बेलडाँगीमा छाप्रा बनाउन थालियो

दमक/झापाको दमकस्थित बेलडाँगीका भुटानी शरणार्थी शिविरका आगलागी पीडितहरुको पुनर्वासका लागि छाप्रा निर्माण कार्य थालिएको छ ।

एकसाता भित्र छाप्रा निर्माण पूरा गर्ने लक्ष्यका साथ शिविरमा आइतबारदेखि छाप्राका काम अगाडि बढाइएको  शिविर सचिव डी.बी. सुब्बाले जानकारी दिए । आगलागी क्षेत्रमा तीनदिनदेखि सरसफाई गरिने कार्य पूराभएपछि छाप्रा बनाउन थालिएको हो । छाप्रा बनाउने शरणार्थी दातृ निकाय लुथरन विश्व फेडेरेशनले बास लगायतका कच्चा सामाग्री उपलब्ध गराएको थियो । सचिव सुब्बाका अनुसार आफ्नो छाप्रा बनाउने शरणार्थीहरुले काम थालेका छन् । छाप्रासँग चर्पीको संरचना बनाउन समेत शुरु गरिएको बताइएको छ ।
यसैगरी आगलागीबाट बिस्थापित शरणार्थीहरुलाई ३ दिन अघिदेखि सामूहिक खाना खुवाउने व्यवस्था  जारी राखिएको छ । स्थानीय पञ्चवरी विद्यालयमा अस्थायी बसोबासमा रहेका बिस्थापितहरुको छाप्रा पूरा नभएसम्म सोही क्षेत्रमा बसोबास र खानपिन गराउने बताइएको छ । गत शुक्रबार बेलडाँगी–२ का रामचन्द्र बाँस्कोटाको छाप्राबाट आगलागी हुँदा सो शिविरका ५१ छाप्रा पूर्ण रुपमा नष्ट भएको थियो । बिस्थापितहरुलाई नेपाल सरकारको दैवी प्रकोप उद्धार समिति नेपाल रेडक्रस सोसाईटी दातृ निकायहरु लुथरन, कारितास नेपाल, राष्ट्रसंघीय संस्था
(युएनएचसीआर) लगायत संस्थाहरुले विभिन्न राहतहरु उपलब्ध गराएका छन् ।

0 प्रतिकृया:

Post a Comment