आदिवासी सांस्कृतिक महोत्सव एक दृष्टिमा-दोस्रो लेख


रुद्र निरौला
आदिवासी जनजाति सांस्कृतिक महोत्सव २०६८ अहिले दमक नगरको चहल-पहल बनेको छ । चाड कल्याणको आयोजना गर्नु र आफन्तजनसँग सम्बन्ध पुनरताजगी गर्नु राम्रै कुरो हो । सम्भवत दमकले ३÷४ ओटा महोत्सव मनाई सक्यो । हाम्रो समाजको संरचना एउटै थाल थलोमा सामुहिक रुपले अवलोकन गर्न पाउनु राम्रै पक्ष हो । त्यसमा पनि जात जातिका लोक संस्कृति झल्किने विषय वस्तुहरुको संयोजन गरिने पक्ष झनै रमाइलो मान्नुपर्ने हुन्छ । लगभग बाह्र थरी मानव समुदायका सांस्कृतिक पक्षहरु यस महोत्सवमा देखिए । जातिय विविधताबाट निर्मित हाम्रो समाजलाई पहिचान गराउने यो महोत्सवले आपसी सद्भाव एवम् बन्धुत्व भावको जगेर्ना सम्भव हुन्छ र हुनु पनि पर्छ । त्यसैले यौटै माचमा सबै रमेका छन् झुमेका छन् र सम्भावना खोज्दै छन् ।
राज्य पुनसंरचनाको सन्दर्भ आजको मूल विषय बनेको अवस्थामा राज्य साचालन गर्ने दलहरु आपसी कलह द्वेष र सत्ता उन्मादिमा लिपी कसिरहेका छन् । यिनले जातीय राज्य बाँडेर कुन कर्णको भूमिका खेलेका हुन् र यिनलाई राज्यको बिलो बाँड्ने अक्तियार कसले दियो फुटाऊ र राज्य गरेको बेलायति सिद्धान्त ल्याएर नेपाली मिश्रीत समाजमा भाँजो हाल्दै जनक्रान्तिको डिङ हाँक्नेले कुन जनताको आवाज उठाएका हुन् बुझ्न सकिएन । वर्षैपच्छिे आयोजना हुने गरेका जातीय संस्कृतिको प्रस्तुति निरन्तर चलिरहेको छ । उनीहरुलाई साझा माच र समान हक अधिकारको खाँचो छ । तर छुट्टै राज्यको आवश्यकता छैन । हिमाल पहाड र तराईको सम्मिश्रण छ महोत्सवमा । छुट्टै-छुट्टै जातिको महोत्सव छुट्टा-छुट्टै माचमा गर्नुमा कुनै उत्साह देखिन्न । सामुहिक हुने बित्तिकै स्वस्थ्य एवम् स्वच्छ प्रतिस्पर्धा हुन्छ र स्तरीकरण हुँदै जान्छ । अहिले त्यहीँ भइरहेको छ । अघिल्ला महोत्सवहरुमा भएका जातीय संस्कृतिका विषयहरु क्रमशः रुपान्तरण हुँदै परिमार्जित भएका देखिएका छन् । आपसी विद्वेष छुट्टिने पद्धति तथा अहंवादी भावले उनीहरुको उन्नति सम्भव छैन । जातीय राज्यको महत्ता बढ्यो भने अहिले भएका एकसय दुई जातका जातीय राज्यमा नेपाल बाँडिनु पर्छ र त्यसले बहुसंख्यक र अल्पसंख्यक बीचको दुरता कायम गर्छ । सीमान्तकृत वर्गको सीमान्त हुन्छ । दलित उत्पिडित वर्ग झन् दलाईमा पेलिन्छ । नवपुँजीपति वर्गकेा अहिलेको उदय नेपाली समाजका लागि सहयोगी भन्दा घातक सावित हुन्छ । त्यसैले वर्ग विभाजन गरिने कुमार्ग हैन वर्ग समन्वयको सन्मार्ग खोज्नु वुद्धिमानी हुन्छ । गरीबीको रेखामुनी जीवनयापन गर्न बाध्य नेपाली समाजलाई जुनसुकै बहानामा पृथकीकरण गरिनॆ कुचालु चाल्नु र क्षणिक उन्मादमा लठ्ठिनुपर्ने कुनै आवश्यकता छैन । जातीय पहिचान खोज्नेले वर्गीय अस्तित्वमा विश्वास राख्नुपर्छ । एउटै वर्गले आफ्नो वर्गसँग दुस्मनी कायम गर्ने खालको संकीर्णता कुनै वर्गले पाल्नु हुँदैन । भौगोलिक विविधता र त्यसको आधारमा बाँच्नुपर्ने हाम्रा विभिन्न जातजातिले अहिले जुन समाज बनेको छ त्यसैभित्र भएका कमी कमजोरी हटाएर समानताका नयाँ सम्भावनाहरु सामुहिक र सहभागिताका आधारमा खोजिनुपछर्छ । यो सामान्य कुरा होइन बरु गतिलो चुनौति हो । यसका लागि आपसी सद्भाव र विश्वसनीयताको वातावरण आवश्यक हुन्छ । अहिलेको फोहोरी राजनैतिक खेलबाट आपसी सद्भाव कायम राख्न सम्भव देखिन्न । नेपाली नेतृत्वले नेपाल पढ्नु बुझ्न र सम्भावना पैल्याउने अभ्यास राम्ररी गर्नु पर्ने हुन्छ । नेपाल र नेपाली समाज आद्योपान्त नपढेका कोरा नेताले नेपालको राजनीति हाँक्न खोज्नु वीरवलले पकाउने खिचडी जस्तै हो । वर्गीय चरित्र र नेतृत्व नपढी वा आफूमा कायम नगरी कुनै नेताले सही नेतृत्व दिन सक्दैन । हिजो सबै नेपाली पाच नेपाली भनिएकाहरु आज सबै नेपाली जनताका प्रतिनिधी भएका छन् । यो छद्मभेवी चरित्र बुझी नसक्नु छ । हिजोको तानाशाह फाल्ने वर्ग हुँ भन्नेहरु आज आफै तानाशाह बनेका थुप्रै उदाहरण हाम्रो सामु छन् । ज्यानमाराहरुले खुल्लेआम डुकि्रँदै हिँड्न छुट छ । देशको अदालतले दिएको फैसला नमाने वर्ग कुन प्रजातान्त्रिक वर्गमा पर्छ सरकारले उत्तर दिनुपर्छ । आपसी सद्भाव खल्बल्याएर जात जातका नाममा राज्य बाँड्ने सिद्धान्त कुन सामाजिक सवलताको उदाहरण हुन्छ मुलुकलाई न्यायोचित पद्धति चाहिएको छ विद्रोहको भागवण्डा चाहिएको छैन । सर्वसाधारण जनता समानता न्याय र अवसरको माध्यमबाट समतामूलक समाजको अवाश्यकता तर्पु विश्वस्त छन् । तर केही महत्वाकांक्षी व्यक्तिहरु आफ्नो महत्ता देखाउन समाजलाई चिरा-चिरा पार्ने षड्यन्त्र चलाईरहेका छन् । त्यहीँ आँधीमा नेपालका जात जाति पिछलग्गु बन्नु दुरदर्षीताको सङ्केत होइन । बरु आपसी सद्भाव कायम राख्दै नयाँ सम्भाव्यता खोज्नु र आउने समस्या र चुनौतिको सामुहिक सामना गर्दै समावेसी समाज सृजना गर्नसक्नु वुद्धिमानी ठहर्छ ।
वर्षै पिच्छे आयोजना गरिने जातीय महोत्सवहरुले आपसी प्रेम भातृत्व एवम् भागिनीत्वभाव तथा मौलिक संस्कृतिको अस्तित्व रक्षा गर्ने सेतुबन्धनको भूमिका कायम गर्न सक्नुपर्छ । अहिले आदिवासी र नववासीका बीच दुरता कायम गर्नु भन्दा समग्र जनताको उन्नति र प्रगतिका सामुहिक प्रयासमा सबैको ज्ञान सीप र विवेक प्रयोग गर्दै अग्रसर हुनु बढी लाभदायी हुन्छ । आफ्ना मौलिक मूल्य एवम् मान्यताबाटै अबको नेपाली समाजको उज्जल भविष्य खोज्नुपर्ने भएको हुँदा समय सापेक्ष नेपालको उन्नतिका लागि आयोजना गरिने महोत्सवहरु फलदायी बन्न सकुन् । शुभकामना ।

0 प्रतिकृया:

Post a Comment