हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

भूकम्पले पूर्वाञ्चलमा ५६ हजार बढी विस्थापित

दमक । गत वैशाख १२ को भूकम्प र त्यसपछिका लगातारका पराकम्पनले पूर्वाञ्चलमा २० हजार ८ सय ७० घरमा पूर्ण रुपमा क्षति पुगेको छ । भूकम्पबाट २० हजार ६ सय ४१ निजी घर र २ सय २९ वटा सरकारी भवन पूर्ण रुपमा क्षति पुगेको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले जनाएको छ । ३ हजार २ सय ८७ सरकारी र ४२ हजार १ सय ९१ निजी घरमा आंशिक क्षति पुग्दा ५६ हजार ६ सय ७० जना विस्थापित भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जसमा पूर्वाञ्चलमा सबैभन्दा बढी ओखलढुंगामा क्षति भएको उल्लेख छ । ओखलढुंगामा १० हजार ३१ घरमा पूर्ण रुपमा क्षति भएको छ भने १० हजार ५ सय ९३ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी, भोजपुरमा १ हजार ४ सय १४, संखुवासभामा १ हजार १ सय १६, इलाममा ३ सय १६, झापामा ६२, ताप्लेजुङमा ५१, पाँचथरमा २५ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यस्तै, धनकुटामा ५ सय ९० घरमा पूर्ण रुपमा भत्किएका छन् भने २ हजार ४ सय ५३ घरमा सामान्य क्षति पुगेको छ ।  सुनसरीमा ४ घर पूर्ण क्षतिग्रस्त छन् भने १ सय ८२ घरमा आंशिक क्षति पुगेको छ । सोलुखुम्बुमा २ हजार ५ सय घरमा पूर्ण रुपमा भत्किएका छन् भने ६ हजार १ सय ७६ घरमा सामान्य क्षति क्षति पुगेको छ । खोटाङमा २ हजार १ सय १० घर पूर्ण क्षतिग्रस्त हुँदा ४ हजार ९ सय ८६ घरमा 
आंशिक क्षति पुगेको छ । उदयपुरमा ९५ घर क्षतिग्रस्त हुँदा ७ हजार ४ सय ९० घरमा आंशिक क्षति पुगेको छ । सिराहामा ८७, सप्तरीमा १ सय ३ र मोरङमा ५० घरमा आंशिक क्षति पुगेको बताइएको छ । 
 क्षेत्रीय प्रशासन कार्यालयको विवरण अनुसार इलाममा ३४ घरमा पूर्ण क्षति भएको छ भने ४२ घरमा आंशिक क्षति पुगेको छ । संखुवासभामा ८८ घरमा पूर्ण क्षति र २ सय ८ घरमा आंशिक, सोलुखुम्बुमा ७५ मा पूर्ण क्षति र १ सय ४२ मा आंशिक क्षति ओखलढुंगामा १ घरमा पूर्ण क्षति र १ सय ९१ मा आंशिक क्षति, उदयपुरमा ५२ मा पूर्ण क्षति र ४६ घरमा आंशिक क्षति पुगेको कार्यालयले जनाएको छ । त्यस्तै, ताप्लेजुङमा ६९, पाँचथरमा ४०, झापामा ४६, भोजपुरमा २१, तेह्रथुममा ६०, धनकुटामा ३९, मोरङमा ५१, सुनसरीमा १ सय १६, सिराहामा ३०, र सप्तरीमा २७ सरकारी भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण पूर्वाञ्चलमा ५७ जनाले ज्यान गुमाएका छन् भने ३ सय ८५ चौपाया मरेका छन् । ३ सय ९३ जना घाइते भएका छन् । ज्यान गुमाएका र घर क्षतिग्रस्त भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय, दैवीप्रकोप उद्धार समिति, सामाजिक संघसंस्था मार्फत राहत वितरण भइरहेको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका सहक्षेत्रीय प्रशासक कालीप्रसाद पराजुलीले बताए ।

अग्ला टावरका कारण स्थानीय त्रसित

दमक । विभिन्न सञ्चार संस्थाहरुका दर्जन भन्दा वढी अग्ला टावरहरु  महाभुकम्प र हावाहुरीका कारण ढल्नसक्ने खतरा बढेपछि झापाका स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।
 महाभुकम्प र हावाहुरीका कारण भौतिक संरचनामा पुगेको क्षतिले मानवीय दुर्घटना हुने सम्भावना भएपछि झापाको दमकमा रहेका अग्ला संरचनावाट स्थानीयहरु त्रसित बनेका हुन् । त्रासकै कारण दुरसञ्चार संस्थानले बनाएको दमकको टावर (आवाघर) घटाइने भएको छ । नेपालको सवैभन्दा अग्लो टावरमध्ये दमकमा अवस्थित नेपाल टेलिकमको टावरलाई  घटाइने भएको हो । दमक–१ मा अवस्थित सो टावर ४२ बर्षअघि बनेका थियो । यो नेपालको दोस्रो अग्लोे टावर हो । यो भन्दा अग्लो सिराहाको दुरसञ्चार टावर (१सय ३१ मिटर) रहेको छ ।
टेलिकम दमकका प्रमुख बिनोद कडुवालका अनुसार बेलायत सरकारको सहयोगमा बनाइएको १ सय २८ मिटर अग्लो गाइड वायर टावरको साटो छेउमा ८० मिटर अग्लो सेल्फ स्ट्याण्ड टावर खडा गरिएको केहि समयभित्रै पुरानो अग्लो टावरमा रहेका मोबाईल, सिडिएमए, रेडियोलिंक र रिपिटर इक्विपमेण्ट होचो टावरमा सारिने भएका छन् । उनले टावर हटाइसक्न भने करिब एकबर्ष लाग्ने बताए ।
त्यसैगरी दमक—११ स्थित सप्तरङ्गी एफ.एम.को आफ्नो निजी टावरका कारण आसपासमा रहेका सर्वसाधरणहरु त्रसित बनेका छन् । मेची सहकारी संस्थाको भवनमा अवस्थित सो एफ.एमको अग्लो टावरले आसपासमा व्यवसाय गरी वस्नेहरुलाई समस्या भएको जनगुनासो छ । पटक पटक आइरहने पराकम्पन र हावाहुरीले अग्लो टावर ढल्नसक्ने अवस्थामा पुगेका छन् । दमक नगरपालिका कार्यालयको प्राविधिक टोलीले दमकक्षेत्रमा रहेका टावर र टावर राखिएको घरको अनुगमन गरिसकेको छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालका अनुसार नगरवासीहरुले आ–आफ्ना क्षेत्रमा रहेका टावर हटाइनुपर्ने माग राख्दै आएका छन् । ती टावर र टावर राखिएको घरको संरचनाहरु के कस्तो छ भन्ने बारेमा प्राविधिकको टोलीले अनुगमनपछि प्रतिवेदन मार्फत अघि वढ्ने अधिकृत दाहालले जानकारी दिए । भवनहरु अग्ला छन् अनि त्यस माथि अग्लो टावर छ, भुकम्प र हावाहुरीले हल्लाउने गर्दा कहिले लड्छ भन्ने चिन्ता स्थानीयको छ । भूुकम्प र हावाहुरीले अग्ला र पुराना संरचनाहरु भत्काउन थालेपछि त्यस्ता संरचनालाई समयमा मर्मत—संम्भार गरिनुपर्ने स्थानीय व्यावसायीहरु बताउँछन् । त्यसो त दमक—११ मा रहेका वल्र्ड लिङ्क, लुिम्बनी नेट, नेपाल नेट संसारको टावर र टावर राखिएको घरको संरचना समेत कमजोर भएको छ ।  सो टावर भएको घर या अन्य ब्यापारिक भवनमा बिभिन्न व्यवसाय सञ्चालन गरिरहेका कारण यी संरचना ढल्दा ठूलो क्षति हुने जानकारहरु बताउँछन् ।

वैज्ञानिक वन व्यवस्थापनमा जोड

पथरी । जिल्ला बन कार्यालय मोरङका प्रमुख दीपक ज्ञवालीले पुस्ता पुस्तासम्म निरन्तर बन पैदावार उपभोगका लागि बैज्ञानिक बन ब्यवस्थापन आवश्यक रहेकोमा जोड दिएका छन् ।
सोमबार मोरङको पथरीशनिश्चरेमा ‘बैज्ञानिक बन व्यवस्थापनका चुनौती र सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै ज्ञवालीले सो कुरा बताएका हुन् । जिल्ला बन कार्यालयको सहयोगमा नेपाल पत्रकार महासंघ मोरङ र पथरी सम्पर्क कार्यालयले आयोजना गरेको सो अन्तरक्रियामा जिल्लामा ६ वटा सामुदायिक बन सहित राष्ट्यि बनमा समेत बैज्ञानिक बन व्यवस्थापनको काम शुरु भएको ज्ञवालीले उल्लेख गरे । ज्ञवालीले बनलाई ब्लक ब्लकमा विभाजन गरेर उमेर पुगेका रुखहरु हटाउने र निरन्तर नयाँ विरुवा हुर्काएर निरन्तर उपभोग गर्न मिल्ने अवस्था सिर्जना गर्ने काम आजको आवश्यकता रहेको चर्चा गरे । सामुदायिक बन क्षेत्रका उपभोक्ता भन्दा टाढा रहेका उपभोक्ताहरुका लागि समेत बन पैदावार उपभोगको वातावरण बनाउँदै सरकार र स्थानीयको साझेदारीमा बन व्यवस्थापन गरिने पनि उनले उल्लेख गरे । सुन्दरदुलारीको लाटीझोडा, केराबारीको प्रस्तावित लोहन्द्रा र पथरी शनिश्चरेको उत्तरको बनलाई साझेदारी बनका रुपमा बन व्यवस्थापन कार्यक्रम शुरु भएको छ । सामुदायिक बनतर्फ, नमूना, हरियाली, सिद्धार्थ, दिपज्योति र अहाले सामुदायिक बन क्षेत्रमा पनि बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम शुरु भएको जिल्ला बन कार्यालयले जनाएको छ । कार्यक्रममा, पत्रकार महासंघका जिल्ला अध्यक्ष महेन्द्र विष्ट, सहसचिव मोहन भट्टराई लगायतले पनि बोलेका छन् ।

आगलागीमा ५ घर जले

इलाम । इलामको नयाँबजारमा सोमबार आगलागी हुँदा ५ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् । आगो नियन्त्रणमा लिन अर्को एउटा घर भत्काइएको छ । स्थानीय कुमार तामाङ्गको घरबाट करिब १२ बजे बाट सुरु भएको आगलागीको कारण तामाङ्ग सहित धन बहादुर भण्डारी, पदम भण्डारी, देवी भण्डारी र राजु भण्डारीको घर पुर्ण रुपमा नष्ट भएको छ ।  वाङ्गचु शेर्पाको घर घत्काइएको छ । आगो अहिले प्रहरी स्थानीयवासीको प्रयासमा नियन्त्रणमा आएको छ । स्थानीय शिक्षक देवी सुवेदीका अनुसार आगलागि भएको स्थान नजिकै पानी ट्याङ्की रहेकोले आगो नियन्त्रण गर्न सहज भएको हो । आगोले नस्ट भएको घरबाट कुनै सामाग्री निकाल्न नसकिएकाले ठूलो क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म क्षतिको विवरण सङ्कलन भइसकेको छैन । आगलागीको कारण पनि खुल्न नसकेको स्थानीय पत्रकार राजकुमार दहालले जानकारी दिएका छन् ।

मुद्दा खारेजीपछि लोकमार्गको काम शुरु

पाँचथर । राष्ट्रिय गौरवको आयोजना निर्माणका क्रममा गिटीढुंगा उत्खननको कार्य रोक्न जिल्ला अदालत पाँचथरमा परेको मुद्दा खारेज भएपछि मध्यपहाडी लोकमार्गअन्तर्गत जोरसाल–तमोर खण्डको काम सुरु भएको छ । फिदिम–५ स्थित चिउरीगौंडामा रहेको गिटीढुंगा उत्खननको कार्यले वातावरण र बस्तीमा खतरा पुगेको भन्दै तत्काल रोक्न माग गरेर जिल्ला अदालतमा मुद्धा दायर भएपछि काम रोकिएको थियो । चार महिनाअघिबाट जारी मुद्दाको किनारा लगाउँदै जिल्ला अदालत पाँचथरले तत्काल उत्खनन कार्य रोक्ने कुनै आधार नदेखिएको फैसला गरेपछि काम सुरु भएको हो । गिटी ढुंगा उत्खननस्थलमा पर्ने डाँडा सामुदायिक वनका उपभोक्ताले उत्खनन कार्य तत्काल रोक्न माग गर्दै सो मुद्दा दायर गरेका थिए । उनीहरूले वन विनाश भएको, पहिरोको खतरा बढेको, त्यसभन्दा माथिको बस्ती जोखिममा परेकोलगायत कारण देखाएर २८ माघमा मुद्दा दायर गरेका हुन् । विनाकारण लामो समयसम्म काम बन्द गर्नुपर्दा करोडौंको क्षति भएको निर्माणको जिम्मा पाएको याक्थुम्हाङ निर्माण सेवा प्रालिका अध्यक्ष तेजकुमार कुरुम्वाङले बताए ।

ज्येष्ठ अगुवालाई सम्मान

दमक । ज्येष्ठ नागरिकहरुलाई सोमवार दमकमा सम्मान गरिएको छ । ज्येष्ठ नागरिक जिल्ला संघ झापा तथा दमक नगरपालिकाको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । दमक ११ स्थित जनमुखी सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा ७० वर्ष माथिका ७ जना ज्येष्ठ सामाजिक अगुवाहरुलाई  सम्मान गरेको छ । इलाका प्रशासन कार्यालय दमकका कार्यलय प्रमुख वासु कोईरालाको प्रमुख आतिथ्यमा कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर तथा प्रमाण पत्र दिएर सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका सचिव मनोहर उप्रेती, नेपाल रेडक्रस सोसाईटी इलामका सभापति देवी प्रसाद गौतम, मेची सहकारी संस्थाका अध्यक्ष  रोमनाथ ओली लगायतले बोलेका थिए ।

आयोजक ए टिम बिजयी

दमक । दमक १२  मा जारी फुटवल प्रतियोगिताको सोमवार भएको खेलमा आयोजक भिएफसी दमक १२ ए बिजयी भएको छ ।  खेलको निधारित समय र थप १० मिनेटको अवधिमा कुनै पनि गोल हुन नसकेपछि टाइब्रेकरमा आयोजक टिम एले जितेको हो । उसले टाइव्रेकरमा ५–३ गोल अन्तरले धरमपुर फुलवारी स्पोर्टिङ क्लवलाई हराएको छ । प्रतियोगितामा मंगलवार हुने  अन्तिम क्वाटर फाइनल खेलमा आर्कषण मेनपावर युनाइटेड दमक र फरेन युनाईटेड क्लव दमकबीच खेल  हुने आयोजकले जनाएको छ । 

कुक तालिम सम्पन्न

दमक । मेची पोलिटेक्नीकल  इन्ष्टिच्युट दमक र जिल्ला विकास समिति झापाको साझेदारीमा ४० दिने कुक तालिम  सम्पन्न भएको छ । गौरादहमा भएको तालिममा क्वान्टीनेटल खाना र नेपालका बिभिन्न परिकार बनाउन सिकाइएको थियो । प्रशिक्षक बासु मुखियाले कुक तालिममा सहभागी महिलाहरुलाई  प्रशिक्षण दिएका थिए । मेचीका  प्रवन्बध निर्देशक डिल्ली मुखियाले १ लाख ५० हजार रुपैया  बराबरको आय  र  १  लाख ५१ हजार २सय ७५ हजार रुपैयाको प्रतिवेदन  प्रस्तुत गरेका थिए ।

आँखा अस्पताल खुल्ने

दमक । दमक स्थित पाथिभरा नेत्रालय आँखा अस्पताल सञ्चालनको अन्तिम तयारी पुरा भएको छ । बुधबार अस्पतालको उद्घाटनको अन्तिम तयारी पुरा भएको अस्पताल सञ्चालन तथा सहयोग समितिका अध्यक्ष अजय अग्रवालले बताएका छन् । उनका अनुसार बिगत १ दशकदेखि बन्द रहेको अस्पताल अत्याधुनिक उपकरणसहित बिशेषज्ञहरु मार्फत नियमित सेवा प्रदान गर्ने गरी सञ्चालन हुन लागेको हो । मेची आँखा अस्पताल र लाईन्स क्लफ अफ काठमण्डौबीच भएको समझदारी अनुसार अस्पताल शुचारु हुन लागेको हो ।
 यसको स्थानीय ब्यवस्थापन लाइन्स क्लव अफ दमक माउण्ट एभरेष्टले गरेको छ । दमक नगरपालिका संरक्षक रहेको सञ्चालकन तथा अनुगमन समितिले भब्य उद्घाटनको तयारी संगै एकहप्तासम्म निरन्तर निशुल्क आँखा शिबिर गर्ने अध्यक्ष अग्रवालले जानकारी गराएका छन् । आँखा शिबिरमा आएकाहरुको शल्यक्रिया गर्नुपर्ने अवस्था आएमा निशुल्क गर्ने ब्यवस्था मिलाईएको पनि अग्रवालले बताए ।

जटिल न्यूरो सर्जरीको सफलता

बिर्तामोड । बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा टाउकोको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । झापा खुदुनाबारी–१ निवासी ८५ वर्षीय कृष्णप्रसाद ढुङ्गेलको टाउकोको जटिल न्यूरो सर्जरी शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । हड्डीमा प्वाल पारेर टाउकोभित्र जमेको रगत निकाल्ने जटिल शल्यक्रिया गरिएको सोमबार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश लिम्बूले ढुङ्गेलको शल्यक्रिया गरेका हुन् । यस प्रकारको शल्यक्रिया दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि र साधन–स्रोत भएका अस्पतालमा मात्र सम्भव हुने न्यूरो सर्जन डा. लिम्बूले बताए । बिरामीका नाति देशबन्धु ढुंगेलले शल्यक्रियापछि आफ्ना हजुरबुवाको स्वास्थ्य स्थिति सामान्य भएको बताउँदै अस्पताल प्रशासनलाई धन्यवाद दिए । अत्याधुनिक उपकरणसहित गत बैशाख २४ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको अस्पतालले सोमबारदेखि छालामा मासु पलाएको लेजरको माध्यमबाट हटाउने अपरेशन सुरु गरेको अस्पतालका मेडिकल डाईरेक्टर डा. उमेशकुमार शर्माले बताएका छन् ।

दलहरु संघीयताको पुरानै अडानमा बिबाद,

काठमाडौं । संविधान निर्माण तथा राष्ट्रिय सरकार गठनका विषयमा बालुवाटारमा सोमबार बिहान मुख्य दलहरुबीच छलफल भए पनि कुनै निश्कर्ष निस्कन सकेन । संविधान लेखनका विवाद र राष्ट्रिय सरकार गठनको विषयलाई सैद्धान्तिक रुपमा सोमबार टुंगो लगाउने भनिए पनि दलहरुका फरकफरक अडानका कारण बैठक निश्कर्षमा पुग्न सकेन । बैठक फेरि मंगलबार बिहान बस्ने भएको छ । बैठकपछि बाहिरिएका मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले राज्यको पुनरसंरचना लगायत संविधानका विवाद र राष्ट्रिय सरकार गठनका विषयमा छलफल सकारात्मक भएपनि निर्णय केही नभएको संचारकर्मीसँग बताए । आन्तरिक छलफल र वार्ता गरेर सहमतिको वातावरण बनाउने र मंगलबार बिहान पुनः शीर्ष बैठक बसेर राज्य पुर्नसंरचना लगायतका संविधानका विवादित विषय र राष्ट्रिय सरकार गठनका बारेमा एउटा निश्कर्षमा पुग्ने समझदारी भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दस प्रदेश अडानमा केही तलमाथि भएपनि पहिचान पूर्ण रुपमा छोड्न नसकिने बताएका थिए । एमाओवादी नेतृत्वको गठबन्धनले पहिचान र अधिकारमा आधारित दस प्रदेशको अडान राख्दै आएको छ । बैठकमा कांग्रेस एमालेले भने पहिचानलाई आधार मान्न नसकिने अडान राखेका थिए । कांग्रेस एमालेले छ देखि सात प्रदेशको खाका राख्दै आएका छन् । छलफलमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायत तीनै दलका वरिष्ठ नेताहरुको सहभागिता थियो ।

पदको लोभ गर्ने बेला होइन : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबै दलको सहमतिमा संविधान बनाएर र विपत व्यवस्थापन गर्न राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव गरिएको बताएका छन् । राजधानीस्थित पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले एमालेको ध्यान सरकारमा नभई, शान्ति, लोकतन्त्र, सामाजिक एकता र समृद्धितर्फ केन्द्रित रहेको बताए । उनले भने ः त्यसका लागि आवश्यक पर्ने सबै काम गर्न एमाले तयार छ । अध्यक्ष ओलीले भने ः अहिले प्रधानमन्त्री बन्न वा पद छाड्न लोभ गर्नु हुँदैन, राष्ट्रिय एकता र नवनिर्माणका लागि सबै तयार हुनुपर्छ । उनले अभियानलाई राष्ट्र निर्माणको आकाङ्क्षासँग जोडेर लैजानुपर्नेमा जोड दिँदै परोपकारको भावनाले काम गर्नुपर्ने समयमा केही तत्वले विपत्तिलाई कमाउने मौकाका रुपमा प्रयोग गरेकामा आपत्ति जनाए ।