५१ परिवारका २ सय ७८ जना बिस्थापित – मुख्य समाचार

पिपुल्स टाइम्स समाचार
बेलडाँगी/झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा बिहीबार राति भएको आगलागीबाट ५१ परिवारका २ सय ७८ जना बिस्थापित भएका छन् ।
बेलडाँगी २ को सेक्टर बी ४ छाप्रा नम्बर २५ का रामचन्द्र बाँस्कोटाको छाप्राबाट करिब साढे १२ बजेतिर सुरु भएको आगलागी थियो ।
सडक किनारमा बिस्थापितहरु
 स्थानीय सशस्त्र प्रहरी वेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक बिजेन्द्र रिमालले शुक्रबार दिनभर उद्धारको कार्य गरिएकाले क्षतिको यकिन विवरण आइनसकेको बताए ।
आगलागीबाट ३४ छाप्रा जलेका हुन् भने अन्य सुरक्षाका लागि भत्काइएको लुथरन विश्व फेडेरेशनले जनाएको छ । लुथरनका अनुसार बि–४ का २६ छाप्रा जलेका छन् भने थप १४ ओटा सुरक्षाका लागि भत्काइएका छन् । यस्तै आगलागी बि–२ का ४ ओट छाप्रा जल्नुका साथै ४ ओटा भत्काइए ।
शुक्रबार स्थानीयबासी, दातृनिकायका प्रतिनिधि तथा सुरक्षाकर्मीहरुले आगलागीको भग्नावशेषमा रहेका बिभिन्न समान छुट्याएका थिए । 
खरानी कोट्याएर कागजात खोज्दै एक शरणार्थी
बिस्थापितहरुलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग, कारितास नेपाल लगायतका निकायले अस्थाई रुपमा बसोबासको व्यवस्था मिलाएका छन् । उनीहरुलाई सामूहिक रुपमा खाना खुवाउने व्यवस्था समेत मिलाईएको छ । बिस्थापितहरुलाई केहि दिनका लागि स्थानीय पञ्चवटी विद्यालयमा बसोबास र अर्को पाठशालामा सामूहिक खानाको व्यवस्था मिलाईएको शिवर सचिव डिबी सुब्बाले बताए । आज बिहानैबाट विस्थापितहरुको बसोबासको व्यवस्थाका लागि आवश्यक कार्य गरिने उनले जानकारी दिए ।
आगालागी भएको स्थानमा शुक्रबार बिहान झापाका प्रमुख जिल्ला अधिकारी तथा शरणार्थी समन्वय ईकाईका निर्देशक नरेन्द्रराज शर्माले अवलोकन गरे । अवलोकन पश्चात बिस्थापितहरुलाई शिघ्र राहत तथा बसोबासको व्यवस्था मिलाईने उनले बताए । तत्कालिनको व्यवस्थाका लागि दैवी प्रकोप उद्धार समितिले झापाले प्रति विस्थापित परिवारलाई १ हजार रुपैया प्रदान गरेको छ । यस्तै नेपाल रेडक्रस सोसाईटीले पनि  प्रारम्भिक राहतको व्यवस्था गरेको छ ।
बिस्थापितहरुलाई शुक्रबार नै रेडक्रसले लत्ता कपडा तथा खाना पकाउने भाडा, कारितासले सरसफाईका विभिन्न सामग्री र कपडाहरु वितरण गरेको छ । ति मध्ये ५ जना अपाङ्गलाई कारितासले २÷२ सेट कपडा र ५ वर्ष मुनीका १३ जना बालबालिकालाई २ सेट लुगा, १ ब्याग र किताब लगायतका सामग्री वितरण गरेको छ ।
त्यस्तै लुथरन विश्व फेडेरेशनले स्टोभ १÷१ वटा, ब्लाङ्केट १÷१ थान र पानी बोक्ने भाडाहरु वितरण गरिएको क्याम सचिव सुब्बाले जानकारी दिए ।
राति लागेकोे आगलागी सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालयको टोली र शरणार्थीहरुको सहयोगमा दमक नगरपालिकाको दमकलले २ घण्टामा नियन्त्रणमा लिएको थियो । आगलागीको कारण अझैसम्म पनि खुल्न सकेको छैन । भुटानी शरणार्थी शिवरमा पटक–पटक यस्ता घट्ना हुने गरेका छन् । केहि महिना अघि समेत बेलडाँगी शिविरमा नै आगलागी भएको थियो ।

0 प्रतिकृया:

Post a Comment