‘पहिचान विरोधी संविधान बनिए द्वन्द्व चर्कने’

बिर्तामोड/दुई तिहाई बहुमत भन्दै पेलेर पहिचान विरोधी संविधान वनाए माघ ८ पछि नेपालमा नयाँ किसिमको द्वन्द्व निम्तने पहिचानवादीहरुले चेतावनी दिएका छन् ।
२० औँ विश्व आदिवासी दिवसको सन्दर्भ पारेर नेपाल आदिवासी पत्रकार संघ झापाले बिर्तामोडमा बुधवार आयोजना गरेको संघीयतामा आदिवासी जनजातिको पहिचानको मुद्दा विषयक कार्यक्रममा बोल्दै पहिचानवादीहरुले यस्तो चेतावनी दिएका हुन् । अहिलेको संविधान सभाबाट आदिवासी जनजातिका मुद्दा समेटिने संकेत नदेखिएको भन्दै उनीहरुले अन्तरिम संविधानको धारा १३८ को १ को क अनुसार राज्य पुनः संरचना नभए वैधानिक लडाई लड्ने चेतावनी समेत दिएका छन् ।
विर्तामोडमा भएको अन्तरकृया कार्यक्रममा सहभागी नेताहरु ।

नयाँ पार्टीको रुपमा एकीकरण भएको संघीय लिम्बुवान पार्टी नेपालका वरिष्ठ नेता सञ्जुहाङ्ग पालुङ्वाले अधिकार विनाको संविधान आए मर्न तयार हुने धारणा राख्दै जातिय राज्य कसैले नमागेको स्पष्ट पारे । उनले प्रमुख तीन दलले पहिचानको कुरा नस्वीकारे उनीहरुलाई पनि अस्वीकार गर्ने चेतावनी दिए । कार्यक्रममा बोल्दै पालुङ्वाले पेलेर संविधान निर्माण गर्ने बताइरहेका ठूला दललाई माघ ८ भित्र संघीयता सहितको संविधान निर्माण गरेर देखाउन चुनौती समेत दिए । केपी ओलीहरुको अप्रिय निर्णयले लिम्वुवानहरुलाई जवरजस्त एकठाउँमा बस्न बाध्य बनाएको उनको भनाई थियो ।
त्यस्तै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य झलकसिंह दर्लामीले आफ्नो पार्टीले पहिचानको मुद्दा नछोडेको बताउँदै पहिचान सहितको शक्तिहरु बीच भएको नयाँ सहकार्यलाई सुखद मान्नु पर्ने धारणा राखे । उनले पहिचान सहितको संविधानका लागि सडक र सदनवाट आन्दोलन गर्नु पर्ने जोड दिए ।
कार्यक्रममा बोल्दै राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले सामथ्र्य र पहिचानको अर्थ नभएको भन्दै पहिचानको आधार तय गर्नु पर्ने बताए । पूर्व गृह राज्य मन्त्रीसमेत रहेका राजवंशीले ठूला पार्टीहरुले जनताका लागि नभएर आफ्ना लागि संविधान वनाउन लागेको आरोप लगाए । यसैगरी
वुद्धिजिवी डा. पृथ्वी विक्रम राईले संघीयताका वारेमा दलहरुले कुरा नबुझेर पहिचानको मुद्दामा बबाल गरिरहेको आरोप लगाए । नेपाल आदिवासी जनजाति महासंघ झापाको सहयोगमा भएको कार्यक्रम आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजवंशीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पूर्व सभाषद् एवम संघीय समाजवादी पार्टीका जिल्ला इञ्चार्ज विश्वदीप लिङ्देन,
अर्का पूर्व सभाषद् पूर्णसिंह राजवंशी, नेकपा एमालेका सचिवालय सदस्य माधव विद्रोही, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राई, सल्लाहकार प्रेम घिसिङ, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेश, मधेशी जनाअधिकार फोरमकी कोषाध्यक्ष संगीता रौनियार, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तारामणि सापकोटा, थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष काशीलाल चौधरी, तराई मूल माझी कल्याण समितिका महासचिव धर्मराज माझी, सन्थाल आदिवासी उत्थान संघका वडाराम हेमरम लगायतले बोलेका थिए । आदिवासी पत्रकार संघका उपाध्यक्ष  आत्माराम राजवंशीले स्वागत गरेको कार्यक्रम महासचिव अर्जुन राजवंशीले सञ्चालन गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment