महारानीमा प्रशोधन केन्द्र बन्दै

गौरादह/झापाको महारानीझोडामा पूर्वाञ्चलकै सवैभन्दा ठुलो विउविजन प्रशोधन तथा प्याकेजीङ केन्द्र बनाउन थालिएको छ  । नेपाल सरकार र स्थानीयबासीहरुको करिव दुई करोड रुपैयाँको संयुक्त लगानीमा केन्द्र बनाउन थालिएको हो । महारानीझोडास्थित साना किसान कृषि सहकारी संस्थाले विउविजन तथा प्रशोधन केन्द्रको निर्माण थालिएको संस्थाकी अध्यक्ष मीना ढकालले बताइन् । सो केन्द्र महिलाहरुले मात्र सञ्चालन गरेका हुन् । सो केन्द्र बनाउन संस्थाको २० लाख र सरकारको एक करोड ६० लाख रुपैयाँ लगानी रहेको उनले जानकारी दिईन् । महारानीझोडा गाविस वडा नम्बर ५ मा संस्थाले सो केन्द्र बनाउन काम तीव्र थालेको हो ।
धान, मकै, गँहु जस्ता नगदे वालीका विउविजन तथा प्रशोधन पूर्वमा नभएका कारण स्थानीय कृषकहरुको अगुवाईमा व्यवस्थित केन्द्रको काम अगाडी बढाइएको सो सहकारीका प्रवन्धक चिरञ्जिवी भण्डारीले बताए । स्थानीय स्तरमा प्रशोधन केन्द्र नहुँदा यस क्षेत्रका कृषकहरुले भारतबाट आयातीत कम गुणस्तरका विउविजनमा निर्भर रहनु परेको थियो । विउ खरिदका लागि नै यहाँका कृषकहरुले ठूलो रकम बाहिर खर्चनु परेको स्थानीय कृषकहरुको गुनासो छ । केन्द्र निर्माण पूरा भएपछि बिशेष गरि धान, गहुँका विज उत्पादन तथा प्रशोधन कार्य आफ्नै स्थलमा हुने संस्थाकी अध्यक्ष ढकालले जानकारी दिइन् । आगामी दुई बर्ष भित्र निर्माण पुरा गरिने लक्ष्य लिईएको सो केन्द्र पूर्वकै सवैभन्दा ठूलो विउविजन तथा प्रशोधन केन्द्र हुने अध्यक्ष ढकालले दावी गरिन् । उनले भने–‘यस प्रशोधन तथा विउविजन केन्द्र बनिएपछि जिल्लाकै कृषकहरुलाई राहत पुग्ने छ ।’

0 प्रतिकृया:

Post a Comment