वर्कसले हतियार बुझाउने

खोटाङ, चैत्र १/ जातीय राज्यको माग गर्दै पूर्वी पहाडी जिल्लाहरुमा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएको किरात जनवादी वर्कस पार्टीले सरकारलाई हतियार बुझाउने भएको छ । वर्कस र सरकारबीच शान्ति मन्त्रालयमा ०६८ फागुन ३० गते भएको शान्ति वार्तामा हतियार बुझाउने वर्कसले जनाएको हो ।
हतियार बुझाउने प्रक्रिया अर्को वार्ताबाट अघि बढाइने सहमति भएको वर्कसका तर्फका वार्ता टोली संयोजक सुमन वान्तवाले बताए । शान्ति मन्त्रालयका तर्फबाट शान्ति मन्त्री सत्य पहाडी, गृहराज्यमन्त्री भीमराज चौधरी र वर्कसका सुमनबीच पाँच बुँदे सहमति भएको छ ।
सहमतिमा विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, आन्दोलनका क्रममा भएका सरकारी मुद्दा फिर्ता लिनुपर्ने, शान्ति र संविधान वर्कसलाई स्वीकार हुने समेटिएको छ । वार्तामा भोजपुरका राजनीतिक संयन्त्रका प्रतिनिधि शेरधन राईले मध्यस्तताको भूमिका निभाएका थिए भने सभासद् सुदन किराँती पनि वार्तामा सहभागी थिए ।
वर्कसले ०६४ माघ ७ गते खोटाङका फाक्टाङ, देवस्थान र चिसापानी प्रहरी चौकी आक्रमण र ०६७ वैशाख २१ गते नुनथला प्रहरी चौकीमाथि आक्रमण गरी हतियार लुटेका थिए । चन्दा आतंकको पर्याय बनेको वर्कसले प्रहरी चौकी आक्रमण गरेपछि उसको केन्द्रीय तहका ३० जना कार्यकर्तालाई प्रहरीले अहिले पनि हिरासतमा राखेको छ ।
वर्कसले मुन्धुम बिचारधारा अन्तर्गत किराँत स्वायत्त राज्यको माग गर्दै हतियार उठाएका थिए ।

0 प्रतिकृया:

Post a Comment