खुलामञ्चमा एमालेको सभा

काठमाडौं/शान्ति र संविधानको लागि दबाव तथा पार्टीको आन्तरिक एकताको सन्देश दिन भन्दै आइतबार काठमाडौको खुला मञ्चमा सभा सम्पन्न गरेको छ । खुलामञ्च र आसपासमा भरिभराउ कार्यकर्ता देखेर उत्साहित भएका एमाले शीर्ष नेताहरुले माओवादी र कांग्रेसले केही गर्न नसकेकोले एमालेले मात्रै देशलाई निकास दिनसक्ने बताए । तर, पहिलेदेखि भन्दै आएको उही मध्यमार्गी धार बाहेक निकास दिने अचुक उपाय के हो भन्ने चाहिं कसैले केही भनेनन् ।
‘माओवादी र कांग्रेसले लोकतन्त्र बचाउन सक्दैनन्’ पार्टी अध्यक्ष झलनाथ खनालले भने–‘माओवादीमा ठूलो दलको अहम रहेको र कांग्रेसलाई आफूमात्रै लोकतन्त्रको मसिहा भन्ने भ्रम छ । तर वास्तवमा लोकतन्त्र बचाउन एमालेबाट मात्र सम्भव छ ।’ तर कसरी भन्ने जवाफ भने खनालसित पनि छैन ।
खनालअघि बोल्ने माधवकुमार नेपाल, केपी शर्मा ओली लगायतका नेताहरुले पनि यसैगरी माओवादी र कांग्रेसलाई गाली गरे । उग्रबामपन्थ र दक्षिणपन्थलाई मिलाएर लैजाने मध्यमार्गी पार्टी एमाले नै भएको दाबी गरे । ‘माओवादी युद्धको धङधङीबाट मुक्त हुन सकेको छैन’ बरिष्ठ नेता नेपालले भने–‘फेरि युद्ध गर्ने, मान्छे मार्ने भनेर कसलाई धम्की दिएको ? शिविर खाली नगरेसम्म शान्ति प्रकृयाले पूर्णता पाउँदैन ।’ सधैं माओवादीलाई गाली मात्रै गर्ने बानी भएका अर्का नेता ओलीले पनि उसैगरी बचन लगाए । माओवादीको उग्रपन्थी बाटोबाट नयाँ नेपाल बन्न नसक्ने भन्दै उनले फेरि द्वन्द्व नहुने खालको संविधान जारी गर्नुपर्नेमा जोड दिए । ‘माओवादी नेतृत्वको सरकार इतिहासमै सबैभन्दा अयोग्य, नालायक र भ्रष्ट भएको छ’ ओलीले भने –‘उत्ताउला र उग्र व्यवहारले एमालेको संकल्प कमजोर बनाउने सपना नदेखे हुन्छ ।’
सो अवसरमा पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक समेत उद्घाटन गरिएको थियो ।

0 प्रतिकृया:

Post a Comment