्रमा ५ देखि तीनदर्जन सर्वसाधारणले रोजगारी पाएको तिवारीको भनाई छ ।

लिङदेन इजरायल प्रस्थान

दमक/संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन एक हप्ते राजनैतिक भ्रमणको सिलसिलामा इजरायलतर्फ लागेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ इजरायल प्रवास समितिको विशेष निमन्त्रणामा लिङदेन त्यसतर्फ प्रस्थान गरेका हुन् । यही अगष्ट १५ तारिखका दिन इजरायलको तेलअभिवमा सम्पन्न हुने २० औं आदिवासी जनजाति दिवस कार्यक्रमको विशिष्ट आतिथिका रूपमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उनले जाँदाजाँदै बरिष्ठ उपाध्यक्ष रामभक्त कुरुम्बाङ्लाई पार्टीको काबा. अध्यक्षको जिम्मेवारी दिएका छन् । सो एक हप्ते बसाईमा मञ्चसम्बद्ध संघीय लिम्बुवान प्रवास कार्य समिति इजरायलको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

ब्रम्हाकुमारी राजयोगलाई जग्गा प्रदान

उर्लाबारी /मोरडको मधुमल्लामा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले भवन निर्माणका लागी जग्गा पाएको छ ।
मधुमल्ला ३ तोरीबारीका टेकबहादुर पौडेलले भवन निर्माणका लागी जग्गा दिएका हुन् । करिब ६ लाख रुपैयाँ मुल्य पर्ने एक कट्ठा जग्गा निशुल्क प्रदान गरिएको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मधुमल्लाकी प्रमुख बबिता बेहन्जीले जानकारी दिइन् ।  केन्द्रमा विभिन्न आध्यात्मिक कार्यक्रहरु हुँदै आएका छन् ।

कचहरी नाटक ‘घरेलु हिंसा’

उर्लाबारी/कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)को सहयोगमा मोरङको उर्लाबारीस्थित मेलमिलाप केन्द्रले समाजको हिंसाजन्य घटनालाई मेलमिलापमार्फत समाधान गर्ने कुरालाई उजागर गर्न कचहरी नाटक ‘घरेलु हिंसाु प्रदर्शन गरेको छ ।
घरेलु तथा महिला हिंसा र जातीय विभेद सम्बन्धि कचहरी नाटक उर्लाबारी –६ स्थित मंगलबारेमा मंगलबार प्रदर्शन भएको छ ।  केन्द्रले महिला तथा घरेलु हिंसा सम्बन्धि गाउँ टोलका समस्यालाई मेलमिलापको माध्यमबाट न्यायोचित हिसावले समाधान गर्न सकिने आफ्नो लक्ष्यलाई उजागर पार्न सो नाटक निर्माण गरेको केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी भण्डारीले बताइन् । उनले यसखाले नाटकको माध्यमबाट घरेलु समस्यालाई समाधान गर्दै आएको केन्द्रको उदाहरणलाई नाटकका माध्यमबाट समाजमा प्रस्तुत गरी हिंसा रहित समाज निर्माणमा पहल गर्ने बताइन् ।
दलित परिवारकी छोरी विवाह गरेका कारण पण्डित बाबुले घरबाट निकाला गरिदिन्छन् । डेरामा बसेर जागिर खोज्दा पनि जागिर नपाएको र गाउँ समाजले दलित केटी छोडिदिन दवाव दिएपछि केटाले रक्सि खाएर आई श्रीमती पिट्ने गरेको कथालाई नाटकमा समेटिएको छ ।
पत्रकार एवम् नाटककार भूपेन्द्र तिम्सिनाको लेखन र निर्देशन रहेको सो नाटक यसअघि शुक्रबार उर्लाबारी चोकमा समेत प्रदर्शन भएको थियो ।
नाटकमा, भूपेन्द्र तिम्सिना, सुवास खरेल, कमला लुईटेल गुरागाईं, विनोद पौडेल, शालिकराम सापकोटा र लक्ष्मी भण्डारीको अभिनय रहेको छ ।  कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) को सहयोगमा मोरङको उर्लाबारीस्थित मेलमिलाप केन्द्रले समाजको हिंसाजन्य घटनालाई मेलमिलापमार्फत समाधान गर्ने कुरालाई उजागर गर्न कचहरी नाटक ‘घरेलु हिंसाु प्रदर्शन गरेको छ ।

दमक बाल उद्यान र नगरपालिका - सम्पादकीय

झापाको दमकमा अत्यावश्यक मानिएको शान्ति बाल उद्यान निर्माणको काम बिगत छ वर्षदेखि अलपत्र परिरहेको छ । नगरमा हुने र भइरहेको विभिन्न खाले पूर्वाधार लगायत अन्य विकासका श्रृंखलाहरुको चढाइबढाइ चर्चा गर्ने निकाय दमक नगरपालिका कार्यालय, नगरपालिका कार्यालयमा सल्लाहकारका रुपले आमन्त्रित हुने राजनीतिक दल र तिनका नेता वा प्रतिनिधि लगायत सरोकारवालाहरुले दमक(१५ को शान्ति बाल उद्यानलाई चाँहि पूर्वाधार निर्माणका दृष्टिले हेर्न नचाहेको हो भने त भन्न सकिन्न तथापि यो योजनामा भइरहेको लापर्बाही र हेपाई वास्तवमै निन्दनीय छ । दमकमा बसोबास गर्ने इमानदार नागरिकहरुले यसतर्फ गम्भीर ध्यान दिन जरुरी छ । वास्तवमा यस्तो किन भइरहेको छ ?
पूर्वाधार विकासका दृष्टिले दमक(१५ मा निर्माण गर्दागर्दै लथालिङ्ग अवस्थामा छाडिएको बाल उद्यानको वास्तविकता के हो ? यो योजनाले दमक क्षेत्रको सामरिक महत्वलाई कति प्रभावकारिता प्रदान गर्न सक्दछ ? यतातर्फ ध्यान दिन सकेको भए छ वर्षदेखि यो योजना हाँसोको विषय नभइ चासोको विषय हुन सक्थ्यो । त्यति मात्रै नभएर यसको निर्माण कार्य समयमै सम्पन्न भएर दमक र आसपासका क्षेत्रका बालबालिकाहरुका निम्ति यो सबै भन्दा आकर्षणको केन्द्रविन्दु हुन सक्थ्यो । स्थानीय दाताहरुले डेढ बिगाह बढी जमिन बाल उद्यान निर्माणका लागि नगरपालिका कार्यालयका नाउँमा दान गरेको वास्तविकता जति महत्वपूर्ण र सान्दर्भिक छ, यो योजनामा गरिएको सरकारी बेवास्था र लाचारी उत्तिकै भत्र्सनायोग्य विषय हो । सम्बन्धित निकायहरुले हेक्का राखुन् । जनताको प्रत्यक्ष आवश्यकतासँग जोडिएको र त्यसमा पनि भोलिका भविष्य मानिने बालबालिकाहरुको अधिकारलाई समेत कुण्ठित गर्ने नियतको परकाष्ठ नबनोस् बाल उद्यान निर्माणको योजना ।
आवश्यक समयमा आवश्यक बजेट विनियोजन गरेर बाल उद्यान निर्माण गर्न दमक नगरपालिका कार्यालयलाई कुनै पक्षबाट रोकावट छ भने त्यसको हरसम्भव उपचार खोज्न आवश्यक छ । समाजका सबै निकाय, तह र तप्काले त्यस कार्यमा नपा कार्यालयलाई सघाउन सक्छ । तर, स्थानीयहरुको आक्रोश अन्य विषयहरुमा केन्द्रीत नभई नगरपालिकाकै ढिलासुस्ती र बेवास्थाप्रति लक्षित छ । यसको वास्तविकता के हो ? नगरपालिका जस्तो जनताको आशा, विश्वास र सरोकारको निकाय तथा राज्यको उपस्थिति हुने मध्येको सबै भन्दा आधारभूत इकाइ वा स्थानीय सत्ताबाटै जनतालाई उपेक्षा र हेयको दृष्टिकोण राखिनु किमार्थ जायज विषय होइन । यस्ता कमजोरीहरु सच्चिन जरुरी छ । समाजका सचेत नागरिकहरुले यस्ता कमजोरीहरु उपर औंला उठान कञ्जुस्याइँ गर्नु हुँदैन ।
बाल उद्यानको विषयले प्रष्ट पार्न खोजेको विषय अर्को पनि छ कि नगरवासी जनताले उनीहरुले तिरेको करको सही सदुपयोग उनीहरुलाई आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि खर्च हुन सकेको छैन । अथवा त्यसो गर्ने थालनीमा समेत हर किसिमले बखेडा झिकेर बिथोलिएको वा अवरोध पु¥याइएको छ । यस्तो गर्नु भनेको नगरपालिका कार्यालयलाई इमानदारिताका साथ कर तिर्ने मानिसहरुको हकलाई अंकुश लगाउने दुष्प्रयास पनि हो । न्यायका दृष्टिले पनि यो कार्य गलत छ ।
तथापि दमकको बाल उद्यान निर्माणका सन्दर्भमा सही विचार र विवेक प्रयोग गरेर कसले बोल्ने ? अहिलेसम्म, अथवा छ वर्षसम्म यस्तो बोलीको अपेक्षा र आशा गरेर यो उद्यान लथालिङ्ग भविष्यका साथ उपेक्षित छ । नगर र आसपास क्षेत्रका बालबालिकाहरुलाई प्रत्यक्ष लाभ मिल्ने, उनीहरुले विद्यालय विदाका समयमा खेल्न, पिकनिक मनाउन वा अन्य रचनात्मक कार्य गर्न तथा उनीहरुको व्यक्तित्व विकासका लागि समेत यो उद्यानको निर्माण पहिलो शर्त हो । सरोकारवाला निकायहरुलाई यसतर्फ गम्भीर बनेर लाग्न आग्रह र अनुरोध छ । गर्ने दायित्व पनि उसैको हो ।


गाईवस्तु पशु नभई मान्छे नै हुँदैछन्

टंक पाठक
पाडाजुङ्गीदेखि विशेष गरी माइधारसम्म पूर्व पश्चिम राजमार्ग अन्तर्गत सवारी साधनबाट बढी दुर्घटना भई राखेको कुरो हामी सर्वसाधारण जोकोहीले सुन्ने गरेकै छौं । दुर्घटना पनि दैनिक जसो भइराखेको छ । दुर्घटनामा केही लापर्बाही सवारी चालकबाट पनि भयो नै होला, तर बढी मात्रामा दुर्घटना हुने कारण पूर्व पश्चिम राजमार्ग दक्षिणपट्टिका गाउँ टोलमा बसोबास गर्ने मानिसका पाल्तु जनावरबाटै भएको कुरो प्रष्ट छ । भर्खरै मात्र मेरो एउटा विशेष कामले चन्द्रगढी जाने काम प¥यो र दमकदेखि कुनै एक बसमा चढी यात्रातिर लागेँ । जब पाडाजुँगीको सशस्त्र क्याम्प अगाडि पूर्वतिर बस लाग्यो राजमार्ग उत्तरतिरको वनमा गाईवस्तु बाख्रा खसी चराउनको लागि खुल्ला रुपले ती चौपायाहरूलाई लखेटेको देख्न थालियो । गोठालाका रुपमा पाँच छ वर्षदेखि वृद्धसम्मका र कोही निकै टाठाबाठासम्म देखिने महिला पुरुष देखिन्थे । ती बालबच्चालाई आफ्ना गाईवस्तु राजमार्ग कटाउन हम्मे हम्मे सम्म परेको देखिन्थ्यो । राजमार्गको आसपासमा अरु सुँगुर पाठाहरू पनि देखिन्थे । यो समय करिब बिहानको ९ बजेको अनुमान गर्न सकिन्थ्यो । गाडीको रफ्तार अगाडि बढ्दै थियो, विपरित दिशाबाट पनि विभिन्न किसिमका सवारी साधन ती चौपायालाई जोगाउँदै हुत्तिँदै आउने क्रम थियो । पूर्व जाने पनि अन्य सवारी साधन प्रशस्तै देखिन्थे । जब डुँडामारी के आउन लागेको मात्र थियो म चढेको गाडी एक्कासी ब्रेक लाग्यो । सबै पछिल्तिरका मान्छे हुत्तिए अगाडि आए, केही उत्तानो परेर पछारिए । केही घाइते भए भने चालक किंकर्तव्य मुढमा देखिन्थे । म चाँहि सीटमा बसेको हुँदा सामान्य दखलमात्र भोग्न पुगेँ । किन यस्तो भयो भन्ने हलचल हुँदा अलि अगाडितिर विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल उत्तानो परी लगेको र त्यसमा सवार गर्ने एक बालक र महिला सडकमा रक्ताम्मे भएर लडेको दृश्य देखियो र चालकको हात फ्याक्चर भएर होला, त्यो मोटरसाइकल अन्य मान्छेले उठाउँदै गरेको र ती घाइतेलाई अस्ताल लग्न अन्य सवारीसाधनलाई त्यहाँ उपस्थित केही मानिसद्वारा हार गुहार गरेको देखिन्थ्यो । त्यो घटना तिनै चौपाया पशुबाट भएको देखिन्थ्यो भने आफू चढेको गाडी पनि झण्डै पल्टेको त्यही कारण थियो । अनि बसमा असर परेका यात्रुबाट के आवाज गुञ्जिरहेको थियो भने, यहाँका पशुपालक मान्छे अपराधी हुन् । गाईवस्तु होइनन्, यहाँका मान्छे पशु हुन् । गाडीहरू आएको देख्दा देख्दै गुडुडु गाईवस्तु लखेट्तै बाटो कटाउने र अवरुद्ध पार्ने । गाई वस्तु सबैले पाल्छन् तर दुनियाँलाई दुःख दिएर किन पाल्नु ? बुद्धि सुद्धि सकिएकाहरू । एकजनाको मात्रै यस्तो भनाई थिएन, प्रायः सबै यात्रीहरूको आवाज एउटै थिथयो । मेरो पनि ती यात्रीहरूको भनाईप्रति मौन सहमति थियो । हाम्रो सवारी सधान प्रत्येक गौडा–गौडामा पशुहरूको अवरोधलाई जोगाउँदै माईधार पुग्यो र त्यसपछि गाडीले अलि रफ्तार लियो । अन्यत्र यस्तो पशुको अवरोध कतै पनि देखिँदैन थियो । घर दमकमा परेकोले चन्द्रगढीबाट तीन बजेको गाडी चढेर घरतर्पm आइयो । अन्यत्र कतै छैन, झिलझिले कटेपछि तिनै गाईवस्तु राँगा घरतिर फर्काउँदै गरेको दृश्य देखिन्थ्यो । अनि आफूलाई केही हिनताबोध हुँदै डर त्रास लाग्थ्यो, घर नपुगी कहीँ कतै दुर्घटना त हुँदैन ? मनमा घटनाका रङ्गीन तरङ्गहरू आउने गर्दथ्यो । 
केर्खा बजार कट्ने बित्तिकै हुँदै दिशातर्पmबाट आएका सवारीसाधन रोकिराखेका देखिन्थे । एउटा नेता जस्तो देखिने व्यक्ति अगाडि हात उठाउँदै अघि बढ्दै थियो । त्यहाँ पाँच सात जना कानमा मुन्द्रा लगाएका लामा लामा कपाल भएका युवा जस्ता देखिने मानिस गाडी रोक्दै थिए । हाम्रो गाडी पनि अलि पछि रोकियो । आवाज आउँदै थियो, चक्काजाम, चक्काजाम । किन के रहेछ भनी अलि अगाडि आएर म लगायत केही हाम्रा बसका यात्रीले हेर्न जाँदा एउटी महिलाले गाडीले मारेको एउटा बाख्राको पाठी लिएर कराइराखेकी थिईन् र यस्तो भनाई पनि आइरहेको थियो “यस पाठीको मोल पन्ध्र हजार तिर्ने भए गाडी खोलिन्छ, नत्र खोलिँदैन” । एक जना यात्रीले भने किन यस्ता मुला पाठीको दाम के को पन्ध्र हजार, पुलिस बोलाउनु पर्छ अब ?” ती महिलाले सबैले सुन्ने गरी भनिन्, मलाई मेरो पाठीको दश हजार ती गाडी रोक्ने भाईहरू नचिने पनि पाँच हजार मागेका छन् । अनि यो पाठीले कति बोका जन्माउँछ र ती बोकाको दाम कति हुन्छ ? म त्यसै छाड्दिनँ ? हामी त्यही हुँदाहुँदै एउटा भ्यानमा पुलिस आएको देखियो । त्यहाँ के भनाई सुनिन्थ्यो भने चक्काजाम गरेको २० मिनेट भयो, बल्ल पुलिस आए । यस्ता पुलिसले अनि के जनताको सुरक्षा दिन्छन् ? ढिलै पुलिस आएपनि मार्ने गाडीका चालकलाई के कति रुपैयाँ जरिवाना गराएर पाठी तिनै महिलालाई जिम्मा लगाएर डाङ्ग डुङ्ग गर्दै गाडी खोलेपछि हाम्रो गाडी पनि पश्चिमतर्पm बढ्यो र म पनि घर आइपुगेँ । स्मरण रहोस्, वास्तवमा यस प्रकारको घटना दिनानुदिन केही न केही, कुनै न कुनै प्रकृतिबाट ती स्थानहरूमा घटिरहेको चर्चा सुन्न पाइन्छ । यो वास्तविक र यथार्थ हो । यो क्षेत्र किन यस्तो छाडा पशुको व्यवहारले विभिन्न दुर्दशा व्यहोर्नुपर्ने ? वन विभागले आफ्नो सरकारी वनलाई गौचरनमा रुपान्तरित गर्दैछन् ? किन गाउँलेसँग कमिसनको खेती वन विभागले गरेको त छैन ? किन त्यहाँका मान्छे आफै पशु बन्दैछन् ? प्रत्येक दिनको घटना तिनीहरूले बुझेको छैन र ? किन सडक विभाग र प्रशासन मौन छ ? जब यस्ता घटना हुँदै गर्दा ? ती पशुपालन गर्ने महासयहरूले अरुलाई दुःख दिएर पशुपालन गर्दा मन सधैं शान्त हुन्छ ? सबैले पशुपालन गरेका छन्, पाल्नु पनि पर्छ तर आफ्नो क्षेत्राधिकार भित्र रहेर पाल्नुपर्छ । के त्यस्ता ठाउँको समाजको विवेक हुँदैन ? के त्यहाँ केही लेखपढ गरेका र यसो नेता हौं भन्ने जस्ताको अभाव छ ? गोठालाहरूको त त्यति बुद्धि नहोला, गोठका धनीको त केही ज्ञान होला नि, कि छैन ? कि एउटा जनावर म¥यो, त्यसलाई ठगी खाने भाँडो बनाइयो, अब पनि त्यस्तै होइन ? पशुले गर्दा कतिको ज्यान जोखिममा परेको छ र सवारी साधन तोडफोड भएको छ, त्यो ज्ञानको बिर्को कसले र कसको खुल्ने ? स्मरण रहोस्, विदेशतिर कुनै छाडा पशुले सवारी साधन र बाटो अवरोध गरे, राज्यले तुरुन्तै त्यस्ता पशुहरूलाई लगेर ढाट या अन्य कुनै व्यवस्थाबाट नियन्त्रण गर्छ । यो देशमा यसका लागि नियम छैन ? किन सरकारी वनमा छाडा मान्छे र पशुको रजाई ? अब हुने जोखिम र दुर्घटनाको जिम्मेवारी को हुने ? यसलाई सम्बन्धित सबैपक्षबाट यसको छिट्टै जिम्मेवार राज्य पक्षका सम्बन्धित निकाय र पशुपालकहरूले लिनुपर्छ । गाईवस्तु नभएर पशुपालक नै पशु भएको भनाईलाई सावित नहोस् । पशु पशु नै हो, मानिस उत्तम र चेतनशील, विवेकी प्राणी हो ।

संविधान निर्माण गर्दा खेल्नुपर्ने मुख्य भूमिका

निधिरत्न अधिकारी
नेपाली जनताको जनसंविधान लेख्नका लागि नै हो भनेर २०५२ सालदेखि २०६२ सालसम्म नेपाली जनताले सामन्तवादी राज्य व्यवस्थाको विरुद्धमा हतियार उठाए । यसको नेतृत्व तत्कालीन नेकपा माओवादीले ग¥यो । संवैधानिक राजतन्त्रको आड लागेर नेपाली कांग्रेस नेकपा एमाले र अन्य साना पार्टीहरू मिलेर प्रजातन्त्र नामधारी शासन चलाइरहेका थिए । २०४६ सालपछि प्राप्त नेपाली जनताको बलिदान त्यागबाट प्राप्त प्रजातन्त्रले यदि जनताको संविधान जनताकै नाममा गरिने राष्ट्रको भौतिक समृद्धि थियो भने तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म चलाएको जनयुद्धबाट २० औं हजारको बलिदान, हजारौं वेपत्ता र अङ्गभङ्ग हुनुपर्ने बाध्यता यो बुद्धको जन्मस्थल, तपोभूमि शान्तिभूमिमा निम्तिने थिएन । यो कुरा हामी सारा नेपाली र विश्व जनसमुदाय, सरकारलाई प्रष्ट थाहा छ । संयुक्त राष्ट्रसंघको नेतृत्वमा पठाएको अनमिन साक्षी बसेर नेपाली माओवादीले चलाएको जनयुद्ध यो कुनै खेलाँची, कसैको लहडमा, कसैको व्यक्तिगत सम्पत्ति जफत गर्न चलाएको युद्ध होइन, नेपाल जनताले सदियौंदेखि आफ्नो सम्पूर्ण अधिकार प्राप्त गर्न गरेको बलिदान जनता र देशको पूर्ण समृद्धिको लागि हो रहेछ भनेर प्रमाणित गर्न साक्षी बसेको कुरा नेपाली राजनीतिको रातो खातामा टिपोट भई सकेको छ । यसैको आडमा रहेर नेपाली जनताको पूर्ण अधिकार प्राप्त गर्न र नेपाली धर्तीको सर्वाङ्गिण विकास गर्ने गरी वृहत शान्ति सम्झौता भयो । त्यसको आडमा धेरै नेपाली राजनीति भित्र पटक–पटक धेरै बुँदे समझदारी भए । सहमतिहरूमा सबै पक्षबाट आफ्नो प्रतिबद्धता जाहेर भयो । यसैलाई मूल आधार बनाएर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रभित्र रहेर संविधानसभाको निर्वाचन गर्ने भन्ने सबै राजनीतिक पक्षहरूको बीचमा सहमति भयो । त्यसपछि २०६४ साल चैत्र २८ गते नेपालमा ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । जुन निर्वाचनले नेपाल र नेपालीको समृद्धशाली बन्ने भूमिका खेल्दथ्यो । किन यसको महत्व यत्रो थियो भने राजा र रैतिको नाता–राजतन्त्र र जनताको बीचमा थियो । राजतन्त्रलाई थोरै बङ्ग्याएर प्रजातन्त्ररुपी आडमा देश चलाउँछौं भन्ने संसदवादी दलहरू काठमाडौं वरिपरिमात्र मस्त थिए । यही अदुरदर्शिताले गर्दा नेपाल विश्वकै कङ्गाल मुलुक बन्न पुगेको यथार्थ लुकाउन सकिँदैन । यसैको कारणले २० औं हजार नेपालीको रगत यो धर्तीमा बग्यो । यही परिणामले नेपाली जनताको पूर्ण अधिकार प्राप्त गर्न हिमाल, पहाड, तराईमा बसोबास गर्ने सबै नेपाली जनताको मौलिक संविधान निर्माण गर्नु ऐतिहासिक माग र आजको आवश्यकता थियो र छ । यो मुद्दा सबैले स्वीकार गरिसकेको कुरा हो । तर संविधानसभा निर्वाचन भएको ६ वर्षमा पनि तोकिएको समयमा संविधान निर्माण हुन सकेन । अन्ततः संविधान नलेखी संविधानसभाको विघटन हुन पुग्यो । यसरी फेरि पनि नेपाली राजनीतिले नेपाली जनतालाई धोका दियो, अन्तर्घम ग¥यो । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा र संविधानसभाको निर्वाचनबाट नेपाली जनताको जन संविधान निर्माण हुनुपर्छ, लेखिनुपर्छ भन्ने प्रमुख माग तत्कालीन नेकपा माओवादीले अगाडि ल्याएको हो । अहिले हामीले बोल्ने शासन र टकराइरहेका प्रमुख राजनीतिक मुद्दाहरू तत्कालीन माओवादीले नै उठाएका हुन् । यी मुद्दाहरूलाई सबै राजनीतिक पार्टीहरूले स्वीकार गरी सकेका छन् । पहिलो संविधानसभाले संविधान दिन नसकेपछि २०७० साल मंसिर ४ गते पुनः नेपालमा संविधानसभाको निर्वाचन भयो । विगतका काम कार्यवाही कसले कति भूमिका खेले, कसले कति गल्ती गरे, समग्र नेपाली जनताको संविधान लेखिन नसक्नुमा कुन पार्टी नेताको कति गल्ती छ, भन्ने कुरा अतित साक्षी छ । नेपालको अब कोरिने इतिहासले सावित गर्ला नै । तर दोेस्रो संविधानसभाको निर्वाचन गर्नुभन्दा अगाडि पहिलो संविधानसभाले अनुमोदन गर्नैपर्ने भन्ने सबैको प्रतिबद्धता छ र नमिलेका विषयहरू पुनः संवैधानिक समितिको सहमतिमा मस्यौदा तयार गर्ने भन्ने नै हो । राष्ट्रका जनताको साझा समस्या र उठेका मुद्दा सबै पार्टी, नेता, विचारहरूको साझा नै हुनुपर्छ । पहिलो संविधानसभाबाट संविधान लेखिन नसक्नुमा धेरथोर सबै राजनीतिक पार्टी, नेता र सरोकारवालाहरूको आ–आफ्नो हैसियतबाट कमी कमजोरीको जिम्मेवारी वहन गर्नैपर्छ । “पानीमाथिको ओभानो”, “दूधको साक्षी बिरालो हुन कोही पनि पाउँदैन” । अबका दिनमा नेपालको कुनै पनि पार्टीहरूले अगाडि भने जस्तो उखान अनुसार नेपाली जनताको बीचमा पुगेर एकले अर्कालाई दोष थोपर्ने र आफू चाँहि चोखो बन्ने कोसिस गरे भने कुनै मानेमा पनि छुट पाउने छैनन् ।
अहिलेको वर्तमान राजनीति दोस्रो संंविधानसभामा गरिएका भएका प्रवृत्ति दोहोरिन खोजिरहेका छन् । अब पनि खराब प्रवृत्तिले ठाउँ पायो भने नेपालको इतिहास संसारबाट नै मेटिने छ । न हामी नेपाली, न नेपाल कुनै रहने छैन । यहाँ नेपाली राजनीतिको मुख्य खराब प्रवृत्ति के हो भने व्यक्तिगत सत्ता र स्वार्थ प्राप्त गर्ने ठाउँमा देश र जनताप्रति गरेका प्रतिबद्धता बिर्सेर अगाडि जाने मूल कुरा अगाडि आउँछ । प्रकृतिको नियम अनुसार यस धर्तीमा भएका सबै चिजको विपरितार्थ शब्द छन् । त्यस्तै नेपाली राजनीतिमा पनि छ । नराम्रोको ठाउँमा राम्रो छ, विषको ठाउँमा अमृत छ । यावत कुरा नेगेटिभ रुपमा मात्र हेर्नुहुँदैन । राजनीतिमा अहिले आएर सबैको भूमिका आ–आफ्नो ठाउँमा हुन्छ । मुख्य रुपमा एउटा पार्टी नेता, विचारले एक आपसमा उसको भूमिकाको अस्तित्वको मूल्याङ्कन गरेर सतय कुरा आत्मसाथ गर्न सक्नुपर्छ । सत्य र यथार्थ कुरा आफूले आफैबाट ढाँट्नु हुँदैन । सबैले जनता र देशको अहित हुने कुरालाई नकार्न र हित हुने कुरालाई स्वीकार्न सबैको साझा सोच हुनुपर्छ । यसो गर्न सके नेपालमा जनताको जन संविधान अवश्य लेखिन्छ ।
nidhiratna@hotmail.com

मोदीको सन्देश र दलहरूको भूमिका


ओमप्रकाश गौतम

वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गत श्रावण १८ गते संविधानसभाको हलभित्र ४५ मिनेट समय सान्दर्भिक उच्चकोटीको सम्बोधन गरे । सो सम्बोधन हाम्रा नेताको लागि एउटा चेतनाको दिप खुल्ने प्रकृतिको थियो, किन कि नेताहरू सत्ता र कुर्सीको केन्द्रमा आकर्षित थिए, जनतालाई कुनै राहत दिने थिएन । त्यसैले पनि उनको त्यो सम्बोधन हामी जनताका लागि एउटा अब्बल प्रकारको सम्बोधन थियो । त्यति मात्र होइन, मोदीको त्यो दुई दिने भ्रमण अपेक्षित सम्झौता वा अनुदानसँगै संसद भवनमा दिएको सारगर्वित मन्तव्य सारा नेपाली जनताको लागि मननीय छ ।
हुन त हाम्रो देश नेपालमा भारतबाट प्रधानमन्त्रीमा निर्वाचित अनेकौं परिचय र प्रवृत्ति बोकेका प्रधानमन्त्री पटक–पटक सम्झौताका ठेलीहरूमा नाटकीय रुपमा हस्तार गर्दै हाम्रा नेतालाई कनिका छर्ने अभिव्यक्ति दिएर गए, सारमा कुनै पनि उल्लेख्य काम हुन सकेन । तापनि मोदीको यो भ्रमणमा सारा नेपाली जनताका लागि मोदीमय वा मायावी मोदीमय चाँहि भयो । व्यक्तिगत खुबी र लोकप्रियताका माध्यमबाट संसारको सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतको सत्ता केन्द्रमा पुगेका मायावी मोदीका कारण दुई निकट दक्षिण एसियाली मुलुकबीच सम्बन्धको नयाँ तरङ्ग पैदा हुने अपेक्षा एक हदमा महान् नेपाली जनताले उनको नेपाल भ्रमण एक अर्थमा जनताका लागि आशावादी र लोकप्रिय छ भन्ने कुरामा कुनै द्विविधा छैन किन कि उनले भारतीय राजनीतिमा जसरी सफलताको बाटो कोरे, छिमेकीहरूसँगको सम्बन्ध बलियो पारी विश्वमञ्चमा आफ्नो पकडको सहयात्री बनाउने योजना तयार बनाएर गयो त्यो भने आगामी दिनमा पूरा होला या नहोला त्यो भने हेर्न बाँकी नै छ । उनको भनाई, भ्रमण दौरान नेपाललाई भारतका तर्पmबाट गरिएका प्रतिबद्धता अनि द्विपक्षीय सम्झौताका दस्तावेजहरू भोलिका दिनमा कति पूरा हुन सक्लान्, त्यो आशा नेपाली जनताले गरिरहेका छन् । आज हाम्रो देश नेपालका चार वटै सीमामा भारत लगायतका अन्य मुलुकहरूले गिद्धे दृष्टि लगाइरहेको कुरा त हामीले थाहा पाएकै छौं, कति ठाउँका सीमास्तम्भ रातारात सारिएका घटना त हामीले बारम्बार हेरेका छौं, छापा माध्यममबाट थाहा पाएकै छौं । तापनि हाम्रै देशका नेता कानमा तेल हालेर जम्बो संविधान हलभित्र सत्ताको बार्गेनिङ्ग गरिरहेको घटना हामी माझ तरोताजा छ ।
मोदीले नेपालको सार्वभौमसत्तालाई हृदयदेखि गरेको सम्मानलाई बुद्धको जन्मथलो नेपाल भएको भन्ने अभिव्यक्तिलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भनाईलाई र ऋषिमन राखी चाँडोभन्दा चाँडो संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माण गरी लागू गर्न तयार रहेको कुराले गर्दा मोदीले नेपाली मनको हृदय प्रफुल्लित बनाइदिएको छ । उनका सारगर्भित भनाईहरूमा “वर्तमान दबिएको हुनुहुँदैन, भविष्य देखिएको हुनुपर्छ, संविधान लेख्न ऋषिमन हुनु आवश्यक छ, शस्त्र छोडेर शास्त्रमा आउनु बुद्ध भूमिको सन्देश हो” जस्ता अति नै समय सान्दर्भिक उनको प्रवचन नेताहरूप्रति ध्यानाकर्षित थियो ।
अर्को कुरा सबै प्रकारको क्षेत्रीय वादलाई अस्वीकार गर्दै समयसीमा भित्रै सर्वस्वीकार्य संविधान बन्नुपर्छ भन्ने उनको महत्वपूर्ण भनाई र चासो नेपाली जनताको लागि सर्वस्वीकार्य छ र उनले नेपाल र भारतबीचको शंकाको तुँवालो हटाईदिने प्रयत्न गरेर गए अब त्यो अविश्वासको खाडल हाम्रा नेताले आगामी दिनमा पूरा गर्न सक्नुपर्छ । आज उनको फलदायीपूर्ण नेपाल भ्रमण छापा माध्यमहरुमा पिटिए र पिडिए नभए पूरै नेपालको भविष्य नै खत्तम हुन्छ, अन्धकारमय हुन्छ भन्ने जस्ता छेपारे प्रवृत्तिका अड्कलबाजी मिडियामा छ्यापछ्याप्ती आएका छन्, ती अतिरञ्जित भनाईहरुप्रति हामी जनताले विश्वास नगर्नु नै वेश हुन्छ । किन कि उनको नेपाल भ्रमण पश्चातका दिनदेखि १०० दिन पछिको नेपाल र भारतसम्बन्ध कतिको दिगो र मजबुत रहेछ भन्ने कुरा –आगामी दिनमा थाहा पाउने कुरा हो । अहिले नै अतिरञ्जित कुरामा विश्वास गर्नु बेकार छ किन कि आगामी दिनमा नेपाल भारतबीचको सम्बन्ध नङ र मासुको सम्बन्धझैं दिगो भएर जाओस् । नेपालको हितमा असर नपर्ने गरी झिनामसिना विषय र विवादलाई पर सारी उनले नेपालमा गरेको खरबौंको रकम विभिन्न शिर्षकमा दिएको आर्थिक सहयोग वर्तमान प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकारले गर्न सकोस् । जनताको गाँस, बास र कपासको उचित ग्यारेण्टी हुन सकोस्, वैदेशिक लगानी संसदको निजी खर्चमा विनियोजन नहोस् । मोदीबाट हाम्रा नेताहरुले सिक्नैपर्ने आदर्शका पाठहरुलाई अक्षरस पालना गर्दै संविधान निर्माणमा हातेमालो गर्दै अघि बढ्न प्रेरणा मिलोस् । उनीबाट हाम्रा नेताले सिक्नैपर्ने पाठहरुमा राजनीति विनास र विद्रोहबाट होइन विकास र उन्नतिबाट शुरू गर्नुपर्छ । हाम्रा नेताहरुले बोली व्यवहारमा आलोचना गर्ने पुराना सन्धी सम्झौताहरुका दस्तावेजहरु पल्टाएर संविधान बनाउने अवरोधमा बाधा पु¥याउन बन्द गर्नुपर्छ । गरीब, किसान, भूमिहीन, सुकुम्बासी, महिला, दलित, जनजाति, आदिबासीका समस्या सम्बोधन हुने संविधान हाम्रा नेताले आगामी माघ महिना अगावै घोषणा गर्न सकून् । हाम्रो हिमालयमा पाइने जडिबुटीको विषयमा भारतीय प्रधानमन्त्री मोदीलाई चिन्ता बढ्यो, हाम्रा नेतालाई यतिका दिनसम्म पनि चिन्ता बढेन, उनको यो अभिव्यक्तिले आगामी दिनमा हाम्रा नेताको कर्ण खुल्न सकोस् । मधेसी नेताहरुलाई क्षेत्रीयताको कुरा गर्न छाडेर समग्र राष्ट्रको बारेमा सोच्न र यही अनुसार अघि बढ्न दिएको सन्देश अनुसार हाम्रा नेता तथा नेतृत्व अघि बढ्न सकून् । मायावी मोदीको सन्देशबाट हाम्रो नेता नेपाल समृद्ध बन्न सकोस् ।
omgautam817@gmail.com