हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

क्षेत्रगत विकासमा कांग्रेसको अगुवाई: सभासद् लिम्बू

दमक/झापाको क्षेत्र नम्वर ७ मा नेपाली कांग्रेसले स्थानिय क्षेत्रको  बिकास निर्माणका  धेरै योजनाहरुको पहल गरेको जनाएको छ ।
कांग्रेसको क्षेत्रीय समितिले  शनिवार दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस पार्टीको पहलमा विभिन्न योजनाहरु ल्याउन सफल भएको दावी गरेको हो ।
कांग्रेसको तर्फबाट सभाषद महेन्द्रकुमारी लिम्बु  निर्वाचनको बेला यो र त्यो पार्टी भनेर हिँडे पनि  क्षेत्रको बिकासका लागि भेदभाव रहित ढङ्गले लाग्ने बताए । आफुलाई जनताको सेवा र स्थानिय क्षेत्रको  बिकासका लागि पठाएको हुँदा गाउँ देखि केन्द्रमा लागि पर्ने सभासद लिम्वुले बताइन् । उनले भनिन –‘जनतालाई संविधान र विकास चाहिएको छ, त्यसमा म लागि पर्ने छु ।’
पत्रकार सम्मेलनमा सहभागी कांग्रेसका नेता तथा कार्यकर्ताहरु ।
दमक–रवि चिसापनी (फाल्गुनन्द) सडकमा ८ करोड रुपैयाँ विनीयोजन भएको कांगे्रसले दावी गरेको छ । ‘कांग्रेसको वर्तमान सरकारले यस क्षेत्रलाई प्राथमिकता दिएका हुन ।’ सभासद् सुब्बाले भनिन् । कांगे्रसको पहलमा धरमपुर –शुक्रबारे हुँदै पाँचगाछी जोडिने सडक कालोपत्रे योजना आफनो पहलमा ल्याएका उनले दावी गरिन् । एमालेले विभिन्न योजनाहरु आफ्नो पहलमा आएको दाबी गरेपछी कांग्रेसले पनि पत्रकार सम्मेलन गरेको हो । एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित झापा ७ मा  सुुब्बा कांग्रेसको तर्फबाट समानुपातिक तर्फकी सभाषद हुन् ।
कांग्रेसको नेतृत्वमा बिकास मन्त्रालयहरु भएका कारण धेरै योजनाहरु परेको उनको दाबीको छ ।  सुुब्बाको पहलमा सेतुुमारी जहदा खरखरे —४ इन्द्रेणीताल, तोपगाछी – ३ र ४ जोड्ने भुत्लुुङ खोलमा पुल निर्माणमा बजेट आएको, धरमपुर र तोपगाछीको सिमानामा पर्ने कमल खोलाको तटबन्धनको लागि गुरु योजना पार्न सफल भएको उल्लेख छ ।
सरस्वती माबि लखनपुरको जेटिए भवन निर्माण, लक्ष्मी नारायण उमाविको भवन निर्माण , दमक– १६ को गुरुकुल भवन निर्माणका लागी बजेट बिनियोजन भएको  पार्टीले जनाएको छ । दमकका विभिन्न वडामा बिद्युत पोल खरिद गरिदिएको,  दमक १ का महिलालाई सिलाई कटाईमा सहयोग गरेको,  धिमाल महिलाहरुको सीप अभिवृद्धिका लागि सहयोग गरेको, लखनपुरका गाविसको विभिन्न ह्युम पाइप खरिद गरेको  र धरमपुरको धाधर खोला  नियन्त्रण गर्न पहल गरेको कांग्रेसले जनाएको छ ।
कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति शेरबहादुर
भट्टराईले कार्यक्रमको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा महासमिति सदस्य सुरेस सुुब्बाले कांग्रेसको नेतृत्वका विभिन्न योजनाहरु आएको बताएका थिए । कार्यक्रममा पार्टीका जिल्ला कोषाध्यक्ष देवी प्रसाद दाहाल, महासमिति सदस्य राजन ढुङ्गाना, महाधिवेशन प्रतिनिधी हुकुमसिंह राई, नगर सभापति ढुण्डीराज भण्डारी, नेविसंघ जिल्ला सभापति रोशन विष्ट, दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाई, तरुण दलको क्षेत्रिय सभापति गोकुल श्रेष्ठ, लखनपुर पार्टी सभापति टंक सेढाई, तोपगाछी पार्टी सभापति पूर्णमान श्रेष्ठ, धरमपुर पार्टी सभापति विनोद ढकाल लगायतको उपस्थिती रहेको थियो ।

सुँगुर छाडा पाल्न रोक लगाइने

दमक/दमक–३ स्थित बेलडाँगी टोल विकास संस्थाले लापर्बाही छाडा गरेर पालिएका पशु चौपायाहरु छाडा रुपमा पाल्न नपाइने संस्थागत निर्णय गरेको छ ।
शरणार्थी बसोबास पश्चात जनघनत्व बढ्न गएको बेलडाँगी बजारमा आजभन्दा अगाडी बग्रेल्ती सुँगुर, हाँस, कुखुराहरु छाडा पालिँदै आएको कारणले उक्त क्षेत्रमा दैनिक दुर्घटनाको जोखिम बढ्दै गएपछि छाडा पशुचौपया नियन्त्रण गर्न स्थानीय बासिन्दाहरु जुटेका हुन् । वातावरण प्रदुषित भएका कारण संस्थाबासी उपभोक्ताहरु आफ्नै पहलमा छाडा पशु नियन्त्रण गरी व्यवस्थित रुपमा पाल्ने निर्णय गरिएको सचिव कुमार श्रेष्ठले बताए ।
बेलडाँगी बजार क्षेत्र आसपास पर्ने रिङ्गरोडमा अनाधिकृत घर बनाउने, बाटो मिची रुखबिरुवा रोप्ने, काठदाउरा, पशुचौपायाको खोर निर्माण गर्ने जस्ता अवाञ्छनित कार्य समेत अत्यन्त बढेर गएको भन्दै स्थानीय स्तरमा शान्ति सुरक्षा र सभ्य समाज निर्माण जनस्तरमा अभियान थालिएको हो ।
बेलडाँगीमा सरसफाईमा जुट्दै स्थानीय बासिन्दाहरु
शनिबार उक्त टोल विकास संस्थाले अगुवाई गर्दै विभिन्न सामाजिक संघसंस्था समेतको उपस्थितिमा सडक किनारमा रोपिएका सयौँ रुखहरु, केराका झ्याङहरु काट्ने, फाँड्ने तथा सडकमा निर्मित पशु चौपायाका खोर, टहराहरु, घर व्यवहार उपभोगजन्य वस्तुहरु हटाउने काम सम्पन्न गरेका छन् ।
बेलडाँगी टोल विकास संस्थाका अध्यक्ष देबेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा हम्सेदुम्से सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिमालय प्रसाद दाहाल लगायत पदाधिकारीहरु सशस्त्र प्रहरी बल बेलडाँगी–१ का प्रमुख प्रभुत्न थापा लगायत प्रहरी जवानहरु, टोल विकास समन्वय समितिका उपाध्यक्ष गणेशकुमार चाम्लिङ्ग राई, समाजसेवी राम सुब्बा, दमक नगरपालिकाका निमीत्त महेन्द्र बस्नेत लगायत स्थानीय टोलबासीहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

दमक–१० को टिम विजयी

दमक/दमकमा जारी फुटवल प्रतियोगिताको शनिवार भएको खेल  दमक १० को टिमले जितेको छ ।  दमक १२ सुकुम्वासी टोलमा भएको खेलमा राइजी स्टार दमक १२ को टिमलाई  २–० गोल अन्तरले हराएको हो ।  वडानम्वर १० को टिमको तर्फबाट सुरज क्षेत्रीले एक गोल र  क्षितिज राईले एक गोल गरेका थिए ।  सोमवार हुने  खेलमा हेलसी युथ क्लव र पानस युवा क्लव बीच  हुने आयोजकले जनाएको छ ।

दमकमा अन्तर बिद्यालय चेस प्रतियोगिता हुने

दमक/झापाको दमकमा अन्तर बिद्यालय बुद्धिचाल (चेस) प्रतियोगिता हुने भएको छ । दमक–११ स्थित नरेन्द्र मेमोरियल अंग्रेजी बिद्यालयमा आगामी साउन २३ गते देखी १० गतेसम्म स्थानिय डाइनेमिक चेस एकाडेमी र झापा जिल्ला चेस संघको संयुक्त प्राविधिक सहयोगमा सो प्रतियोगिता हुने भएको हो ।
शनिबार दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा बिद्यालयका (बुद्धिचाल) चेस खेलका शिक्षक समेत रहेका चेस खेलाडी निरज (भुपेन्द्रराज निरौला) ले प्रतियोगिताका बारेमा जानकारी गराएका हुन् । उनले प्रतियोगतामा महिला र पुरुषतर्फ अलग–अलग खेलहरु हुने बताए । ‘पूर्वका मोरङ्ग, सुनसरी, उदयपुर, इलाम र झापाका बिद्यालयका बिद्यार्थीहरुको सहभागिता जनाउँने छ, निरौलाले भने । सहभागीहरुले प्रतियोगितामा समाबेश बापतको लागि एक सय रुपैयाँ लाग्ने र मुख्य उत्कृष्ट र दशौँ स्थानका लागि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने निरौलाले जानकारी दिए ।
प्रतियोगिताको बारेमा जानकारी गराउँदै नरेन्द्र मेमोरियल अंग्रेजी बिद्यालयका संस्थापक प्रमुख दिनवन्धु निरौलाले चेस खेललाई लोकप्रिय खेलको रुपमा स्थापित गराउन चेस प्रतियोगिताको आयोजना गरिएको बताए । उनले वौद्धिक जगतमा वौद्धिक खेलको माध्यमद्वारा आफूलाई परिचय गराउनु पर्नेमा जोड दिए ।

हिमालय उमाविमा अखिल क्रान्तिकारी

दमक/एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले हिमालय उच्च माविमा इकाइ समिति गठन गरको छ । शुक्रवार विद्यालयमा भएको भेलाले इकाइ समितिको अध्यक्षमा बिवेक शाहलाई चयन गरेको छ ।
समितिको उपाध्यक्षहरू रष्मि कटुवाल, दिपेन मगर र सौरभ सुवेदी, सचिवमा बुद्धि पौडेल, सह–सचिवहरू सुनिता अधिकारी, नविन अधिकारी र नविन अर्याल साथै कोषाध्यक्षमा अनुषा दाहाल सहित ३५ सदस्यीय समित रहेको छ । भेला क्रान्तिकारीका झापा क्षेत्र नम्बर ७ का संयोजक रवि बस्नेतको प्रमुख आतिथ्यमा भएको थियो ।

विरानो सहरमा सूर्यका गजल – कृति समीक्षा

दिलिप घिमिरे
अरवीबाट फारसी, हिन्दी, तथा उर्दु भाषा हुँदै नेपालीमा भित्रिन आएको गजल खास प्रकारको संचनामा आबद्ध विधा हो । बराबरी लम्बाइ वा एउटै छन्द भएका दुईदुई पङ्तिका कम्तीमा तीन सेर हुने यस विधामा मूलतः अन्त्यानुप्रासका क्रममा काफियापछि दोहोरिएर आउने रदिफ पनि रहेको हुन्छ । गजलका प्रत्येक सेर आफैँमा पूर्ण हुन्छन् । र यी गजलमा गजलकारले आफ्नो उपनाम ‘तखल्लुस’ राख्ने प्रचलन पनि छ । यस्तो विशेष बनोटका अतिरिक्त गजलमा भाव, कल्पना, लय तथा छन्द, विम्व तथा प्रतीक र भाषाजस्ता तत्वहरू प्रयोग हुने गर्दछन् । गजलमा प्राचीन समयमा प्रेमसम्बन्धी विषय प्रयोग हुने गरेकामा समयक्रममा यसमा अनेक विषय वा प्रयोग हुन थालेको पाइन्छ भने एउटा गजलका सबै सेरमा एउटै विषय वा भिन्न भिन्न विषय प्रयोग हुने प्रचलन पनि देखिन्छ ।

गजलका लागि अर्को आवश्यक कुरा लय वा गेय हो । गजल स्वयम्मा एउटा बिशिष्ट रूप हो र यो मूलतः लय र सङ्गीतको जगमा अड्को हुन्छ, लय र सङ्गीतात्मताको अभावमा गजलको कल्पना गर्नु हावामा उभिनु सरह हो । अहिले केही गजलकारहरू वहरमा लेखिएका गजल मात्र गजल हुन भन्ने भ्रममा छन् । मौलिक लय विधानमा रहेर पनि गजललाई गेयात्मक बनाउन सकिन्छ भन्ने कुराको ज्ञान हुनु आवश्यक छ ।
लयबिनाको पनि गजल हुन्छ भन्नेहरू भ्रमजीवी मात्र हुन् र यही लयले गजलको छन्दको निर्वाह गरेको हुन्छ । पहिलो पंक्तिमा भएको मात्रा प्रत्येक हरफमा हुनु जरुरी छ । अर्थात्् गजलका प्रत्येक पंक्ति एउटै लयमा आबद्ध हुन्छन् । जहाँ लय भङ्ग हुन्छ त्यहाँ गजलको संरचनागत अनुशासनको पालना नभएर असङ्गतितिर बहकिएको मान्नुपर्छ । यसकारण अनुशासित हुनलाई गेय वा लय पालनामा अत्यधिक सजग र सचेत हुनुपर्दछ । यसका साथै शब्द चयन र वाक्य गठनमा पनि त्यतिकै ध्यान दिनु आवश्यक छ, किनकि गजल भनेकै थोरै शब्दमा धेरै र गहन कुरा ब्यक्त गर्ने कोमलता र हार्दिकता बोकेको काव्य रूप हो ।
नेपालमा मोतीराम भट्टद्वारा गजलको बीजारोपण गरियो । नेपालमा प्रारम्भिक चरणमा मूल शृङ्गारिक र केही मात्रामा भक्ति तथा देशभक्तिपूर्ण गजल लेखिएको पाइन्छ । भने २०३६ सालदेखि यसको लेखनमा तीव्रता आउनुका साथै कथ्यगत विविधता पनि धेरै भएको पाइन्छ । नेपालीमा गजल लेख्नेहरूमा मोतीराम भट्ट, शम्भु प्र. ढुङ्गेल, भीमनिधि तिवारी, उपेन्द्र बहादुर ‘जिगर’, ज्ञानुवाकर पौडेल, ललिजन रावल, मनु ब्राजाकी, आदि विशेष उल्लेख्य मानिन्छन् भने अन्य कतिपय गजलकारहरूले पनि गजलका क्षेत्रमा आफ्नो उपस्थिति जनाइसकेका छन् । झापा धरमपुर निवासी गजलकार ‘सूर्य कुर्इाकेल’ आफ्नो पहिलो गजलकृति ‘विरानो सहर’ लिएर आउनुभएको छ । गजलको मेहफिलमा सूर्यजीलाइ स्वागत छ । सूर्य कुर्इाकेल तपाइँले धेरै पढेको, सुनेको नाम हो कथा, कविता, लेख आदिमा । तर गजल लेखन, प्रकाशन वा वाचनको बिषयमा भने म नजिकको साथी भए पनि अनभिज्ञ रहेँ । कहिल्यै गजलको विषयमा चिया गफ भएन । एक्कासी गजलको पाण्डुलिपि हात लाग्यो ‘विरानो सहर’ । म तीन छक्क परेँ गजल पढेर ।
जे जे गर्नु परेपनि गर्छु नेपालमै
मर्नु परेपनि बरु मर्छु नेपालमै
मुग्लानमा भासिएर सुख खोज्नुभन्दा
कोदो फापर खाई पेट भर्छु नेपालमै

सुन फल्ने उर्वर माटो मेरै देशमा छ
सुन्दरताको पुरै पाटो मेरै देशमा छ

जिउँदो इतिहास बोक्ने, एकता र बिरताको
पुर्खाको त्यो अमीट खाटो मेरै देशमा छ ।
यसरी नेपाल र नेपाली हुनुको गौरव, गजलमा पोख्दै राष्ट्रप्रेम, देशभक्तिको भाव कुशलतापूर्ण शैलीमा अभिब्यक्त गरेका छन् गजलकारले । गजलका न्यूनतम मान्यताहरू यी गजल सेरभित्र उपस्थित छन् । भाव र रूपका दृष्टिले अब्बल गजलकार सूर्यजीका केही अन्य सेरहरू हेरौँ –
सुन्दै मन पर्ने आहा ! गाउँ धरमपुर
रमाइलो छ हामीलाई यो ठाउँ धरमपुर

गजलका रस बोक्ने बहरहरू मीठामीठा
तिम्ले मलाई मायाँ गर्ने रहरहरू मीठा मीठा

गौतमबुद्ध फेरि आऊ, देश अचेल यही भन्छ
शान्ति फेरि दिई जाऊ देश अचेल यही भन्छ

कसलाइ सुनाऊँ तिम्रो कारण यो दिल दुखेको छ
रुँदा रुँदै परेलीको यो डिल दुखेको छ
यसरी यी गजलहरू सहज छन, सरल छन् र सम्प्रेषणीय छन् । यी गजलमा गाउँको र सहरको दुवै भाषा छ । झरना झैँ बगेका छन् । गजलमा बिम्ब र प्रतीकको प्रयोग उचित रूपमा गरिएको छ । सूर्यजीका गजलमा भाषीक प्रयोगले गजलहरू कति ठाउँमा चित्रात्मक पनि भएका छन् । कतिपय गजलहरूमा गाउँले परिवेशको सुगन्ध पाइन्छ भने कति गजलसेरहरूमा सहरिया र फोहोरी राजनीतिको दुर्गन्ध आउँछ । गजल सँरचनाको दृष्टिकोणले यी गजलहरू अध्ययन गर्दा सर्वप्रथम रदिफ र काफीयाको संयोग हेर्नुपर्ने हुन्छ । यस गजल संग्रहका सम्पूर्ण गजलहरूमा रदिफ र काफियाको सुन्दर मेल गरिएको छ । रदिफविहीन गजल यस संग्रहमा परेका छैनन् । रदिफ, काफीयाको सुन्दर प्रयोग गरी गजलकारले भजनमा पनि आफ्नो कलाको सुन्दर प्रयोग गरेका छन् । भजनको शास्त्रीयतामा गजलको शेर–
बाँसुरीको मीठो धुन बजाइदेऊ न कृष्ण काले
धुनसँगै राधाजीलाइ नचाइदेऊ न कृष्ण काले

सूर्यका गजलमा सरल शब्द संयोजन, गहिरो भाव प्रस्तुत गर्ने कुशलता छ । गजलमा विविधता प्रस्तुत गरेका गजलकार एउटै विषयवस्तुमा मात्र सीमित रहेका छैनन् । सूर्यको तेजस्वी प्रकाश झैँ फैलिएका छन् । कतै माटोको अगाध माया, कतै प्रकृतिप्रेम, जीवनका विविध पक्षहरूको चिरफार, कुण्ठा, पीडा, सुख दुःख, देश परदेश आदि पक्षहरूलाई गजलका सेरहरूमा कुशलताका साथ उनेका छन यस संग्रहमा ।
 भावगत विविधताका साथै मीठो लयमा आबद्ध यी सेरहरूले हामीलाई छुन्छन नै । यी सेरहरूले सूर्यमा एउटा निक्कै राम्रो संभावनाको सङ्केत गर्दछन् ।
सूर्य कुर्इाकेलका कतिपय गजलमा काफीयामा दोष देखिन्छ । कतै गजलको मत्लामा प्रयोग गरिएको लय र त्यसपछिको सेरमा प्रयोग भएको लयमा अन्तर छ । गजलतत्वको कमी पनि महशुस हुन्छ गजल पढ्दै जाँदा । यसर्थ लयलाई आत्मासात् गरेर गजल सिर्जनामा गम्भीर भएर लागेमा गजलकार सूर्य कुर्इाकेल हामीलाई सुन्दर गजल सृजनाहरू प्रदान गर्नमा सक्षम हुनेछन् र नेपाली गजलमा आप्mनो अलग पहिचान सहितको स्थान बनाउने छन् । सफलताको शुभकामना गजलकृति र गजलकार सूर्य कुर्इाकेलमा यिनै गजल सेरहरूसहित ।
अँध्यारोमा जुन भेटेँ विरानो सहरमा
मनको मीठो धुन भेटेँ विरानो सहरमा

कतै चोट कतै खोट जागर अनि जोस
उम्लिएको खुन भेटेँ विरानो सहरमा

मेरो फगत् एउटा प्रयास कसी लाउन खोज्नु
अकवरी सुन भेटेँ विरानो सहरमा
timilaisamjhepachhi@yahoo.com

सिद्धान्तको होलोग्राम र हामी

नरपति पाण्डे
 “होलोग्राम हेर्नुहोस् नत्र ठगिनु होला” आधुनिक व्यापारको विज्ञापन अर्थात सन्देश हो यो । शीत युद्धमा प्रजातन्त्र र मानवअधिकारको विज्ञापन बिछट्टै चल्यो । अलिपछिबाट समावेशी र अग्रगमनको कानै खाने कोकोहोलो चल्दै आएको छ । शीत युद्धमा आणविक विषाक्तको डरलाग्दो हल्लाले संसार विक्षुप्त थियो । अहिले नक्कनी दर्शनको बिगबिगीले विभिन्न मुलुकहरू त्रसित छन् । कुन्नी किन मेरो कलमले अकस्मात होलोग्राम लेख्दैछ । पढ्नेलाई कस्तो लाग्ला माफ पाउँ । किनबेचका वस्तुहरूमा कम्पनीले टाँचा लगाएको सद्दे चिनारी गराउने होलोग्राम । कस्तो कम्पनी ? उपभोग गर्ने सरसामान उत्पादन गर्ने कि कार्यकर्ता उत्पादन गर्ने ? कोही झुक्किएर त कोही फँसेर चित्तपर्छन् । चिन्तनभूमिमा कुण्ठा लत्पतियो भने उत्पादनको मिसन र भिजन निर्दिष्ट हुँदैन ।
पहिले कलिलो हुँदा ‘खोइ मुसा ? दुला भित्र पस्यो’ भन्ने खेल खेल्थ्यौं । अहिले छिप्पेपछि खेल पनि अलि छिप्पिसकेको छ । एकपटक खेलौं है– खोइ बुद्धि ? विवेक खोज्न गयो । खोइ विवेक ? ढुङ्गामुडा भित्र पस्यो । खोइ ढुङ्गामुडा ? हत्या–हिंसाले पन्छायो । खोइ हत्या–हिंसा ? नेताको गिदीमा छ । खोइ नेता ? बन्दुकभित्र पस्यो । खोइ बन्दुक अविवेकीले लग्यो । खोइ अविवेकी ? अधिकार भित्र लुक्या छ । खोइ अधिकार ? मानवअधिकार काँ गयो । खोइ मानिवअधिकार ? समावेशीले छोप्यो । खोइ समावेशी ? डलर भित्र्याउँदै छ । खोइ डलर ? शान्तिसँग जिस्किँदै छ । खोइ शान्ति लुटेराले लुट्यो । खोइ लुटेरा ? दलले लुकायो । खोइ दल ? दलदलमा भासियो । वाह ! दमदार खेल ।
सुन्दा उदेकलाग्दो, उट्पटयाङ् र रेला गरे जस्तो । तर्कमा हरेक कुराको सन्दर्भ जोडिने गर्दछ । त्यहाँ जोडिएको मर्मको मूल्य गहिरो हुन्छ । अलिकति के कसैले दिन्छु भन्दा आफ्नो सर्वस्व दिने हाम्रो बानी । कथित सिद्धान्तहरूको अन्तरवस्तु केलाउन तर्फ लाग्दैनौ हामी । बेसारेहरूको परिपाटी पार्ने सीपलाई दिग्गज मानिदिन्छौं । कस्तो दिग्गज वाह ! “यसले अब के–के त गर्छ है” प्याच्चै भनिदिन्छौं । यहि प्रवृतिले नेताको रुप लिएकाहरू सर्किएका छन् भन हामी नेता बनाइ दिनेहरू भने लत्रिएका छौं । सिद्धान्तको होलोग्राम सक्कली वा नक्कली हामी पर्गेल्न तर्फ अलिकति पनि कसरत नगर्ने बानीले निरन्तर ठगिएका छौं ।
कानो राजनीति । बहिरो राजनीति । थेत्तरो र लबस्तरो राजनीति । कस्तो मौसमी छेपारो रङ्गको हुँदो रहेछ । यो राजनीति ! हामी नागरिक पनि कति दानी छौं । आफ्नो अत्यन्तै गोप्य र किन्न नै नपाइने मत लुसुक्क छिपकलीहरूलाई दिएपछि किन जिङ्ग्रिङ्ग पर्नु हुन्छ ? पहिले लुगा लगाएर आउँछन् । अभिमतबाट सुशोभित भइसकेपछि नाङ्गै भएर सत्ता चलाउँछन् । राजनीति गर्मीको खेल हो । एकधरो पनि जीउमा नलगाइकन खेल्न जान्नुपर्छ । आशक्ति तरङ्ग, भ्रष्ट लहड, लटमुखा गद्दु राजनीतिको कुनै सिद्धान्त हुन्न । अलिखित नक्कली होलोग्रामवेष्टिक चटके वबक्पटुताले शाभित भाषणजीवीहरूले आशामा बाँचेका मान्छेहरूलाई ठग्छन् । छट्टुहरूको आतुरकलाको आयाम जति चाँडो फैलिन्छ त्यति नै दोब्बर भएर खुम्चिन्छ, होलोग्राम च्यातिएपछि । मानवताका गरीब छन्, ती सिजनको राजनीति गर्नेहरू । भावनाका धनी छन् आशामा बाँच्नेहरू बजारका एक मौसमी ग्यारेन्टीका गरगहना झै नक्कली होलोग्रामको सिद्धान्तले टुना लगाउँछ र एकफेर झुक्याउँछ । एउटा झुण्डले पैसा र शक्ति कमाउँछ अनि मस्तीमा बुर्कुसी मार्छ । हामी त्यसैको जादुमा लठ्ठिन्छौं र ठगिएको समयपछि व्युतिन्छौं । नक्कलीहरूको ऋतु हुँदै । देश र भेष पनि हुँदैन । हृदयी भावना र सद्भावी कामना पनि हुँदैन । त्यसैले डर त्रास आदिबाट बँचेर सक्कली र नक्कलीको भेद खुट्याइ आफ्नो सुरक्षा खोज्नु पर्छ ।
सत्ता बाहिर रित्तो हुँदा लगाउने नारा– “हत्या हिंसा बन्द गर । लोकतन्त्र बहाली गर । गणतन्त्र जिन्दावाद । क क अरु बन्द गर ......................... । महङ्गी नियन्त्रण गर । सबैलाई राजगोरीको ग्यारेण्टी गर । अनाथ, अपाङ्ग, वृद्धहरू र बालबालिकाहरूको संरक्षणको व्यवस्था गर । विस्तारवादी घुसपैठ बन्द गर । खुला सीमाना व्यवस्थीत गर । विदेशी कामदारलाई वर्कपरमीट लागू गर । पुलिस धरपकड बन्द गर” आदि इत्यादि । नाराको खुदोमा लटपटिएको जुलुश र चेपुवामा परेर मरेका मानिसहरूको शहादतबाट उत्पन्न शक्तिबाट सत्ता प्राप्त गरेपछिको रङ्ग आहा ! स्याउ दाना गाला । क्रिमदाना छाला । अनि नारा जुलुशका सहयात्री वा जनतालाई उही पुरानो सास्ती । वाह ! “वाद” को होलोग्राम । सक्कली नक्कली वा पवनकली ? पहिले क्रान्ति वा परिवर्तनको आन्दोलनमा लाग्दा देखिएको सिद्धान्तको होलोग्राम राम्रै लाग्दथ्यो ।
हृदयमा कान नहुने र आँखामा आँखा नहुनेहरू पो राजनीतिको उच्च पदमा बस्दारहेछन् । माग माग्न आफू अह्राउने । अनि आफूले दिने समयमा धम्की दिने । कस्ता प्रजातिका छिप्कलीहरू हुन् ? पहिचान गर्न जीव विशेषज्ञहरूलाई सादर अनुरोध गर्दछु । नक्कली छाला भित्र वा खद्दरको थैलो भित्र भूस, कत्रन र पराल खाँदेर बाहिर भुत्ला टाँसेर बाघ, भालु, कुकुर, चरा, आदि आकृतिको खेलौना र जनहित, नागरिकहित, जनहितका लागि लोकतन्त्र वा जनवादको शासनको आकृतिमा फरक होला ? जनतालाई कार्टेलिङ् गर्ने सैद्धान्तिक सेन्डिकेटवादीहरूको वास्तविक दार्शनिक धरातल हुँदैन । डण्डहीनताले लबालब भएको गतिविधिलाई कुनै सैद्धान्तिक र दार्शनिक आवरण लगाउन खोज्नु नक्कली होलोग्राम टाँसेर शासन चलाउने दाउपेच हो ।
सेवा, समर्पण र पहलकदमी जनहीत व्यवस्था चलाउनेहरूको आधार हो । नागरिकहरूको विपन्नता, अचेतनता, अबुझपन, अशिक्षित अवस्था आदिलाई चतु¥याइँपूर्वक बुझेर डरको मनोविज्ञान स्थापित गरी त्यसैको आधारमा राजनीति अगाडि बढाउने प्रवृति ‘खोइ मुसा ?’ को खेलबाट प्रष्ट हुन्छ । कर्मको भाषा नजान्नेले रगतको भाषा बोल्छ । शहिदको भावमूभि नबुझ्नेले शहिदको खेती गर्छ । जनताको पीर नचिन्नेले पिराहा वितण्डता मच्चाउँछ । त खोइ न्याय ? अपराधले लग्यो । खोइ अपराध ? राजनीतिले लुकायो । खोइ राजनीति ? राहत बाँड्दैछ । खोइ राहत ? डोनर खोज्दै छ । खोइ डोनर दुरविन लगाउँदै छ । ओहो ! हामी कति भाग्यमानी दुरविनबाट हेरिने ।
गाली गर्न पनि पाइने थाली थाप्न पनि पाइने । कस्ता दानी विस्तारवादी र साम्राज्यवादीहरू । “साम्राज्यावाद मुर्दावाद, विस्तारवाद मुर्दावाद” यो पनि क्रान्ति उठाउने होलोग्राम नै हो । तिनैले गाँस वास र आस दिन्छन् कसरी हुन्छन् ति विस्तारवाद र साम्राज्यवाद ? यहि त हो सिद्धान्तको नक्कली होलोग्राम । अझै हेर्दै र चाख्दै जानुस् । हामी पराइद्वारा ‘पालिने’ मा पुग्नै आँटेका छौं ।
navinnp45@mail.com

सुनकोशी समस्या र राज्यको कमजोरी – सम्पादकीय

पहिरोले सुनकोशी नदीको वहाव थुनिएपछि गम्भीर समस्या उत्पन्न हुने आशंका गरिएको छ । शनिबार राति अचानक सुनकोशी नदीको वहाव थुनिने गरी गएको पहिरोका कारण सिन्धुपालचोकको माङ्खा गाविस र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । पहिरोका कारण ८ जनाको मृत्यु भएको स्पष्ट जानकारीमा आए पनि यो प्रकोपबाट हताहत हुनेहरुको संख्या धेरै भएको अनुमान सरकारी निकायका जिम्मेवार अधिकारीहरुबाट प्राप्त भएको छ । २०० जना भन्दा बढी मानिसहरु वेपत्ता रहेको खबर प्राप्त भए पनि उनीहरुको अवस्थाका बारे खास भरपर्दो सूचना प्राप्त हुन सकिरहेको छैन । पहिरोग्रस्त क्षेत्रमा उद्दार कार्य जारी राखिएको भए पनि हालसम्म यस प्रकोपबाट कति नोक्सानी भएको भन्ने यकिन तथ्याङ्क कतैबाट प्राप्त हुन सकिरहेको छैन ।
एकातिर पहिरोको घटनाले निम्त्याएको त्रासदीबाट पीडित जनतालाई भरपर्दो सुरक्षा व्यवस्थापन र उद्दार एवम् विस्थापनमा परेका सर्वसाधारण मानिसहरुका लागि उचित वास र गाँसको प्रवन्ध गर्न राज्यका निकायहरुलाई धौ–धौ परिरहेको छ भने अर्कातिर पहिरोसँगैकै कारण सुनकोशी थुनिँदा थप जोखिमको सामना गर्न परिरहेको अवस्था छ । सुनकोशी नदी थुनिएको घटना शनिबार दिनभरका लागि गम्भीर चासो र खतराको विषय बन्यो । अद्यपि यो खतरा टरिसकेको अवस्था छैन । राज्यका तर्फबाट सनकोशी नदीको दुवै किनारातर्फ २ सय मिटर क्षेत्रलाई संकटग्रस्त भनी घोषणा गर्ने कार्य भएको छ । तर, पहिरोका कारण थुनिएको नदीलाई पुरानै अवस्थामा बहने स्थिति निर्माण गर्ने ल्याकत राज्यसँग छैन । नदीमा पानी जम्ने क्रम बढेसँगै यदि पहिरोका कारण तालमा रुपान्तरण भएको जलाशय एकै पटक बग्न जाने हो भने त्यसले अर्को विपतको स्थिति सृजना नगर्ने भन्ने कुरो हुँदैन । अहिलेको भन्दा कयौं गुणा बढी क्षति त्यसपछि निम्तने खतरा छ ।
सुनकोशी नदीको संगमस्थल सप्तकोशी नदी भएका कारण सप्तकोशी नदीले छुने सबै जिल्लाहरुका लागि यतिबेलाको जोखिम बाँढिएको छ । राज्यका तर्फबाट सिन्धुपालचोक जिल्ला लगायत काभ्रे, सिन्धुली, ओखलढुङ्गा, खोटाङ, उदयपुर, सप्तरी र सुनसरी लगायतका जिल्लाहरुलाई सचेत गराइएको अवस्था छ । सप्तकोशी नदी किनारका वस्तीहरुबाट सर्वसाधारण जनतालाई सुरक्षित स्थलतर्फ सार्न निर्देशन दिइएको अवस्था छ । यतिबेला राज्यले जे(जसरी गम्भीर बनेर यो समस्या समाधान गर्न तातिएको अवस्था छ, तथापि यतिबेला समस्या सोचे भन्दा अरु बढी गम्भीर र नियन्त्रण बाहिर गइरहेको अवस्था भने हो । यो प्रकोप हो । यसका लागि कसैलाई दोष दिन त सकिँदैन । तर प्रकोप निम्तनुका पछाडि मानिसहरुबाटै हुने लापर्बाही पनि जिम्मेवार छ ।
पहिरोको जोखिम रोक्न सक्ने एक मात्र उपाय पर्याप्त वृक्षारोपण नै हो । राज्यले ४० प्रतिशत भू–भागलाई वनक्षेत्रका रुपमा विकास गर्ने नीतिगत निर्णय गरेको भए पनि अवस्था ठीक विपरीत छ । विश्वभर जलवायु परिवर्तनका कारण विभिन्न किसिमका प्रकोपजन्य घटनाहरु बढेर गइरहँदा त्यसको असर नेपालमा चाँहि नपर्ने भन्ने हुँदैन । तर, वातावरणमा जसले बिकार उत्पन्न गराएको भए पनि त्यसले पार्ने असर चाँहि विश्वभरका सबै मुलुकहरुले भोग्नुपर्ने नियतिबाट हामी अछुत रहने विषय असम्भव छ । यतिबेला सुनकोशीले निम्त्यिाएको जोखिम सार अर्थमा यी विषयहरुबाट फरक र अलग पक्कै पनि छैनन् । यो विषम परिस्थितिलाई राज्य र सुरक्षा प्रशासनले जिम्मेवारीका दृष्टिले मात्रै हेर्ने हो भने त्यो समवदेनाहिनताको अर्को रुप हुने छ ।
यतिबेला हामी गम्भीर समस्या र उच्च जोखिमका परेका छौं । यो जोखिमलाई कसरी व्यवस्थापन गर्ने ? यस विषयमा राज्यका निकायहरुले गहन विश्लेषण गरेर उपाय निकाल्न जरुरी छ । जोखिम व्यवस्थापनका सन्दर्भमा राज्यले अवाश्यक तयारी गर्न नसक्दाको परिणाम यतिबेला असंख्य नेपाली जनताले भोग्न वाध्य भएका छन् । यो परिस्थितिमा राज्यको कमजोरी स्पष्ट झल्कन्छ । तर पनि दुःखको यस घडीमा राज्यलाई वा अरु कसैलाई दोष दिने र पन्छने हो भने हामी सचेत नेपाली जनताले नागरिक हुनुका नाताले पूरा गर्नुपर्ने जिम्मेवारी अधुरै रहने निश्चित छ । यो बेला राष्टू नै संकटमा परेको छ । यतिबेला कसैलाई खुच्चिङ भन्नु भनेको मानवताको न्युनतम मूल्यलाई पनि बिर्सनु हो । हामी कसैबाट पनि त्यस्तो नहोस् ।