गाउँलेले बनाए मन्दिर र भवन

लखनपुर,२३माघ २०६८/लखनपुर-८ को ठूलो बाह्रघरेमा स्थानीयबासीहरुले सामुदायिक भवन र पशुपति मन्दिर निर्माण सम्पन्न गरेका छन् ।
स्थानीयदाताहरुले जुटाएको १० लाख रुपैयाँको सहयोगमा तीन कोठे भवन निर्माण गरिएको हो । भवन तथा मन्दिर निर्माणका लागि ०६२ सालमा स्थानीय नन्दकिशोर संग्रौला र दीपक श्रेष्ठले साढे तीन कठ्ठा जग्गा प्रदान गरेका स्थानीय पदम सेढाईले बताए । 
संग्रौला सहित विभिन्न दाताहरुले प्रदान गरेको नगद करिब ४ लाख रुपैयाँको अक्षयकोषको ब्याज तथा मुष्ठीदानबाट सो मन्दिरमा नियमित पूजाआजा रेखदेखको व्यवस्था मिलाइएको छ । सो मन्दिरमा विगत ६ वर्षयता हरेक वर्षको शिवरात्रीका अवसरमा पुराण आयोजना भइरहेका छन् । यस वर्ष लगाइने मार्कण्डेय पुराण सातौँ हो । सो पुराण सम्पन्न गर्न लक्ष्मीप्रसाद पाण्डेको अध्यक्षतामा महापुराण आयोजक समिति बनाइएको छ ।
सो समितिका प्रचारप्रसार संयोजक समेत रहेका पदम सेढाइले सप्ताहब्यापी सो महापुराण उद्घाटनकै अवसरमा सो सामुदायिक भवन समेत उद्घाटन गरिने जानकारी दिए । फागुन ८ गतेसम्म चल्ने सो महापुराणमा पण्डित चित्र अधिकारीले कथावाचन गर्ने उनले बताए । 

0 प्रतिकृया:

Post a Comment