हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

मुलुकलाई सक्षम डाक्टरको खाँचो : बुढाथोकी

कमन देवान
महारानीझोडा, २ पुष/नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तामा बसिरहने नैतिक हैसियत गुमाइसकेको भन्दै मुलुकलाई सक्षम डाक्टरको खाँचो भएको बताएका छन् ।
झापाको महारानीझोडामा आइतबार स्व. गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुनधुरा झापाको आयोजना तथा नेपाली कांग्रेस महारानीझोडा गाउँ समितिको सहयोगमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै झापा क्षेत्र नम्बर ५ को पूर्व सभासद् समेत रहेका बुढाथोकीले प्रम भट्टराई फेबिकोल लगाएर कुर्सीमा टाँसिइरहेको आरोप लगाए । उनले भने –‘संविधानसभा बिघटन लगायत थुप्रै मुद्दामा असफल भएका डाक्टरलाई हटाएर मुलुकका समस्या समाधान गर्न सक्ने सक्षम डाक्टरको खाँचो परेको छ ।’
सो अघि झापाको लखनपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बुढाथोकीले चुनाव भए हैसियत घट्ने डरले माओवादी चुनावबाट भागिरहेको आरोप लगाए । ‘कांग्रेसलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व दिए चुनाव गर्छौं । तर माओवादी हैसियत गुम्ने डरले भागिरहेको छ । राजनीतिक गतिरोध त्यसैले लम्बिूदै गएको छ’, उनले भने । माघमा पार्टीको महाधिवेशन गर्ने माओवादी रणनीति बैशाखलाई घोषणा गरिएको संविधानसभा निर्वाचन टार्ने खेलमात्र भएको बुढाथोकीले आरोप लगाए ।
कार्यक्रममा बोल्दै झापा क्षेत्र नम्बर ६ का पूर्व सभासद् दीपक कार्कीले तल्लो तहका जनतालाई स्वास्थ्य शिविर उपयोगी हुने बताए । त्यस्तै कांग्रेस झापा उपसभापति देउमान थेबेले राजनेता गिरिजाप्रसाद काइरालाको स्मृतिमा स्थापित प्रतिष्ठानले ग्रामीण क्षेत्रका जनताको हितमा काम गरेको सुझाए ।
सो अवसरमा स्थानीय छ जना सामाजिक अगुवाहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेहरूमा नेका महारानीझोडाका पूर्व सभापति विष्णुप्रसाद अधिकारी, महारानीझोडाका पूर्व गाविस अध्यक्ष देवीप्रसाद काफ्ले, कृष्णप्रसाद चुडाल, गुरुप्रसाद घिमिरे, कुलप्रसाद ओली र गंगाप्रसाद पौडेल रहेका थिए ।
विराटनगरस्थित नोबेल अस्पतालका विशेषज्ञ डाक्टरहरूको सहयोगमा सञ्चालित शिविरबाट ग्रामीण भेगका १२ सय बढी सर्वसाधारण लाभान्वित भएको जनाइएको छ । स्वास्थ्य परीक्षणका क्रममा उपचार आवश्यक भएका बिरामीले चाहे अस्पताल भर्नाका लागि निःशुल्क यातायातको
व्यवस्था गरिएको नोबेल अस्पतालका बजार प्रबन्धक भगत शाहले बताए ।
शिविरमा भिडियो एक्सरे, इसिजि, फिजिसियन, स्त्रीरोग, बाल रोग, मानसिक, दन्त परीक्षण लगायतका स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको कांग्रेस क्षेत्रीय प्रतिनिधि युवराज पौडेलले जानकारी दिए ।
कार्यक्रमको उद्घाटनसत्रमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ७ का महाधिवेशन प्रतिनिधि हुकुमसिंह राई, जिल्ला सदस्य टीकाराज सापकोटा लगायतको आतिथ्य रहेको थियो । प्रतिष्ठानका अध्यक्ष किरण भट्टराई र नेका महारानीझोडा सभापति पिताम्बर दाहालको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

आङ्ग खस्ने महिलाका लागि स्वास्थ्य शिविर

आइतबारदेखि दमकको लाईफलाईन अस्पतालले आङ्ग खस्ने महिलाहरू बिरामीहरूको उपचार सहजताका लागि निःशुल्क तीन दिने स्वास्थ्य परीक्षण शिविर सुरु गरेको छ ।
अस्पतालद्वारा आयोजित स्वास्थ्य शिविरमा आङ्ग खस्ने रोगको पहिचान गरी पीडित महिलाहरूलाई निःशुल्क शल्यक्रियाका लागि आवश्यक तयारी थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सूर्यनारायण शाहले जानकारी दिए ।

महिलामा हुने आङ्ग खस्ने समस्या गुप्त रोग भएकाले अधिकांश रोगी उपचारका लागि स्वास्थ्य संस्थामा आउन लजाउने डा. शाहाको भनाई छ । धेरै बच्चा जन्माउने र बढी श्रम गर्ने महिलाहरूमा यो समस्या अत्याधिक रहने उनले दावी गरे । आइतबार अस्पतालमा ३० जना महिलाले आफ्ना समस्याका बारे स्वास्थ्य परामर्श लिएको शाहले बताए ।
सो रोगको शल्यक्रिया सहितको उपचारका लागि पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटासँग सम्झौताको अन्तिम तयारी भइसकेको अस्पतालका अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिए । उनले भने –‘निर्देशनालय र अस्पतालबीच आगामी ९ गते सम्झौता हुने पक्का भएको छ ।
त्यसपछि आङ्ग खस्ने समस्या भएका महिलाहरूलाई हामी निःशुल्क उपचारको व्यवस्था गर्ने छौं ।’ आङ्ग खसेका बिरामीको शल्यक्रियाका लागि न्यूनतम २५ हजार रुपैयाँ खर्च हुने अस्पताल स्रोतले जनाएको छ । राष्ट्रिय कार्यक्रम अन्तर्गत विभिन्न अस्पतालहरूसँग सम्झौता गरी आङ्ग खस्ने महिलाका उपचारको लागि स्वास्थ्य मन्त्रालयले उपचार लागत व्यहोर्ने व्यवस्था छ ।
आइतबारदेखि सुरु भएको शिविरमा मदुमेह र दन्त परीक्षणको समेत निःशुल्क व्यवस्था गरिएको अस्पतालले जनाएको छ । अस्पतालका फिजिसियन डा. सन्तोष सुवेदी, डा. मुक्ति भट्टराई र डा. अविनव श्रेष्ठले मंगलबारसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्दैछन् । पहिलो दिन एक सय बढी सर्वसाधारणले सेवा लिएका बताइएको छ ।

साम्बाको नेतृत्वमा नयाँ पार्टी

दमक, २ पुष/मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् फुटाएर असन्तुष्टहरूले नयाँ पार्टीको घोषणा गरेका छन् । आइतबार धरानमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी निर्माण भएको औपचारिक घोषणा गरेका हुन् ।

लिङ्देन नेतृत्वको संगठनले लिम्बुवानी आन्दोलनलाई धोका दिएको भन्दै नयाँ शक्तिको रुपमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् (लोकतान्त्रिक) पार्टी सार्वजनिक गरेका हुन् । घोषित सो पार्टीको नेतृत्व लोकसागर साम्बाले गरेका छन् ।
पार्टीको चार उपाध्यक्षहरूमा दिलकुमार फोम्बो, होमप्रसाद तुम्वाहाम्फे, हरि श्रेष्ठ, टिका ढुंगेल, सचिवमा डम्बर खजुम, सहसचिवमा मनिष हेल्लोक, अर्थसचिवमा देउमान लिम्बु लगायत २१ सदस्यीय कार्यसमिति गठन गरेका छन् ।
गत मंसीर २३ र ३० गते सम्म धरानमा असन्तुष्टहरूले (प्रगतिशील विचार समूह) को भेला गरी नयाँ पार्टी घोषणा गरेका थिए । पार्टी गठनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नवगठित पार्टीका अध्यक्ष साम्बाले लिम्बुवानी आन्दोलनलाई निष्कर्षमा पु¥याउन नयाँ राजनीतिक शक्ति स्थापित भएको दाबी गरे । ‘अरुण पूर्वका ९ जिल्लालाई पहिचानसहितको लिम्बुवान स्वायत्त राज्यको रुपमा स्थापित गराउन लोकतान्त्रिक विचार समूहलाई एकताबद्ध गराउनेछौँ’ अध्यक्ष साम्बाले भने–‘लिम्बुवानजन्य संगठनहरूबीच दर्विलो एकताका लागि समेत हाम्रो प्रयास हुनेछ ।’ सम्मेलनमा सम्बाले लिङ्देन नेतृत्वको परिषद्ले लिम्बुवानी आन्दोलनलाई ओझेलमा पारेको जिकिर गरे ।
सोही सम्मेलनमा वितरित विज्ञप्तिमा सुनसरी जिल्लाको अध्यक्षमा कुमार सेरेङ चोङवाङ, विद्यार्थी विभागमा अनिल लिङ्देन, युवा विभागमा नितेश सिंगक, विद्यार्थी तर्फ उपत्यका प्रमुखमा गुमानसिंह लिङ्देन, विद्यार्थी तर्फ झापा प्रमुखमा विष्णु लाओती र सल्लाहकार समिति प्रमुखमा चन्द्र साम्बा रहेका सांगठानिक समिति समेत गठन गरिएको जनाइएको छ ।

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सतासीधाम, २ पुष/झापाको सतासीधाम–१ डुँडामारीका ६० बर्षीय मानबहादुर नेपालीले आफ्नी ५५ बर्षीया श्रीमती सुकलक्ष्मीको हत्या गरेका छन् ।
शनिबार राति ९ बजे मादक पदार्थ सेवन गरी आएका नेपालीले बञ्चरोको
पासाले हिर्काएर श्रीमतीको हत्या गरेका हुन् । हत्यापछि उनी फरार भएका बताइएको छ ।
घटनाबारे अनुसन्धान र फरार अभियुक्तको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

बन्दुक खेलाउँदा आफ्नै मृत्यु

इलाम, २ पुष/भरूवा बन्दुक पड्किएर इलामको शान्तिपुर–२ अर्जुन राईको मृत्यु भएको छ । शनिबार साँझ बारूद भरिएको बन्दुक खेलाउने क्रममा अचानक पड्किँदा राईको मृत्यु भएको हो ।
आफ्नो घरमा भएको बन्दुक खेलाउँदै गर्दा अचानक पड्किएर उनको निधारमा
गोली लागेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । गोली लागि उनको घटनास्थलमै ज्यान गएको थियो ।

डाकाहरूद्वारा लुटपाट

दमक, २ पुष/झापाको पाठामारीको एक घरमा शनिबारराति बम पड्काउँदै आएका भारतीय डाकाहरूले लाखौंको लुटपाट गरेका छन् । डाकाहरूको आक्रमणमा २ जना घाइतेसमेत भएका छन् ।
पाठामारी २ का कुस्पतलाल राजवंशीको घरमा राति १ बजे आएको संख्या नखुलेको डाका समूहले सुतली बम पड्काउँदै नगद ६० हजार रूपैयाँ र ५ तोला बराबरका सुनका गहना लुटपाट गरेको हो । डाका समूहको आक्रमणबाट राजवंशीका छिमेकी धर्मेन्द्र राजवंशी र अमृत राजवंशी घाइते भएका छन् ।
उनीहरूको ओम साई अस्पताल भद्रपुरमा उपचार
भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो डकैती घटनामा सलंग्न डकैत समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एमाओवादी अध्यक्षमा अधिकारी

दमक, २ पुष/एकिकृत नेकपा माओवादीको दमक नगर कमिटीको अध्यक्षमा सिताराम अधिकारी चुनिएका छन् ।
आइतबार सम्पन्न दोस्रो नगर सम्मेलनले अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको हो । कमिटीको सचिवमा कृष्णबहादुर गोले चयन भएका छन् । कमिटीका सदस्यहरूमा शंकर बस्नेत, नगेन्द्र राई, अमर केसी, हरि धिमाल, भूमिका कोइराला, प्रेम बिमली, गणेश श्रेष्ठ, गीता अधिकारी लगायत रहेका छन् ।

म्याद नभएको औषधी वितरण

राम योङ्हाङ
इलाम, २ पुष/म्याद सकिएको खाद्यान्न खोजी–खोजी नष्ट गर्ने सरकारी निकायले स्वास्थ्य उपचारमा भने म्यादै नभएको औषधी वितरण गरिरहेको पाईएको छ ।
जिल्लाका विभिन्न आयुर्वेदिक औषधालयले उत्पादनको मात्र मिति उल्लेख भएको औषधी वितरण गरिरहेको छ । वितरण गरिएका ती औषधीको कहिलेबाट म्याद सकिने हो भन्ने मिमि उल्लेख छैन । यसरी वितरित म्याद नभएका औषधीहरू स्वास्थ्यकर्मीहरूले अन्दाजको भरमा प्रयोग गर्ने÷गराउने गरेका छन् । ‘म्यादनै उल्लेख नभएको औषधी कहिलेसम्म प्रयोग गर्ने हो, कुनै टुङ्गो नै हुँदैन’ एकतप्पा आयुर्वेदिक औषधालयका प्रमुख गणेश यादवले भने ।

सकिने म्याद उल्लेख नभएको औषधी देखाउँदै एकतप्पा आयुर्वेद औषधालय, इलामका प्रमुख गणेश यादव ।


औषधालयले २०६७/०१/३० उत्पादन भएको चुर्ण औषधी नागकिलाई वितरण गरिरहेको छ । निःशुल्क रुपमा पाउने औषधी सर्वसाधारणले पनि प्रयोग गर्ने गरेका छन् । ज्वरोको लागि प्रयोग गरिने मृत्युञ्ज, त्रिमोन कृति, मोदन्त भष्मलगायतका औषधी उत्पादन भएको लामो समयसम्म प्रयोग हुने गरेको औषधालय प्रमुख यादवले बताए । उत्पादन भएको ६ महिना भन्दापछि औषधी प्रयोग गर्दा प्रभावकारी नहुने भएपनि विभागलेनै उत्पादन भएको लामो समय वितेपछि मात्र औषधी पठाउने गरेको यादवले बताए । जिल्ला स्तरमा भएको समिक्षा कार्यक्रमहरूमा औषधिको म्यादको विषयमा पटक–पटक कुरा उठाए पनि कार्यान्वयन नभएको यादवको भनाई छ ।
औषधालयमा ल्यावको समेत सुविधा नभएकाले बिरामी जाँच्नको लागि समस्या हुने गरेको छ । इलाममा रहेको तीन आयुर्वेदिक औषधालयमा मात्र होइन । मेची अञ्चल आयुर्वेदिक कार्यालयमा समेत ल्याव छैन । ल्याव नहुदा सामान्य परिक्षण मात्रै समेत हुँदैन । दीर्घकालिन रोग भएकाहरूहरूलाई परिक्षण नगरी औषधी दिन नमिल्ने भएपनि अन्दाजका भरमा औषधीको प्रयोग हुने गरेको छ । ‘औषधीको परिक्षण गर्ने ल्याव पनि उपलब्ध छैन, रङ्ग हेरेर औषधी छुट्याउछौ ।’ आयुर्वेदका सन्त लिम्बुले भने ‘डिस कलर भएको औषधी बिरामीलाई दिदंैनौ ।’
आयुर्वेदिक औषधालयबाट ५०–६० प्रकारको औषधी निःशुल्क वितरण हुने गरेको छ । वर्षको एक पटक मात्र विभागले औषधी पठाउने गरेकाले समय–समयमा औषधिको अभाव हुने गरेको स्वास्थ्य कर्मीहरू बताउँछन् । ‘पेट सम्बन्धी समस्याका र खोकीको बिरामीका लागि प्रयोग हुने औषधीको अभाव छ ।’ एकतप्पा आयुर्वेदिक औषधालयका यादवले भने । बिचमा औषधी अभाव भएपछि जिल्ला कार्यालयबाट दिने गरेको छ । इलामको होमियोपेथिक्स चिकित्साको पहुँच नभएका ठाउँमा भने आयुर्वेदिक उपचार पद्धतिको सेवा दिइदै आएको छ ।

निजी ट्याक्सी चालकहरूको आन्दोलन

दमक, २ पुष/निजी ट्याक्सी चालकहरूको आन्दोलनट्याक्सी चालकहरूले निजी नम्बर प्लेटका सवारीसाधन चलाउन नदिएको भनेर बिरोध जनाएका छन् ।
आइतबार बिहानै ट्राफिक प्रहरीले निजी नम्बर प्लेटका सबारी साधनलाई स्टेण्डमा राख्न नदिएपछि दमकका निजी ट्याक्सी चालकहरूले बिरोध जनाएका हुन् । उनीहरूले मेची र कोशी अञ्चलको रुट परमिट दिनुपर्ने, बिस्थापित चालकहरूलाई रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।
ट्याक्सी चालकहरूले कालो प्लेट बनाउन समस्या नहुने तर सहुलियत रुपमा परमिटको व्यवस्था गर्न माग गरेका छन् । नेपाल यातायत मजदुर संघ दमक नगर इकाइका अध्यक्ष बालकृष्ण श्रेष्ठले सहुलियत रुपमा रुट परमिटको व्यवस्था भए कालो प्लेट बनाउन आफूहरू तयार रहेको बताए । ट्याक्सी चालकहरूले निजी प्लेटका सबारी चलाउन नदिएको भनेर विहान केही समय पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध पारेका थिए । अहिले कालो प्लेट भएका ट्याक्सीहरूले ६ किलोमिटर पश्चिम उर्लाबारी जानका लागि ३२ किलोमिटर पूर्व बिर्तामोड पुगेर रुट परमिट लिनुपर्ने व्यवस्था छ ।

झापामा जुस बनाउने उद्योग सञ्चालन

बिर्तामोड, २ पुष/पूर्वाञ्चलमै पहिलोपटक झापाको विर्तामोडमा ८ लाख बढीको लागतमा सुन्तला प्रशोधन गरी गुणस्तरीय जुस बनाउने उद्योगको सञ्चालन गरिएको छ ।
विर्तामोडस्थित अनारमनी–३ मा स्थानीयवासी, एसियाली विकास बैँक, कृषि मन्त्रालय र कमर्सियल एग्रिकल्चर एलायन्सको सहयोगमा १८ लाख रुपैयाँ बढीको लागतमा आयोजना सुरु गरिएको जुस उद्योग सञ्चालक दीनानाथ शिवाकोटीले बताए ।
यस वर्ष उद्योगले २० टन बढी सुन्तलाको जुस उत्पादन गर्ने लक्ष्य लिएकोे सञ्चालक शिवाकोटीले बताए । उद्योगबाट स्थानीय विपन्न समुदायका ४७ परिवार लाभान्वित हुने बताइएको छ ।

विविध कार्यक्रमका साथ जेसीज सप्ताह सम्पन्न

बिर्तामोड, २ पुष/वीरता जेसीज र वीरता लेडी जेसीज बिर्तामोड झापाको संयुक्त आयोजनामा सञ्चालन भएको जेसीज सप्ताहको एक कार्यक्रमबीच समापन भएको छ ।

गत २७ गतेबाट ७ वटा छुट्टाछुट्टै प्रतियोगितात्मक कार्यक्रम गरी मनाइएको जेसीज सप्ताह भव्य रुपमा सम्पन्न भएको हो । वीरता लेडी जेसीजकी संस्थापक शारदा रिजालको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका पूर्व अध्यक्ष्ँ भूपाल खरेल, वीरता जेसीजका संस्थापक गोपालकुमार बस्नेत र सुरुङ्गा जेसीजका संस्थापक लीला चिमरियाले बोलेका थिए ।
वीरुता जेसीज र लेडी जेसीजका अध्यक्ष प्रशान्त भण्डारी र उर्मिला खरेलको संयुक्त सभापतित्व रहेको कार्यक्रममा विशाल थापाले स्वागत गरेका थिए भने गीता खनालले जेसीज आस्थावाचन गरेकी थिइन् । सप्ताह अवधिभर, स्लो मोटरसाइकल तथा स्कुटर रेश, मैत्रीपूर्ण फुटबल, हाँडीफोर, म्युजिकल चेयर, ब्याडमिन्टर र डोरी तान्ने प्रतियोगिता सम्पन्न भएको थियो । समापन कार्यक्रमको सञ्चालन स्वस्तिका आचार्यले गरेकी थिइन् । जेसीज सप्ताह अन्तर्गत भएको म्युजिकल चियरमा शोमा शिवाकोटी प्रथम भएकी थिइन् भने डोरी तान्ने प्रतियोगितामा बिर्तामोडको जेसीज गाउँस्थित परिवर्तनशील युवा समूह नेपाल प्रथम भएको थियो । त्यस्तै स्लो स्कुटी रेसमा उमा श्रेष्ठ र स्लो मोटरसाइकल रेसमा धर्मराज भण्डारी प्रथम भएका थिए ।
सुरुङ्गा जेसीज र वीरता जेसीजबीच भएको मैत्रीपूर्ण फुटबलमा उपविजेता सुरुङ्गा जेसीजलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । त्यस्तै व्याडमिन्टन प्रतियोगिता अन्तर्गत सिनियरतर्फ विशाल थापा र सञ्जयभक्त राज तथा जुनियरतर्फ मणि कन्दङ्वा र गणेश कार्कीको जोडी उत्कृष्ट भएको थियो । त्यस्तै हाँडीफोर प्रतियोगितामा वीरता जेसीजका पूर्व अध्यक्ष शेखर ढकाल प्रथम भएका थिए । उत्कृष्ट सबैलाई नगद, शिल्ड र मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।

एभरेष्ट आवाज विमोचित

पथरी, २ पुष/मोरङको पथरीमा रहेको एभरेष्ट अंग्रजी आवसीय उच्चमाविबाट एभरेष्ट आवाज नामक मासिक पत्रिकाको प्रकाशन आरम्भ भएको छ । एभरेष्ट उच्च माविमा अध्ययनरत प्लस टु का विद्यार्थीहरूको समुहिक प्रयासमा प्रकाशनमा आएको उक्त पत्रिकाको एक कार्यक्रमको बीच मंसिर शुक्रबार बिमोचन गरिएको थियो ।
विद्यार्थीहरूमा रहेको प्रतिभालाई बाहिर प्रस्फुटन गर्ने उद्देश्यका साथ शिक्षा, साहित्य, मनोरञ्जन, प्रतिभा परिचय र विद्यालय सम्बन्धी लेख रचना प्रकाशित गर्ने उक्त पत्रिकामा प्रधान सम्पादक, सम्पादक र सह–सम्पादक क्रमश हेम गिरी, दिपेन्द्र धमला र नम्रता राई रहेका छन् ।

लखनपुरमा सचेतना कार्यक्रम

लखनपुर, २ पुष/एचआइभी, एड्स तथा महिला दुव्र्यसन विरुद्ध जनचेतना दिने उद्देश्यले लखनपुरमा पाँच दिने अभियान सञ्चालन गरिएको छ ।
 ढुकढुकी युवा क्लवले आयोजना गरेको सो कार्यक्रम लखनपुरका ५ वटा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिन थालिएको छ । सोही अभियानको पहिलो चरणको कार्यक्रम अन्तर्गत ¥याली सहित सचेतना मूलक कार्यशाला गोष्ठीको आयोजना गरियो । सो कार्यक्रममा अधिवक्ता विमल संग्रौला, दिलीप संग्रौला, सुरेन्द्र जबेगु, खड्ग सम्बाहाम्फे लगायतले बढ्दो लागुऔषध, एचआइभी र एड्स न्यूनीकरण गर्न समुदाय जागरुक हुनुपर्ने बताएका थिए । कार्यक्रमका अध्यक्ष विशाल नेपालको अध्यक्षतामा भएको सो कार्यक्रम जिल्ला विकास समिति झापाको सहयोगमा भएको थियो । क्लवले सो अभियान अन्तर्गत ती कार्यक्रमहरू लखनपुुरको पञ्चकन्या, गेउरिया, पिङ्डाडा, बाह्रघरे लगायतका क्षेत्रहरूमा समेत सञ्चालन गरिने छन् ।

अखिल (क्रान्तिकारी) को कक्षागत कमिटी

दमक, २ पुष/अखिल (क्रान्तिकारी) ले दमक बहुमुखी क्याम्पसको विज्ञान संकाय तर्पm कक्षागत कमिटी गठन गरेको छ । कक्षा –११ र १२ तर्पmको कक्षागत कमिटी अन्तर्गत गठित कमिटीको क्रमशः अध्यक्षमा अर्जु राई र आनन्द कार्की चुनिएका छन् । कक्षा –११ को सो कमिटीको इञ्चार्जमा लक्ष्मी नेपाल र १२ कक्षाको इञ्चार्जमा दिपेश घिमिरे चुनिएका छन् ।
आइतबार गठित सो कक्षागत भेलाले कक्षा–११ को गठित कमिटीको उपाध्यक्षद्वयमा रिवाज दाहाल, सुनु कार्की, सचिवमा सुमन लिङ्देन, सह–सचिवत्रयमा दिपेश सुनाम, पुजन डाँगी, सुन्दर चेम्जोङ्ग र कोषाध्यक्षमा ममता विष्ट लगायत छन् ।
त्यस्तै, कक्षा –१२ तर्पm गठित कमिटीको उपाध्यक्षत्रयमा किशोर अधिकारी, निशा पौडेल, देवराज बाँस्तोला, सचिवमा सुमन गुरागाईँ, सह–सचिवत्रयमा रामप्रसाद थपलिया, मेलिना श्रेष्ठ, सुदिप शेर्मा र कोषाध्यक्षमा रमिला पौडेल लगायत रहेका छन् ।
भेलामा संगठनका जिल्ला सदस्य ज्योति भट्टराईको प्रमुख आतिथ्यतामा भएको अखिल (क्रान्तिकारी) इकाई कमिटीले जनाएको छ ।

“अनुशासन, शिक्षा र सामाजिक संरचना”

रुद्र निरौला
मानिस समाज र राष्ट्रको प्रथम ईकाई हो । उसले गर्ने व्यवहार र प्राप्त गर्ने उपलब्धीहरू सबै उसले गरेको कर्ममा आधारित हुन्छन् । त्यसै हुनाले चित्त बुझाउन मान्छे आफ्नो कर्मको फल भन्ने वाक्यांश उद्घोष गर्ने गर्दछ । असल कर्म गर्न उचित शिक्षा र अनुशीलन जनजीवन आवश्यक पर्दछ । जसलाई विधि, पद्धति, कार्यतालिका, मार्ग निर्देशन, पथप्रदर्शन, तौरतरिका आदि अनेक शब्दावलीहरू प्रयोग हुने गरेका छन् ।
“अनु” उपसर्ग “शासन” शब्दमा जोडिएर “अनुशासन” शब्दको व्युत्पन्न भएको हो । “शिक्ष” धातुमा “आ” प्रत्यय जोडिएर “शिक्षा” शब्द बनेको छ भने “समाज” शब्दमा “इक” प्रत्यय जोडिए पछि “सामाजिक” शब्दको व्युत्पत्ति भएको हुन्छ । रचना शब्दमा सं उपसर्ग जोडिएसँगै संरचना शब्द बनेको हुनाले शीर्षकमा प्रयुक्त सबै शब्दहरू व्याकरणीय सूत्रअनुसार बनेको प्रष्टै छ ।
हामी गफका सिलसिलामा एक्काइसौँ शताब्दीका अनेकौँ प्रसङ्ग जोड्छौँ । हाम्रो विगतबाट हामीले सिक्ने थुप्रै कुराहरू छन् । भोगेको वर्तमान त्यस्तो भरपर्दो बन्न सकेन । आजको गतिविधिले हाम्रो कस्तो भविष्य होला, कल्पना गर्न अप्ठ्यारो छ । हाम्रो सामाजिक संरचना अनुकरण र उपभोक्तावादमा आधारित छ । हाम्रो बाँच्ने पद्धति, आङ्ग्वरी, ढोंगी र खोक्रो बन्दै गइरहेको छ । राज्यको नीति उचित किसिमले विकसित हुन र सञ्चालन हुन सकेन । अधिकार खोज्न सबै अग्रसर बन्दै गए तर कर्तव्य बिर्सिए । बिर्सँदा सम्म त सम्झिएर उपयागमा आउला भन्ने आशा गर्न सकिन्छ तर यहाँ त कर्तव्यलाई लत्याएर बुझ पचाएर अधिकार खोज्नेहरूको बिगबिगी बढ्यो । त्यसैले समाज कल्प नै गर्न नसकिने गन्तव्य पट्टी पो भासियो । हामी सबैमा थोर धेर मिचाहा प्रवृत्ति बढ्दै गयो । हिजो सुसंस्कार हुनेहरू आर्यन समुदायमा प्रस्तुत भए जो बेदलाई जीवन यापनको मूल मार्ग दर्शन सिद्धान्त मानियो । आत्म अनुशासन तोडिन थालेपछि त्यही वैदिक समाजमा पनि विकृतिका धब्बाहरू लाग्न थाले । उत्तर वैदिक कालसम्म आइपुग्दा नपुग्दै नैतिक आचरणमा विकृतिहरू एक पछि अर्को गर्दै खाँदिए । असल मार्गदर्शन बनेको वैदिक पद्धति क्रमशः दिग्भ्रमित पथ हुँदै ओरालियो । क्षुद्र व्यवहारले बाँच्नेहरूको बढ्दो बिगबिगीसँगै समान रुपले विकसित हुँदै गएको मावन समुदाय पंक्ति–पंक्तिमा विभाजित भयो । त्यहीबाट मान्छेले आफ्नो कर्म गराईमा आफ्नो छुट्टै समूह सिर्जियो । आज मान्छेले आफ्ना–आफ्ना महत्वकांक्षाहरू तेस्र्याएर आपसमा कलह र जडसुत्रहरू कायम गरेको छ । एकातिर समानता र समन्वयका कुरा उठाइन्छ भने अर्काेतिर विभाजनका गहिरा खाडल खनेर असमन्वय हुने दरार कायम गर्दै गइरहेको छ । यो विषम परिस्थिति सृजना गर्ने आखिर मान्छेहरूको पापी मन र त्यसै अनुरुप गर्ने व्यवहार हो । यसैले सहमति समझदारी, समन्वय आदि जुन–जुन शब्द ओकले पनि र माला जपेपनि हाम्रो आपसी मन मिल्न सक्ने ठाउँ नै रहँदैन । दाउपेच गर्ने प्रतिस्पर्धा आज खुब मौलाएको छ । अठार पुराण लगाइन्छ र सन्सार थर्किने गरी ध्वनी यन्त्र जडान गरिन्छ । परोपकार गर्ने आडम्बरमा कैयौँ पक्षहरूले बलिदानी हुनुपरेको छ । आफू अनुकूल भै दिए सबै ठीक आफू प्रतिकूल भैदिए आपदै आपद । आज यही विकृत र पथभ्रष्ट पद्धतिले हाम्रा हरेक क्षेत्रबाट आत्म अनुशासन सकिए ।
छाडा तन्त्र र टापल टोपल शिक्षा नीतिले समाज सिद्धियो । आत्मीयता, मित्रता, परोपकारिता, शिष्टता र दूरदर्शितालाई पर सारेर कृतध्नता, शत्रुता, स्वार्थान्धता, विकृत एवम् क्षणभङ्गुरतामा समाज रमाउन थाल्यो । जब हाम्रो समाज बिभ्रम्स हुँदै थप भ्रष्ट भयो । अब हामी कुन पानी माथि रहेर ओभानो बन्न सक्छौँ र ? सबै विकलाङ्ग भए पछि साङ्ग र अपाङ्ग छुट्टिने प्रसङ्ग नै रहेन । हाम्रो वर्तमान शिक्षा, राजनीति, उद्योग नीति, व्यापार नीति, समाज सञ्चालन प्रक्रिया सबै विकलाङ्ग बन्न पुग्यो । हुँदा–हुँदा अब त हामीमा स्वाभिमान, स्वतन्त्रता, राष्ट्र प्रेम, मातृप्रेम, आज्ञा पालन, सेवा सुरक्षा सबै कर्म सिद्धिए । कोही कसैलाई कसैले गन्दै नगन्ने । सबै सर्वा भएपछि विशिष्टाद्वैतको अहम् ब्रम्हास्मि खुब व्यापक भयो । राष्ट्रको कारिन्दा राष्ट्रले मानेको व्यक्तिलाई नटेर्ने । मुलुकले सर्वोच्च मानेको कानुनको व्याख्या गर्ने न्यायलय र त्यसमा काम गर्ने र होची अर्गेली पर्गेल्नेहरू स्वयम् आफ्ना–आफ्ना अनुकूलका व्याख्या गर्न थाले पछि अब शासन कसले कसलाई गर्ने ? जताततै व्यभिचारलाई प्रश्रय दिनेहरू नै राज्यका ठूला पदमा बस्ने र पद्धतिलाई भञ्जन गरेर कसैलाई आफ्नो आदेश मान्नुपर्ने दर्जामा कसैले राख्ने संयन्त्र आज मुलुक बिथोलिने विक्रान्त रुप भएर देखा परेको छ । यसले हाम्रो समाजबाट असल चरित्र नायकहरूको उदय होला भन्ने ठाउँ रहेको देखिँदैन । यसैले अब साँच्चै हामीलाई सुशासन चाहिएकै हो भने अब हामी प्रत्येकमा आत्म अनुशासनको उदय हुनुप¥यो । त्यसका लागि असल शिक्षा र संरचनावादी सोचमा सबै ऐक्यवद्ध हुनुपर्दछ । सबैमा चेतना भया ।

विद्युत चुहावटमा सबैको ध्यान पुगोस्

विद्युत चुहावट नियन्त्रणका लागि राष्ट्रिय नीति छ । नीति भएर पनि कार्यान्वयन हुन नसकेको नीतिलाई नीति भन्नु कि नभन्नु ? यो फरक विश्लेषणको सवाल हो । यद्यपि स्थानीय तहमा यतिबेला विद्युत चुहावट नियन्त्रणका बारे औपचारिक थालनी हुन लागेको खबरले ग्रामीण भेगका जनतालाई केही उत्साह मिल्ने आशा गर्न सकिन्छ ।
भर्खरैमात्र झापाको दमकस्थित विद्युत प्राधिकरण दमक वितरण केन्द्रमा जिल्लाभरका विभिन्न राजनीतिक दलका नेता, प्राधिकरण प्रशासन लगायतको सहभागितामा विद्युत चुहावट नियन्त्रण गर्न विभिन्न उपायहरूको अवलम्बन गर्ने र सो कार्यमा दलीय समर्थन रहने भनी निर्णय भएको छ । दमक वितरण केन्द्र जस्तो मुलुककै ठूलो विद्युत विस्तार क्षेत्रबाट सुधारका लागि काम थालिने हो भने जनताले यस्ता कुरामा विश्वास गर्लान् र साथ पनि देलान् । तर सरकारी नीतिमा व्यवस्था भए अनुसार चुहावट नियन्त्रणका लागि औपचारिकता मात्र पूरा गर्न प्रक्रिया पु¥याइएको हो भने यो कामको चर्चा गर्नु पनि निरर्थक हुने छ ।
लोडसेडिङ्ग नेपाल र नेपालीका लागि राष्ट्रिय समस्या भन्नु भन्दा पनि उपहार हो । उर्जा सङ्कटको उद्घोष गरेर ढलेको भलनाथ खनाल सरकारका पालामा चुहावट नियन्त्रण र बक्यौदा उठाउने कार्यमा केही प्रयास भएको थियो । तर उसबेला उर्जामन्त्री रहेका गोकर्ण बिष्टको अग्रगामी कदमलाई त्यसपछिको सरकारले र सम्बन्धित मन्त्रालयले उस्तो महत्व दिन सकेन । दैनिक आधा दिनमा बढी हुने लोडसेडिङ्गको तालिका अनुसार जीविका चलाउन विवश नेपाली समाजका लागि तालिका बाहिरको विद्युत कटौतीले थप हैरानी दिएको पीडा न सरकारले बुझेको छ, न यसलाई सुधार गर्न राज्य र मातहतका निकायहरूको ध्यान पुगेको छ ।
समस्या छ, यो जगजाहेर विषय हो । तत्कालै लोडसेडिङ्गको भरपर्दो विकल्प दिन सकिएको स्थिति छैन । नेपाली जनतालाई यी विषयहरूले उस्तो प्रभाव पार्न छाडेको छ । तर प्राधिकरणले विद्युत दिन्छु भनेको समयमा पनि जनताले विद्युत सेवा नपाउने हो भने यो राज्यमा कि सरकार छैन, निकायहरू छैनन् भन्ने स्पष्ट हुन्छ । त्यसो पनि होइन भने वर्तमान सरकारको क्षमता जनताका आधारभूत समस्या समाधानका लागि समेत सक्षम छैन भन्ने हो । यस्तो सरकारलाई नालायक भन्न पछि पर्नु हुँदैन ।
जेसुकै भए पनि झापाको दमकमा गरिएको प्रयत्नले सफलता प्राप्त गर्न सके यस क्षेत्रका जनताले लोडसेडिङ्ग बाहेको समयमा विद्युत सेवा प्राप्त गर्न सक्ने छन् । त्यसका लागि उनीहरू स्वयम्ले पनि भूमिका खेल्न आवश्यक छ । जनताको साथ र सहयोग भएमा प्राधिकरणले पनि ठोस सफलता प्राप्त गर्ने छ ।