मोदीको सन्देश र दलहरूको भूमिका


ओमप्रकाश गौतम

वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गत श्रावण १८ गते संविधानसभाको हलभित्र ४५ मिनेट समय सान्दर्भिक उच्चकोटीको सम्बोधन गरे । सो सम्बोधन हाम्रा नेताको लागि एउटा चेतनाको दिप खुल्ने प्रकृतिको थियो, किन कि नेताहरू सत्ता र कुर्सीको केन्द्रमा आकर्षित थिए, जनतालाई कुनै राहत दिने थिएन । त्यसैले पनि उनको त्यो सम्बोधन हामी जनताका लागि एउटा अब्बल प्रकारको सम्बोधन थियो । त्यति मात्र होइन, मोदीको त्यो दुई दिने भ्रमण अपेक्षित सम्झौता वा अनुदानसँगै संसद भवनमा दिएको सारगर्वित मन्तव्य सारा नेपाली जनताको लागि मननीय छ ।
हुन त हाम्रो देश नेपालमा भारतबाट प्रधानमन्त्रीमा निर्वाचित अनेकौं परिचय र प्रवृत्ति बोकेका प्रधानमन्त्री पटक–पटक सम्झौताका ठेलीहरूमा नाटकीय रुपमा हस्तार गर्दै हाम्रा नेतालाई कनिका छर्ने अभिव्यक्ति दिएर गए, सारमा कुनै पनि उल्लेख्य काम हुन सकेन । तापनि मोदीको यो भ्रमणमा सारा नेपाली जनताका लागि मोदीमय वा मायावी मोदीमय चाँहि भयो । व्यक्तिगत खुबी र लोकप्रियताका माध्यमबाट संसारको सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतको सत्ता केन्द्रमा पुगेका मायावी मोदीका कारण दुई निकट दक्षिण एसियाली मुलुकबीच सम्बन्धको नयाँ तरङ्ग पैदा हुने अपेक्षा एक हदमा महान् नेपाली जनताले उनको नेपाल भ्रमण एक अर्थमा जनताका लागि आशावादी र लोकप्रिय छ भन्ने कुरामा कुनै द्विविधा छैन किन कि उनले भारतीय राजनीतिमा जसरी सफलताको बाटो कोरे, छिमेकीहरूसँगको सम्बन्ध बलियो पारी विश्वमञ्चमा आफ्नो पकडको सहयात्री बनाउने योजना तयार बनाएर गयो त्यो भने आगामी दिनमा पूरा होला या नहोला त्यो भने हेर्न बाँकी नै छ । उनको भनाई, भ्रमण दौरान नेपाललाई भारतका तर्पmबाट गरिएका प्रतिबद्धता अनि द्विपक्षीय सम्झौताका दस्तावेजहरू भोलिका दिनमा कति पूरा हुन सक्लान्, त्यो आशा नेपाली जनताले गरिरहेका छन् । आज हाम्रो देश नेपालका चार वटै सीमामा भारत लगायतका अन्य मुलुकहरूले गिद्धे दृष्टि लगाइरहेको कुरा त हामीले थाहा पाएकै छौं, कति ठाउँका सीमास्तम्भ रातारात सारिएका घटना त हामीले बारम्बार हेरेका छौं, छापा माध्यममबाट थाहा पाएकै छौं । तापनि हाम्रै देशका नेता कानमा तेल हालेर जम्बो संविधान हलभित्र सत्ताको बार्गेनिङ्ग गरिरहेको घटना हामी माझ तरोताजा छ ।
मोदीले नेपालको सार्वभौमसत्तालाई हृदयदेखि गरेको सम्मानलाई बुद्धको जन्मथलो नेपाल भएको भन्ने अभिव्यक्तिलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भनाईलाई र ऋषिमन राखी चाँडोभन्दा चाँडो संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माण गरी लागू गर्न तयार रहेको कुराले गर्दा मोदीले नेपाली मनको हृदय प्रफुल्लित बनाइदिएको छ । उनका सारगर्भित भनाईहरूमा “वर्तमान दबिएको हुनुहुँदैन, भविष्य देखिएको हुनुपर्छ, संविधान लेख्न ऋषिमन हुनु आवश्यक छ, शस्त्र छोडेर शास्त्रमा आउनु बुद्ध भूमिको सन्देश हो” जस्ता अति नै समय सान्दर्भिक उनको प्रवचन नेताहरूप्रति ध्यानाकर्षित थियो ।
अर्को कुरा सबै प्रकारको क्षेत्रीय वादलाई अस्वीकार गर्दै समयसीमा भित्रै सर्वस्वीकार्य संविधान बन्नुपर्छ भन्ने उनको महत्वपूर्ण भनाई र चासो नेपाली जनताको लागि सर्वस्वीकार्य छ र उनले नेपाल र भारतबीचको शंकाको तुँवालो हटाईदिने प्रयत्न गरेर गए अब त्यो अविश्वासको खाडल हाम्रा नेताले आगामी दिनमा पूरा गर्न सक्नुपर्छ । आज उनको फलदायीपूर्ण नेपाल भ्रमण छापा माध्यमहरुमा पिटिए र पिडिए नभए पूरै नेपालको भविष्य नै खत्तम हुन्छ, अन्धकारमय हुन्छ भन्ने जस्ता छेपारे प्रवृत्तिका अड्कलबाजी मिडियामा छ्यापछ्याप्ती आएका छन्, ती अतिरञ्जित भनाईहरुप्रति हामी जनताले विश्वास नगर्नु नै वेश हुन्छ । किन कि उनको नेपाल भ्रमण पश्चातका दिनदेखि १०० दिन पछिको नेपाल र भारतसम्बन्ध कतिको दिगो र मजबुत रहेछ भन्ने कुरा –आगामी दिनमा थाहा पाउने कुरा हो । अहिले नै अतिरञ्जित कुरामा विश्वास गर्नु बेकार छ किन कि आगामी दिनमा नेपाल भारतबीचको सम्बन्ध नङ र मासुको सम्बन्धझैं दिगो भएर जाओस् । नेपालको हितमा असर नपर्ने गरी झिनामसिना विषय र विवादलाई पर सारी उनले नेपालमा गरेको खरबौंको रकम विभिन्न शिर्षकमा दिएको आर्थिक सहयोग वर्तमान प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकारले गर्न सकोस् । जनताको गाँस, बास र कपासको उचित ग्यारेण्टी हुन सकोस्, वैदेशिक लगानी संसदको निजी खर्चमा विनियोजन नहोस् । मोदीबाट हाम्रा नेताहरुले सिक्नैपर्ने आदर्शका पाठहरुलाई अक्षरस पालना गर्दै संविधान निर्माणमा हातेमालो गर्दै अघि बढ्न प्रेरणा मिलोस् । उनीबाट हाम्रा नेताले सिक्नैपर्ने पाठहरुमा राजनीति विनास र विद्रोहबाट होइन विकास र उन्नतिबाट शुरू गर्नुपर्छ । हाम्रा नेताहरुले बोली व्यवहारमा आलोचना गर्ने पुराना सन्धी सम्झौताहरुका दस्तावेजहरु पल्टाएर संविधान बनाउने अवरोधमा बाधा पु¥याउन बन्द गर्नुपर्छ । गरीब, किसान, भूमिहीन, सुकुम्बासी, महिला, दलित, जनजाति, आदिबासीका समस्या सम्बोधन हुने संविधान हाम्रा नेताले आगामी माघ महिना अगावै घोषणा गर्न सकून् । हाम्रो हिमालयमा पाइने जडिबुटीको विषयमा भारतीय प्रधानमन्त्री मोदीलाई चिन्ता बढ्यो, हाम्रा नेतालाई यतिका दिनसम्म पनि चिन्ता बढेन, उनको यो अभिव्यक्तिले आगामी दिनमा हाम्रा नेताको कर्ण खुल्न सकोस् । मधेसी नेताहरुलाई क्षेत्रीयताको कुरा गर्न छाडेर समग्र राष्ट्रको बारेमा सोच्न र यही अनुसार अघि बढ्न दिएको सन्देश अनुसार हाम्रा नेता तथा नेतृत्व अघि बढ्न सकून् । मायावी मोदीको सन्देशबाट हाम्रो नेता नेपाल समृद्ध बन्न सकोस् ।
omgautam817@gmail.com

0 प्रतिकृया:

Post a Comment