निर्माणधिन दमक चक्रपथमा द्रुतता – मुख्य समाचार

विष्णु सुब्बा
दमक/ दमकको निर्माणाधिन चक्रपथ सडकमा यो वर्ष तीन ओटा कल्भर्ट बनाइने छन् । दमक वडा नं. ३, १३ र १४ को दिपीनी खोला र दमक १९ को सेतुमारी जहदा जोड्ने भालु खोलामा कल्भर्ट निर्माण गर्न आवश्यक प्रक्रिया थालिएको छ ।

ति कल्भर्ट बनाउन दमक नगरपालिकाले यो वर्ष २५ लाख रपैयाँ बिनियोजन गरेको नगरपालिकाले जनाएको छ । चक्रपथको सडकमा पर्ने ति क्षेत्रमा कल्भर्ट बनाउन थालिएको हो ।
दमकका मुख्य शहर बजारलाई गाउँसम्म जोड्ने दुरगामी लक्ष्यका साथ २०५४ सालमा तत्कालिन जनप्रतिनिधिहरुले दमकमा चक्रपथको प्रस्तावलाई अघि सारेका थिए । तत्कालिन नगर प्रमुख रोमनाथ ओली सम्मिलित जनप्रतिनिधिहरुले त्यसबेला चक्रपथको अवधारणा ल्याएका थिए । ३६ किलोमिटर लामो सो चक्रपथको दुरीमा अहिलेको डेढ करोड रुपैयाँ खर्च भइसकेको छ । चक्रपथ निर्माण उपभोक्ता समिति मार्फत् बनाइने सो सडकमा नेपाल सरकार, नगरपालिका, उपभोक्तहरुको लगानी रहेको छ ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले निर्माणाधिन चक्रपथका कामलाई नगरपालिकाले प्राथमिकताका साथ कार्यहरु गरिआएको बताए । उनले चक्रपथ सडकमा उपभोक्ताहरुको ठूलो लगानी भएको जानकारी दिए । ५० फिटे सो सडकमा दर्जनौँ उपभोक्ताहरुले सडकका लागि जग्गा दिएका छन् । ‘दमकको भविष्यलाई हेरेर चक्रपथको अवधारणा अघि सारिएको हो, नगरपालिकाबाट सक्दो पहल गरेका छौँ ।’ कार्यकारी अधिकृत खतिवडा बताउँछन् ।
दमकको १, ३, ७, ८, १२, १३, १४, १५, १६, १७, १८ र १९ वडालाई छुने सो सडकको वर्षा अघि रेखाङ्कनको काम नभएको भन्दै केही उपभोक्ताहरुले सडकमा खेती गर्दै आएका छन् । दमक–१३, १४ १७ र १८ वडामा २ किलोमिटर बढी सडकको जमिनमा अतिक्रमण भएको निर्माण उपभोक्ता समितिका संयोजक बोधराज न्यौपानेले बताए । सडक बनाउन पहल भए उपभोक्ताहरुले त्यस्ता अवरोध हटाउने भएको अध्यक्ष न्यौपाने बताउँछन् । दमक–१९ का पूर्व वडाअध्यक्ष समेत रहेका अध्यक्ष न्यौपाने दमकको पहिचान र विकासको मुख्य पूर्वाधार चक्रपथ सडक भएको बताउँछन् । उनले भने–‘सबै क्षेत्रको सहयोग जुटे चक्रपथको भविष्य उज्वल छ ।’ चक्रपथको कामलाई द्रुत बनाउन सबैको पहल जरुरी भएको उनको भनाई छ ।
निर्माण उपभोक्ता समितिका पूर्व अध्यक्ष अम्बिका खनाल नगरको विकाससँग जोडिएको चक्रपथको निर्माणमा धेरै काम भएको बताउँछन् । उनी संयोजक रहेको समयमा चक्रपथको सडकमा आधा करोड बढी रुपैयाँका
पूर्वाधारहरु निर्माण भएका थिए । तर पछिल्लो समयमा जति काम हुनुपर्ने त्यति मात्रामा काम हुन नसकेको उनको तर्क छ । उनले प्रस्तावित रेखाङ्कनको काम र आवश्यकीय पूर्वाधारहरुमा ध्यान दिनुपर्ने बताए । गएको वर्षमा नेपाल सरकारको रातो किताबको योजनामा परेको १० लाख रुपैयाँले दमक–३ को सडकमा ३ किलोमिटर बढी सडक ग्राभेलको काम भएको समितिका संयोजक न्यौपाने बताउँछन् ।
नदी रोकथाममा सडक
चक्रपथ सडकलाई नदी नियन्त्रण र नदी आसपासका क्षेत्रमा विरुवा लगाएर आम्दानीका दृष्टिकोणले समेत काम अघि सारिएको थियो । रतुवा चाजु र मावा जस्ता नदी खोलालाई नियन्त्रणका लागि उचाईमा सडक र सडकका नदी छेउमा अभियानका रुपमा बृक्षारोपण गर्ने लक्ष्य लिएको चक्रपथ निर्माण उपभोक्ता समितिका संयोजक बोधराज न्यौपाने बताउँछन् ।
‘वायो इन्जिनियरिङ पद्धतिबाट बृक्षारोपण र त्यस क्षेत्रमा विरुवा लगाउने लक्ष्य थियो’ अध्यक्ष न्यौपाने भन्छन् । यसले नदी रोकथाम र विरुवाबाट भविष्यमा आर्जन गर्न सकिने सोचाईले चक्रपथ सडक बनाउन प्रस्ताव गरिएको उनको भनाई छ । ‘सोही सडकमा विकासका मुख्य योजना बिजुली, टेलिफोन लगायतका पूर्वाधारहरुलाई सँगै लैजाने योजना थियो’ उनले भने–‘यसले विकाससँगै नदीबाट हुनसक्न्े प्रकोप रोकथाममा सघाउ पु¥याउँनेछ ।’
ति काममा नेपाल सरकार, नगरपालिका र उपभोक्ता विदेशी दातृ संघ संस्थाहरुको सहयोग जुट्ने अपेक्षा समितिको थियो ।

0 प्रतिकृया:

Post a Comment