सललेरीमा आगलागी

धनकुटा, ७ जेठ/धनकुटा सदरमुकामसँगै रहेको सल्लेरी वनमा मध्यान्हदेखि भीषण आगलागी भएको छ । नजिकको आत्मारा टोल सिरानबाट लागेको आगोले क्षणभरमा सयौं हेक्टर क्षेत्रफल नष्ट गरिसकेको छ ।
डढेलोले सल्लेरी वनसँगै रहेको नेपाली सेनाको श्रीमेहर गण समेत जोखिममा रहेको प्रहरीले जनाएको छ । यस्तै वनको मध्य भागमा रहेको सरस्वती राष्ट्रिय प्राथमिक विद्यालय, नवनिर्मित आँखा अस्पताल र उद्योग वाणिज्य संघको भवन समेत जोखिममा रहेको छ ।
नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी लगायत सयौं स्थानीयबासीले आगो निभाउन जुटेका छन् । तर, आगो नियन्त्रण बाहिरको अवस्थामा रहेको छ । सुख्खा मौसम भएको र हावा लागेकोले आगो नियन्त्रण बाहिर पुगेको छ । श्रीमेहर गणको क्षेत्र अहिले निकै जोखिममा रहेको छ । आगो निभाउने प्रयास भएपनि दमकल र पर्याप्त पानी अभावले जोखिम तिब्र रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सेनले जानकारी दिएका छन्  ।
यसैबीच आगो लगाएको आशंकामा एक युवकलाई प्रहरीले तत्काल पक्राउ गरेको छ । धनकुटा ३, स्कुलडाँडाका राजेन्द्र रोकालाई प्रहरीले पक्राउ गरेको हो ।

0 प्रतिकृया:

Post a Comment