मोदीको दिक्षा र भिक्षा

टंक पाठक
नेपाल भारतको सम्बन्ध हाम्रो कला, धर्म, संस्कृति, परम्पराले गर्दा धेरै कुरामा मेल छ । नेपालले भारतका र भारतले नेपालका नागरिकसँग वैवाहिक सम्बन्ध समेत गाँस्दै आएका छन् । अरु देशभन्दा सबै सीमा खुल्ला भएको नेपाल भारत नै हो । नेपालीहरूको हाट बजार पनि भारत नै हो । गाँस, बास, कपासको सम्बन्ध पनि भारतसँगै छ । भारतीय नेपाल आउन र नेपाली भारत जान कुनै पासपोर्ट र भिसा चाहिँदैन । त्यसैले परम्परादेखि नै विशिष्ट सम्बन्ध भएको मानिन्छ । यही सम्बन्धलाई मानेर होला यस देशमा परम्परादेखि या राजा महाराजादेखि हालसम्मका हाम्रा राजनीति गर्ने नाङ्गा बाबाहरू आफूलाई अलिकति गिलो आची आयो भने पनि रित्तो कमडलु बोक्यो अनि भारततर्पm लागिहाल्यो । चाहे औषधि उपचार गर्ने बहानामा होस् या त भिक्षा र अर्ति उपदेश माग्ने काममा होस् । त्यस्तै, भारतीय नेता पनि परम्परादेखि नै नेपाल आउने चलन थियो नै । तर यसपालि भारतीय प्रधानमन्त्री भर्खरै नेपाल आएर २६ घण्टा पछि भारत फर्केका छन् ।
यस विषयलाई उठान यहाँ गर्दा या नरेन्द्र मोदीको चर्चा गर्दा कसैलाई दिक्क लाग्छ होला तर मोदीले यहाँका राजनीति गर्छु भन्ने बाबाहरूलाई एकै ठाउँ भेला गराई दिक्षा दिँदा देखिएको दृश्य हेर्दा सपेराले नागिन बाजा बजाउँदा विषालु सर्प जसरी बाजाको धुन सुनेर बाजाको धुनले लठ्ठ पर्छ र लटिन्छ । त्यस्तै लट्टिकाले केवल यस विषयलाई यहाँ पस्कन सान्दर्भिक ठानेको मात्र हो । यी हाम्रा राज बाबाहरू भ्रष्टाचारको भिडमा हुर्किराखेका, विकृति, संस्कृतिलाई आफ्नो मार्गदर्शन लिने, सिधासाधा नेपाली दाजुभाईको हत्या गर्ने र तिनीहरूका परिवारले भोगेका पीडालाई रुपैयाँ पैसाले गौरवगाथा गाउने, डनहरूलाई असल मित्र मान्ने, लोकतन्त्रको फाइदा आफूले मात्र लिने, मूल्यवृद्धिका जननी बन्ने, विदेशीले पटक–पटक दिएको सहयोग र ऋण विकास निर्माणलाई आफै अवरोध गरी लुटाहा ठालु हुने, नेपालको भौगोलिक स्थिति र धरातलीय बनोट थाहा नपाउने, नेपाल देश हिमाल, पहाड, तराईले बनेको छ भन्ने नबुझी आफू र जात अनुकूल पण्डित्याईं गर्ने पण्डाहरू, विगतको संविधानसभालाई मध्यरात पारी छुरा प्रहार गरी मृतक घोषणा गर्ने हत्याराहरू, भारतको एउटा प्रधानमन्त्रीलाई निमन्त्रणा गरेर विशिष्ट कक्षमा राखेर दिक्षा दिँदै गर्दा या दिक्षा लिँदा यति लठ्ठ पर्छन् भने यिनीहरूले आज भन्दा अघि के बुझेर राजनीति गर्न थाले र अब पनि के गर्छन् होला ? जति मोदीले बोलेका कुरा थिए के यिनीहरूलाई त्यहाँभन्दा अगाडि थाहा थिएन ? जानेका थिएनन् ? जति बोल्छन्, ताली बज्थ्यो । जे भने पनि ताली ? कति त केही नेताहरूलाई अंकित गरेर औंला ठड्याएर बोलेको त्यहाँ अनुमान गर्न सकिन्थ्यो, तर ताली बजिहाल्थ्यो । बुलेट होइन, ब्यालेट भन्दा कसलाई भनेको हो ? संविधान लेखनको विषय उठान गर्दा विगतमा संविधानसभालाई मृतक घोषणा गर्नको पेट पोल्थ्यो कि पोलेन ? त्यो कसलाई भनेको हो ? पानी र जवानी कहिले एकै हुँदैन भन्दा कसलाई अर्ति दिएको हो ? भारतले आएर ज्।क्ष्।त्। का कुरा गरिदिनुपर्ने ? हाइवे र सडक, सूचना सञ्चार, विद्युतका कुरा गर्दा आज ताली पड्काको ? विगतका सन्धी सम्झौतालाई आफू अनुकूल नहुँदा कार्यान्वयन गर्न नसक्ने अनि फेरि कमण्डलु थाप्ने ? आफू सत्तामा रहँदा गरिएका सबै सम्झौतालाई राष्ट्रवादी देख्ने सत्ता बाहिर रहँदा अरुले गरेका सबै सम्झौतालाई राष्ट्रघाती देख्ने आँखा फुलो पर्ने तुच्छ संस्कार बोकेर हिँड्ने तिनै होइनन् ? अनि फेरि मोदीको लयमा ताली ठोक्ने ? फेरि भारतले हेप्यो भन्ने ? सुगौलीको सन्धीदेखि १९५० को सन्धी हुँदै महाकाली सन्धी र पछिल्लो विप्पा सम्झौतासम्म भारतले हेप्यो भन्नेको ठूलै जमात छ । हुन सक्छ, भारतले आफ्नो नाफा नहेरी गरेन होला । तर यो देशका या हाम्रा जोगीको चरित्र हेर्दा किन नहेपोस् ?
सबै जोगीको मन मस्तिष्क, मुटु पहिले पनि भारतले छामेकै हो, अहिले मोदीले त सबैको ब्लड नै टेष्ट गरेर गए । अब झन् नेगेटिभ र पोजेटिभ छिट्टै थाहा पाइ हालिन्छ । विदेशी महामहिमको गच्छे अनुसार स्वागत त गर्नैपर्छ, तर मोदीलाई धेरै बढी स्वागतमा ढाँचा गरेको चर्चा छ । कस्तो अनौठौं ? नेपालका प्रधानमन्त्री बस्ने सिंहदरबारको कोठा अरुबेला माकुराको जालो हुने मोदी आउँदा हटाउनुपर्ने ? अरुबेला हाम्रा प्रधानमन्त्री त्यही जालाले झेलिएर बस्नुपर्ने अरु बेला, काठमाडौं गल्ली बाटा, घाटा, फोहोर रहिराख्दा हुने मोदी आउँदा चिटिक्कै पारेको देखाउनुपर्ने । अरु बेला काठमाडौं बासीले दुर्गन्धले गर्दा नाक छोपेर सास नफेरि हिँड्नुपर्ने कोही विदेशी आउँछ भने अत्तर छर्नु पर्ने । कति बुद्धिमानी हाम्रा मान्छेहरू ? यहाँ अर्को कुरो पनि थप्ने प्रयास गरिन्छ । आफ्नो देशको स्रोत साधन पहिचान गर्न नसक्ने र प्रयोगमा ल्याउन प्रयासै नगर्ने जो विदेशी आयो झोली थापी हान्नुपर्ने, कस्तो संस्कार हो । मोदीले हाम्रा नाङ्गा बाबाहरूले थापेको कमण्डलु सबै थोकले मौखिक भरिदिएका छन् । पूरा हुन्छ कि हुँदै व्यवहारले देखाउला । यस्तो दृश्य देखिरहादा के पनि याद आउँछ भने कसैको व्रतबन्धमा उपनयन गरेको बेला बटुकले एउटा झोली बोकेर भवती भवती भिक्ष्यान देहीः भन्दै सबैसँग भिक्षा मागेर आफ्नो कर्म चलाउँछ, नेपालको हालत सधैं त्यस्तै हुन्छ अब ? जे होस्, मोदीले पुनः एक पटक हाम्रा बाबाहरूको कर्म चलाएर गायत्री मन्त्र दिएर गएका छन्, कतिको आफ्नो सत्कर्ममा हिँड्ने हुन्, हेर्न बाँकी छ ।
स्मरण रहोस्, नेपाललाई हेप्नु भनेको हामी सबै नेपालीलाई हेप्नु हो । नेतालाई हेप्नु भनेको नेपालीको मन दुख्नु हो । हाम्रा नाङ्गा बाबाजीहरू हो, सधैं कमण्डलु मात्र नबोकौं । स्वाधिन भएर बाँच्नेतिर अग्रसर हौं । पराधिनले देश जनता सधैं हेपिन्छ । अन्त्यमा अमेरिकी राष्ट्रपति रोनाल्डो रेगनले भनेको कुरा के याद आउँछ भने “आफ्नो भूगोलको रक्षा गर्न नसक्ने मुलुक राष्ट्र हुँदैन, अर्थात एउटा मुलुकका लागि उसको भूगोलको सुरक्षा पहिलो सरोकार हो । त्यसपछि मात्र जनता, आत्मा सम्मान र विकास हो । स्मरण रहोस् ।

0 प्रतिकृया:

Post a Comment