धुलोमा खोज्दै ढुङ्गे सपना

गोपाल झापाली
सेतुमारी (दमक)/डम्बर खनालले (३३) २०५२ सालमा दमकको चुलाचुली बोर्डिङ् स्कुलबाट ७७ प्रतिशत अंक सहित सर्वोत्कृष्ट स्थानमा प्रवेशिका पास गरेका हुन् । औसत नेपाली बालबालिकाको भन्दा सुखमय वाल्यकाल बिताएका खनाल प्रवेशिका पछि बिज्ञान संकायमा प्रविणता प्रमाणपत्र तह पढ्न बिराटनगरको महेन्द्रमोरङ क्याम्पस हानिए । ‘त्यसबेला त राम्रो अंक ल्याउनेले साइन्स नै पढ्नु पर्छ भन्ने मान्यता जस्तै थियो’– उनले सम्झिए । महेन्द्रमोरङबाट आइएससी सकेपछि उनलाई कम्प्युटर शिक्षा लिने रहर जाग्यो । त्यसबेला दमकमा फाट्ट–फुट्ट मात्र कम्प्युटर चलाउने थिए ।
सामूहिक गाई पालनमा खनाल

सूचना प्रविधिको स्नातक –बिआईटी उनले भारतको मध्य प्रदेशबाट सकेपछि झनै मोह बढ्यो उनको प्रविधि तर्फ । दमक–१९ को सेतुमारीमा धुस्रे पोशाकमा का“क्राको बेर्ना गोड्दै गर्दा भेटिएका उनले हात टक्टक्याउ“दै भने–‘ईम्फमेसन टेक्नोलोजीको खुवै मार्केट थियो त्यसबेला, नया“ बिषयको रुपमा स्थापित हु“दै आएको कम्प्युटर सम्बन्धी शिक्षा लिन त्यसपछि म सिंगापुर तर्फ लागे ।’ सन् २००६ मा उनी सूचना प्रविधिमा स्नातकोत्तर गर्न सिंगापुर लागे र तीन वर्ष बिताए । डेढ दशक अघि उनले कम्प्युटर चलाउन थाल्दा दमकमा औंलामा गन्न सकिने गरी मात्र कम्प्युटर थिए, उनका सहकर्मीहरु मध्ये धेरैले त देख्न पनि पाएका थिएनन् । कम्प्युटर तथा सूचना प्रविधिबारे ज्ञान लिनैका लागि उनले १३ लाख रुपैया“ भन्दा बढी खर्चिए ।
एक दशकसम्म निरन्तर कम्प्युटरका ‘किवोर्ड’मा खेलेका उनका औ“ला र त्यसबेलाको उनको महत्वकांक्षा भन्दा उनको वर्तमानको रोजाई भिन्न छ । साथीहरुस“ग मिलेर लिजमा लिएको १७ बिगाह जमिनमा उनी दिनको १० घण्टा पसिना बगाउ“छन् । चिटिक्क–ठा“टिएर उनका धेरै जसो सहकर्मी वातानुकुलित कक्षमा ‘माउस’ र ‘किबोर्ड’मा दिन बिताइरह“दा उनी चा“हि फागुनको चढ्दो गर्मीमा पाखुरा बजारि रहेका छन् र सपना देख्दैछन्– नेपालको कृषि प्रणालीलाई सूचना प्रविधिको सञ्जालमा जोड्ने ।
सूचना प्रविधिको पहु“च अहिले धेरै ग्रामीण तहसम्म पुगेको छ । तर ईन्टरनेट धेरैलाई मनोरञ्जको साधन मात्र भएको उनको अनुभव छ । गाउ“मा
बस्ने धेरैजसो बासिन्दा कृषि पेशामा निर्भर छन् । उनीहरुद्वारा उत्पादित कृषि उपजले झनै शहरमा बस्ने बासिन्दालाई धानी रहेको छ । ‘शहरले आफ्ना लागि बिभिन्न उपज उत्पादन गर्ने गाउ“का लागि कहिल्यै सोच्दै सोचेन’– उनले भने– ‘अब कृषि पेशास“गै यसका लागि उपयोगी सफ्टवेयरहरु उत्पादन गर्ने योजनामा छु ।’ सूचना प्रविधिको प्रयोग गरेर कृषि क्षेत्रका लागि बिभिन्न सूचना तथा जानकारीहरु लिन र त्यसबाट कृषि उत्पादकत्व बढाउन सकिने उनको भनाई छ । उनले भने– ‘यो मेरो ढुङ्गे सपना हो जसरी भए पनि यसलाई पूरा गर्ने मेरो हिम्मत छ ।’
नेपाललाई कृषि प्रधान मुलुक भनिए पनि किसानहरुले अझैसम्म सरकारबाट राहत र सहायता पाउन नसकेको उनको बुझाई छ । ‘बिदेशमा सरकारले किसानका लागि आवश्यक सबै जसो सामाग्रीमा अनुदान दिन्छ र उत्पादित समानको बजार व्यवस्था पनि गरिदिन्छ’– खेतको माझमा खेतीका लागि बनाईएको फुसको टहरमा गुनासो गरे उनले– ‘भारतमा पनि सरकारले किसानलाई बिभिन्न अनुदान दिन्छ र त्यहा“ उत्पादित लाखौं किलो परिमाणमा बर्षेनी बिभिन्न तरकारी नेपाल भित्रिन्छ, अनुदानमा उत्पादित भएका कारण सस्तो मूल्यमा बजारमा आएका ति उत्पादनस“ग नेपाली किसानले उत्पादन गरेका उपजले प्रतिष्पर्धा नैं गर्न सक्दैनन् ।’ कृषि क्षेत्रलाई अझैसम्म पनि सम्मानित पेशाको रुपमा स्थापित गर्न नसक्दा नेपालमा खेतीबाट सम्भावना नदेखि युवाहरु बिदेशिने गरेको उनको अनुमान छ । ‘कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गराउने जिम्मेवारी हाम्रै हो, हामीले यस क्षेत्रमा पनि भविष्य र सम्भावना छ भनेर बुझाउन सक्यौ भने धेरै युवा बिदेशिनु पर्दैन । त्यहा“को जति मेहनत गरे यहि“ आम्दानी गर्न सकिन्छ’– उनले सुझाए ।

0 प्रतिकृया:

Post a Comment