आगलागीमा सचेतना – सम्पादकीय

शनिबार झापाको गौरादह–६ मा २ ओटा घर जलेका छन् । आईतबार काठमाण्डौको कालिमाटीमा एकै परिवारका ४ सहित ६ जनाको ज्यान जाने गरी भएको आगलागीलाई अर्को दुःखान्त घटनाको रुपमा लिन सकिन्छ । यसै सातामात्रै भुटानी शरणार्थी शिविर बेलडाँगीमा भएको आगलागीबाट सयौँ भुटानी शरणार्थी विस्थापित भए । केही समययता विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारका संक्षिप्त विवरण हुन् यी । आगलागीलाई दैवी प्रकोपका रुपमा परिभाषित गरिएको छ । केही हदसम्म यसलाई दैवी प्रकोपको रुपमा लिइएपनि मानवीय त्रुटी वा हेलचेक्राईँका कारण समेत आगलागीका घटना दोहोरिहेको परिप्रेक्ष्यमा यसलाई केवल दैवी प्रकोप मात्र भनेर चित्त बुझाउने ठाउँ छैन । अक्सर गरेर हिउँदको सुख्खायाम आगलागीको समय नै हो भन्दा पनि अत्युक्ति हुँदैन । तराई तथा चुरे क्षेत्रको वनमा वर्षेनी डढेलो लाग्ने गरेको हामी सबैलाई ज्ञात भएकै विषय हो । घरको भान्सा वा ग्वाली गोठबाट होस् वा विद्युत सर्ट हुँदा वा सिलिण्डर ग्यास पड्किएर आगलागीका घटना बारम्बार दोहोरिने गरेका छन् । एकाध बाहेकका घटनाको मुख्य कारण मानवीय त्रुटी नै हुने गरेको अनुसन्धानबाट पुष्टि हुँदै आएको कुरा हो । सलाइर्, लाईटर जस्ता आगो बाल्न प्रयोग हुने सामान हुन् वा पेट्रोलियम पदार्थ जस्ता ज्वलनशील वस्तु केटाकेटीको पहुँच भन्दा टाढा राख्न मात्रै सकियो भने पनि यस किसिमका घटना दोहोरिने सम्भावना न्युन हुन्छ । कतिपय अवस्थामा अभिभावक स्वयम्ले भान्छा कोठामा आगो ननिभाई छोडेका कारण वा दियो, अगरबत्ती सल्काएर छोडेका ठाउँबाट पनि आगलागीका घटना भएको पाइन्छ । यी सबै मानवीय त्रुटी वा लापर्वाहीका उदाहरण नै हुन् । कमि कमजोरीलाई नसच्याई केवल दैवी प्रकोप मात्र भनेर कसैले पन्छिन मिल्दैन आगलागीका विषयमा । घटना हुने नदिनु पहिलो दायित्व हो भने कारणवश घटना भइहालेमा त्यसबाट हुने क्षति कम गर्ने उपायबारे सोचिनु अर्को दायित्व हो । यहाँ प्रसङ्ग बिग्रिएको अवस्थाका बारुणयन्त्रको हो ।
झापाका तीनओटा नगरपालिका (दमक, भद्रपुर, मेचीनगर) मा आधा दर्जन बढीको संख्यामा बारुणयन्त्रको सुविधा भए पनि आगलागीका घटना हुनासाथ जिल्लाकै एक दर्जन गाविसहरुमा तत्काल वारुण यन्त्र पुगेको अवस्था छैन । आपत्कालीन अवस्थामा प्रयोग हुने वारुणयन्त्र नै तत्काल उपयोग गर्न नसकिने अवस्थामा रहेका पाइन्छ । पानी नतान्ने, नफाल्ने वा नगुड्ने अवस्थामा दमकल रहनु भनेको करीब–करीब वारुणयन्त्र हुनुभन्दा नहुनु नै निको जस्तै हो ।
भौगोलिक हिसाबबाट समेत यी तीनओटै नगरपालिका दक्षिणवर्ती झापाका आधा दर्जन गाविसहरु भन्दा कम्तीमा ५० किलोमिटर टाढा छन् । तत्काल टेलिफोन सम्पर्क नहुने, भइहाले दमकलको अवस्था खराब हुने, टाढा भएकै कारण एकले अर्काेलाई देखाएर पन्छिने जस्ता समस्याबाट वर्षौँदेखि पाठामारी, केचना, पत्थरीया, बालुवाडी, राजगढ, टागनडुब्बा, कुमरखोद, महाभारा, कोरोबारी गाविसका बासिन्दा पीडित हुँदै आएका छन् । तत्काल घटनास्थलमा वारुणयन्त्रको सेवा नपुग्दा वर्षेनी लाखौँको धनमाल नोक्सान हुने गरेको छ । अतः सरोकारवाला पक्षले समयमै ध्यान पु¥याएर विपत्को अवस्था सृजना हुन नदिन जनचेतना वृद्धि गर्नु आवश्यक छ भने विपत्को अवस्था सृजना भइहाले बढी क्षति हुनबाट जोगाउन अग्नी नियन्त्रणका साधनहरुको बन्दोवस्ती मिलाउन जरुरी छ ।

0 प्रतिकृया:

Post a Comment