स्वस्थानीको सामूहिक पूजा

दमक,२३माघ २०६८/ दमक-१ स्थित नवदुर्गा मन्दिरमा विभिन्न ठाउँका एक दर्जन महिलाहरुले सामूहिक रुपमा श्री स्वस्थानी ब्रत पूरा गरी समापन गरेका छन् ।
गत पुस २५ गते पौष शुक्ल पूर्णिमादेखि स्वस्थानीको ब्रत बसेका महिलाहरुले आइतबार सामूहिक पूजा साङ्गे गरी एक महिने ब्रत सम्पन्न गरेका हुन् । दमक-१२ स्थित राधाकृष्ण कीर्तनमण्डलीको आयोजनामा भएको समापन कार्यक्रममा कथावाचक रोमन रुपाखेती दाहाल रहेका थिए । पूजा समितिका कोषाध्यक्ष महेश पोख्रेलले सो अवसरमा दुर्गा मन्दिर निर्माणका लागि जग्गा दान गर्ने पदमकुमारी पोखरेल र धरानबाट आई पूजामा सहभागी हुने ६१ वर्षीया बृद्धा विष्णुमाया माझीलाई सम्मान समेत गरिएको बताए । 
दमक-१२ की ५५ वर्षीया शान्ता पौडेलले आपसी सद्भाव बृद्धि गर्न सामूहिक पूजाले मद्दत गरेको अनुभव सुनाइन् । कोषाध्यक्ष पोख्रेलले बढ्दो शहरीकरणसँगै घरमा पूजा लगाउन स्थान अभाव खड्किएको आर्थिक बचतका दृष्टिले र सामूहिकतामा जोड दिन त्यस्तो कार्यक्रम आयोजना गरिएको बताए । 

0 प्रतिकृया:

Post a Comment