हङकङ विरुद्ध नेपाल विजयी – खेल समाचार

काठमाडौ, चैत्र १/आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोटको खेलमा हङकङविरुद्ध नेपाल विजयी भएको छ । पहिले टस जितेर ब्याटिङ सुरु गरेको नेपालले हङकङलाई १३१ को लक्ष्य दिएको थियो । दुवईको जीसीए–२ मैदानमा भएको खेलमा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो । हङकङले २० ओभरमा ९ विकेट गुमाउँदै १०० रन मात्र बनाउन सफल भएको छ ।
दुवै टिमले यसअघि दुई खेलमा प्रतिस्पर्धा गरेका थिए, नतिजा भने १–१ को स्थितिमा थियो । नेपालले अघिल्लो वर्ष चीनको गोन्जाउमा भएको १६ औं एसियाली खेलकुदमा हङकङसँग ३० रनको हार बेहोरेको थियो । तर, यसै वर्ष काठमाडौंमा भएको एसीसी ट्वान्टी–ट्वान्टी कप च्याम्पियनसिपमा नेपालले अन्तिम ओभरमा रोमाञ्चक २ विकेटको जित निकालेको थियो ।
सोह्र टिमको सहभागिता रहने प्रतियोगिताका उत्कृष्ट दुई टिमले यसै वर्षको सेप्टेम्बरमा श्रीलंकामा हुने विश्वकपमा खेल्न पाउने छन् । ८–८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका उत्कृष्ट ३ टिमले प्लेअफ खेल्छन् । ६ टिमको सहभागिता रहने प्लेअफबाट उत्कृष्ट दुई टिमको छनोट गरिने छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, अफगानिस्तान, क्यानडा, पपुवा न्युगिनी, हङकङ, बर्मुडा र डेनमार्क छन् । समूह ‘बी’ मा आयरल्यान्ड, केन्या, स्कटल्यान्ड, नामिबिया, युगान्डा, ओमान, इटाली र अमेरिका छन् ।

0 प्रतिकृया:

Post a Comment