काङ्ग्रेस भित्र सकरात्मक वातावरण-सम्पादकीय


लामो समयदेखि विवादका रुपमा रहेको नेपाली कांग्रेस पार्टी भित्रको किचलोलाई नेतृत्वले समाधानको आशय व्यक्त गरेका छन् । कांग्रेस सभापति सुशील कोइरालाले शनिबार प्रेस वक्तव्य जारी गरेर विवादित बन्दै आएको भातृसंगठन बिघठनको निर्णलाई घुमाउरो शैलीबाट सच्चाउने प्रयत्न थालेका देखिएको छ । संस्थापन र देउवा पक्षबीच भातृसंगठन बिघठनलाई लिएर महिनौ सम्म चलेको आन्तरिक निषेधको राजनीतिका कारण सिङ्गो पार्टी अघोषित रुपले दुई खेमामा विभाजित रहेको थियो । यद्यपि मुलुकको संक्रमणकाल लम्बिँदै गइरहेको अवस्थामा यतिबेला सरकारकै प्रतिपक्षमा बसेको कांग्रेसमा जुन शिथिलता र समस्या देखिएको छ यसले रचनात्मक प्रतिपक्षीको भूमिकाबाट कांग्रेस चुकिरहेको स्पष्ट छ । तर पनि हालसालैको निर्णयलाई हेर्ने हो भने कांग्रेस भित्र अब सकरात्मक वातावरण सृजना हुने पक्का छ । वर्तमानको कांग्रेसी सदवुद्धिलाई हेर्दा उसले केही दिन पछि नै राष्ट्रिय राजनीतिका मुद्दाहरुमा रचनात्मक ढङ्गले आफ्नो प्रतिपक्षी भूमिकालाई निर्वाह गर्न सक्षम हुने आशा गर्न सकिन्छ । 
वास्तवमै संसदीय राजनीतिको थालनी देखि नै अग्रपंक्तिमा रहँदै आएको कांग्रेसको वर्तमानको गतिविधि र ६१ वर्षदेखि मुलुकको राष्ट्रिय राजनीतिमा उसले खेल्दै आएको नेतृत्वदायी भूमिकामा आजभोलि कता-कता समस्या उत्पन्न हुँदै आएको स्पष्ट छ । एकातिर मुलुक भर संसदीय व्यवस्थालाई बिकारका रुपमा परिभाषित गर्न बाम वुद्धिजीविहरुको भूमिका गतिलो र सशक्त बन्दै गएको अवस्थामा आफ्नो राजनीतिक पहिचानमै संसदीय पद्धतिको बखान जोड्ने कांग्रेस अहिले कम्जोर अवस्था पुग्नु र कुनै प्रतिवाद र रचनात्मक आलोचनाको सिद्धान्तका माध्यमबाट प्रतिकूल परिस्थितिको सुधार तर्फ अग्रगामी भूमिकाका साथ अघि नआउने हो भने आफ्ने तर्कबाट पनि उसले हार व्यहोर्नु पर्ने स्थिति आउन सक्छ । 
तसर्थ पार्टी र नेतृत्व भित्र जे-जतिसुकै विवाद र असहमतिहरु भए पनि आम कार्यकर्ता नेपाली जनता र मुलुकको सम्मानित संसदयीय राज्य व्यवस्था सहितको लोकतन्त्र र संघीय गणतन्त्रको रक्षामा कांग्रेसले खेल्नु पर्ने भूमिका र दायित्वबाट उसले उम्कन मिल्दैन । इतिहास बोकर आएको राजनीतिक दलका हिसाबले पनि कांग्रेसको अभिभावकत्व र जिम्मेवारी बढी छ । भर्खरै कांग्रेस भातृसंगठनहरुको बिघठनको निर्णयलाई कुटनीतिक तवरबाट सच्चाउँदै आगामी छ महिना भित्र अधिवेशन गराई नयाँ नेतृत्व प्रदान गर्न पार्टी नेतृत्वले चित्त फराकिलो पारेको देखिन्छ । यो सुनौलो र लोकतान्त्रिक निर्णयको स्वागत गर्दै कांग्रेस भित्रका भातृ संगठनहरुमा योग्य र सक्षम नेतृत्वका लागि आजै देखि छलफल थाल्न उपयुक्त हुने छ ।

0 प्रतिकृया:

Post a Comment