गुण्डाराजको सुनौलो युग – सम्पादकीय

देशभर सुनकोशीको पहिरो र त्यसले उत्पन्न गरेको जोखिमका विषयमा चर्चा चलिरहेका बेला नामुद गुण्डा दिनेश अधिकारी ‘चरी’ मारिएको खबरले सनसनी मच्चिएको छ । बुधबार काठमाडांैको गोलढुङ्गामा ‘चरी’ लाई प्रहरीको गोलीले निशाना बनाएको खबर यतिबेला हटकेक बनेको त छ नै । घटनाका विषयमा अनेकन किसिमका चर्चा परिचर्चा समेत हुन थालेका छन् । चरीलाई समात्नका लागि खटिएको प्रहरी टोलीमाथि चरीले गोली हानेपछि जवाफी कार्बाहीमा उनको मृत्यु भएको प्रहरी स्रोतले जिकिर गरेको यतिबेलाको ताजा जानकारी हो ।
सिन्धुपालचोकको जुरेमा गएको पहिरोका कारण निम्तिएको बिपत कसरी व्यवस्थापन गर्ने ? राज्यका लागि यो समस्या झन(झन सकस बन्दै गएका बेला राजधानी नजिकै कुख्यात डन चरीको इहलीला समाप्त भएको खबर मुलुकलाई नै तताउने किसिमको बनेको छ । यो घटना र चर्चा प्रायोजित पक्कै होइन । तर, सिङ्गो मुलुकका निम्ति सुनकोशी पहिरो, त्यहाँ भएको १५६ जनाको मृत्यु, अन्य बेपत्ताहरुका बारेको चिन्ता, शोक, सास्ती, जमेको ताल बिष्फोट हुन सक्ने अतराले त्यसले निम्तन सक्ने गम्भीर क्षति आदि विषय ‘चरी’ मृत्युका अघि सामान्य वा नगन्य बन्नु पर्ने कारण त होइन । तथापि स्थिति त्यस्तै बनेको छ । यसको खास महत्व के ? यो गहन किसिमले मनन गर्नु पर्ने विषय हो ।
नेपालमा गुन्डागर्दीको जन्जाल यतिबिघ्न जकडिएको छ कि यो मुलुक हाँक्ने राजनीतिक दलहरुभित्रसम्म अन्तरसम्बन्धित छ । मृतक चरीको नाउँ जति पटक विभिन्न जघन्य अपराधका घटनाहरुमा संलग्न भएको आरोप सहित अघि आयो वा सार्वजनिक भयो, त्यति नै पटक चरीसँगै जोडियो नेकपा एमाले पार्टीको नाउँ । त्यसरी एउटा गुण्डा र उसले गरिरहेको अपराधका विषयमा पार्टीको नाम जोडिइरहँदा एमालेका उपल्लो तहका नेता गणले त्यसको खण्डन गर्ने चासो राखेनन् । मौनतामै सुलाउन खोजिएको त्यो विषयले मौनतामै धेरै कुरो बोल्यो । यतिसम्म कि भर्खरै सम्पन्न एमालेको नवौं महाधिवेशनमा समेत हाल निर्वाचित अध्यक्ष केपी ओलीमाथि चरीलाई संरक्षण गरेको आरोप लागेको थियो । त्यस विषयलाई माधवकुमार नेपाल समूहका नेता कार्यक्र्ताले जोडतोडका साथ उठान गरेका थिए । मुलुकमा अरु पनि यस्ता धेरै गुण्डाहरु छन् । जसका बारे खोजी गर्दै जाने हो भने उनीहरुको साँठगाँठ कुनै न कुनै दलका नेताहरुसँग भएको पाइन्छ । गतिलो मानिएका नेताहरुको संरक्षणमा गुण्डाहरुले मुलुकमा आतंकको राज गरिरहन्छन् । राज्य, सरकार र सुरक्षा निकायहरु गुण्डाहरुलाई सलाम गर्नुपर्ने निन्दनीय नियति भोगिरहन्छन् ।
यो वा त्यो दल वा नेताका भागमा मात्रै दोष थोपर्नु भन्दा पनि समग्र मुलुकको राजनीतिक प्रक्रिया नै गुण्डा संरक्षण र प्रवद्र्धनका दृष्टिले पायक एवम् सकरात्मक छ भन्दा फरक पर्दैन । किनकि गुण्डागर्दीको उपस्थिति र पहुँच तथा दवदवा जतै छ । पूर्वाधार निर्माणदेखि फिरौती असुली, वेश्यालय सञ्चालनदेखि मानव बन्धक, अपहरण लगायतका कार्यहरुमा गुण्डागर्दीको संलग्नता नेपाली परम्परा बन्दै गएको छ । गुण्डा बिनाको कुनै पनि टेण्डर प्रक्रिया सम्भव हुनुलाई मुलुकमा अपवाद मान्ने चलन छ । यो चलन गुण्डाहरुले कम र उनीहरुलाई संरक्षण दिने राजनीतिक नेताहरुले स्थापित गरेका हुन् । एकातिर समाजको विकास, सुरक्षा, अपराधमुक्त समाज निर्माण गर्ने लगायतका नारा फलाकेर भोट बटुल्ने काम गर्छन् राजनीतिक दलका नेताहरु । तर, किन उनीहरुकै नाउँ जोडिन्छन् जब(जब गुण्डाहरुको चर्चा मुलुकमा चुलिन्छ ?
मुलुकलाई गुण्डाहरुको दवदवाबाट मुक्त पार्न सकिएन भने स्थायी सुरक्षा, शान्ति, अमनचयन र सामान्य जीवनयापनको कल्पना सम्भव नहुने पक्का छ । तर त्यो भन्दा अघि गुण्डाहरुका वास्तविक नाइकेहरुको पहिचान गरेर उनीहरुका विरुद्ध  कडाईका साथ कानुनी कार्बाही अघि बढाउन आवश्यक छ । गुण्डा प्रश्रयका घटनालाई न्युनीकरण गर्ने काम राज्यको हो । राज्यको बागढोर सत्तासञ्चालक राजनीतिक दलको हातमा हुन्छ । तसर्थ सर्वप्रथम गुण्डागर्दीको अन्त्यका लागि राजनीतिक दलहरुको इमानदारिता आवश्यक छ । तब मात्र चरी जस्ता कुख्यात गुण्डाहरुको दवदवाका कारण मुलुकले सरमका साथ शिर झुकाउने पर्नेछैन । एउटा गुण्डाको मृत्युले मुलुकमा सयौं मानिसको मृत्युको घटनालाई ओझेलमा पार्न सक्नु भनेको गुण्डाराजको सुनौलो युग हो । यो युगको अन्त्य हुन नसकेसम्म मुलुकले समृद्धि, समानता र न्यायको कल्पना समेत गर्न सक्दैन । 

0 प्रतिकृया:

Post a Comment