"किन वाध्य छन् नेपालीहरु प्रवासी बन्न ?" - दोस्रो लेख

आचार्य प्रभा
कसैको पनि मन त्यस्तो नहोला शायद आफ्नी आमाको काख बढी होस् वा आफ्नो मातृभूमी नराम्रो लागोस् तर बाध्यताको शिकार बनेर कैयौं नेपाल आमाका सन्तानहरु आफ्नी आमाको काख अर्थात जन्मभूमीको काख छाडेर परदेशिनु परेको पीडा साँच्चै दर्दनाक छ । हाम्रो देश शान्त सुन्दर नेपाल थियो । हामी बालक छँदा पाठशालामा राष्ट्रिय गान यसरी गाउँने गर्थ्यौ । "गाउँछन् गीत नेपाली, ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त बिशाल"। आज यो हर बालक मनले गाउँने राष्ट्रिय गान केवल स्‍मृतिमा मात्र छ । आजका बालकहरुले भने राष्ट्रिय गान गाउँन सोंच्नै पर्ने हुन्छ । क्षण क्षणमा बद्लिने देशको स्थिती र राजनीतिको बद्लाव देखेर ।
 हो यस्तो देशको स्थितिमा हर कृयाशिल मनहरु, उदेश्य बोकेका आत्माहरु निस्कृय छन् किन कि देश आज अशान्तिको मारमा लपेटिएको छ । देश तनावको दल दलमा फँसेको छ । आफ्नै आँगन पराइको परेड खेल्ने मैदान बनेको छ । आफ्नै सन्तानभित्र बिरोधको आगो सल्केको छ । एउटै घरभित्र बिचारहरुको बिभाजन भएको छ । सबैको मनमा डर, त्राष फैलिएको छ । मृत्‍युको मुखमा अहिले पुग्छु कि भन्ने आतंकले जनता त्राही त्राही छन् । यस्तो बिकट अवस्थामा जो कोही पनि आफ्नो सुरक्षार्थको लागी परदेशिन वाध्य बनेका छन् ।
 बिहान उठेर हिँडेको मानिस साँझसम्म घर न-आइपुग्दा शंका मृत्‍युकै हुन्छ । आफ्नै आँगनमा निर्धक्कसँग पारीलो घाम ताप्न मान्छेहरु डराउँछन् । देशमा राजनीतिक हेरफेरको चपेटाले सबैले खुलेर आफ्नो बिचार  राख्न पाउँदैनन् । कहिले कुन पार्टिको बोलबाला हुन्छ त कहिले कुन पार्टिको हुन्छ । जनता लाटोकोसेरो झैं राजनीतिक नौटंकी हेर्न वाध्य हुन्छन् । कसैले गरेको अन्यायमा कसैको सुन्वाइ हुँदैन । आफ्नो मेहेनत पौरखले आर्जेको सम्पत्तिमा कसैको हस्तक्षेप हुन्छ तापनी कँहि कतै उजुरी लाग्दैन । यस्तो अपराधपूर्ण स्थितीमा हर कसैको पनि आत्माले शान्तिको सास फेर्न पाएको छैन ।
 यस्तै अनैतिक कारणहरुले हर नेपाली जनताहरु अर्थात युवाहरु परदेशीरहेका छन् । नचाहेर पनि आफुलाइ प्रवासी बनाउँन वाध्य छन् । परदेशमा कमाउँन गएकाहरु पनि आफ्नो देशको भयावह परिस्थितीले आफ्नो देश फर्कन त्रषित छन् । कमाएर अली अली ल्याएका घनमाल पनि लुटेर लैजाने नत्र ज्यानै मार्ने धम्की दिने जस्ता घट्नाहरु भइरहेका छन् । सानो तिमो खाडी मुलुकतिर गएका युवाहरु पनि बाध्यताबस घर फर्कन नपाएर मरुभूमीको छातीमा आफ्ना रहरहरु गुम्साएर बाँच्न वाध्य छन् भने अन्य मुलुक जस्तै बेलायत, अमेरिका, जापान अर्थात कुनै पनि सम्रिद्ध मुलुकतिर गएका नेपालीहरुले पनी के कसरी हुन्छ त्यही देशको नागरिक बन्न हर प्रयत्न गरेर त्यँहि बस्न वाध्य बन्छन्। यो हाम्रो देशको भयावह स्थिती र राजनीतिक असन्तुलनको कारण हो ।    
कहिले कुन पार्टिको बन्द, कहिले कुन पार्टिको बन्द । एउटा पार्टिमा लाग्यो भने अर्को पार्टी आफ्नो बिरोधमा जान्छ र ज्यानै गुमाइएला कि भन्ने डर पैदा हुन्छ । अनाहकमा गोली, बारुद, बमको बर्षा हुन्छ र निर्दोष ब्यक्तिको पनी अन्त्य हुन्छ । कसैले आफ्नो स्वेच्छाले केही गर्ने अवसर पाउँदैनन् । कसैले समाजमा केही गर्न खोजेमा उस्लाई रोक लगाइन्छ । यदी नमानेमा उस्ले ज्यानै अर्पित गर्नु पर्दछ । देशको अस्थिर राजनीतिको कारणले मेहेनती, शिक्षित र बौद्धिक बर्गले पनी आफ्नो हातलाइ बाँधेर बस्न वाध्य बन्नु पर्दछ । अब यस्तो परिस्थितीमा बिकल्प नै के त? भन्दा आफ्नो ज्यान सुरक्षित राख्न पनी र यसो हात मुख जोर्ने कमाइ गर्न पनी सबै युवाहरु बिदेशका कमारो बन्न वाध्य छन् । नारामा मात्र हाम्रो देश भन्ने भएपनी यथार्थमा देश नेताहरुको हातको नरिवल बनेको छ जस्लाई जतिबेला फोडेर खाए पनी हुने । यही कारणले जनताहरु मारमा परेका छन् र सबैको मन बिक्षिप्त बनेको छ । रात र दिन फेरिए झैं राजनीतिका रङहरु फेरी रहनुले जनताहरु रणभुल्लमा जाकिएका छन् ।
यस्तो निरीहावस्थाले गर्दा नै नेपाल आज रित्तो भइरहेछ । नेपाली जनताहरु बिक्षिप्त बनेर गाँस र बासको खोजिमा भौँतारि रहेका छन् । कुनबेला कुन नारीको सिउँदो खाली हुन्छ । कुन समयमा कुन आमाको काख रित्तो हुन्छ। कुन बेला कुन छोरा, छोरी टुहुरा हुन्छन् भन्न सकिन्न । सबैलाई नै आफ्नो ज्यानको माया हुन्छ र सुरक्षाको खाँचो हुन्छ त्यसैले पनि आफ्नो अमुल्य ज्यानको सुरक्षाकोलागी प्राय:सबै देश छाडेर बिदेशिएका छन् । आफ्नो पेट पालनकोलागी गरिएको जागिरको ठेगाना हुन्न । के सेना, के प्रहरी देशको रक्षार्थ खटिए पनि उनिहरुको आफ्नै रक्षा हुन्न । साधारण जनताहरु पनि अनाहकमै गोलीको निशाना बनिरहेका छन् । नाबालक केटा केटीहरुको पनि अन्जानमै मृत्‍यु भइरहेछ । यस्तो बिव्हल अवस्थामा कसरी बाँच्ने हिम्मत गर्ने ? जहाँ मृत्‍यु र जीवनको ठेगाना छैन ।

हो हाम्रो देश प्रकृतिकी धनी र शान्त शितल बिशेषणले धनी त छ तर यस्तै बिशेषणमा कालो धब्बा लगाएर यहाँका मानिसहरु जिउन वाध्य छन् वा जिइेरहेका छन् । मानव अधिकारबाट बन्चित भएर पशु सरह जीवन बाँची रहेछन् । आजको यो स्थितिलाई हेरेर नेपाल जस्तो देशको बद्नाम भइरहेछ । आफु आफुमा मारकाट गरेर खुनको होली खेलिरहेका छन् । निर्दोषहरुले पनी मृत्‍युको सजाय भोग्नु परीरहेछ । यस्तो अशान्त र असुरक्षित देशमा आक्रान्त भएर बाँच्न कसैले पनी चाहँदैन त्यसैले हर जनताहरु प्रार्थना गरिरहेछन् । आफ्नो देश यस्तो दल्दल अवस्थाबाट चाँडै मुक्त होस् । चाँडै शान्ति छाओस् । सबै नेपाली दाजु भाइमा भाइचारा र बन्धुत्वको सहमती होस् । हिमालको शितल छहारी पाएर हुर्केका मनहरु फेरि त्यस्तै छहारी पाउँन सफल हुन् । कामना सबैको यस्तै छ तर कतै जातीय बिवाद, कतै धार्मिक द्वन्द्व, कतै राजनीतिक खिचातानी, कतै चन्दा असुली जस्ता कृयाकलापले देश अझै आक्रान्त छ । जनताले दु:खको आसुँ पुछ्न नपाई अर्को तातो घट्ना घटीहाल्दछ । अब यस्तो बिकट परिस्थितीमा जनताले कुन बाटो रोज्ने? भन्दा बिकल्प त्यही एउटा छ । देशको सिमा नाघेर बाहिरिने र यही क्रम जारी छ । नचाहेर पनी सारा नेपालीहरु चिसा मन लिएर सिमाना कटिरहेका छन् । यो बाध्यता र नियती नै बनेको छ हर नेपालीहरुको । लाग्छ अब जन्मने नयाँ शिशुहरुले त नेपाल शान्तिको देश र गौतम बुद्धको देश भन्ने पनी बिर्सिएलान् भन्ने त्राष छ । यसै कुरालाई मध्यनजर गरेर पनी आजका मानिसहरु अब आउँने नवजात शिशुहरुको भविष्यकोलागी पनी आफ्नो देश छाडेर परदेशिन वाध्य छन् । यसैले समग्रमा भन्न सकिन्छ कि नेपाली जनताहरु बिदेशिनुको एउटै लक्ष हो आफ्नो सुरक्षाको लागी। यो रहर होइेन कर हो । खुशी होइेन बाध्यता हो । जहाँ शरण पाएर उनिहरुले आफ्नो जिउ ज्यानको सुरक्षा पाउँछन् त्यही देश नै उनिहरुकोलागी महान बन्छ वा भन्न कर लागेको छ तर आशा गरौं आफ्नो जन्म भूमीलाइे कसैले पनी बिर्सन नपरोस् । आमा भनेकी आमा नै हुन् । बिडम्बना हर नेपालीले आज आफ्नै आमालाई पनी बिर्सनु पर्ने बाध्यता भएको छ ।

0 प्रतिकृया:

Post a Comment