हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

साहित्यकारले पनि पठाए राहत

मोरङ । महाभूकम्पबाट प्रभावितहरुका लागि मोरङका साहित्यकारहरुले पनि प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा राहत रकम पठाएका छन् । बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीमार्फत ६८ हजार ४ सय १८ रुपैयाँ पठाएका छन् । प्राज्ञ विवश पोखरेल नेतृत्वको टोलीले प्रजिअ कार्कीलाई उक्त नगद रकम हस्तान्तरण गरेको हो । प्राज्ञ विवश पोखरेल, लोचन रिजाल, मधु पोखरेल, ऋतु आसिक, मीनकुमार नवोदित, ज्योति जंगल, शिवनारायण पण्डित सिंगल, सरला चापागाईं, शोभा लामा, रोमा निरौलालगायतका साहित्यकारहरुले संयुक्त रुपमा राहत रकम हस्तान्तरण गरेका थिए । पूर्वाञ्चल साहित्य प्रतिष्ठान, वाणी प्रकाशन, विराट साहित्य संगम, डा. नरेन्द्र चापागाईं स्मृति साहित्य प्रतिष्ठान, कृष्णभूषण बल स्मृति प्रतिष्ठान, मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान लगायतका साहित्यिक संघसंस्थाको सक्रियतामा राहत संकलन गरिएको थियो ।

राहत दिने र बाँड्ने क्रम जारी

दमक । तेस्रो मुलुक पुनर्वास भएका भूटानीहरुको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको तौथली गाविसमा २ सय परिवारको लागि त्रिपाल वितरण गरिएको छ । भूटानी शरणार्थी शिविर पथरीशनिश्चरे मोरङका सचिव चम्पासिङ राईको नेतृत्व तथा क्यामबाटै प्रकाशित खबर पत्रिका र जिरिखिम्तीको कंचनजंघा दैविप्रकोप ब्यबस्थापन समितिको सहकार्यमा राहत वितरण भएको शिविरका हेम गिरीले जनाए । त्यहाँ १ लाख मुख्यका २ सयवटा त्रिपाल वितरण गरिएको हो । दुवै संस्थाको संयुक्त आयोजनामा त्यहाँ राहत वितरण गरिएको यो दोस्रो पटक  हो ।
उता, उर्लाबारी परिवार हङकङले भिजन फाउण्डेशन नेपाल मार्फत भूकम्प पीडितहरुका लागि ३ लाख ५० हजार ३६ रुपैयाँ सहयोग गरेको छ । उर्लाबारी परिवार हङकङका सल्लाहकार मनिप राईले सो रकम भूकम्प पीडितहरुका लागि प्रदान गर्न फाउण्डेशनका अध्यक्ष राजु लामालाई हस्तान्तरण गरेका छन् । हङकङ समाजले प्रदान गरेको
 सो रकम भिजन फाउण्डेशनको संयोजनमा सिन्धुपाल्चोक जिल्लाको भोताङ गाविसका भूकम्प पीडितहरुका लागि वितरण गरिनेछ । यसअघि फाउण्डेशनले सोही गाविसका भूकम्प पीडितहरुका लागि राहत सहयोग गर्दै पिडितहरुको घाउमा मलमपट्टि गर्न एक हप्तासम्म सो गाविसमा रहेर सहयोग गरेको थियो ।
उता, संघीय लिम्बुवान पार्टी नेपालले विहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टीले विभिन्न ठाउँका भूकम्प पीडितका लागि राहत वितरण गरेको बारेमा जानकारी गराएको छ । पार्टी अध्यक्ष कुमार लिंदेनद्वारा जारी विज्ञप्तिमा भूकम्पबाट निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारलाई समवेदना र घाइतेको सीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै पीडितहरुको पुनस्र्थापनामा समेत जोड दिएको छ । 

सडक बिस्तारमा स्थानीयको आक्रोस

चन्द्रगढी । सडक विस्तार तथा स्तर बृद्धि गर्दा सरोकारवाला व्यक्तिलाई जानकारी नदिँदा भद्रपुर नगर क्षेत्रमा विकासमा विवाद देखिन थालेको छ । भद्रपुर नगरपालिका अन्र्तगत साविक चन्द्रगढी गाविस क्षेत्रमा सुरु भएको सडक विस्तार तथा स्तर बृद्धिको काममा स्थानीय सरोकारवाला व्यक्ति भन्दा बाहिरका व्यक्तिले बढी चलखेल गर्दा विवाद देखिन थालेको हो । सम्बन्धित जग्गा धनीलाई जानकारी नै नगराई आफ्ना निकटका केही व्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरी खनिएको वाटो नियम संगत नभएको जग्गाधनीले आरोप लगाउन थालेपछि विकासमा विवाद अवरोधक बनिन थालेको छ ।  चन्द्रगढी स्थित भद्रपुर नगरपालिका १३ र १५ नम्वर वडाको सिमानामा पर्ने लेखनाथ मार्ग हुदै हल्दिवारी जाने ग्राभेल सडकलाई फराकिलो बनाउन गरिएको कार्यलाई विभेदपूर्ण तरिकाले खनिएको भन्दै सरोकारवाला स्थानीयले आपत्ती जनाएका हुन् । उपभोक्ता समितिले सोझा सिधाको जग्गालाई मात्र जेसिभी लगाई चाहिने भन्दा बढी माटो निकालेर केहि समाजका टाठा बाठाले थिचोमिचो गरेको जग्गा धनी शंकर भण्डारीले आरोप लगाए । स्काभेटर जग्गा छेउमा आएपछिमात्र आफुलाई जानकारी भएको भन्दै उनले केही व्यक्तिले कुनै कुनामा बसेर गठन गरेको समिति वैधानिक नभएको दावी गरे । समितिले सडकको दुवैतर्फ बरावरी चौडाई र गहिराई गराउनु पर्ने भएतापनि सो अनुरुप नगरी लापरवाही तरिकाले खन्न लगाएको जग्गाधनी तेजप्रसाद अधिकारीले आक्रोस पोखेका छन् । समितिले वाटोको उत्तर भाग भन्दा पनि दक्षिण तर्फ बढी मिची तानासाही रुपमा काम गरेको जग्गाधनि हुतराज नेपालले बताए । समितिका अध्यक्ष तुलसी पोखरेललाई अनुगमन समितिका संयोजक माधव गौतमले आफनो काधमा राखेर सडकमा राजनिति गरेको नेपालले बताए । सो क्षेत्रका वडा सचिव मनकुमार डाँगी भने बाटो स्तरबृद्धिका लागि बोलाइएको भेला अत्यन्तै न्युन रहेको स्वीकार गर्दै अनिवार्य रुपमा जग्गाधनीलाई बोलाउन नसक्दा अहिले विरोध आएको बताए । यता नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले अहिले उपभोक्ता समितिले गरेको काम पछि सडक कालोपत्रेमा कायम नहुन सक्ने बताए ।

विद्यार्थीका लागि नाटक

चुलाचुली । दक्षिणी इलामको चुलाचुलीमा रहेको चुलाचुली थिएटरले ‘विद्यार्थीका लागि नाटक’ कार्यक्रम सञ्चालन गरेको छ । ‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ भन्ने मुल नाराका साथ नाट्य गतिविधिमा सक्रिय थिएटरले विहीबारबाट चुलाचुली गाविस हलमा २ दिने कार्यक्रम अगाडी बढाएको छ । भूकम्पका विषयमा कथावाचन शैलीमा प्रस्तुत नाटकले बालबालिकालाई त्रसित नभई अध्ययनमा सक्रिय रहने सन्देश दिएको त्यसका अगुवा चेतन आङ्थुपो डरले बताए । टिकट प्रणालीमा प्रस्तुत गरिएको नाटकमा स्थानीय विद्यालयका बालबालिकालाई दर्शक बनाउने अभियान छ । नाटकमा मानाहाङ लावती, केशव भुजेल, सन्दीप राई, जेम्स लिम्बू, लक्ष्मी तामाङ, प्रमिला खेवा, शिखर लामगादे, खिनीमाया सुनुवार, भगिमाया हिङमाङ, चन्द्र लावती र करुणा केरुङको अभिनय रहेको छ ।
शुक्रबारको कार्यक्रम भनें नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भूकम्पको त्रास भुलाउने नाटक समेत प्रस्तुत गरिने छ । प्रतिष्ठानले भूकम्पको त्रासलाई सृजनाबाट भुलाउने अभियान ल्याएको छ । जेठ १६ मा गीत, गजल, कविता, नाटक, मोरङको पथरीशनिश्चरेस्थित वाणिज्य संघको हलमा र १७ गते दमकको गणतन्त्र चोकमा दिउँसो सो कार्यक्रम तय भएको छ ।

भूकम्पको पीडा सृजनाले भुलाऔं

भूकम्पको त्रास अझै सेलाएको छैन । भूकम्पका पराकम्पनहरु आइरहने क्रमले मानसिक रुपमा असर पारिरहेको छ । बालबालिकाहरु त झन विद्यालय जान डराइरहेका छन् । यस्तो अवस्थामा भूकम्पको त्रास भूलाएर मानिसहरुलाई सहज जीवनतर्फ फर्काउन नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले सृजनात्मक अभियान अगाडि बढाएको छ । प्रतिष्ठानले यसरी जनस्तरमा गाउँ गाउँमा आएर यसखाले कार्यक्रम गर्नु आजसम्मकै पहिलो काम सरह बन्ने भएको छ ।
देशभरी सञ्चालित अभियान अन्तर्गत पूर्वमा जेठ १५ देखि शुरु हुने छ । प्रतिष्ठानले झापाको दमकमा सर्जकहरुसँग अन्तरक्रिया गरी अभियानको स्थान, मिति र स्थानीय समन्वय सम्बन्धि योजना तय गरेको छ । प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले पूर्वी क्षेत्रको अगुवाई गर्नुभएको छ । आखिर जीवनको मोह नै सवैभन्दा महत्वपूर्ण ठानेर प्रतिष्ठानको नियमित कार्यक्रमलाई सन्देशमुलक कार्यक्रममा रुपान्तरण गरेको कुरा सदस्य सचिव रसिकले सुनाउनु भयो ।
भूकम्पबाट बढेको मनको त्रासका लागि मनोसामाजिक परामर्शको आवस्यकता पर्छ । जसका लागि गीत संगीत, साहित्य, नाटक परामर्शका प्रभावकारी माध्यम बन्छन् । भूकम्पबाट नेपाल जोखिमपूर्ण ठाउँमै पर्ने भएकाले यसबाट सधैं त्रसित नभई भूकम्पलाई सामान्य मान्दै यसबाट बच्न सजक हुनु आजको आवश्यकता रहेको छ । विद्यालयका बालबालिकालाई बढी मात्रामा सहभागि गराउँदा त्यसखाले कार्यक्रम सान्दर्भिक रहने योजना बनाइएको छ । विदेशमा भूकम्प प्रतिरोधि घर निर्माण हुने भएकाले भूकम्प आएको अवस्थामा घरभित्र भए टेबुल, बेञ्चमुनी लुक्नु भनिएको भएपनि नेपालका सन्दर्भमा सो कुरा लागू नहुने सन्देश दिन पनि गाउँघरमा यसखाले सचेतनाको आवश्यकता खड्किएको छ । त्यही कुरा सिकाउने र पढाउने गर्नाले बाहिर चौरमा रहेका बालबालिका भूकम्प आएपछि भाग्दै कक्षाकोठाभित्रको डेक्समुनी पस्दा तलाले किचिएका उदाहरण पनि छन् ।
जेठ १५ देखि २४ गतेसम्म गीत, साहित्य र नाटक प्रस्तुतिको कार्यक्रम अगाडि बढ्ने छ । जेठ १५ मा इलामको चुलाचुली, १६ मा मोरङको पथरी, १७ मा झापाको दमक सहित झापा, मोरङ र इलामका विभिन्न स्थानमा कार्यक्रम गरिने छ । सो अवसरमा चुलाचुली थिएटर र मोरङको कंचनजंघा नाट्य समूहको नाटक प्रस्तुति रहने छ ।
अभियानमा ८० वर्षीय विशिष्ट लोकगायक एलपी जोशीको अगुवाई हुने छ ।  साथमा गायक गणेश रसिक सहितको उत्साहमा भूकम्पको त्रासलाई कम गरेर सामान्य जीवनमा फर्किन सृजनात्मक सन्देश छर्ने कार्यक्रम अघि बढ्ने छ । पूर्व त्यति धेरै पीडित नभएपनि भूकम्पका त्रासदीपूर्ण खबरहरु सुन्दा सुन्दा त्रासकै मनस्थिती बनेको छ । पूर्वेलीहरुका लागि समेत यसखाले अभियान मनोसामाजिक विमर्शको प्रभावकारी थेरापी हुन सक्ने देखिन्छ । अझ पीडामा प्रत्यक्ष रुमलिएकाहरुलाई यो खाले कार्यक्रम निरन्तर अगाडि बढाउनु आवश्यक छ ।

दकम–चिसोपानी–रवि रडक निर्माणका एजेण्डा केके छन् ?

जेठ १५ र १६ मा दमक– चिसोपानी–रवि सडक निर्माण उपभोक्ता समितिको निर्वाचन हुँदैछ । यसका लागि २ वटा गठबन्धन प्रतिष्पर्धामा उत्रिएको छ । कांग्रेस, एमाले, राष्ट्रिय जनमुक्ति र राप्रपा नेपाल सहितको गठबन्धनले प्रकाश बुढाथोकीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । एमाओवादी, संघीय लिम्बूवान पार्टी, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी र नेपाल कम्यूनिष्ट पार्टी एकीकृतको अर्काे गठबन्धनबाट रेवतराज पुरी (गगन) अध्यक्षका उम्मेदवार रहेका छन् । बुढाथोकी कांग्रेसका महासमिति सदस्य हुन् । उनी निवर्तमान समितिका सचिव तथा वाटो निर्माणको प्रारम्भदेखि नै सदस्य थिए । पुरी एमाओवादीका सक्रिय राजनीति गर्ने कोचिला राज्यसमिती सदस्य हुन् । दमक निवासी बुढाथोकी र पुरीसँग सडक र चुनावी सन्दर्भमा गरिएको कुराकानी : —

------------------------------------------------------------------------------------------------------------------------‍
प्रकाश बुढाथोकी
- तपाईको अध्यक्षको उम्मेदवारी किन ?
►यो सडकमा शुरुवातबाटै क्रियाशिल भएको हुँ । सडक निर्माण पुरा गर्न र  सडकले भेट्ने क्षेत्रमा स्पष्टरुपमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, अग्र्यानिक खेतीको अवधारणा पुरा गर्ने मनसायले म उम्मेदवार बनेको हुँ । सडक बन्ने कुरामा दुईमत छैन । सडक निर्माणका लागि कांग्रेस र एमालेको संयुक्त सरकारले पनि सहज बनाउँछ । यस क्षेत्रका सभासदहरुको पनि सरकारमा पहुँच रहेको अवस्थाले कांग्रेस र एमालेको अगुवाईको समिति बन्नु पर्छ भन्ने मेरो मान्यता हो ।

- तपाई नै उययुक्त भन्ने आधार के के छन् नि ?
► यो सडकका लागि साह्रै धेरै समय खर्चिएको छु । जसका कारण तराईदेखि पहाडसम्मकाले चिनेका छन् । भावनात्मक रुपले यसमा म लागेको हो भन्ने सवैले बुझेका छन् । अनि यो सडकको भूगोल र यसका समस्या अनि समाधानका कुरा पनि मलाई थाहा छ । यो भूगोल नै नबुझेका साथीहरुले अगुवाई गर्न हत्ते गर्नु सान्दर्भिक छैन भन्ने लाग्छ ।

- तत्कालिन योजना के छ ?
► यो सडक राष्ट्रिय योजना आयोगको बहुबर्षीय योजना अन्तर्गतको प्राथमिकता नम्बर १ मा परिसक्यो । जस अनुरुप सडक विभागले माङ्मालुङ सहितका क्षेत्रमा निरीक्षण गरिसकेको छ । आगामी वर्षबाट सवै महिना गाडी गुड्न सक्ने बाटो बनाइसक्छौं । आगामि आर्थिक वर्षका लागि १० करोड र अर्काे वर्षका लागि १२ करोड गरी चालु वर्षसमेतको ८ करोड गरी ३० करोडमा सडकको काम सक्ने योजना सरकारले बनाइसक्यो । तत्काल त्यही योजनालाई सहयोग गरी पर्यटन क्षेत्रको विकासका लागि माङमालुङमा रक गार्डेन र पहाडका ४ वटा गाविसलाई अर्गानिक भिलेजका योजनाहरुमा छलफल गरिने छ ।

- राजनीति क्षेत्रमा पनि चिनिएको मान्छे सडक समितिमा बस्ने योजना किन नि ?
► म कुनै पार्टीको राजनीतिक कार्यकर्ता भएपनि मैले कार्यकारी तहमा बसेर यसबेला राजनीति गरेको छैन । अनि समाजसेवाका काममा संलग्न रहेको अवस्था र यो बाटोको सपना बुन्नु मध्येको एउटा मान्छे म पनि भएकाले सवैको समन्वय पाउने भएपछि विशुद्ध सडक निर्माणको काम गर्न म आएको हुँ ।

- अनि सहमतिको पहल चाँही कत्तिको गर्नु भो नि ?
► साँच्चै भन्नुपर्दा म राजनीतिक तिकडमबाजी गर्ने मान्छे होइन । मैले त सहमतिमा समिति बनाउने पहलमै आफुलाई केन्द्रीत बनाएको हो । लोकबहादुर धिमाल, केहेरसिंह योङ्याको नाम मैले नै अध्यक्षका लागि सहमतिमा लान प्रश्ताव गरेको हो । अर्काे मोर्चाका साथीले पनि पहिले त हुन्छ भनेका हुन् तर पछि उनीहरुले हामीभित्र खेल्न खोजेर सहमति भाँडेका हुन् । त्यसो भएपछि म बाध्य भएर अध्यक्षका लागि आउनु परेको हो ।

- सामाजिक संस्थामा पार्टीहरु नै लागेर यस्तो राजनीति गर्नु ठिक हो ?
► यसमा पार्टीकै राजनीति गर्नु त ठिक होइन । यसलाई सामाजिक संस्थामा सक्षम मान्छे पठाउने र त्यहाँ समितिको विधि विधान अनुसार काम गर्ने हो । बहुदलीय मुलुकमा दलमा समावेश भएका मान्छे देखिनु अस्वाभाविक मान्नु हुँदैन । तर त्यहाँभित्र आ आफ्नो पार्टीको राजनीति गर्ने थलो बनाउनु हुँदैन भन्ने मान्यतामा म अडिग छु ।

- चुनाव जितिन्छ त ?
►  ठूला पार्टीसहितको मोर्चाबन्दी हामीसँगै छ । निरन्तर सडककै लागि पसिना बगाउनेहरुको ठूलो संख्या हामीसँगै छ । ४ जना उम्मेदवार त पूर्व गाविस अध्यक्ष नै छन् । द्धन्दको बेला काम गर्न सक्ने स्थिती नहुँदा केही बजेट फ्रिज भएको कुरालाई अरु साथीले निहुँ बनाउनुको कुनै तुक छैन । पहाडी क्षेत्रको समेत उम्मेदवार मिलाएर राखिएको छ । हामीले सडकलाई यत्तिको बनाएर राम्रै बजेट आउन थालेपछि सवैको आँखा परेर अहिले निकै मजाले चुुनाव लागेको हो । यो सवै मेहनत गर्नेहरुको टिम हामीसँग भएकाले अंकगणितीय हिसावले पनि हामी जित्छौं ।

------------------------------------------------------------------------------------------------------------------------‍
रेवतराज पुरी (गगन)
तपाईको अध्यक्षको उम्मेदवारी किन ?
► दमक रवि बाटोमा २२-२३ वर्षदेखि निर्माण कार्यमा लागेपनि उपलब्धि नभएको अवस्था हो । उपलब्धि हाँसिल गर्न कुशल नेतृत्वको खाँचो छ । जुन नेतृत्वले एकैसाथ करोडौं बजेट ल्याउन सकोस् र आएको बजेट फ्रिज हुन पनि नदियोस् । अनि सडक विभाग, निर्माण व्यवसायी र स्थायी उपभोक्ताबीच कुशल, समन्वयकारी, नेतृत्वदायी भूमिका खेल्न सक्ने व्यक्तिको खाँचो छ । त्यसका लागि म नै उपयुक्त छु भन्ने लाग्छ ।

- तपाई नै उययुक्त भन्ने आधार के के छन् नि ?
►म सँग राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक योजना मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, मुख्य सचिवको कार्यालय, विदेशी नियोक र दातृ निकायका आधिकारिक व्यक्तिहरुसँग सिधा र सरल सम्पर्क छ । जुनसुकै पार्टीको सरकार आउने÷जाने कुराले फरक पर्दैन । व्यूरोक्रेसीका उपल्लो निकायसँग हटलाइन कन्ट्रयाक छ । मेरो यो पहुँच र सामथ्र्यलाई बाटो निर्माणमा खर्चिने छु । म युवा हुँ, प्रक्रियाका बारेमा मलाई राम्ररी जानकारी छ । ४ वर्षभित्र दमकदेखि रविसम्मको सडकको चौडाई बढाएर ग्राभेल र पक्की ढल निर्माण गर्दै ७ वर्षभित्र कालोपत्रे गर्ने योजना छ । सडक अन्तर्गत पर्ने चोकहरुलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने, पहाडी इलाकाका कतिपय गाउँलाई रक गार्डेन तथा अर्गानिक भिलेजका रुपमा विकास गर्ने कुरा पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिसकेका छौं । यसका साथै लारुम्बालाई बृहत धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, भारतको सिमाना फत्तेपुरबाट चीनको घाङ्ला जोड्ने आधारमार्गका रुपमा दमक रवि सडकलाई विकास गर्न सकिने यथार्थपरक योजना म सँग छ ।

- तत्कालिन योजना के छ ?
► नेपाल सरकारको राष्ट्रिय गौरवको योजनामा समावेश गरेर बहुवर्षीय सम्झौता गर्नका लागि अविलम्ब ४०/५० करोडको व्यवस्था गराउने छु । आगामि आर्थिक वर्षदेखि हिउँद वर्षा गाडी गुड्ने गरी बाँकी काम फत्ते गर्ने र नेपाल सरकारको ध्यान यो बाटोमा केन्द्रीत गर्न सञ्चारकर्मी तथा आम उपभोक्तामार्फत राष्ट्रिय मुद्धाका रुपमा उठाउने तत्कालिन मेरो योजना हुनेछ ।

- राजनीति क्षेत्रमा सक्रिय मान्छे सडकको समितिमा बस्ने योजना किन नि ?
► हो, म राजनीतिमै सक्रिय मान्छे हुँ नै । त्यही भएर झापामा ५÷७ वर्षको अवधिमा मेरो पहलमा दमकबाट मधुमल्ला जाने सडक र महेशपुरमा करोडौंको झोलुङ्गे पुल सहितका धेरैवटा विकास निर्माणका योजना मैले ल्याएको छु । अनि नेपालको पूर्वी भागमा रणनीतिक महत्व राख्ने सडक भएकाले मैले यसमा चासो र चिन्ता व्यक्त गरेको हुँ । यसलाई चुस्त तरिकाले सञ्चालन गर्न मेरो अगुवाई सवैले महसुस गरेपछि मैले यस क्षेत्रबाट समाजसेवा गर्न लाग्नु परेको हो । पहिलो कुरा मेरो मामली अहिले पनि इलामको फुयतप्पा पहाड हो । म मेरो आमासँग हाफपाइन्ट लगाएर पेरुङ्गे, टोड्के, कुसुण्डेको बाटो हुँदै रतुवाको जंघार तरेको छु । कैयौं पटक पार्टीको जिम्मेवारी इलाममा हुँदा उकाली ओराली गरेको छु । म भन्दा अग्रजहरुले देखाएको सपना पुरा गर्न म फेरि एकपटक दमकबाट चुली पस्छु र माथिसम्म उकालो लाग्छु । त्यहाँका स्थानीयसँग मिलेर काम गर्न सक्ने प्रशस्त सम्भावना छ ।

- अनि सहमतिको पहल चाँही कत्तिको गर्नु भो नि ?
► सहमतिको पहल त धेरै गरियो । तर एमाले र कांग्रेसले नै मानेन । लोकबहादुर धिमाल, केहरसिंह योङ्याहरुको नाम लिएर हामी गएका थियौं । त्यसमा सहमतिमा नगएपछि म अध्यक्षका लागि अगाडि आउनु परेको हो ।

- सामाजिक संस्थामा पार्टीहरु नै लागेर यस्तो राजनीति गर्नु ठिक हो ?
► राजनीतिलाई समाजसेवामा लानु पर्ने हो, राजनीति नै समाजसेवा हो । तर त्यस्तो संस्कार बसिनसकेकोले हामीलाई पार्टीले राजनीति गरेको भन्ने बुझाई छ । बहुदलीय लोकतान्त्रिक मुलुकमा जो कोही पनि कुनै न कुनै पार्टीको सदस्य हुने भएकाले यसमा राजनीतिक प्रभाव पर्नु स्वभाविक हो । अनि अर्काे कुरा राजनीतिक तबरले कुरा नउठाउने हो भनें यो बाटो बनाउन सरकारसम्म दवाव दिन र समितिलाई चुस्त बनाउने कुरामा खबरदारी गर्न पनि सकिदैनथ्यो । यति राजनीतिक जागरण नभएको भए बाटो समितिको फेरि पनि निर्वाचन हुँदैनथ्यो । मात्र सवाल के रह्यो भने निश्चित मुल्य, मान्यता र प्रक्रियामा रहेर राजनीति गरौं भन्ने मेरो अरु गठबन्धनलाई पनि आग्रह हो ।

- चुनाव जितिन्छ त ?
► नजित्ने कुरै छैन । समितिको काम कारबाहीको चुस्तता र बजेटलाई चलाएमान बनाएर सक्रिय काम नभएको अथवा ९ वर्षसम्म साधारसभा नभएको अवस्थामा हामीले यी सवै कुरालाई चिर्दै आएर उपभोक्तालाई प्रष्ट्याएका छौं । मैले माथि नै भनिसकेंका सवै महत्वपूर्ण कारणहरुले हामी चुनाव जित्छौं ।

भोट माग्दै उमेद्वारहरु घरदैलामा

दमक । दमक चिसोपानी रबि सडक उपभोक्ता समितिको नेतृत्व हात पार्न उमेद्ववारहरु भोट माग्न ब्यस्त छन् । उमेद्ववारहरु बिहानदेखि बेलुकासम्म भोट माग्न मतदाताहरुकै घरदैलो पुगेका छन् । राष्ट्रिय राजनितीकको झल्को दिने गरि उमेद्धवारहरु आ आफ्नो प्यानल लिएर मतदाताहरुको घर घरमा पुगेका थिए । मतदान १५ गते इलामको बाझोस्थित खलंगे बिद्यालय र १६ गते रेडक्रस भवन दमकमा हुने निर्बाचन समितीले जनाएको छ ।
कांग्रेस, एमाले सहितको प्यानलबाट अध्यक्षका उम्मेद्ववार प्रकाश बुढाथोकीको प्यानल र एमाओवादी सहितका साना दलहरुको गठबन्धनका तर्फबाट अध्यक्षका रेवतराज पुरी (गगन) को प्यानल भोट माग्न ब्यस्त छन् । बुढाथोकी नेतृत्वको बुधबार टोलीले दमक १, २ र ३ को दुर्गा पाञ्चायन मन्दिरमा भेला भई भोट मागेको एमाले दमक नगर अध्यक्ष अम्विका खनालले बताए । उनीहरुले यसअघि ९ ,१०, १३ र १४ मा रहेका मतदातासंग भोट माग्ने काम सकिएको जनाएको छ । यसैगरी अध्यक्षका उम्मेदवार पुरी नेतृत्व टोलीले बुधबार दमक चोकका मतदाताहरुसंग भोट मागेको एमाओवादी नगर इन्चार्ज रमेश गुरागाईले जनाए । उनीहरुले बुधबार दमकको २, १०, ११, १२, १३ र १४ वडामा पुगेर भोट मागेका छन् ।

भारतीय धानलाई बिस्थापित गर्ने – प्रयास किसानलाई किट वितरण

– मनकुमार गदाल
दमक । भारतीय धानलाई बिस्थापित गर्न सरकारले नयाँ ३ जातका मिनी किट्  किसानलाई निशुल्क बितरण गरीरहेको छ । जिल्ला कृषि कार्यालय झापाले स्वर्ण सव एक, साँवा सव एक र सुख्खा तीन जातका धानको बिउ निशुल्क बितरण गरेको हो । रजित, मन्सुली, शरना , बिजी ११ लगायतका भारतीय धानलाई हटाउन नार्कबाट परिक्षणपछि धेरै फल्ने, मिठो भात हुने यी जातको धानलाई सरकारले सिफारिस गरेको कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताए । अहिले जिल्लाभित्र नेपाल बिउबिजन कम्पनीले ५० टन निशुल्क मिनी किट् वितरण गरीरहेको कृषि कार्यालयले जनाएको छ । किसानलाई निशुल्क यति धेरै मिनी किट् वितरण गरेको यो पहिलो पटक भएको बाली संरक्षण  अधिकृत खरेलले दावी गरे । यसबाट फलेको धान छिटो र राम्रो उत्पादन हुने साथै खान पनि स्वादिलो हुने उनले बताए ।
माईपश्चिका गाविस र नगरपालिकाका किसानलाई २ सय ४० बोरा मिनी किट् बितरण भइरहेको कृषि कार्यालयले जनाएको छ । गौरादह र गौरीगञ्जका किसानलाई ९०÷९० बोरा मिनी किट् उपलब्ध गराइरहेको गौरादह कृषि सेवा केन्द्रका प्रमुख जय प्रसाद उप्रेतीले जानकारी दिए । शुक्रबारसम्म गौरादह र गौरीगञ्ज लगायतका गाविसका किसानलाई मिनी किट् बितरण गर्ने उनले बताए । यसैगरी दमकस्थित कृषि सम्पर्क केन्द्रबाट  करिब १५ मन मिनी किट्  बितरण हुन बाँकी रहेको प्रमुख सावित्रा कार्कीले बताइन् । दमक, लखनपुर, तोपगाछी र धरमपुरका कृषकहरुलाई मुल कृषक समुहबाट निशुल्क मिनी किट् बितरण गरेको कार्कीले बताइन् । यी मिनीकिट्हरु लगेर  किसानले जेठको चौथो सातासम्म धानको ब्याड राखी सक्नुपर्ने बताइएको छ ।

कृषक पाठशाला तालिम

दमक । झापाको तोपगाछी १ स्थित सोलमारीमा आयोजित आइपीएम कृषक पाठशालाको समापन बुधवार सम्पन्न भएको छ ।  ४ महिने तालिममा रासायिनक मल बिषादी कम प्रयोग गर्ने बिधि , जैविक बिषादी ,कम्पोष्ट मल बनाउने तरिका , मकैमा लाग्ने रोग शत्रु जीव किरा र मित्रजीव किराको पहिचान , स्वस्थ्य बाली उत्पादन गर्ने प्रविधि लगायतका बिषयमा तालिम दिएको थियो  । कृषि सेवा केन्द्र गौरादहका प्रमुख जय उप्रेती  र जेटिए केदार कुमारी अधिकारीले तालिम दिएका थिए । 
 कन्काई मुल नहर ब्यवस्थापन समितिका उपाध्यक्ष खगेन भण्डारीको प्रमुख अतिथिमा भएको  समापन कार्यक्रममा  उत्कृष्ठ कृषकहरु अनिता बिष्ट , हुमा खड्का र कुल प्रसाद दंगाल पुरस्कृत भएका छन् ।

झापामा २ करोड ३९ लाख संकलन

चन्द्रगढी । भूकम्पपिडीतका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति झापामा २ करोड ३९ लाख ८ हजार ८९ रुपैयाँ नगद जम्मा भएको छ । विभिन्न संघ संस्था तथा व्यक्तिवाट ९० लाख १ हजार ७ सय ३३ रुपैया र कर्मचारीहरुवाट १ करोड ४९ लाख ६ हजार ३ सय ५६ रुपैया संकलन भइसकेको जिल्ला प्रशासन झापाले जनाएको छ ।
 यसैबीच कष्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान केन्द्रिय समिती कनकाई झापाले भुकम्प पिडीतको राहतका लागी ५१ हजार नगद हस्तान्तरण गरेको छ । प्रतिष्ठानका केन्दिय समितीका अध्यक्ष मोहन प्रसाद अधिकारी लगायतका पदाधिकारीले वुधवार प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेललाइ संकलित रकम वरावरको चेक रकम हस्तान्तरण गरेका हुन् । जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नरेन्द्र अधिकारी, पूर्वाञ्चल उपाध्यक्ष भिम प्रसाद प्रसाद अधिकारी, महासचिव रत्न बहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

मोरङ कांग्रेसद्वारा ४० लाख सहयोग

दमक । महाभूकम्पबाट घरबारविहीन बनेका पीडितलाई नेपाली काँग्रेसले चालिस लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । भूकम्प प्रभावित जिल्लामा पुगेर काँग्रेसका प्रतिनिधिले राहत सामग्री वितरण गरेको र ६० जनाभन्दा धेरै प्रतिनिधि अहिले पनि घर निर्माण कार्यमा खटिरहेको मोरङ काँग्रेसका सभापति अमृत अर्यालले जानकारी दिए । विराटनगरमा प्रेस युनियनले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्यालले सहयोग गर्ने क्रम अहिले पनि जारी रहेको जनाए । उनले पार्टीले आफ्ना सदस्यबाट संकलन गरेको र दाताबाट प्राप्त गरेको सहयोग एकत्रित रुपमा पीडितसम्म पु¥याइएको बताए । 
उनीहरुले चामल, चिउरा, चाउचाउ, औषधी, त्रिपाल जस्ता अति आवश्यक वस्तु सिन्धुपाल्चोक र धादिङका पीडितलाई वितरण गरेका छन् ।  मोरङ काँग्रेसले प्रधानमन्त्री राहत कोषमा २ लाख ४५ हजार रुपैयाँ पनि जम्मा गराएको थियो । धादिङ बनेघाटमा विराटनगरबाट गएका ६० जना काँग्रेस कार्यकर्ताले ४० वटा घर निर्माण गरिदिएका छन् ।

बिर्तामोड र दमकमा आयशरको वर्कसप

बिर्तामोड । दुई दशकदेखि नेपाली बजारमा आफ्नो अलग पहिचान बनाएको आयशर ट्याक्टरले झापाको बिर्तामोड र दमकमा बुधबारदेखि अत्याधुनिक अटोमेटेड वर्कसपको सेवा शुरु गरेको छ । आयशर ट्याक्टरको उत्पादक टाफे मोटर्स एण्ड ट्याक्टर्स लिमिटेड भारतका सिनियर एभीपी विजेन्द्रजी गुप्ताले उक्त वर्कसपको उद्घाटन गरे । आयशर ट्याक्टरका ग्राहकको सेवा सुविधालाई ध्यानमा राखी विक्रीपछिको शुलभ र भरपर्दो सेवाका लागि मेची अञ्चलमै पहिलोपटक अत्याधुनिक अटोमेटेड वर्कसपको सेवा शुरु गरिएको द हबी अटो ट्रेडिङ प्रालि बिर्तामोडका प्रमुख प्रकाश कोइरालाले जानकारी दिए । द हबी अटो ट्रेडिङ प्रालि आयशर टेक्टरको नेपालका लागि आधिकारिक विक्रेता हो ।
 अत्याधुनिक हाइड्रो न्यू मेट्रिक वर्कसप सञ्चालनमा आएसँगै मेची अञ्चलका ग्राहकले सहज रुपमा सेवा सुविधा पाउने द हबी अटो ट्रेडिङ दमकका शाखा प्रबन्धक रमेशकुमार पुरीले बताए । बिर्तामोडमा १३ वर्षदेखि द हबी अटो ट्रेडिङ प्रालिमार्फत र दमकमा ४ वर्षदेखि आयशर ट्याक्टर बिक्री वितरण हुँदै आएको छ । अब आयशर ट्याक्टरका ग्राहकले सहजरुपमा मर्मत लगायतको सुबिधा वर्कसपबाट पाउनेछन् ।

२१ पण्डित पढाएर स्वस्ती शान्ति

दमक । स्वस्ती शान्ति तथा क्षमा पुजा आयोजक समिति दमकले बुधबार भूकम्पमा दिवगत भएकाहरुको चिरआत्माको कामना गदै पुजा आजा गरिएको छ । दमक १० स्थित धनेश्वर मन्दिर परिसरमा २१ जना पण्डित पढाएर पुजा गरेको हो । उनीहरुले जन्मभुमिको रक्षाका लागि रुद्रीपाठ , बेदपाठ साथै होमादी समेत गरेर मुलुकमा शान्तिको कामना गरेको अध्यक्ष भोला शिवाकोटीले बताए । पण्डित टिकादत्त दाहाल नेतृत्वको पण्डितहरुको समुहले पटक पटक आएको भूकम्पमा परी घाइते भएकाहरुको आत्माको चिर शान्तिको कामना साथै सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको होमादी गरेका थिए । पुजामा आएका भक्तजनहरुले फलफुल चढाएर पुजा अर्चना गरेको समितिले जनाएको छ ।

रक्तदान र बिरामीलाई फलफुल बितरण

दमक । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमकले छैटौ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार विविध कार्यक्रम आयोजना गरेको छ । संस्थाले पाँचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान र बिरामीलाई फलफूल बितरण गरेको हो । संस्थाको भवन परिसरमा आयोजित कार्यक्रममा ब्यवस्थापक अरुण भण्डारीले रक्तदान गरी शुरु गरेका थिए । कार्यक्रममा ३२ जना महिला सहित १ सय ७ जनाले रक्तदान गरेका छन् । सो अवसरमा आम्दा अस्पताल, दमक हस्पिटल र जनता नेशनल हस्पिटलका १ सय २५ जना बिरामीलाई फलफुल बितरण गरिएको  ब्यवस्थापक भण्डारीले जानकारी दिए ।

बेथेलमा स्वास्थ्य शिविर

दमक । बेथेल एजुकेशन एकाडेमी उर्लावारीले आयोजना गरेको  दुई दिने स्वास्थ्य शिविर  बिहिवार सकिदैछ । मोरङको उर्लावारी ४ स्थित बिद्यालय परिषरमा भएको शिविरमा नाक ,कान , घाँटी र पेटको परिक्षण  गरिएको एकाडेमीका संस्थापक प्रिन्सिपल दिपक न्यौपाने बताए । शिविरमा १ सय जना विद्यार्थीको स्वास्थ्य परिक्षण गोदावारी हस्पिटल उर्लावारीको चिकित्सकको टोलीले गरेको थियो ।

डाक्टरको लापरबाहीले दुईवटा औंला गुम्यो

बिराटनगर । विराटनगर अस्पतालमा उपचार गराउँदा एकजना बिरामीले जानकारीबिनै आफ्नो खुट्टाको दुई वटा औंला गुमाउनु परेको छ । विराटनगर– ८ का विरेन्द्र झाले चिकित्सकको लापरवाहीका कारण आफूले खुट्टाका दुई वटा औंला गुमाउनु परेको बताए । बुधबार झा परिवारले सामाजिक संघसंस्थाको पहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपचारमा संलग्न चिकित्सक डा. सरोज कर्णले आफूलाई जानकारी नै नदिई देब्रे खुटको दुई वटा औंला काटिदिएको आरोप लगाएको छ । गत पुस गते सवारी दुर्घटनामा परी उपचारका लागि आफू विराटनगर अस्पतालमा भर्ना भएको तर डाक्टर कर्णले तीन पटक अप्रेसन गरेर औंला काटिदिएको तर परामर्श समेत नगरेको आरोप उनीहरुले लगाए ।  उनकी श्रीमती सीता कार्कीले आफू काम गर्ने अस्पालमा झन् राम्रो उपचार हुन्छ भन्ने विश्वासका साथ श्रीमानलाई लगेको तर हेलचेक्र्याईं गरेर औंला काटिदिएको दावी गरिन् । श्रीमान झा र श्रीमती कार्कीले आफूहरु अन्यायमा परेको बताउँदै न्याय दिलाइदिन माग गरेका छन् । कार्कीलाई यो घटनापछि अस्पतालले कामबाट निकालिदिएकोले आफ्नो जागिरेको ग्यारेन्टीका लागि श्रम कार्यालयमा उजुरी समेत दिएकी छन् ।

छात्रावास लागूऔषध प्रयोगकर्ताको अखडा

टाघनडुब्बा । झापाको टाघनडुब्बा–३ मा रहेको डिल्लीराज उच्च माविको छात्रबास भवन मर्मत नहुँदा लागूऔषध प्रयोगकर्ताको अखडा बनेको छ । विसं २०२० सालमा स्थानीय समाजसेवी डिल्लीराज गणेशले जग्गासहित विद्यालयलाई ९ कोठे भवन र २४ जना छात्र–छात्रा अटाउने क्षमता भएको ६ कोठे भवन निर्माण गरेका थिए । तर, छात्रावासको मर्मत सम्भार नहुँदा छात्रावास प्रयोगविहीन भएर लागूऔषध प्रयोगकर्ताका लागि सजिलो भएको हो । विद्यालयको भवनसंगै छात्रवास निर्माण हुँदा त्यो बेला टाढ–टाढाबाट विद्यार्थीको चाप बढेको थियो । विद्यालयका प्रधानाध्यापक भगदेव राजवंशीले भने–‘१२ वर्ष यता छात्रावास भवन जीर्ण हुदंैआयो । जीर्ण छात्रावास मर्मत–संभारमा कसैले चासो नदिएपछि १० वर्षयता प्रयोगहीन नै बन्यो ।’
छात्रावास प्रयोगमा आउँदा छात्र–छात्राबाट न्यूनतम रुपमा आर्थिक संकलन हुन्थ्यो । संकलित रकमबाट सामान्य रुपमा फर्निचरको मर्मत लगायतमा खर्च धान्न पुग्थ्यो । तर, जीर्ण भवनको मर्मत–संभारका लागि विद्यालयबाट जिल्ला शिक्षा कार्यालयमा पटक–पटक डेलिगेशन समेत पुगेको शिक्षकको भनाई छ । भवन मर्मत संभारमा जिल्ला शिक्षा कार्यालयले चासो नदिंदा छात्र–छात्रा पनि सन्तोषजनक रुपमा नआएपछि छात्रबास प्रयोगहिन
 बनेको प्रअ राजवंशीको भनाई छ । छात्रावासको पर्खाल लड्नै लागेको छ । पार्खाल र भित्रपट्टी झार उम्रेको छ । त्यतिको छात्रवास निर्माण गर्न लाखौं रकम खर्चनु पर्छ । तर, भएको भवन मर्मत गर्न नसक्दा लाखौंको सम्पति प्रयोगविहीन भएको प्रअ राजवंशीको भनाई छ ।

एमालेले १६,१५० केजी चामल पठायो

गौरादह । नेकपा एमाले झापा क्षेत्र नं. ६ ले ठुलो मात्रामा चामल संकलन गरि भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । एमालेले १६ हजार १ सय ५० केजी चामल संकलन गरि पठाएको छ । क्षेत्र नम्वर ६ का ९ गाविसबाट संकलन गरेको चामल रामेछाप जिल्लाको मन्थली नगरपालिकाको सुनारपानी गाउँमा बुधबार पठाएको हो । गत बैशाख १२ र २९ गते आएको भूकम्पबाट पिडितलाई स्थानिय प्रशासनसंग समन्वय गरेर बितरण गर्ने क्षेत्रीय कमिटी सचिव नगेन्द्र भण्डारीले जानकारी दिए । सुनारपानी गाउँमा पुगी राहत वितरणका लागि नेकपा एमालेका केन्द्रिय सदस्य तथा मेची अञ्चल इन्चार्ज हिक्मत कार्की सहितका नेताहरु प्रभावित क्षेत्रतर्फ लागेका छन् । कार्कीको नेतृत्वमा झापा जिल्ला सदस्य चन्द्र सुब्बा, क्षेत्रीय उपाध्यक्ष राजेन्द्र सुवेदी र क्षेत्रीय सदस्य भरत फँुयाल सहितको टोलीलाई पठाएको छ । क्षेत्रीय कमिटीले संकलन गरेको १ लाख २३ हजार रुपैयाँ जिल्ला कमिटी मार्फत एमाले को केन्द्रिय कमिटी हुदै प्रधान मन्त्री राहत कोषमा पठाउने जनाएको छ । राहत पठाउन गौरादहमा बुधबार एक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा एमालेका केन्दिय सदस्य कार्कीले विपतमा परेकाहरुलाई सहयोग गरेर मलमपट्टी लगाउनु पर्ने बताएका छन् । नेता कार्कीले जहाँका भएपनि हाम्रै नेपालीलाई परेको समस्या भएको हँुदा सबै मिलेर मलमपट्टटी गर्नुपर्ने उल्लेख गरे ।

बल्ल उठ्यो बिर्तामोेडको फोहोर

विर्तामोड । झापाको विर्तामोड नगर क्षेत्रमा केही समयदेखि थुप्रिएको फोहोर सरोकारवालाहरुले बुधबारदेखि उठाउन शुरु गरेका छन् । झापा उद्योग वाणिज्य संघ विर्तामोडका उपाध्यक्ष एवम् फोहोरमैला व्यवस्थापन समितिका संयोजक प्रकाश शिवाकोटीको अगुवाइमा सरोकारवालाहरुले फोहोर उठाउन थालेका हुन् । सातवटा ट्याक्टरबाट ढुवानी गरिएको फोहोर बसपार्क क्षेत्रको खाल्डा खुल्डी जमिनमा जेसीबीको प्रयोग गरी व्यवस्थापन गरिएको छ । वातावरणीय स्वच्छतालाई समेत ध्यानमा राखी फोहोर गहिरो खाडल खनेर माथिबाट माटोले पुरिएको संयोजक शिवाकोटीले बताए । एक साता भन्दा बढी समयदेखि फोहोर नउठाइदा बिर्तामोड दुर्गन्धित बनेको थियो । बुधबार एकसाथ २१ ट्याक्टर फोहोर उठाइएको हो ।
संयोजक शिवाकोटीको अध्यक्षतामा विहान भएको एकता हेड्सका अध्यक्ष श्याम गुरुङ, हार्डवेयर व्यवसायी संघका अध्यक्ष मात्रिका कोइराला, विर्तामोड नगरपालिका प्रतिनिधि मेघराज बास्तोला, बसपार्क व्यवस्थापन समितिका विष्णु राई, राष्ट्रिय उद्योग वाणिज्य संघका राजेन्द्र लिङ्गदेन, वाणिज्य संघ बिर्तामोडकी सुनिता ओलीसहितको वैठकले तत्कालका लागि फोहोर उठार्ई बसपार्क क्षेत्रमा व्यवस्थित ढंगले पुर्ने सहमति भएको थियो । फोहोर उठाउनको लागि वाणिज्य संघ बिर्तामोड र एकता हेड्सको अगुवाईमा नगरपालिकाले सहयोग पु¥याएको छ । फोहोर व्यवस्थापन
समितिका संयोजक शिवाकोटीले केही दिनका लागि समस्या समाधान भएपनि दिगो व्यवस्थापनका लागि तत्काल डम्पिङ साइडको व्यवस्थापन हुनु पर्नेमा जोड दिएका छन् । बिर्तामोड शनिअर्जुन र कनकाई नगरपालिकाको अधिकृतहरुको बैठकले फोहोर व्यवस्थापनका लागि साझा डम्पिङ साइडको व्यवस्था गर्न जग्गा खोजी गर्ने र त्यसका लागि वातावरण मन्त्रालयबाट अनुमति लिने विषयमा पहल अगाडि बढाएको छ ।